अन्य

बसिबियाँलोमा मुहारचित्र

कलाकार कृष्ण मर्सानी

‘पानी रंगको पाठशाला’ मानिने पोखराले थुप्रै कलाकार जन्माइसकेको छ । त्यहीँको माटोमा साधना गरेर दुर्गा बराल (वात्स्यायान), बुद्धि गुरुङ, यादवचन्द्र भुर्तेल, आलोक गुरुङ, पदम घले, रमेश श्रेष्ठ, किरण रञ्जित, मिलन शेरचनलगायत कलाकार अब्बल बने । पछिल्लो समय त्यही हुलमा अर्को एउटा नाम चम्किँदै छ–कृष्ण मर्सानी ।

खासमा उनी मुहारचित्र बनाउँछन् । क्यानभासमा मान्छेका मुहार दुरुस्तै उतार्छन् । हरेक बिहान ६ बजेपछि क्यानभासमा पेन्सिल रंग खेलाउँछन् । डेढ–दुई घण्टामा चित्र कोरी भ्याउँछन् र जसको चित्र बनाइएको हो उसको विषयमा छोटो जानकारी लेखेर आफ्नो फेसबुकवालमा पोष्ट गर्छन् ।

पोखरेली कलाकार कृष्ण मर्सानीको सोख बिचित्रको छ । एकजना सत्पात्रको मुहारचित्र कोरेर उनको बिहानी सुरु हुन्छ । कला, साहित्य, संगीत, संस्कृति, पत्रकारिता, समाजसेवा र पर्यटनमा योगदानको जीवन बाँचेका व्यक्तिका चित्र बनाउँछन् । चित्रसँगै तिनको छोटो जानकारी लेखेर आफ्नो फेसबुकको वालमा पोस्ट गर्छन् र मुसुक्क मुस्कुराउँछन् ।

उनको यस अभियानबाट एक साथ तीनवटा उपलब्धि हासिल हुन्छ । पहिलो, सामाजिक जीवनमा योगदान गरेका कवि, लेखक, कलाकार, नेता, पर्यटनकर्मी, पत्रकार, संगीतज्ञ, समाजसेवी आदिको चर्चा हुन्छ । दोस्रो, यसबाट उनलाई आत्मसन्तुष्टि मिल्छ । तेस्रो, नियमित अभ्यासले उनको कलाकारिताले निखारिने मौका पाउँछ ।  

मर्सानीले हरेक दिन मुहारचित्र बनाउन थालेको १४ सय दिन पुग्नै आँट्यो । ‘बसिबियाँलो’ शृङ्खलामा उनले २८ मे २०१६ देखि नियमित मुहारचित्र बनाउन थालेका हुन् । आफ्नै मुहारचित्र बनाएर फेसबुकमा पोष्ट गरेसँगै उनले यस अभियानको श्रीगणेश गरेका थिए । पछि परिवारका सदस्यको बनाए । त्यसको केही दिनदेखि सामाजिक जीवनमा योगदान गर्नेहरू मात्र उनको रोजाइमा पर्न थाले ।  

उनको कामले समाजमा योगदान गर्नेहरूको सम्मान भएको छ । ‘कतिपय व्यक्तिको जानकारी गुगलबाट लिन्छु । कतिपयका विषयमा साथीहरूसँग बुझ्छु’, चित्रसँगै पोस्ट गरिने सूचना संकलनबारे उनी प्रस्ट्याउँछन्, ‘चिनेजानेको मान्छेको बारेमा लेख्न त सजिलो भइहाल्छ ।’

विचित्रको सोखले सिर्जनशील काममा समर्पित भएकाले उनले चारैतिरबाट स्यावासी पाउँदै आएका छन् । उनको बसिबियाँलो एक दिन पनि टुटेको छैन । ‘दिमाग, हात र आँखा चलुञ्जेल मुहारचित्र बनाइरहन्छु’, उनी भन्छन्, ‘सबैभन्दा ठूलो कुरो यसबाट मनमा सन्तोष मिलेको छ ।’

उनले बनाएका चित्र उनले सम्बन्धित मान्छेलाई फेसबुकमा ट्याग गरिदिन्छन् । अनायास आफ्नो चित्र देख्दा उनीहरू गद्गद् हुन्छन् । गीतकार दिनेश अधिकारी, हास्यव्यंग्य कलाकार मनोज गजुरेललगायत धेरैबाट धन्यवाद र आशीर्वाद पाएका छन् उनले ।  
आफ्ना चित्रहरू सुरक्षित राखेका छन् । केही दिनपछि उनले बनाएका मुहारचित्रको संख्या १४ सय पुग्दैछ । सुरुका दिनमा सोखले मुहारचित्र बनाएका उनलाई हिजोआज धेरैले मुहारचित्रको पुस्तक प्रकाशन गर्न हौस्याइरहेका छन् ।
उनको मनले पनि त्यस्तै चाहना गर्न थालेको छ । ‘पहिला पोखरामा यी चित्रहरूको प्रदर्शनी गर्नेछु’, उनले सुनाए, ‘सहयोगी पाएँ भने काठमाडौंमा पनि प्रदर्शनी गर्ने विचार छ ।’

उनी विशेषतः पोटे«ट र भगवान्का चित्र बनाउँछन् । दुई पटक एकल कला प्रदर्शनी गरिसके उनले । मुहारचित्रको प्रदर्शनी गर्न भने भ्याएका छैनन् ।

उनको कामबाट प्रभावित हुनेहरूले मुहारचित्र अर्डर गर्छन् । यसरी अर्डर गर्नेहरूसँग उनी प्रतिकलाको तीन हजारदेखि पाँच हजार रुपैयाँसम्म लिन्छन् । पोखरामा हुने शुभकार्यहरू जस्तै बर्थ डे, उद्घाटन, विमोचन आदिमा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूलाई उनीहरूकै मुहारचित्र ‘मायाको चिनो’का रूपमा दिने चलन विकास हुँदैछ । यस्ता कार्यक्रमका आयोजकहरूले पनि उनलाई काम दिन्छन् ।

उनले कलाबाट नाम र दाम दुवै कमाएका छन् । फर्केर हेर्दा कला यात्रा सुखद बनेको अनुभूति हुन्छ । उनले स्वाध्यायनबाट कलाकर्म सिकेका । यद्यपि उनी कलाकार यादवचन्द्र भुर्तेललाई आफ्नो ‘आइडल’ मान्छन् । ‘कुनै कुराको सुझाव लिनु प¥यो भने
भुर्तेल सरलाई सम्झन्छु’, मर्सानी भन्छन्, ‘म उहाँबाट प्रभावित छु ।’

उनी स्कुल पढ्दादेखि नै कलामा आकर्षित थिए । विसं २०४० मा पोखरामा दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता भएको थियो । प्रतियोगितामा दक्षिण कोरियाबाट एकजना प्रशिक्षक आएका थिए । तिनको सहयोगीका रूपमा हाम्रा मर्सानीले पनि काम गर्ने अवसर पाए । ती प्रशिक्षक कलाकार पनि रहेछन् ।

‘उहाँले मेरो र साथीको पोटे«ट बनाएर उपहार दिनुभयो’, मर्सानी सम्झन्छन्, ‘त्यसपछि विसं २०४१ सालदेखि मैले पनि मुहारचित्र बनाउन थालेँ ।’

तिनताका कलाबाट बाँच्न सक्ने अवस्था थिएन । त्यसैले केही समय चित्र बनाएर छाडिदिए उनले । मनमा कलामोह जीवितै थियो । पछि सन् २००० मा उनले फेरि चित्र कोर्न सुरु गरे । विशेषतः भगवान्का चित्र बनाउन थाले । पछि मुहारचित्रमै फर्किए ।
उनी कलाकारितासँगै सामाजिक काममा पनि क्रियाशील छन् । विसं २०७६ भदौ २ गतेदेखि वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रको जागिरबाट फुर्सद मिलेसँगै उनी सामाजिक काममा व्यस्त छन् ।

उनले बेलाबेलामा सम्मान पाएका छन् । दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान, तुलसीपुरबाट स्वामी अद्वेतानन्द सर्जक प्रतिभा पुरस्कार–२०७४ पाउँदाको खुसी उनी शब्दमा व्यक्त गर्नै सक्दैनन् ।  

नेपाली समाजले राम्रोसँग कलाको महत्व नबुझेकोमा भने उनको मन दुःखेको छ । कलाको सम्मान गर्न नेपाली समाज चुकेको छ । करोडौं रुपैयाँ खर्च गरेर महल बनाउनेहरूले समेत बीस तीस हजार रुपैयाँ खर्च गरेर आफ्ना कोठामा कलाकृति सजाउँदैनन् । निजी घर बनाउनेहरूको त कुरै छाडौं, सरकार र सामाजिक संघसंस्थाले त कलालाई महत्व दिनुपर्ने हो । त्यसो हुन सकेमा मर्सानी जस्ता धेरैले कलाबाटै जीविकोपार्जन गर्ने वातावरण बन्ने थियो ।    

‘हामीले एक घर एक चित्रको अवधारणा अघि बढाउनुपर्छ’, मर्सानी भन्छन्, ‘जुन घरमा कला सजिन्छ त्यहाँ सरस्वती र लक्ष्मीको बास हुन्छ ।’ ठीकै भने उनले सक्नेले त एक कोठा एक चित्र राख्नु बेस हुन्छ ।
सानैदेखि अन्नपूर्णसहित कुमारी हिमाल माछापुच्छे«को उज्यालोमा रमाउँदै आएका मर्सानी मान्छेको अनुहारमा पनि त्यस्तै उज्यालो, त्यस्तै खुसीको खोजी गर्छन् । उनको उमेर ५७ वर्ष भयो । पोखराको बगालेटोलमा जन्मे÷हुर्केका उनी अचेल पोखराकै न्यूरोडमा बसोबास गर्छन् ।

हरेक बिहान एकजना सत्पात्रको चित्र कोर्दा र त्यसका विषयमा जानकारी बटुल्दा मनमा सकारात्मक सोचले बास गरिराख्छ । समाजका लागि बाँच्ने ऊर्जा बढ्छ । सामाजिक योगदान गर्नेहरूको नाम चम्किरहन्छ । तिनै सत्पात्रका चित्र बनाउँदैबनाउँदै मर्सानी पनि योगदानको जीवन बाँच्दै छन् । अमर बन्ने बाटोमा हिँड्दै छन् । अविराम यात्राका लागि कलाकार मर्सानीलाई शुभकामना !

गायक अमृत गुरुङ


लेखक अभि सुवेदी

साहित्यकार वानिरा गिरी

कलाकार वसुन्धरा भुसाल


 

लौह पुरुष गणेशमान सिंह


 

कलाकार हरिवंश आचार्य


 

सन्त नेता कृष्णप्रसाद भट्टराई


 

लोककवि अलिमियाँ


 

कलाकार मदनकृष्ण श्रेष्ठ


 

पत्रकार नारायण वाग्ले


 

स्वरसम्राट नारायणगोपाल गुरुवाचार्य


 

साहित्यकार पारिजात


 

रानी ऐश्वर्य


 

साहित्यकार सरुभक्त


 

संस्कृतिविद् सत्यमोहन जोशी


गायिका तारादेवी

प्रकाशित: २ वैशाख २०७७ ०७:४६ मंगलबार

पाठशाला बसिबियाँलो मुहारचित्र नागरिक परिवार