सुप्रिया पौडेल, कक्षा: ५
गौरी शंकर बोर्डिङ स्कुल, सन्धिखर्क, अर्घाखाँची।
कक्षा २ मा पढ्दा मैले बबा आफ्नो आदर्श व्यक्ति भनेर लेखें । कक्षा ३ मा पढ्दा आफ्नी आमा आदर्श व्यक्ति भनें । यसपटक परीक्षामा राष्ट्रपति विद्यादेवी भण्डारी भनेर लेखें । लेखें के भन्नु, कपि गरें कहिले अमृता, लक्ष्मी मिसले, कहिले सन्दिप सरले त कहिले ममिले जेजे लेख भन्नु भयो त्यही लेखें ।
वार्षिक परीक्षामा पनि हामी केटीहरूले आफ्नो आदर्श राष्ट्रपति विद्यादेवी भण्डारी भनेर लेख्यौं । केटाहरूले प्रधानमन्त्री केपि शर्मा ओली र कसैकसैले राजेश हमाल जस्तो हिरो बन्छु भनेर पनि लेखे ।
साँच्चै भबिश्यमा कस्तो बन्ने होला ? सोच्ने गर्छु छिमेकी अंकल जस्तो डाक्टर कि मामा जस्तो इन्जिनियर ? प्रिन्सिपल जस्तो बनौं कि स्कुल अगाडिका मिठाइ पसले अंकल जस्तो ? किताबमा पढेका राजा जस्तो कि टिभीमा देखिने प्रधानमन्त्री जस्तो ? राष्ट्रपति बन्दा कस्तो होला भनेर त धेरै पटक सोचेकी छु । यस्ता धेरै सपना धेरैपटक देख्ने गर्छु । कहिले के बन्ने त कहिले के बन्ने । कुनै सपना त एक दिन नटिक्ने खालका हुन्छन् । कल्पना गर्दा मात्र पनि आनन्द हुन्छ । त्यसैले मलाई सपना देख्न मन पर्छ ।
लकडाउन सुरु हुनु अघिसम्म मेरो आदर्श राष्ट्रपति भण्डारी मात्रै हुनुहुन्थ्यो । म उहाँ जस्तै बन्न चाहन्थेँ । देशकै ठूलो मान्छे । हामी भन्दा पनि कमजोर आर्थिक अवस्थाबाट आएकी मान्छे आज देशकै सर्बोच्च पदमा हुनुहुन्छ ।
हेर्दै जानुस्, एक दिन म यो देशको राष्ट्रपति बन्नेछु । देश र दुनियाँ परिवर्तन गरेरै छाड्ने छु । आफ्नो मात्र होइन, सबैको भलो हुने काम गर्नेछु ।
श्रीमान चाँडै वितेर दुःख पाउनु भएको रहेछ । दुइटी छोरी हुर्काउन कति पिडा झेल्नु प¥यो होला । गाउँले र इष्टमित्रले के मात्रै भनेनन् होला ? कल्पना गर्न पनि डर लाग्छ । मेरा बाबा बिदेश हुँदा ममिलाई जति गाह्रो भएको छ उहाँको त श्रीमान नै बितेको कति दुःख गरेर सन्तान हुर्काउनु भयो होला ! संघर्षशील, कर्तव्यनिष्ठ र साहसी नारी । समाजका कुरिती र विसंगतीविरुद्ध लड्दै, विभेदलाई झेल्दै, दुःखका महासागर तर्दै नारीलाई अगाडि बढ्न हौसला दिने राष्ट्रपति भण्डारी जस्तै बन्न थियो मलाई ।
मलाई विश्वास लागेको छ कि प्रगती गर्न धन, सम्पति, पैसा, पारिवारिक पृष्ठभूमि गतिलो नभए पनि सम्भव हुने रहेछ । इच्छाशक्ती, लगन, मेहेनत र निरन्तरताले मान्छेलाई एक दिन सफलताको सगरमाथा पु-याउँछ भन्ने राष्ट्रपति भण्डारीबाट प्रस्ट भएको छ ।
मेरो आदर्श हजुरआमा पनि हुनुहुन्छ । लकडाउनले गर्दा हजुरआमालाई नजिकबाट चिन्ने मौका पाएँ । उहाँका जिन्दगीका अनगिन्ती आँधीबेहरी, बाढी र खडेरीका भोगाईले सिकाएका कुरा किताब वा कुनै डिग्रीबाट पाउन सकिन्न । एकाघरमा हुँदा ३ पुस्ताका १५ जनालाई उहाँले कसरी व्यवस्थापन गर्नु भयो होला । कसरी कहिल्यै नरिसाउने श्रीमती, बुहारी, सासु र हजुरआमा बन्न सफल हुनुभयो ? परिवारको आर्थिक अवस्था बिग्रेपछि कसरी दूधको व्यापार र तरकारी खेती गरेर आर्थिक अवस्था सुधार गर्नुभयो ? बसाई सरेर गाउँबाट बेसी झरेपछि नयाँ छिमेकीसँग कसरी असल सम्बन्ध बनाउनु भयो ? कस्ताकस्ता दूःख गरेर छोराछोरीलाई पढाउनु भयो होला !
लकडाउनमा बसेका बेला मैले हजुरआमाका धेरै कुरा सुनें । मैले के कुरो पत्ता लगाएँ भनेँ जिन्दगीको सबैभन्दा ठूलो कुरा पारिवारिक मेलमिलाप, आफन्त र छिमेकीसँग असल सम्बन्ध स्थापित गर्नुका साथै गाउँघरमा इमान्दार मान्छेको परिचय बनाउनु रहेछ । पैसा, पद र प्रतिष्ठा मात्रै सब थोक हैन रहेछ । व्यापारी, उद्योगपति, डाक्टर, इन्जिनियर, मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति जेजे बने पनि असल पारिवारिक र सामाजिक सम्बन्ध स्थापित गराउन सकिएन भने बाँकी कुराको खासै अर्थ हुँदैन रहेछ ।
म ठूलो भए पछि राजनीति गर्नेछु । आज खराब राजनैतिक संस्कारले सबैथोक बर्बाद पारेको छ । म यो बर्बादी, बेइमानी र भ्रष्टचारलाई निमिट्यान्न बनाएरै छाड्नेछु । सकेसम्म असल काम गर्नेछु । इमान्दार भएर देशको सेवा गर्नेछु । परिवर्तनको सम्बाहक बन्ने छु । देश र दुनियाँ परिवर्तन गरेरै छाड्ने छु । सबैको भलो हुने काम गर्ने छु । एक दिन पक्कै म यो देशको राष्ट्रपति बन्ने छु ।
प्रकाशित: १४ वैशाख २०७७ ०७:५१ आइतबार