अन्य

गोसाइँकुण्डका सम्झनाहरू

रसुवाको गोसाइँकुण्ड। तस्बिरः दिपेश श्रेष्ठ/नागरिक

हाम्रो ‘नेसनल ओपन स्काउट क्रु’ले आयोजना गर्ने पदयात्राहरूमा म सधैं सहभागी हुन्छु। हामीले काठमाडौंको साँखु नजिकै रहेको मणिचुड हाइकिङमा गोसाइँकुण्ड जाने निधो गरेका थियौं। गोसाइँकुण्डमा जनैपूर्णिमाका दिन मेला लाग्छ। हामी ११ जना पनि मेला भर्न निस्कियौं।

गोसाइँकुण्ड यात्रामा हामी पहिलो पटक निस्केका। तर, हामीसँगै रहेका एक जना दाइको चौंथो यात्रा भएकाले हामीलाई सजिलो भयो। मनमा गोसाइँकुण्ड (४३८० मि) पुग्ने उत्साह थियो। हामीले धुन्चेको बस समात्यौं। साँझ त्यहाँ पुगेर होटलमा बस्यौं ।

भोलीपल्ट बिहानै निस्कियौं। साढे १० बजे धिम्सा पुग्दा केही मान्छे खाजा खाँदै थिए। हामीले पनि खायौं। अघिको भन्दा बाटो अलि उकालो र ओरालो आयो। गोरेटोमा ३०/३० मिनेट फरकमा पसल थिए। हामीले चोलाङ पाटीमा पुगेर एउटा पसलमा खाजा खायौं र साथीलाई पर्खियौं। झण्डै ३ घण्टापछि साथी आइपुगे।

पानी बर्सिरहेको थियो, साथमा भएको प्लास्टिक ओढेर उकालियौं। साँझ ५ः३० बजे चन्दनबारी पुग्यौं। हामी सुत्नका लागि लजमा बुझ्न गयौं तर प्याक भैसकेकाले एउटा छाप्रोमा बल्लबल्ल ठाउँ पायौं। साथीहरू पालैपालो खाना खान गएछन्। म त टाउको दुखेर निदाएछु। एक जना भाइ आएर उठाए। एक जना भाइ मध्यरातमा भन्न थाल्यो, ‘मलाई त सास फेर्न गाह्रो भयो। भोलि नै घर जान्छु।’ हामीले भन्यौं, आत्तिनु पर्दैन।’

बल्ल सुत्यो ऊ। राति घर फर्कन्छु भन्ने भाइ त बिहान चाँडै उठेर भन्दै थियो, ‘ह्याप्पी जनै पूर्णिमा। आज त गोसाइँकुण्डमा नुहाएर जनै फेर्नुपर्छ।’ पूर्णिमाका दिन  हामी छिटोछिटो हिँड्न थाल्यौं। केहीबेर हिँडाइपछि लौरी विनायक पुग्यौं। मौसम चिसोचिसो थियो। हामीलाई टाउको पनि हल्काहल्का दुखिरहेको थियो। त्यसै साथीहरू बिस्तारै आउँदै थिए। हामी सबैको भेट बुद्ध मन्दिरमा भयो।

एक जना भाइ मध्यरातमा भन्दै थियो, ‘मलाई त सास फेर्न गाह्रो भयो। भोलि बिहानै घर फर्कन्छु।’ हामीले भन्यौं–आत्तिनु पर्दैन।  

एक जना मान्छेले बाटोमा दुखद खबर सुनाए, ‘मूलपानीमा बस्ने एउटा मान्छेको राति कुण्डमा मृत्यु भएछ नि !’ हामी एकछिन स्तब्ध भयौं। हामी पनि मूलपानीबाटै आएका, घरमा फोन गरौं भनेको नेटवर्क पाइएन।

एकछिन पछि हिँड्दै भैरवकुण्ड, सरस्वतीकुण्ड अवलोकन गर्दै गोसाइँकुण्ड पुग्यौं। मलाई टाउको दुखेर वान्ता आउला जस्तो भइरहेको थियो। एउटी मिसले टाउको मालिस गर्दिनु भए पछि आराम भयौ। त्यसपछि मन्दिरतर्फ लाग्यौं। बाटोमा घर नजिकैको साथीभाईसँग भेट भयो। ‘ल राम्ररी दर्शन गरेर फर्किनु’ भनेर उनीहरू आफ्नो बाटो लागे।

हामी नुहाउन कुण्डतिर लाग्यौं। नुहाएर जनै फे¥यौं। मन्दिरको दर्शन ग-यौं। हुस्सु लागेकाले फोटा खिच्न पाएनौ। खाजा खाएर खिचौंला भनेको घाम लागिहाल्यो। त्यसैले हतारहतार हाम्रो क्रुको झण्डा बोकेर सामूहिक तस्बिर खिच्यौं।

त्यस पछि हामी त्रिशुल धारा दर्शन गर्दै अघि बढ्यौँ। धाराबाट भाग्यमानीले मात्र भगवान शिव सुतेको देख्छन् भन्ने विश्वास रहेछ। हामी सबैले त्यस्तै देख्यौं। त्यहाँबाट हामी सूर्यकुण्डतिर लाग्यौं। त्यो दिन हामी बेलुका साढे दश बजे घोप्टेमा पुग्यौं। र, होटलमा बस्यौं। त्यो दिनको हिँडाई अविष्मरणीय बन्यो।

भोलिपल्ट नास्ता गरेर हिँड्यौं। पानीले त हामीलाई रुझाउनु रुझायो र जुकाले पनि टोक्नुसम्म टोके। तर, यात्रा निरन्तर चलिरह्यो। दिउँसो साढे १२ बजे मागिनी गोठ रेष्टुराँमा पुग्यौं। त्यहाँ खाना खाएर निस्किहाल्यौँ। हामीलाई त्यहाँबाट कुटुमसाङ पुग्न ६ घन्टा लाग्यो।

कुटुमसाङमा पुगेर खुट्टाका जुका टिपेर आगो ताप्यौं। केही बेर पछि खाना खाएर सुत्यौँ। बिहान होटेलकी सानी नानीसँग फोटो खिचेर निस्कियौँ हामी गोल्फुभज्याङ, चिपलिङ, पाटिभज्याङ  हुँदै चिसापानी। चिसापानीमा पनि एक रात बसेर काठमाडौं झर्दा हाम्रो ६ दिने यात्रा पुरा भयो। आखिर जीवन भनकै एउटा यात्रा न हो। हाम्रो यात्रा जारी छ।

प्रकाशित: ८ चैत्र २०७६ ०३:४९ शनिबार

यात्रा गोसाइँकुण्ड सम्झना