अन्य

संघर्षका कथा सुन्दैछु

सुहानी बम ठकुरी
कक्षा ९, दि एक्सेल्सियर स्कुल, स्वयम्भु, काठमाडौं। 

झ्यालबाट आएको त्यो मन्द हावाले बिहानीको शितलता अनुभूति गर्छु। अनि नित्य कर्म सकेर गुरुहरूको प्रेरणाबाट सिकेका व्यायाम तथा कसरत गर्ने गरेकी छु। बाहिरी स्वच्छ हावालाई लामोलामो श्वासले तानेर मनोवल उच्च बनाउँछु। कोरोना भाइरसका कारण रोइरहेकाहरूको पीडा देखेर वा सुनेर मनमा नरमाइलो लाग्छ। यतिवेला आफूलाई बलियो बनाएर सुरक्षित बस्नु पर्छ। 

लकडाउनको बिदामा आफ्नो क्षमतालाई तिखारेर शिष्ट र सभ्य बन्ने प्रयासमा छु। परिवारको न्यानो काखमा समय वितिरहेको छ । बुबाले बाजे बराजुका कथा सुनाउनु हुन्छ। म परापूर्वकालका कुरा सुनेर दंग पर्छु। अनौठो पनि लाग्छ। साँच्चै हाम्रा पुर्खाले कति ठूलो संघर्ष गरेका रहेछन् ! 

संघर्षका कथा सुन्दा मनमा साहस बढ्छ। ‘त्यही साहसलाई आफ्नो हतियार बनाउनु पर्छ’ भनेर बुवा भन्नुहुन्छ। उहाँबाट प्रेरणा लिएर विभिन्न पुस्तकहरू पनि पढ्दै छु। अब मैले कक्षा १० मा पढ्नु पर्छ। त्यसैले दिनमा कम्तिमा पनि दुई घण्टा कोर्सका किताब अध्ययन गर्ने गरेकी छु।  

घरको काममा पनि परिवारलाई सघाउँछु। दिउँसोको समय आमासँग स्वादिष्ट भोजन पकाउने विधि सिक्दैछु। एउटै खाद्यान्नबाट धेरै किसिमका परिकार बनाउने तरिका सिक्दा आफुलाई कुनै होटलको मुख्य भान्से नै बन्छु जस्तो लाग्दो रहेछ!  कहिले नुन बढि, कहिले चिनी कम, कहिले बेसार बढि त कहिले मसला कम गर्दागदै मैले धेरै खानेकुरा बनाउन सिकिसकें। परिवारसँग बसेर मैले बनाएको खानाको प्रशंसा सुन्दा ज्यादै खुसी लाग्छ। 

यस बाहेक मैले परिवारको संस्कृति र रितिरिवाजवारे जान्ने मौका पाएँ। हाम्रो सांस्कृतिक गीत र नाच डेउडाको वाचन बुवाको मुखवाट सुन्दा म पेट मिचिमिचि हाँस्ने गर्छु। पछि डेउडा गीतमा प्रयोग गरिएका भाषालाई बुवाले प्रस्ट पार्दा रमाइलो लाग्छ। घरीघरी मनले चाहेका कुरा पनि गर्ने गर्छु। साहसी र रमाइला चलचित्र हेर्ने गर्छु। केहीबाट नयाँ सन्देशको ज्ञान लिन्छु त केहीबाट रमाइलो दृश्यको मज्जा। 

म कहिलेकाहिँ कविता पनि लेख्छु। रमाइला कथाका किताब पनि पढ्छु। यसबाट आफ्नो क्षमताको विकास, मनमस्तिष्कलाई स्वस्थ र शान्त बनाउन मद्दत पुग्छ।

शारीरिक व्यायामबाट सुरु भएको दिन पढाई, काम र रमाइलो पलको मिश्रणवाट वित्ने गर्छ। समयसमयमा टिभीका समाचारमा देखिएको अवस्थालाई हेर्दा मलाई डर लाग्छ तर पनि आफु सुरक्षित रहन सुरक्षा पद्धति अपनाउने र अरुलाई पनि सुरक्षित रहन सुझाब दिने गरेकी छु। 

अभिभावकको ढाडसबाट मनको त्रासलाई नियन्त्रण गर्छु। आफ्नो मानोवललाई उच्च बनाएर शान्त बन्छु। काम गर्दा मन र मस्तिष्क एकोहोरिने भएकाले डर हट्छ र नयाँ कुरा सिक्न मद्दत पुग्छ। नौला कुरा सिकेर आफ्नो क्षमता बढाउने काम गरिरहेकी छु। 

लकडाउनको समय निरस बनेको छैन। परिवारसँग रमाइलोसँग वितिरहेको छ। यसलाई सिक्ने अबसरका रुपमा सदुपयोग गरिरहेकी छु। कोरोना भाइरसबाट चाँडै मानव जातिले मुक्ति पाओस् भन्ने कामना गर्दछु। हालका लागि हामी सबै लकडाउनलाई पालना गरेर घरमै बसौं।

प्रकाशित: २८ चैत्र २०७६ १२:२० शुक्रबार

लकडाउन बिदा बालबालिका