अन्य

आवाजका दुनियाँसँग बेखबरहरुको कथा

गंगाराम यादव तथा बहिरा विद्यार्थीहरु । तस्बिर : मिथिलेश यादव

उनीहरुले हामीले बोलेका आवाजहरु सुन्न सक्दैनन् । आमाबुवाले माया गरी बोलाएको, रिसाएर बोलाएको, सडकमा गाडी गुडेको, साथीभाइहरु हाँसेको आवाजहरु सुन्न सक्दैनन् । आवाजको दुनियाँसँग उनीहरु बेखबर छन् ।

सुरिलो आवाज, कर्कश आवाज, रुखो आवाज, आवाजका अनगिन्ती विविधताहरु उनीहरुको कानका लागि केबल मौनता हो । आवाज कस्तो हुन्छ भने अनुभूति नै नभएपछि उनीहरुले आवाजलाई व्यक्त गर्ने कुरै भएन । उनीहरु बोल्न सक्दैनन् ।  

यो दृश्य सिरहाको बहिरा आधारभूत विद्यालयको हो । जहाँ ८५ जना बालबालिका पढ्छन् । चोहर्वा–सिरहा–माडर सहायक सडकको पूर्व छेवैमा बहिरा विद्यालय छन् । यस विद्यालयमा अध्ययनरत बहिरा र बोल्न नसक्ने विद्यार्थी सांकेतिक भाषामै पढाइ गर्छन् । उनीहरु राष्ट्रगान पनि सांकेतिक भाषामै गाउँछन् । कोही पढाइमा अब्बल छन्, कोही अतिरिक्त क्रियाकलापमा अब्बल छन् । उनीहरुमध्ये ७५ जना छात्रावासमै बस्छन् । बाँकी छिमेकी गाउँबाट दैनिक आउनेजाने गर्छन् ।

संजय दास यही विद्यालयबाट पढेका विद्यार्थी हुन् । अहिले उनी यही विद्यालयमा पढाउने शिक्षक छन् । बिहानदेखि बेलुकासम्म बालबालिकासँग समय बिताउनु उनको दैनिकी हो ।

विद्यालय प्रायः कोलाहल हुने स्थानभन्दा टाढै राखिन्छ । बालबालिकालाई पठनपाठनमा बाधा नपुगोस् भनेर यसो गरिएको हो । तर, बहिरा विद्यालय भने सडकछेउमै स्कुल छन् । चोहर्वा–सिरहा खण्डका हजारौं सवारी चर्को आवाजमा कुद्छन् । तर, कक्षा चलाउन कुनै समस्या छैन । विद्यार्थी ‘डिस्टर्ब’ मान्दैनन् ।

अन्य स्कुलमा जस्तो केटाकेटी होहल्ला गरेको, साथीलाई बोलाएको सुनिँदैन । यहाँ कान नसुन्ने बालबालिका मात्रै अध्ययन गर्छन् ।

२०५४ सालमा स्थापित विद्यालयमा कक्षा ८ सम्म पढाइ हुन्छ । ७८ छात्र र १७ छात्रा छन् । उनीहरू सबै जना मनले सुन्छन् र संकेतले संवाद गर्छन । अरू विद्यालयजस्तै यहाँ पनि परेड, व्यायाम र राष्ट्रगानबाट दिनको सुरुवात हुन्छ । विद्यार्थी सांकेतिक भाषामै राष्ट्रिय गान गाउँछन् । प्रधानाध्यापक भोलाप्रसाद यादवका अनुसार २०५२ सालमा ४ बालबालिका जुटाएर सिरहा बजारको भाडाको घरमा सुरु भएको पठनपाठन दुई वर्षपछि विद्यालयमा रूपान्तरण भयो । १४ जना बालबालिकालाई राखेर पूर्वप्राथमिक कक्षा (१ देखि ३) सञ्चालन गरियो । त्यसका लागि सांकेतिक भाषाको तालिम लिएका दुई शिक्षक नियुक्ति गरिए । ती बालबालिकालाई पढाउन लाग्ने सम्पूर्ण खर्च सिरहा बहिरा संघले बेहोथ्र्याे । उमेर पुगेका विद्यार्थीलाई साक्षर बनाउन सांकेतिक भाषा सिकाएर विभिन्न तालिम दिइन्थ्यो । २०६३ मा जिल्ला शिक्षा कार्यालयले प्रावि शिक्षकसमेतको राहत कोटाको दरबन्दी उपलब्ध गराई बहिरा विद्यालयको स्वीकृति दियो।

‘कोही धेरै चकचक गर्छन्, कोही शान्त बस्छन् । कोही हाँसीमजाक गर्छन् । कोही सुन्दर चित्र बनाउँछन्,’ प्रधानाध्यापक यादवले भने, ‘कोही गणितमा अब्बल छन्, कोही नेपालीका कथा, कविता रुचाउँछन् ।’

कक्षा ३ मा अध्ययनरत राजु सदै चित्र कोर्छन् । कक्षा ६ का काजल मण्डल, नितुकुमारी साह पढाइमा बढी रुचि राख्छन् । यहीँ पढेर अहिले शिक्षक बनेका सञ्जयकुमार दास विद्यार्थीहरू तेजिलो मस्तिष्कका रहेको बताउँछन् । विद्यालयमै आया पदमा कार्यरत दोभासे लक्ष्मी विकमार्फत कुरा गरेका उनले बालबालिकाले धेरै सपना बोकेकाले ध्यान दिएर पढाउने गरेको सुनाए ।

यहाँ सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सिन्धुलीसम्मका बालबालिका छन् । विद्यालयको सुरुवात भने बहिरा संघले गरेको हो । श्रवणशक्ति गुमाएकाहरूलाई भेला गरी सिरहा, माडरका गंगाराम यादवले २०५१ सालमा संघ गठन गरे ।

२०५२ सालताका राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघले सांकेतिक भाषाको विकास एवं कार्यक्रम सञ्चालनका लागि बहिरा संघ सिरहालाई १० महिने काम दियो । त्यस क्रममा काठमाडौंबाटै आएका प्रशिक्षक कुमार रेग्मीले बहिरा, अभिभावक तथा सुन्न सक्ने ३० सहित ५० जनाका लागि सांकेतिक भाषा कार्यक्रम सञ्चालन गरे । तालिम लिएकाबाट शिक्षक तयार गरियो ।

२०६० सालतिर बहिरा संघ, सरकारी निकाय, दातृसंस्था, व्यक्तिको सहयोगले ३ बिघा १५ कठ्ठा जग्गामा विद्यालय भवन, छात्रावास, भान्सा कक्ष निर्माण भएको छ । यहाँ कक्षागत रूपमा पठनपाठन चलाइएको छ । विद्यालयमा नियमित पठनपाठनका साथै सीपमूलक तालिम दिइन्छ ।

संघका सचिवसमेत रहेका दोभोसे विपिनकुमार यादवमार्फत उनले बाहिरी जिल्लाबाट पनि विद्यार्थी आउने भएकाले सबैलाई पर्याप्त आवासीय व्यवस्था मिलाउनु मुख्य चुनौती रहेको बताए । ‘कक्षा ८ उत्तीर्ण गरेपछि बाहिर पठाउनुपरेको छ,’ उनले भने, ‘माविसम्म सञ्चालन गर्ने योजना छ, त्यसका लागि प्रदेश २ सरकारसँग समन्वय गरेका छौं ।’ शिक्षक पनि पर्याप्त नरहेको उनको भनाइ छ । अहिले पाँच शिक्षक, तीन आया र एक कार्यालय सहयोगी छन् ।

जसले बहिरा सशक्तीकरणको जग बसाले
वैवाहिक बन्धनमा बाँधिएको एक वर्ष नबित्दै कान नसुन्ने समस्या भयो । एकातिर भर्खर पाएको सामान्य जागिर अनि अर्कोतिर, वैवाहिक जीवन अघि बढाउनुपर्ने जिम्मेवारी । अचानक कान नसुन्ने समस्या हुनेका लागि सम्हालिन कम्ता गाह्रो थिएन । तर, उनले हिम्मत हारेनन् ।

सामाजिक अवहेलनाको बाबजुद पनि सिरहा नगरपालिका–१६ का गंगाराम यादव ५५, जीवनका चुनौती सामना गर्दै अगाडि बढिरहे । अदम्य साहस र हिम्मतले उनी आफू मात्र अगाडि बढेनन्, समाजका बहिरा र बोल्न नसक्नेको जीवनमा आवाज भरेर आत्मनिर्भरसमेत बनाएका छन्, बनाउँदै छन् ।

२५ वर्षअघि ‘बहिरा’ गंगारामको अगुवाइमा सुरु गरिएको बहिरा संघ सफलता चुम्दै अगाडि बढेको छ । उनले कान नसुन्ने र बोल्न नसक्नेहरुको सशक्तीकरण, शिक्षा र उपचारको कामलाई निरन्तर अघि बढाउँदै छन् ।

२०५१ माघ १० गते बहिरा संघ दर्ता गराएर समाजका बहिराहरुलाई एकीतृत गरेर सशक्तीकरण गर्न गंगारामले बहिरा खोजी अभियान नै चलाए । मधेसको गाउँमा बहिरा जागरण तथा सशक्तीकरणको काम गर्न त्यति सजिलो कहाँ थियो र ? सामाजिक परिवेशले उनको यो बाटोमा प्रशस्त काँडा ओछ्याइदियो । बहिरा सशक्तीकरण अभियान रोक्न समाजका केही मानिस खुलेरै लागे । तर, उनको दृढ अठोट र इच्छाशक्तिका अगाडि सबै अवरोध पन्छिँदै गए ।

संघर्ष यात्रा
२५ वर्ष अघिको घटना सम्झेर उनका आँखा अझै इन्द्रावती बनेर ओइरिन्छन् । त्यो दिन आउला भन्ने उनले कहिल्यै सोचेका थिएनन्, जसले उनलाई जीवनकै सबैभन्दा ठूलो चोट दियो ।

विवाहित जीवन हाँसीखुसी चल्दै थियो । सगरमाथा चौधरी आँखा अस्पतालमा फिल्ड वर्करको जागिरबाट परिवारमा खुसी थियो । अचानक कान कम सुन्न थाल्यो । फिल्डको काममा जाँदा बच्चाहरुले बोलाएको आवाज उनको कानले सुन्न छोड्यो । घरपरिवारलाई यो कुरा सुनाउँदै पत्याउँदैनथ्यो । एक दिन गाउँका बच्चाहरु उनीमाथि ढुंगा हान्न थालेछ । सधैँ आफूसँग हाँसखेल गर्ने बच्चाहरु अचानक ढुंगा हानेको घटनाले उनलाई निकै पिरोल्यो । पछि बुझ्दै जाँदा आफूले बोलाउँदा जवाफ नफर्काएपछि बच्चाहरु रिसाएर ढुंगा हान्न थालेका थिए ।  

कान नसुन्ने भएपछि गाउँसमाजका मानिस उनलाई हेलाको नजरले हेर्न थाले । कान नसुन्ने उनलाई बहिरा भनेर हेप्न थाल्यो । बहिरा भएर समाजमा बस्नु सजिलो थिएन । लालाबाला पाल्नुपर्ने जिम्मेवारीको भार । उनले हरेस खाइनन् । समाजसँग जुझ्दै जीवनको गति अगाडि बढाइरहे ।

घरबाट बाहिर निस्कियो कि गाउँलेले उनको कुरा काट्न थालिहाल्थे । तर, उनी त्यसलाई वास्ता गर्दैनथे । बरु, आफूलाई सम्हाल्दै पाइला अगाडि बढाउँथे । जसमा उनलाई हिम्मत दिन्थे प्राध्यापक हर्षनारायण धौभडेलले । संसारभरका हिम्मतिला मानिसको उदाहरण दिएर गंगारामलाई अघि बढ्न हौसला बढाउँथे, धौभडेल । उनले दिएको हिम्मतको बलमा जीवनलाई गति दिँदा त्यही समाजका केही मानिस सहयोगी बने । हौसला बढाउने सहयोगीकै कारण उनका पाइला डगमगाएनन् ।

गंगाराम बहिरा भए पनि बहिराका विविध क्रियाकलापबारे अनविज्ञ थिए । बहिराको विविधता अनुभूति गर्न उनी काठमाडौं पुगे । त्यहाँको बहिरा संघमा बसेर आवाजका दुनियाँसँग बेखबरहरुको विविध पक्षबारे अध्ययन गरे । त्यहाँ उनको आत्मबल पनि बढ्यो । संसारमा म मात्र बहिरो होइन, अरु धेरै छन् । उनीहरुमा विविध समस्या छन् । उनमा सिरहा फर्केर बहिरा संघ खोल्नुपर्छ भने सोँच पलायो । यस भेगका बहिराहरुको समस्या पहिचान गरी उनीहरुको जीवनमा उमंग भर्ने अठोटका साथ उनी फर्के । उनी गाउँगाउँ पुगेर स्कुलहरुबाट बहिराहरुको खोजी अभियान सुरु गरे।

केही दिनमै उनले तीन सयजना बहिरा बालबालिका खोजी गरे । तर, यी बालबालिकालाई कहाँ, कसरी पढाउने ? उनले सिरहामा दुईवटा कोठा भाडामा लिएर काम अघि बढाए । केही दिनपछि ०५२ सालमा राष्ट्रिय बहिरा तथा सुस्त श्रवण संघ, काठमाडौंबाट ५० जनाका लागि सांकेतिक भाषा संचालन गर्न दसमहिने कार्यक्रम पायो । प्रशिक्षकका रुपमा कुमार रेग्मीलाई दाता संस्थाले नै पठाइदिए । सांकेतिक भाषा, सीपमूलक तालिम, क्षमता अभिवृद्धि तालिम, बहिरा अपांग तथ्यांक संकलन कार्यक्रम द्रूत गतिमा अघि बढ्यो । ०५३ सालमा दुई वर्षका लागि सगरमाथा चौधरी आँखा अस्पताल र युनिसेफले दृष्टिविहीन र श्रवणशक्ति गुमाएका बहिराहरुका लागि समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम सम्झौता गर्‍यो ।

०५४ सालमा कार्यरत कर्मचारीहरुको पारिश्रमिकबाट केही रकम सहयोगस्वरुप बहिरा संघले संकलन गर्न सुरु गर्‍यो । जसको एउटै उद्देश्य थियो–दाताको सहयोग नहुँदा पनि अभियान बन्द नहोस् । कार्यक्रम गरेबापत बचत भएको रकमबाट गंगारामले संस्थाका लागि ०५४ सालमा १४ कट्ठा जग्गा खरिद गरे । ०५७ सालमा बहिरा संघका केही कर्मचारी शिक्षण अस्पताल महराजगञ्जबाट कान रोग उपचारसम्बन्धी तालिम लिए । इम्प्याक्टर नेपालको सहयोगमा कान जाँच गर्न चाहिने उपकरण उपलब्ध भएपछि बहिरा संघ सिरहाले कान रोग उपचारको सेवासमेत सञ्चालन गर्‍यो । बहिरा संघले २५ वर्षमा तीन लाखभन्दा बढी कानका बिरामीको उपचार गरेको तथ्यांक छ । बहिरंग सेवाअन्तर्गत दुई लाख ९९ हजार पाँच सय ६० जनाको कान जाँच गरेको छ भने ८९ हजार आठ सय ७७ जनाको श्रवण परीक्षण गरेको छ ।

शिक्षा, सीप, सशक्तीकरणको माध्यमबाट बहिरा बालबालिकाको जीवनमा परिवर्तन ल्याउने गंगारामलाई अहिले समाज सम्मानको दृष्टिले हेर्न थालेका छन् ।

सालीन स्वभाव तथा कम बोल्ने बानीले उनी समाजमा अगुवा भूमिकामा अग्रसर भए । आफैँ बहिरा भनेर हिंसापीडित गंगाराम  आत्मनिर्भर बनाए मात्र बहिराहरुकको सशक्तीकरण सम्भव हुन्छ भन्ने राम्ररी बुझेका छन् । त्यसैले, बहिराहरुलाई संगठित बनाएर  आत्मनिर्भर अभियान अगुवाइ गर्ने अभियान चलाएका छन् । संस्थालाई यो उचाइमा पुर्‍याउन गंगारामले घर परिवारको समेत  पर्वाह गरेनन् । ‘अरुमाथि निर्भर समाजका बहिराहरु अहिले आत्मनिर्भर हुँदैछन्,’ उनी भन्छन्, ‘मेरा लागि यो नै ठूलो सन्तुष्टि हो ।’

अहिले उनलाई हेर्ने समाजको नजर पनि बदलिएको छ ‘पहिले मलाई अँखी बनाएका मानिसहरु अहिले सम्मानको आँखाले हेर्छन,’ गंगाराम भन्छन्, ‘निष्ठापूर्वक गरेको कामले अवश्य फल दिँदोरहेछ ।’ गंगाराम यादव अचेल गाउँमा गंगाराम ‘सर’ नामले परिचित छन् ।


 

 

प्रकाशित: ३० चैत्र २०७६ ०७:४९ आइतबार

मौनता आवाज कथा नागरिक परिवार