अन्य

खयर भारानीका सेवक

म्याग्दीको खयरताल

रिटायर्ड लाइफमा कतिपय नेपाली जन्मथलोको विकासमा आफ्नो श्रम, सीप र धन खर्चेर योगदानको जीवन बाँच्छन् । त्यस्तै एक जना समाजसेवीको नाउँ हो–राजु पुन । उनी खयर भारानी क्षेत्रको पूर्वाधार विकास, प्रचार र तीर्थालुको सेवामा समर्पित अगुवा हुन् । 

उनले  २०६८ सालदेखि खयर भारानी क्षेत्रमा पदमार्ग सुधार, धर्मशाला निर्माण, थान (मन्दिर) निर्माण लगायतका कामको नेतृत्व गर्दै आएका छन् । शुभेच्छुकहरूबाट सहयोग जुटाएर उनी ‘खयर भारानी थान तथा संरक्षण कोष’ मार्फत् काम गर्छन् । 

उनको जीवन केलाउनु अघि भारानीको चर्चा गरौं । भारानी प्रख्यात शक्तिपीठ हुन् जसका नौ दिदीबहिनी छन् । तीमध्ये आठ वटी म्याग्दीमा छन् भने एउटी पोखराको फेवातालमा । जेठी खयर भारानी, माहिली तालवराही, साहिंली पेरी भारानी, काहिंली मणि भारानी, ठाहिंली गोर्से भारानी, राहिंली ‘काली भारानी’, ठूलीकान्छी श्री भारानी, अन्तरीकान्छी किमोबोटकी भारानी र सानीकान्छी नाकाजी भारानी हुन् ।  

बेलायतमा आवासीय सुविधा पाएका एक जना गोर्खा सैनिकले रिटायर्ड लाइफमा जन्मथलोको विकासमा पु¥याएको योगदान अनुकरणीय छ । म्याग्दीको पाउद्वार गाउँका राजु पुनको अगुवाइमा खयर भारानी क्षेत्रको कायाकल्प भैसकेको छ । ६८ वर्षको उमेरमा पनि तन्नेरी जोश निकालेर उनी खयर पदमार्गको पूर्वाधार विकासमा क्रियाशील छन् । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारमा छिन् खयर भारानी । पाउद्वार गाउँको शिर (४,६३० मिटर)मा बसेकी भारानीको दर्शनले मनोकांक्षा पूरा हुन्छ । एक पटकको यात्रामा एउटा मात्र वर माग्नुपर्छ । ‘मलाई विद्या, धन प्राप्ति र मनका सबै इच्छा पु¥याइदिनुस्’ भनेर एकैपटक धेरै वर माग्दा फल प्राप्त नहुने जनविश्वास छ । कसैले छोराछोरी, कसैले धनसम्पत्ति, कसैले सुखशान्ति, कसैले सुस्वास्थ्य, कसैले वैदेशिक रोजगारी त कसैले सेनामा भर्तीको वर माग्छन् । 

खयर भारानीको पूजा प्रत्येक वर्ष जनैपूर्णिमाका दिन भव्य रूपले गरिन्छ । भारानी दर्शन गर्ने मौलिक विधि छ । जनैपूर्णिमा मेलामा उनलाई धजा, अक्षता, फूल, गहना, सुन चाँदी, नरिवल र पाठा चढाइन्छ । 

खयर भारानीका सेवक राजु पुन 

प्राकृतिक हिसाबले समेत खयर क्षेत्र सुन्दर छ । खयर क्षेत्रबाट धौलागिरि र अन्नपूर्ण हिमश्रृंखला आँखै सामुन्ने देखिन्छन् । रमणीय ठाउँमा बसेकी छिन् खयर भारानी । मन्दिरसँगै आकर्षक खयरताल छ ।   

पहिलापहिला जनै पूर्णिमाका दिनमा मात्र तीर्थालु खयर पुग्थे । अचेल वर्षैभरि पर्यटक पदयात्रा गर्छन् । विशेषतः विदेशीमाझ खोपारा (खोप्रा) टे«कका रूपमा खयर क्षेत्र प्रख्यात छ । यही खयर क्षेत्रलाई व्यवस्थित पर्यटनधाम बनाउने अभियानका नायक हुन् राजु दाई ।   

खयर भारानी थान

उनको जीवनकथा रोचक छ । उनी खयर भारानीको काख पाउद्वार गाउँमा जन्मे÷हुर्केका । कक्षा ७ पढ्दापढ्दै उनले शिक्षक तालिम लिएर २०२५ सालदेखि दुई वर्ष गाउँकै विद्यालयमा पढाए । तिनताका गाउँका युवा भर्ती हुन मरिहत्ते गर्थे । उनको परिवारले पनि जोड ग¥यो, त्यसैले २०२७ सालमा बेलायती सेनामा भर्ती भए । 

सेनामा २२ वर्ष काम गरेर सेवा निवृत्त हुँदा उनी लेफ्टिनेन्ट भैसकेका थिए । नेपाल फर्केको केही समयपछि उनी साउदी अरबमा जनरल खालिद दिन सुल्तानको सुरक्षा व्यवस्थामा खटिए । त्यहाँ ५ वर्ष बिताएर स्वदेशमै केही गर्छु भनेर फर्किए ।  

पाउद्वार गाउँको शिरमा बसेकी खयर भारानीको दर्शनले मनोकांक्षा पूरा हुन्छ । एक पटकको यात्रामा एउटा मात्र वर माग्नुपर्छ । कसैले छोराछोरी, कसैले धनसम्पत्ति, कसैले सुखशान्ति, कसैले सुस्वास्थ्य, कसैले वैदेशिक रोजगारी त कसैले सेनामा भर्तीको वर माग्छन् ।

नेपाल आएर उनले काठमाडौंमा सफा टेम्पुको चार्जिङ स्टेशन खोले । सोचे जस्तो हुँदो रहेनछ जीवन । दुई वर्षपछि उनले फेरि नेपाल छाडे । अमेरिकी दूतावासको जागिरे भएर युगाण्डा पुगे । त्यहाँ ६ वर्ष काम गरे । त्यतिबेला बेलायत सरकार भूतपूर्व गोर्खा सैनिकलाई आवासीय सुविधा दिन तयार भयो । उनी पनि सपरिवार बेलायत पुगे । 

जीवनसाथी गीता र चार छोरीसहित उनी बेलायतमा बसोबास गर्न थाले । दोस्रो चरणमा ६ वर्ष बेलायत बस्दा उनको उमेर ६० वर्ष पुग्यो । तन उता भए पनि उनको मन भने र्भुरभुर्र उडेर पाउद्वारतिर डुलिरहन्थ्यो । उनले जन्मथलो फर्केर खयर भारानीलाई व्यवस्थित धार्मिक पर्यटन केन्द्र बनाउने अठोट गरे । यसमा परिवारले पनि साथ दियो । फरक्क फर्के उनी ।  

खोपारा डाँडाबाट देखिएको हिमशृङ्ला 

त्यसो त युगाण्डा जानुअघि उनले म्याग्दीकै पर्यटकीय केन्द्र पुनहिलमा मेजर टेकबहादुर पुनको स्मृतिमा भ्यूटावर बनाउने कामको नेतृत्व गरिसकेका थिए । तिनै मेजर टेकबहादुरको अगुवाइमा पुनहिलमा पर्यटनको बीउ रोपिएको थियो ।

उनले संस्थागत रूपमा उदाहरणीय काम गरे । हिजोभन्दा आज खयर जाने पदयात्रीलाई धेरै सजिलो भएको छ । ‘खोपारामा एउटा सामुदायिक होटल चलाउने योजना छ’, उनी भन्छन्, ‘खयर क्षेत्रको व्यवस्थापनका लागि दिगो आम्दानीको माध्यम त चाहियो नि ।’ 

हेर्दाहेदै फेरियो खयर पदमार्ग । उनलाई खयर क्षेत्रको विकासमा लाग्न आफ्नी आमाले प्रेरित गरेकी हुन् । आमाको आज्ञा अनुसार खयर भारानीको दर्शन गर्दाको क्षण अविस्मरणीय छ । पहिलो पटक लाहुरे हुनुअघि बाल्यकालमै र भर्ती भएर गाउँ फर्केका बेला दोस्रो पटक उनले भारानीको आशीर्वाद थापेका थिए । तेस्रो पटक बिरामी आमाको आज्ञा मानेर उनी खयरतिर उकालिएका । 

पाउद्वारबाट ठ्याक्कै दुई दिन लाग्छ भारानी थान पुग्न । तिनताका (२०४९ सालमा) लेकका खोपारा र खयर खोलामा भेडाबाख्राका गोठ थिए । त्यसबाहेक कुनै होटल थिएनन् । जनैपूर्णिमा मेलामा अटाउने जति तीर्थालु गोठमा बस्थे । बाँकी खुल्ला आकाशमुनि रातभर सेदो गाएर रात काट्थे । बर्खामासको झरी, त्यसमाथि अग्ला डाँडामा मुटु कमाउने जाडो । धर्म कमाउन खूब सास्ती भोग्नुपथ्र्यो । न गतिलो बस्ने ठाउँ, न खाना, त्यसैले त ‘शिखका मच्चल’ अर्थात् दलभक्त बुर्दुजा पुन गाउँथे, ‘ठिक्कैको रहेछ खयरको तीर्थ, थुक्थुकै मुटु कमाउने...।’

उनले छ्यामा (सानीमा)को मुखबाट लोकदोहोरी गायक दलभक्तको गीत सुनेका थिए । साँच्चै बर्खे झरीमा रुझेर तीर्थयात्रा गर्दाको दुःख वर्णन गरिएको गीतले भावुक बनाउँछ । तेस्रो पटक खयर भारानीको दर्शन गर्दा कानमा त्यही गीत गुञ्जियो । उनले त्यतिबेलै मनमनै प्रतिज्ञा गरे–एक दिन म तीर्थालुलाई सजिलो बनाउने काम गर्नेछु ।  

उनले प्रतिज्ञा मात्र गरेनन्, त्यसलाई पूरा पनि गरे । धेरैले उनको होस्टेमा हैंसे गरिदिए । म्याग्देली लगायत अन्य शुभेच्छुकको सहयोग भुलिनसक्नु छ । ढल्किँदो उमेरमा लेक लाग्ने डाँडामा पुगेर मन्दिर, पदमार्ग र धर्मशाला बनाउने अभियानमा जुट्नु चानचुने काम होइन । अझै थाकेका छैनन् उनी । 

उनले खयर भारानीको आशीर्वाद पाएका छन् । आउनुस् हामी पनि भारानीको आशीर्वाद थापौं । जनैपूर्णिमा मेला भर्ने बहुसंख्यक तीर्थालु पाउद्वार हुँदै जान्छन् । विदेशी पदयात्री भने फरकफरक रुट प्रयोग गर्छन् । सामाजिक अभियन्ता महाविर पुनको अगुवाइमा खोलिएको ‘खोपारा (खोप्रा) पदमार्ग’मा हिँड्नेहरू कोही नागी भएर, कोही मोहरेडाँडा र कोही टाडापानी हुँदै खयर पुग्छन् ।  

राजु दाइको काम हेर्दै जाने हो भने पाउद्वारको बाटो रोज्नुपर्छ । बेनीबजारबाट गलेश्वर, तिप्ल्याङ, पोखरेबगर हुँदै पाउद्वार २८ किमि दूरीमा छ । त्यहाँसम्म जीप यात्रा गर्न डेढ घन्टा लाग्छ । पाउद्वारमा तीन होटल छन् । पाउद्वार हुँदै खयर भारानी थान पुग्न दुई दिन लाग्छ । पहिलो दिन करीब ५ घन्टा उकालो चढेर खोपारामा पुगेर बास बस्नुपर्छ । त्यहाँबाट ५ घन्टामा भारानी थान पुगिन्छ । खोपारामा एउटा मात्र होटल छ । त्यहाँभन्दा मास्तिर होटल तथा रेष्टुराँ छैनन् । भेडीगोठ र राजु दाईको नेतृत्वमा बनेका चार वटा ठूल–ठूला धर्मशाला मात्र छन् । 

अन्त्यमा, सामाजिक काममा लागेकाले उनले सबैको स्याबासी पाएका छन् । मनमा पनि सन्तोक मिलेको छ । उनी बढीभन्दा बढी तीर्थालु खयर पुगेर तिनको मनोकांक्षा पूरा भएको हेर्न चाहन्छन् । अठसट्ठी वर्से उनी अझै सक्रिय जीवन बाँचिरहेका छन् । प्रेरणादायी काम गरिरहेकै छन् । उनको सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक शुभकामना ! 

प्रकाशित: १९ वैशाख २०७७ १२:०४ शुक्रबार

काष्टमण्डप