अन्य

मेकअपले अनुहार विग्रँदैन

हावाहुरीको महिना हो, चैत। यसबेला संघीय राजधानी काठमाडौँका सडक धुलाम्मे हुन्छन्। सवारीसाधन, कल कारखाना, इँटाभट्टाबाट निस्कने धुवाँधुलोले पनि काठमाडौँ दिनानुदिन प्रदूषित हुँदै छ। सडकमा हिँडडुल गर्ने जोकोहीले धुवाँधुलोको सास्ती खेप्नुपरेको छ। काठमाडौं रत्नपार्कमा भेटिएका दिलबहादुर विक काम विशेषले सडकमा  दिनहुँजसो हिँडडुल गर्दा धुवाँधुलोले स्वास्थ्यमा असर गरेको सुनाउँछन्। ‘बिहान चिटिक्क परेर हिँडेको मान्छे साँझ घर पुग्दा धुलोले अनुहार छपक्कै छोपेको हुन्छ,’ उनी भन्छन्, ‘धुलोको एलर्जी छ। मास्क लगाएर हिँड्नैपर्ने बाध्यता छ।’

भक्तपुरकी सविना श्रेष्ठको  व्यथा त्यस्तै छ। उनी अध्ययन सिलसिलामा काठमाडौं धाउँछिन्। धुवाँधुलोले काठमाडौंसम्म पुग्न सकस हुने उनको भनाइ छ। ‘सधैँ  धुलो खाँदै हिँड्नुपर्छ,’ उनी भन्छिन्, ‘धुलोबाट बच्न सधैँ मास्क लगाएर हिँड्छु, तैपनि अनुहार बिग्रिसक्यो।’ धुलोले अनुहारमा पिम्पल  देखिएको उनी सुनाउँछिन्। त्यस्तै, नैकापकी अनिशा चापागाईं  अध्ययनका लागि बागबजार पुग्छिन्। धुवाँधुलो र प्रदूषणले नैकापदेखि बागबजारसम्म पुग्दा कपडा र अनुहार बिग्रने गरेको उनको भनाइ छ। उनी प्रदूषणबाट बच्न  चस्मा, मास्क र स्कार्फ लगाउँछिन्। जति नै सावधानी भए पनि धुलोको एलर्जीबाट टाढा रहन नसकेको उनको भनाइ छ। ‘अहिले त्यहाँ (नैकाप) बाटो विस्तारको काम पनि भइरहेको छ,’ उनी भन्छिन्, ‘त्यसैले धुलो झनै बढी देखिएको छ।  सडकमा हिँडडुल गर्नेलाई धेरै समस्या छ।’

काठमाडौँका विभिन्न स्थानमा सडक विस्तार जारी छ। सडक आसपास धुलोका कारण हिँड्न निकै कठिन हुँदा आम नागरिकलाई  निराश बनेका छन् । प्रदूषणकै कारण छालाका बिरामीहरू बढेको त्वच चिकित्सकहरू बताउँछन्। धुलोले मानव शरीरको बाहिरी छालामा असर पुग्ने त्वच चिकित्सक डा. मेडिना शाक्य बताउँछिन्। उनका अनुसार वातावरणीय प्रदूषणले मानव स्वास्थ्यमा नकारात्मक र दीर्घकालीन असर पुर्‍याउँछ। प्रदूषणका कारण ठोस, तरल र ग्यासरूपी रासायनिक र सूक्ष्म कणहरूले छालामा हानि  पुर्‍याउँछ। छाला मानव शरीरको बाह्य र ठूलो अंग भएकाले यसले रक्षात्मक कवचका रूपमा काम गर्छ। प्रदूषणको पहिलो सिकार छाला हुने गरेको मेडिनाको भनाइ छ। ‘विकारयुक्त रासायनिक पदार्थहरू छालाका पत्रभित्र पस्छन् र समस्या निम्त्याउँछन्,’ उनी भन्छिन्, यिनले छालाको पहिलो पत्रमा हुने भिटामिन ‘ई’ नाश गर्ने र तेल तत्वको सन्तुलन बिगार्ने गरेको अनुसन्धानबाट पुष्टि भएको छ। यसरी तेल र भिटामिन नाश हुँदा छाला सुक्खा तथा चमकहीन हुन्छ। घाम, हावा, रसायन र कस्मेटिकको एलर्जी आजभोलि निकै बढेको छ।’

उनका अनुसार प्रदूषणका कारण  अनुहारमा कालोपोतो, चाया, एलर्जी,  कम उमेरमै बूढो देखिने (प्रिम्याचुरिटी), रिंकल, ड्राइनेस लगायत समस्या देखिन्छन्।   चायापोतो र ड्राइनेसको समस्या लिएर धेरै बिरामी क्लिनिकमा आउने गरेको उनी सुनाउँछिन्। यस्ता समस्याबाट बच्न सरसफाइमा ध्यान दिनुपर्ने उनको भनाइ छ। बाहिर निस्कनुअघि मास्क, स्कार्फ, सन ग्लास प्रयोग गर्न उनी सुझाउँछिन्। ‘छालाको स्याहारका लागि हामीले दिनमा तीनपटक सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ,’ उनी भन्छिन, ‘बिहानको ८–११ बजे र दिउँसोको २ बजे  गरी तीनपटक क्रिम लगाउने तालिका बनाउनुपर्छ, तर ४ बजेअघि नै  लगाउनुपर्छ।’ छाला स्याहारमा चासो नदिँदा धेरै समस्या देखिने गरेको सौन्दर्यविद् रूपा बानियाँ क्षेत्री  (एन्जल ब्युटी पार्लर सञ्चालक) बताउँछिन्। उनका अनुसार धुवाँधुलो र प्रदूषणले मानव शरीरको छालाको बाहिरी भागमा सिधै असर गर्छ। उनी भन्छिन्,  ‘यस विषयमा मानिसलाई खासै जानकारी  छैन।’

उनका अनुसार धुवाँधुलोका कारण छालाको भित्री भागसम्म पोषण पुग्न सक्दैन र अनुहारमा पिम्पल,  चायापोतो,  रिंकल लगायत समस्या देखा पर्छन्।  हावाले स्किनलाई सुक्खा बनाउँछ। ‘यी समस्याबाट छालालाई जोगाउने एउटै उपाय भनेको मेकअप गर्ने नै हो,’ उनी सुझाउँछिन्, ‘मेकअपले धुवाँधुलोलाई छालामा सिधै पस्न दिँदैन। हरेक दिन सुत्नुअघि क्लिन्जिङ, टोनिङ र मोइस्चराइजर गरेर छालालाई धुवाँधुलो र  प्रदूषणबाट जोगाउन सकिन्छ।’ मेकअपले  अनुहार बिग्रने सोचाइ गलत भएको उनको भनाइ छ। ‘मेकअपले  छालालाई असर गरेको हुन्छ,’  सौन्दर्यविद् क्षेत्री भन्छिन्, ‘तर मेकअप गर्नुभन्दा पहिले त्यसको गुणस्तरमा भने ध्यान दिनुपर्छ। गुणस्तरहीन सामग्रीले मात्रै छालामा असर गर्छ।’ छालाको स्याहारका लागि मेकअप नै विकल्प हुने कुरामा उनी जोड दिन्छिन्।

बाहिर निस्कनु १५ मिनेटअघि नै मोइस्चराइजर क्रिम लगाउन उनी आग्रह गर्छिन्। तर, छालाको प्रकृतिअनुसारको मोइस्चराइजर मात्र लगाउनुपर्ने उनको भनाइ छ। उनका अनुसार स्कुल जाने ससाना बालबालिकाको छालामा पनि धुलोले असर गर्ने हुँदा उनीहरूलाई स्कुल जानुअघि मोइस्चराइजर क्रिम लगाइदिनुपर्छ। त्यस्तै,  गृहिणीले पनि छालाको स्याहारका लागि दिनमा दुईपटक क्रिम लगाउनुपर्ने उनको भनाइ छ । घरेलु सामग्रीबाटै छालामा देखिएका अनकौँ समस्याको सजिलै उपचार गर्न सकिने सौन्र्दयविद्हरू बताउँछन्। ‘छालामा त्यस्तो केही समस्या देखिएमा चामलको पिठो निकै उपयोगी हुन्छ। यसको पेस्ट बनाएर अनुहारमा लगाउनुपर्छ र २० मिनेटपछि अनुहार धुनुपर्छ।  यस किसिमको दुई–तीन हप्ताको अभ्यासले अनुहार सफा हुन्छ,’ क्षेत्री भन्छिन्।

त्यस्तै, काजु, आल्मोन्ड, बदामको पेस्ट बनाएर अनुहारमा लगाउँदा छालालाई फाइदा हुने उनको भनाइ छ। उनका अनुसार यस्ता सामग्री प्रयोग गर्नुअघि केही विधि र सावधानी भने अपनाउनुपर्छ । निश्चित प्रक्रिया नअपनाउँदा छालामा समस्या निम्त्याउने गरेको उनी सुनाउँछिन्।  चामलको पिठो छाला स्याहारका लागि धेरै उपयोगी हुन्छ, जसको  मात्रा मिलाएर  लगाउनुपर्छ। यो प्रक्रिया महिलाले मात्र नभएर पुरुषले अपनाउने उनको भनाइ छ। पुरुषका लागि बजारमा गुणस्तरीय क्रिमहरू उपलब्ध छन्।

धुलोबाट जोगिन चस्मा
आँखा मानिसको संवेदनशील अंग हो। यसलाई जोगाउन अनेक उपाय अवलम्बन गरिँदै आइएको छ। आँखा जोगाउन चस्मा लगाउनु निकै राम्रो हुने चिकित्सको भनाइ छ। चस्मा लगाउँदा धुलोबाट पनि जोगिन सहयोग पुग्छ। चिकित्सकका अनुसार चस्माको प्रयोग गर्दा आँखामा अल्ट्राभाइलेट रेको प्रभाव कम हुने र मोतिबिन्दु तथा ढकनीको झिल्लीमा हुने क्यान्सर घट्दै जान्छ। गर्मी तथा धुवाँधुलोबाट छालालाई जोगाउन कालो चस्माको प्रयोग उपयोगी मानिन्छ। सामान्यतया चस्माले छालालाई धुवाँधुलो, किटाणुबाट बचाउन मद्दत गर्छ। त्यसमा पनि कालो चस्माले आँखा बिगार्ने अल्ट्रा भाइलेट विकिरणबाट सुरक्षा दिने डा. मेडिना शाक्य बताउँछिन्।  घामको विकिरणबाट छालालाई पर्न सक्ने असरलाई समेत चस्माले न्यूनीकरण गर्दछ। छालाको सुरक्षा मात्र नभई चस्माले सुन्दरता बढाउन पनि उत्तिकै सहयोग गर्छ।

स्कार्फ
त्यस्तै, छालाको सुरक्षाका लागि पछिल्लो समय स्कार्फ प्रयोग गर्न थालिएको छ। घाम तथा धुलोबाट छालालाई जोगाउन स्कार्फ प्रयोग गर्न डा. शाक्य सुझाउँछिन्।  उनका अनुसार स्कार्फले सिधै मुख वा कपालमा पर्ने धुलो वा घामका किरणलाई रोकेर छाललाई सुरक्षित बनाउँछ। पछिल्लो समय महिलाहरूले वायु प्रदूषणबाट बच्न स्कार्फ प्रयोग गर्न थालेका छन्। घरबाट बाहिर निस्केपछि घर  नफर्केसम्म केटीहरूले स्कार्फलाई आफूबाट टाढा बनाउँदैनन्।  घाम तथा धुलोबाट बच्नलाई फेसनको रूपमै आएको छ स्कार्फ।

प्रकाशित: ८ चैत्र २०७६ ०२:२७ शनिबार

प्रदूषित काठमाडौँ