अन्य

महामारीबाट मुक्तिको कामना

रुविआ पराजुली,कक्षा ५
बुढानिलकण्ठ स्कुल, काठमाडौं 

बैशाख १ गते अर्थात् नयाँ वर्षको पहिलो दिन । विगतमा गरिएका गल्ती तथा कमजोरीबाट पाठ सिक्दै आगामी दिन राम्रोसँग बितोस् भन्ने कामना गर्दै नयाँ वर्षको स्वागत गरिन्छ । यो दिनलाई हामीले पर्वका रुपमा मनाउँदै आएका छौं । 

वैशाख १ गते विस्ताराबाट नउठ्दै हामीले आपसमा शुभकामना साटासाट ग¥यौं । बिहानै उठेर सबैलाई शुभकामना दिन्छु भनेर सुतेकी थिएँ तर बाबाले पहिल्यै भन्नु हो, ‘ह्याप्पी न्यू इयर ।’ 

बिहान ६ बजे उठेर नुहाएँ । आफ्ना लुगा धोएँ । आफैँ नुहाउन र लुगा धुन थालेको धेरै भएको छैन । सफा लुगा लगाएर मामुको आज्ञा अनुसार भगवानको पूजा गर्न थालेँ । त्यसपछि हामी परिवारका चारैजनाले ध्यान ग¥यौं । ॐ उच्चारण ग-यौं,  गायत्री मन्त्र जप्यौं । 

पोहोरभन्दा यसपाला फरक अनुभव भयो । पोहोर–परार हामी घुम्न जान्थ्यौं ।  अहिले कोरोना भाइरसका कारण यसबाट सुरक्षित हुन घरभित्रै बस्नु परेको छ । त्यसैले हामीले नयाँ वर्षको हर्ष घरभित्रै बाँड्यौं । 

नयाँ वर्षको पहिलो दिन राम्रो काम ग-यो भने वर्षका सबै दिन राम्रो हुन्छ भनेर बाबाले सुनाउनुभयो । त्यसपछि बहिनी र मैले एकछिन पढ्यौं । बिहानको ८ बजे नेपाल सरकारले दिएको आदेश अनुसार हामीले राष्ट्रिय धुन बजाएर राष्ट्रिय गान गायौं । 

मनमा धेरै कुरा खेले । म त परिवारको साथमै छु तर परिवारसँगै नहुने र रोजगारीका लागि विदेश गएकाका परिवारमा कस्तो पीडा होला ? अझ दैनिक कमाएर छाक टार्नेहरूको जिवन कसरी चलिरहेको होला ? उनीहरूलाई कति गाह्रो भएको होला ? कल्पना गर्दा पिडा भयो मलाई । मेरा आँखा रसाएका थिए, मैले हतारहतारा आँसु पुछें । यस्तो कठिन परिस्थिति सामना गर्ने शक्ति सबैलाई मिलोस् र सबै मुलुक कोरोनाबाट छिट्टै मुक्त हुन् सकुन् भन्ने कामना गरें । 

मैले लकडाउनमा यु ट्युबमा हेर्दै पेनिकामा विभिन्न धुन बजाउन सिकेकी छु । ती मध्येको एक हाम्रो राष्ट्रियगानको धुन पनि हो । मैले केहीबेर उक्त धुन बजाएँ । मेरो कला देखेर बाबामामु निकै खुशी हुनुभयो । त्यसपछि उहाँहरूले बहिनी र मलाइ टीका लगाएर आशिवार्द दिनु भयो । हामीलाई फूलप्रसाद सँगै पैसा पनि दिनुभयो–दक्षिणा । मह पनि खुवाउनु भयो ।

मलाई त राशी हेर्नुपर्छ भन्ने कुरा कहाँ थाहा थियो र ! घरबाट हजुरबाबा र मामाघरकी हजुरआमाले फोन गरेर भन्नुभयो ‘सबैको राशीको नाम हेर्दा संक्रान्ती राम्रो छ ।’ दुवै जनाको कुरा कस्तो मिलेको । हरेक महिनाको पहिलो दिनलाई संक्रान्ति भनिँदो रहेछ । 

टिकाटालो सकिए पछि बहिनी र मैले चेस खेल्यौं । अनि खाना खायौं । मैले खाना खाँदा प्रयोग गरेको भाँडा आफैं माझें । बिदाको समयमा हामीले खानापछि रामायण हेर्ने गरेका छौं । करिब डेढ घण्टा रामायण हे¥यौं । रामको भूमिका देख्दा त म पनि कसरी राम जस्तो बन्ने होला भन्ने पो लाग्छ ।

त्यसपछि मैले दिनभरका गतिविधिका बारेमा लेख्न थाले । कतिपय शब्द नेपालीमा नआएर मामुलाई सोधेर लेखेँ अनि टाइप गर्न मामुलाई दिएँ ।

अन्त्यमा, कोरोना भाइरसका कारण सबैलाई गाह्रो भए पनि घरभित्रै बसौं, सुरक्षित रहौं । यस महामारीबाट सबैलाई छुटकारा मिलोस, सबैलाई नयाँ वर्षको शुभकामना !

प्रकाशित: २ वैशाख २०७७ ०४:२३ मंगलबार

लकडाउन बालबालिका