अन्य

समयले सिकाउँदो रहेछ

अस्मिता न्यौपाने, कक्षा ८,
केएमसी स्कुल,कोटेश्वर, काठमाडौं।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसले हामी सबैलाई त्रसित बनाएको छ । आजको व्याकुल वातावरणले कहिलेसम्म बॉचिएला भनेर सोच्न हामीलाई बाध्य बनाएको छ । तर हामीले यस्तो समयमा आफु भन्दा ठूला व्यक्तिले दिएका अर्ति तथा उपदेश पालना ग¥यौं भने कोरोना भाइरसबाट हुनसक्ने हानीलाई कम गर्न सक्छौ । 

मेरी आमा अस्पतालमा नर्सको काम गर्नुहुन्छ । उहॉले मलाई कोरोना भाइरसबाट बचाउन विभिन्न उपाय बताउनुभएको छ । उहॉले मलाई मास्कको सही प्रयोग कसरी गर्न सकिन्छ भनेर सिकाउनु भएको छ । मास्क लगाउनु भन्दा अगाडि  साबुनपानीले हात धुनुपर्छ । नत्र हाम्रो हातमा भएको किटाणु मास्कमा सर्न सक्छ । दिनहुँ स्यानीटाइजर अथवा साबुनपानीले हात धुनुपर्छ भनेर पनि सिकाउनु भयो । 

यतिवेला हामीले हरेक मान्छेसँग ६ फिटको दूरी राख्नु पर्छ । हलुका रुघाखोकी लागेको व्यक्ति भए पनि उनीहरू भन्दा अलि टाढा बस्नुमै बुद्धिमानी हुने पनि अभिाभावकले मलाई बताउनु भएको छ । 

केही दिन अगाडिको कुरा हो, बुवाले मलाई एउटा कथा सुनाउनु भएको थियो । एक जना महिलाको आत्मविश्वासका कारण कोभिड १९ सङ्क्रमण देखिएता पनि उनलाई केही भएन । यस घटनाबाट मैले के सिकें भने आत्मविश्वास भयो भने कोरोना त के, जस्तो पीिस्थितिमा पनि केही हुँदैन ।  

अभिभावकले कोरोनाबाट बच्न मलाई विभिन्न सुझाव दिनुभएको छ । अहिले मात्र होइन, लकडाउन खुलेपछिका दिनमा पनि हामीले साबधानी अपनाउनु पर्छ । अहिले सर्जिकल मास्कको अभाव भएका कारण कपडाको मास्क प्रयोग गर्नु परेको छ । आमाले भन्नुभए अनुसार ६ घण्टा लगाइसकेपछि मास्क अनिवार्य रुपमा धुनैपर्छ । 

कोरोनाको सन्त्रासपूर्ण वातावरणमा परिवारसँग समय विताउनु पर्छ । र आत्मबललाई बलियो राख्नु पर्छ भनेर मलाई अभिभावकले बुझाउनु भएको छ । परिवारसँग बस्न पाउँदा म ढुक्क छु ।   

भाइरसबाट बच्न सावधानीको मुख्य काम भनेकै सामाजिक दूरीलाई  कायम राख्नु हो । त्यसैले हामी सबै आ–आफ्नै घरमा बस्नु पर्छ । म पनि घरमै बसेकी छु । आमाले मलाई बीस सेकेन्ड लगाएर आफ्नो हातलाई साबुनपानीले राम्ररी धुन सिकाउनु भएको छ । यो लकडाउनमा मात्र होइन, अबदेखि म सधैं यसरी नै हात धुनेछु । बुवाले मलाई खोक्दा वा हाच्छिउँ गर्दा नाक र मुखलाई टिस्स्यु अथवा कपडाले मुख छोप्नुपर्छ भनेर सिकाउनु भएको छ । हातले अनुहार छुँदा डर हुन्छ भन्ने सुने पछि मैले त नङ टोक्न पनि छोडिसकेकी छु ।

लकडाउनको समयमा मैले निकै कुरा सिकेकी छु, साँच्चै समयले नै सिकाउँदो रहेछ । अभिभावकले मलाई लकडाउनको समय बाहिर ननिस्किन भन्नुभएको छ । म पनि घरभित्रै बसेर सृजनात्मक काम गरिरहेकी छु । अभिभावकलाई घरायसी काममा पनि सघाइरहेकी छु ।

प्रकाशित: ३० चैत्र २०७६ ०४:५१ आइतबार

बालबालिका लकडाउन काेराेना_भाइरस