अन्य

‘फेसन अब पहुँचबाहिर रहेन’

शिवाङ्गी प्रधान अहिले नाम चलेकी फेसन डिजाइनर हुन् । नायिका ऋचा शर्मा र प्रियंका कार्कीको बिहेका ड्रेस डिजाइन गरेकी उनी अहिलेकी चर्चित डिजाइनरमध्येमा पर्छिन् । मोडलिङबाट आफ्नो करियरको सुरुवात गरेकी उनले परम्परागत ड्रेस डिजाइन थालेको चार वर्ष मात्रै भयो । यति छोटो समयमा नै सफलता हात पारेकी प्रधानसँग पुष्पा थपलियाले गरेको कुराकानीः

फेसन के हो जस्तो लाग्छ ?
फेसन हरेक व्यक्तिपिच्छे फरक हुन्छ । कसैलाई ट्रेन्ड नै फेसन जस्तो लाग्छ, कसैलाई कम्फर्ट ! मेरो विचारमा चाहिँ ट्रेन्ड र कम्फर्ट दुवै भएको जीवनशैली फेसन हो ।

ट्रेन्ड त अरुको देखेर पनि थाहा हुन्छ, तर त्यो मान्छे कन्फर्टेबल (सहज) छ कि छैन भन्ने कसरी थाहा पाउने त ?
त्यो पनि व्यक्तिमै फरक पर्ने कुरा भयो । कसैले त्यसको लवाइ हेरेर बनोट देखेर थाहा पाउलान्, कसैले कपडाको फेब्रिक हेरेर । अब नेटको प्रयोग धेरै भएको कपडा लगाउन गाह्रो हुन्छ भने कटन, सिल्क प्रयोग भएका कपडा अलि धेरै कन्फर्टेबल फिल हुन्छ । लेहेंगा, धेरै भरिएका साडीहरु लगाउन गाह्रो हुन्छ । घरमा बस्दा लगाएको कपडाजस्तो त हुँदैन ! किनभने लेहेङ्गा लगाउँदा जुन प्रिन्सेस फिल दिनुपर्ने हुन्छ, त्यसका लागि थोरी भारी उठाउन परिहाल्यो ! यसमा पनि कस्तो क्वालिटीको कपडा प्रयोग गर्ने भन्ने कुराले फरक पार्छ ।

क्वालिटी कपडा कसरी थाहा पाउने त ?
यसका लागि त रिसर्च गर्नुपर्‍यो नि ! हामी पनि कपडा हेरेर मात्रै यो क्वालिटीको छ, यो छैन भन्ने कसरी थाहा पाउँछौं र ? यसबारे त अध्ययन नै गर्नुपर्छ अनि मात्रै थाहा हुन्छ । हेर्दै जाँदा, लगाउँदै जाँदा, अनुभवले थाहा पाउने कुरा हुन्छ । यसबारे टिप्स नै दिनुपर्दा, कटन, जर्जेटजस्ता फेब्रिकहरु प्रयोग गर्नुस् । जिन्स लगाउनुहुन्छ भने पनि यसमा सफ्ट र हार्ड हुन्छ । सफ्ट तन्किने खालको हुन्छ, हार्ड कडा ! यसो भन्दैमा नरम लाग्ने कपडा सबै राम्रो हुन्छ भन्ने होइन । यसमा पनि यदि कम क्वालिटीको प¥यो भने छिट्टै च्यातिने, रङ उड्नेजस्ता समस्या देखापर्न सक्छन्।

सुरुवाती यात्रा मोडलिङबाट गर्नुभयो, कसरी लाग्नुभयो यसमा ?
सानैदेखि ब्युटी प्याजेन्टहरुमा सहभागी हुन मन लाग्थ्यो, अवसर पाएँ पनि । स्कुल पढ्दासमेत मैले केही ब्युटी प्याजेन्टमा भाग लिएर पुरस्कार जितेकी छु । बिस्तारै यसैमा रहर बस्दै गयो । मैले मोडलका रुपमा काम गर्न सुरु गरेको पनि १७ वर्षको उमेरदेखि हो । फेरि मैले मेरो करियर मोडलिङबाट सुरु गरे पनि म प्रोफेसनल मोडल भने हैन । यसमा रहर जागेका कारण मात्रै मैले मोडलिङ गरेकी हुँ ।

तपाईँले मोडलिङको लागि परिवारको सपोर्ट छ भन्नुभएको रहेछ । यति हुँदाहुँदै पनि यसैलाई व्यावसायिक रुपमा अगाडि बढाउन नसक्नुको कारण के होला ?
यो मेरो इन्ट्रेस्टको कुरा पनि हो । सुरुमा यसबारे रहर जाग्यो । रहर पूरा गर्न मोडलिङ गरेँ । पछि बिस्तारै फेसन डिजाइनिङमा चाख बढ्यो । त्यही भएर अहिले यही रहरको काममा रमाइरहेकी छु । यसमा मेरो परिवारको करकाप भन्ने कुरा छैन । मनमा अझै मोडलिङ नै गर्छु भन्ने भएको भए त्यो जारी रहनसक्थ्यो । मेरो परिवारमा बाबाआमा दुवै बुझ्ने हुनुहुन्छ । छोरी भएर यो गर, त्यो नगर भन्नेखालको वातावरण भएन । सबै कुरामा ‘तिमीलाई गर्न मन छ भने गर न त’ भन्ने सहयोगी हुनुभयो । त्यसैले मलाई सजिलो भयो ।

मोडलिङ गर्दा सम्झनालायक काम केही छ कि ?
त्यो बेलामा प्रायः फोटोसुट र एडिटोरियल गरेँ । यसमा पनि मैले याद गर्नुपर्ने तरिकाले समय नै दिइनँ । खासमा भन्नुपर्दा केहि संघर्ष पनि गर्नु परेन । जति समय मोडलिङ गरें, त्यो समयमा आफूले गरेका काममा भने हन्ड्रेड पर्सेन्ट नै मिहिनेत गरेँ । अहिले मोडलिङ नगरेको पनि छ वर्ष पुग्न आँटिसक्यो । मैले त त्यो बेलाका रमाइला र सम्झनालायक कुराहरु भुलिसकेँ ।

मोडल भनेको डमीजस्तै हो, उसले सजिलो अफ्ठेरोबारे केही प्रतिक्रिया दिन पाउँदैनन् भन्ने सुनिन्छ, के यो साँचो हो ?
हो । उनीहरुको काम भनेकै फेसन डिजाइनरले बनाएका कपडा लगाउने अनि कोरियोग्राफरले दिएको निर्देशनअनुसार हिँड्ने हो । डिजाइनरले मोडललाई कन्फर्टेबल हुन्छ, हुँदैन भन्ने कुरा सोचेर बनाएको हुँदैन नि ! मोडललाई लगाउन दिनुको कारण भनेको त, नयाँ प्रोडक्ट यस्तो आयो है भनेर जानकारी गराउने माध्यम मात्रै हो । तर आफूलाई हुँदै नहुने, कन्फर्टेबल फिलै नहुने भयो भने त त्यो पर्सनल कुरा हो । के लाउने, के नलाउने भन्ने कुरा व्यक्तिअनुसार नै भर पर्ने कुरा हो । मोडल प्रोफेसनल हो भने त्यस्तो भन्दैनन् ।

नेपालमा कन्फर्ट खोज्ने मोडलहरु पनि होलान् ?
मलाई यस्ता मोडलहरु नेपालमा छन् जस्तो लाग्दैन । अरु देशमा जस्तो फालाफल फेसन सोहरु नेपालमा हुँदैन । डिजाइनरका रुपमा मैले पनि धेरै मोडलहरुसँग काम गरिरहेकी हुन्छु तर उनीहरुले अहिलेसम्म तपाईंले भनेजस्तो समस्या देखाएका छैनन् । आई थिंक यस्ता समस्याहरु बाहिर देशमा बढी हुन्छ होला । हाम्राका लागि त मोडल धेरै भएकाले गर्छु र गर्दिनँ भन्ने अप्सन नै हुँदैन । बेलाबेला फेसन सोका आयोजकहरुले पैसा दिँदैनन्, खाजासमेत अन्य देशको मोडल र हामीमा फरक गर्छन् भनेर हाम्रा देशका

केही मोडलले दुखेसो पोख्छन् । के यो साँचो हो ?
यसबारे मेरो कुरा गर्ने हो भने त, म सबैलाई सुट, क्याम्पेन सकिएपछि सबैलाई राम्रो पेमेन्ट गर्छु । यति मात्र होइन, लजिङ फुडिङको व्यवस्थासमेत सकेसम्म राम्रो नै गर्ने कोसिस गर्छु । योभन्दा अघिल्लो वर्ष पनि मैले राम्रै गरेकी थिएँ, नपत्याए मसँग काम गरेका मोडलहरुलाई नै गएर सोध्नुस् (हाँस्दै) । अरुको कुरा गर्ने हो भने पनि पहिलेको तुलनामा अहिले त निकै राम्रो छ नि मोडलका लागि ! पहिले पैसा राम्रो नदिने मात्रै हो र, डिमान्ड गरेमा त झनै गरे गर नगरे अर्कै मोडल हाल्दिन्छु भन्नेसम्मको हुन्थ्यो । अहिले त आफ्नो रेट नै तोकेर काम गर्न थालेका छन् मोडलहरुले । यो मोडल व्यस्त हो भनेपछि उसले जति पैसा लिए पनि उसैलाई लिने जमाना पनि आइसक्यो । फेसनविकका बेला कयौँ मोडलहरुसँग दोहोर्‍याएर सहकार्य गरेकी छु । त्यसमा तपाईंले भनेजस्ता समस्या देखापरेका थिएनन् । सबैले राम्रै पे गरेका थिए, खानाखाजाको व्यवस्था पनि राम्रै थियो । अर्को कुरा, तपाईंले भनेजस्तो समस्या देखिएको हो भने मोडलहरुले पनि आवाज उठाउनुपर्छ । पेमेन्टको बारेमा पनि खुलेर पहिल्यै डिल गर्नुपर्छ ।

मोडलिङमा लागेर पेट पाल्ने वातावरण बनेको छ त अहिले नेपालमा ?
त्यो चाहिँ छैन । यसका लागि भाग्यले पनि साथ दिनुपर्छ जस्तो लाग्छ । कोही राम्रो हुँदाहुँदै काम नै पाइरहेका हुँदैनन् भने कोहिलाई समयले साथ दिँदैन । अनि हार्डवर्क पनि चाहिन्छ । यो लाउँछु, यो लाउँदिनँ भन्ने मोडलले पनि काम पाउने सम्भावना कम रहन्छ । हाम्रो देश नेपाल क्षेत्रफलको हिसाबमा पनि सानो छ । थोरै जनसंख्यामा मार्केट पनि कम छ तर मोडल भने बढी हुँदैछन् । काम कम अनि जनशक्ति बढी भएकाले पनि पेट पाल्न उनीहरुलाई मुस्किल पर्नसक्छ । यसो भन्दैमा यदि कुनै मोडल बेस्ट छ, उसले हार्डवर्क गर्छ र लकले पनि साथ दिएको छ भने आरामसँग यही पेशामा लागेर जिन्दगी बिताउन सक्छ ।

मोडल धेरै भन्नुभयो नि, किन होला ?
मोडलिङ भनेको भित्री इच्छाले गर्ने काम हो । यो हाम्रोमा मात्रै होइन, अन्य देशमा पनि धेरै नै हुने क्षेत्र हो । तपाई इन्डियालाई नै हेर्नुस् न, हरेक घरका मानिस मोडल बन्ने सपना देख्छन्, बन्ने नबन्ने उनीहरुको कुरा हो ।

फेसन डिजाइनका कुरा पनि गरौं । यसको चासो कताबाट आयो नि ?
सानै उमेरमा मोडलिङ गर्दै थिएँ तर इन्ट्रेस्ट भने सानैदेखि डिजाइनिङमा पनि थियो । बच्चादेखि नै कहिले के लाइरा’छ, कस्तो देखिइरहेको छ भन्नेबारे ध्यान जान्थ्यो । बुझ्दै जाँदा झनै रोचक लाग्यो यो फिल्ड मलाई । अनि परिवारसँग पनि यसबारे कुराकानी गर्दा, ‘तिमीलाई राम्रो लागे, गर्न मन लागे गर न त’ भन्नुभयो । ट्राइ गर्दै अहिले यहाँ छु ।

फेसन डिजाइनिङ चाहिँ कहाँ पढ्नुभयो त ?
केही समय आइसिईमा पनि पढेँ । धेरैजसो भने बाहिरका देशहरुमा अनलाइनबाट पढेँ । अनलाइनबाट पढ्दा उनीहरुले त्यताबाट असाइनमेन्ट गर भनेर पठाउँछन् अनि आफू नेपालमै बसेर पढ्ने गर्नुपर्छ । त्यही असाइनमेन्ट हेरेर उनीहरुले रेटिङ गरेर पठाउँछन्।

तपाईँले बिहे गर्दा त यो क्षेत्रमा आइसक्नुभएको थियो तर आफ्नो बिहेमा पनि अरुको डिजाइन लगायो भनेर आलोचना गर्छन् नि ?
यस्तो छ, सुरुमा मैले अहिलेको जस्तो वेडिङ र ट्रयाडिसनल ड्रेस डिजाइन गर्दिनथें । सुरुमा त मेरो रुचिको विषय वेस्टर्न ड्रेस थियो नि ! त्यसैमा केही वर्ष काम गरेकी थिएँ । हाम्रो जस्तो देशमा यस्ता कपडा धेरै उत्पादन गर्न सके मात्रै राम्रो टिक्न सकिन्छ, नत्र गाह्रो हुन्छ । वेस्टर्न कपडाका लागि चाइना नै ठीक रहेछ भन्ने बुझेपछि मैले परम्परागत ड्रेस डिजाइनतिर हात हालेँ । मैले मेरो बिहेको समयमा पनि रिसेप्सनमा लगाएको ड्रेस रातो लेहेंगा भने आफैँले डिजाइन गरेकी हुँ । बिहेमा सबैले मैले लगाएको ड्रेसलाई आफँै बनाएको हो कि क्या हो भनेपछि यसमा राम्रै गरेछु जस्तो लाग्यो । मार्केट रिसर्च गर्दा र यहाँको कल्चर र हिस्ट्री पनि धेरै भएकाले यही राम्रो रहेछ हाम्रोजस्तो देशमा भन्ने लाग्यो । अहिले पनि वेस्टर्नमा मेरो रुचि छँदैछ ।

मार्केट बुझेर ब्राइडलमा आएँ भन्नुभयो, वेस्टर्न डिजाइनका लागि समस्या के रहेछ त ?
नेपालमा वेस्टर्न डिजाइनबाट बाँच्न मुस्किल छ । मैले पनि करिब एक वर्ष जति त ट्राई गरेकै हो । नसकेपछि र यस क्षेत्रमा धेरै रिसर्च गरेपछि परम्परागत ड्रेस डिजाइनका लागि तयार भएकी हुँ । हुन त एभ्री थिङ इज पोसिबल भन्छन्, हामीकहाँ पनि यो पोसिबल छ तर बजेट पुग्दैन । यसका लागि हामीले मेसिन पनि महँगा ल्याउनुपर्ने हुन्छ अनि धेरै मात्रामा उत्पादन पनि गर्नुपर्ने हुन्छ । त्यही भएर पहिले इस्टर्न डिजाइनलाई अगाडि बढाउन सक्नुप¥यो अनि मात्रै वेस्टर्नको पालो आउँछ । अहिले केही डिजाइनरले यसमा काम पनि गरिरहेका छन् ।

सेलिब्रेटीमा तपाईंको ड्रेस लगाउने मान्छे को हो ?
नम्रता श्रेष्ठ । उहाँ मेरो मिल्ने साथी र मेरो फेसन सेन्स पनि मन पराउने मान्छे हो । मैले फेसन डिजाइनरको रुपमा काम गर्ने भन्ने थाहा पाएर सबैभन्दा धेरै खुशी हुने मान्छे पनि उहाँ नै हो । अनि उहाँलाई कस्तो लगाउन मनपर्छ भन्ने पनि थाहा थियो मलाई, त्यही भएर पनि हाम्रो सहकार्य राम्रो हुन्थ्यो । त्यसपछि त प्रियंकाले पनि निकै सपोर्ट गर्नुभयो ।

सेलिब्रेटीले कपडा त लगाउँछन् त किन्दैनन् भन्ने गुनासो पनि गर्छन्, डिजाइनरहरु । तपाईं के भन्नुहुन्छ ?
उनीहरुले लगाएपछि नै मार्केटमा जाने भएकाले म यो कुरालाई सकरात्मक तरिकाले नै लिन्छु । यो भनेको त सेलिब्रेटी र हामीबीचको सहकार्य हो नि त ! यो त उनीहरुले हाम्रो ड्रेस लगाए पनि फाइदा, नलगाए पनि फरक नपर्ने कुरा हो नि ! अब उनीहरुले पर्सनल प्रयोजनका लागि लगेका छन् भने त पैसा तिरेरै किन्नुपर्‍यो ।

अहिले नेपालको फेसन ट्रेन्ड कस्तो देख्नुहुन्छ ?
पहिलेको तुलना गर्ने हो भने, अहिले धेरै राम्रो भएको छ । नेपालीहरु जे पायो त्यही, जस्तो पायो त्यस्तै लगाएर हिँड्दैनन् । स्टायल पनि राम्रो छ । ममी ड्याडीदेखि लिएर साना बच्चाहरुमा समेत फेसन सेन्स राम्रो छ । अझै काठमाडौंमा बस्नेहरु त झनै सबैभन्दा धेरै फेसनेबल छन् । दोस्रोमा भने पोखराका मानिस मलाई फेसनेबल लाग्छन्।

नेपालीले तपाईंको महंगा डिजाइनर ड्रेस लगाउन सक्छन् त ?
त्यो त व्यक्तिको कमाइमा भर पर्ने कुरा हो । अहिले नेपालीले किन्न सक्ने भएकाले नै होला मेरो बिजनेस चलिरहेको छ । कति आउँछन् बजेट छैन तर लगाउन रहर छ भन्छन् भने अप्सन राखेर बनाइदिन्छु, तर बजेटले नधान्ने काम भने गर्दिनँ ।

अरुले बनाएको ड्रेस देखाउँदै खोज्न आउने पनि हुन्छन् होला नि ?
किन नहुनु ! फोटो देखाएर यस्तो बनाइदेऊ भन्नेहरु पनि धेरै हुन्छन् । कतिपय भने आफ्नै डिजाइन बोकेर पनि आउँछन् तर म भने यहाँ भएको नै सेलेक्ट गर्नुस् भन्छु । कतिले त्यहीँबाट सेलेक्ट गर्छन्, नमान्नेलाई हुँदैन नै भन्छु । कतिपय बुटिकहरुले भने जस्तो भन्यो त्यस्तै बनाइदिने गर्छन् भन्ने पनि सुनेकी छु । आफ्नो बिजनेस बचाउनका लागि त्यसो गर्नुपर्ने बाध्यता पनि हुनसक्छ तर यसो गर्नु राम्रो भने हैन ।

मेकअप बिना फेसन अधुरो हुन्छ भन्छन् नि हो ?
हो त । एकदम हेभी लेहेंगा चोली लगाएको छ तर कपाल पनि मिलाएको छैन, अन्य मेकअपहरु पनि गरेको छैन भनेपछि त्यो त राम्रो देखिएन । त्यसैले म भने आफूले बनाएको डिजाइनसँग, यस्तो हेयरस्टाइल सुहाउँछ, यस्तो मेकअप राम्रो हुन्छ भनेर सल्लाह पनि दिन्छु ।

तपाईंको फेशनको कुरा पनि गरौं न । घरमा बस्दा, अफिस आउँदा र पार्टीमा जाँदा मन पर्ने ड्रेस कुन हो ?
घरमा जगरर्स वा पाइजामा लगाउँछु । स्टोर आउँदा अपोइटमेन्ट छैन भने कन्फर्टेबल भएर आउँछु, त्यसका लागि टिसर्ट पेन्ट लगाउँछु । अपोइन्टमेन्ट भएको बेला क्याजुअल ड्रेस लगाउँछु र मिटिङ नै छ भने त राम्रो ड्रेसअप गर्न परिहाल्यो ! मलाई जाडो मन पर्दैन, जाडो निकै जाडो लाग्छ । त्यही भएर मौसमअनुसार पनि फेसनमा फरकपना आउँछ । पार्टीमा जाँदा पनि अवस्था हेरेर फेसन गर्छु । कुनै पार्टीमा धेरै यताउता गर्नुपर्‍यो भने हिलसमेत नलगाई जान्छु । हिल लगाउनैपर्ने भयो भने पनि अतिरिक्त जुत्ता बोकेर हिँड्छु ।

तपाईंलाई मनपर्ने मेकअपका ब्रान्डहरु कुन हुन् नि ?
एकै खालको ब्रान्ड प्रयोग गर्छु भन्ने नै छैन मेरो त ! जस्तो कि, लिपस्टिक हुडा, ब्युटी, सिनाल या कलरपपको प्रयोग गर्छु । यी सबै मनपर्छ । अनि फाउन्डेसन सिनालको प्रयोग गर्छु, गाजल वेनिफिटको मनपर्छ ।

अन्य लगाउने कुराहरु ?
सजिलो ज्यान चाहिने भएकाले धेरै कुराहरु लगाउन मन पर्दैन । लगाउनै पर्ने कुराहरुमा घडी रोलेक्सको लगाउँछु । गरगहना खासै लगाउन मन पर्दैन । हेभी गहनामा इन्ट्रेस्ट छैन । सपिङ गर्न निकै मनपर्छ । कोट र जुत्ता भने जता देखे पनि किनिहाल्न मन लाग्छ।

ब्रान्ड कन्सियस कत्तिको हुनुहुन्छ ?
खासै छैन । मलाई राम्रो लागेको र कन्फर्टेबल लाग्ने सामान भेटेँ भने जहाँबाट पनि किन्छु ।

मनपर्ने रङ ?
अहिले त मलाई सबै रङहरु राम्रा लाग्छन् । यो रङको कुरा भनेको मुडअनुसार फरक पर्ने रहेछ । मेरो मुड कस्तो छ भनेर देखाउन रङले मद्दत गर्छ तर पनि अल टाइम फेभरेट भनेको कालो रङ नै हो । यसले अलि दुब्ली पनि देखाउँछ ।

प्रकाशित: २ वैशाख २०७७ ०७:३४ मंगलबार

फेसन पहुँच डिजाइनर नागरिक परिवार