प्रेममान डंगोल
चाडपर्वमा निकै धनी उपत्यकाका नेवार जातिले प्राचीन कालदेखि पाहाच“®े मनाउँदै आएका छन्। पाहाँचरे चैत कृष्ण चतुर्दशीदेखि प्रतिपदासम्म उपत्यकाका हिन्दु वा बौद्ध नेवार जातिले तीन दिनसम्म विभिन्न तरिकाले मनाउँछन््। यसले उपत्यकामा छुट्टै रौनक ल्याउँछ।
शाब्दिक अर्थ
नेपाल भाषामा ‘पाहाँ’ले पाहुना र ‘चःह्रे’ले चतुदर्शी भन्ने बुझाउँछ। नेवारी संस्कृतिमा पाहुनाको ठूलो स्थान छ। पाहुनालाई देउता मानेर श्रद्धापूर्वक स्वागत सत्कार गरिन्छ। यसकारण, आफ्ना साथी भाइ, इष्टमित्र आदिलाई निम्तो गरेर पाहाँचरेमा भोज खुवाउने चलन छ। यो विशुद्ध प्राकृतिक वातावरण, खानपान र रहनसहनसँग सम्बन्धित छ।
जाडो सकिएर गर्मी सुरु हुने बेलामा मनाइने पाहाँचरेमा बतास, वर्षा र अनेक थरीका रोगबाट बच्ने उपायको खोजी गरिन्छ। पाहाँचरेका दिन काठमाडौंका टोलटोलमा रहेका गणेश, देवीदेवतालाई कुखुरा, हाँस र बोका बलि दिइन्छ। यो दिन टोलटोलमा देउताका खट घुमाएर जात्रा पनि गरिने भएकाले ज्यादै रमाइलो हुन्छ। टोलटोलमा रहेका लुकु माद्यः (लुकेको महादेव)को पूजा पिशाच चतुर्दशीका दिन गरिन्छ। लुकुमाद्यःलाई विशेष गरेर लसुन, भटमास, माछा, छोयला, चिउरा, समयबजी र जाँडरक्सी चढाइन्छ। यस्तै, उनलाई सुनको पूmल र चाँदीको पूmल पनि चढाइन्छ। यसरी पूmल चढाउँदा सुनको फूल भनेर तोरीको फूल र चाँदीको फूल भनेर मुलाको फूल चढाउने चलन छ।
हिलोमा महादेव लुके
महादेव पिशाचका रूपमा फोहोरभित्र लुकेर बस्नुपरेको विषयमा एउटा किंवदन्ती छ। जसअनुसार एकपटक महादेवले शनिलाई भनेछन्, ‘शनि लाग्दा धेरै दुःख हुन्छ भन्छन्, कस्तो हुन्छ हँ ?’
शनिले उत्तर दिएछन्, ‘हजुरलाई लाग्छ अनि थाहा हुनेछ।’
यसपछि महादेवले छक्क पर्दै सोेधेछन्, ‘तिमी छुन सक्छौ ?’
जाडो सकिएर गर्मी सुरु हुने बेलामा मनाइने पाहाँचरेमा बतास, वर्षा र अनेक थरीका रोगबाट बच्ने उपाय खोजी गरिन्छ।
शनिले जवाफ दिएछन्, ‘हजुरलाई पनि छुने समय आउँदै छ। हजुरको जानकारीका लागि यो समयमा म आउनेछु र हजुरलाई छुनेछु।’ यति भनेर शनि आफ्नो बाटो लागेछन्। शनिले महादेवलाई छुने समय अर्थात् शनि लाग्ने समय आएछ। यो थाहा पाएर महादेव फोहोरको डुंगुरभित्र लुक्न गएछन्, जहाँ हिलैहिलो थियो। उनी मनमनै ‘अब शनिले मलाई कसरी छुन्छ, हेरुँला’ भन्दै त्यहीँ लुकिबसेछन्।
पिशाच चतुर्दशीका दिन शनि महादेव लुकेको ठाउँमा आएर भनेछन्, ‘मैले देखिहालें नि।’
महादेवले सोधेछन्, ‘खोइ त तिमीले मलाई छोएको ?’
‘हजुरलाई मैले नछोएको भए हजुर यसरी फोहोरभित्र लुकेर बस्नुपथ्र्यो र ? मैले त हजुरलाई उही समयमा छोइसकेको थिएँ, जुन समयमा हजुर यहाँ लुक्न आउनुभएको थियो,’ शनिको जवाफ थियो।
यसपछि महादेव लाजले भुतुक्क भएछन्।
जतिसुकै ठूलो मान्छेको जीवनमा पनि दुर्दिन आउन सक्छ। सबैलाई सधैं एकनास हुँदैन, दशा लाग्न सक्छ, दुःख हुन सक्छ। महादेवलाई त शनि दशा लागेर हिलो फोहोरभित्र बस्नुप¥यो भने मानव जीवनमा उतारचढाव आउनु स्वाभाविकै हो । यसकारण कहिल्यै घमण्ड गर्नुहुँदैन भन्ने शिक्षा महादेव–शनिबाट पाइन्छ। सुखदुःखमा एकनास हुनुपर्छ, सबैसँग समान व्यवहार गर्नुपर्छ।
टोलटोलमा मरजा
पाहाँचरेको भोलिपल्ट औंसीका दिन टोलटोलमा बालबालिकालाई ‘मरजा’ खुवाउने चलन छ। एक किसिमले कन्या–कुमारलाई खुवाए जस्तै गरी ‘मरजा’ खुवाउँदा व्रतबन्ध नगरेका र बेल विवाह नगरेका ससाना बालबालिकालाई खुवाइन्छ। अजिमाको प्रसादका रूपमा दालभात तरकारी पनि खुवाइन्छ। यसरी ‘मरजा’ खुवाउने एउटा गुठी नै स्थापना गरिएको हुन्छ। श्रद्धालु भक्तजनले यस अवसरमा चकलेट, बिस्कुट र मिठाई बाँड्दा घुइँचो नै लागेको हुन्छ। अजिमाको प्रसाद ‘मरजा’ खुवाएपछि बालबालिकालाई भूतपे्रतले नछुने, अनेकौं रोग नलाग्ने विश्वास गरिन्छ।
पाहाँचरेको अवसरमा मकलको आगोमा इकाःपकाः (रायो–सस्र्यूं) बालेर त्यसको धुँवा घरभरि उडाउने चलन छ। यसबाट घरमा भूतपे्रत, रोग, शोक र बोक्सी लगायत दुष्टात्माबाट मुक्ति पाइने विश्वास छ।
पाहाँचरेमा घोडेजात्रा
पाहाँचरेलाई ‘येँ नखः’ अर्थात् काठमाडौं सहरको पर्व भनिन्छ। पाहाँचरेको भोलिपल्ट दिउँसो टुँडिखेलमा घोडा कुँदाउने चलन छ। घोडेजात्रा काठमाडौंको पर्व भनिए पनि ललितपुरको भोलाख्योमा रक्सी खुवाएर मात्तिएको एउटा घोडा कुँदाएर घोडेजात्रा मनाउने परम्परा छ। त्यस्तै, भक्तपुरमा पनि परालको घोडा बनाएर कुदाइन्छ।
एक कथनअनुसार मल्ल कालमा काठमाडौं र पाटनका राजाहरूबीच झगडा भएछ। काठमाडौंको टुँडिखेलमा देखाइने घोडेजात्रा आफ्ना देशका जनताले हेर्न नजाऊन् भनी ललितपुर बालकुमारी नजिक भेलाःख्योमा अनौठो प्रकृतिको घोडा कुँदाउने जात्रा मनाउन सुरु गरिएको हो।
देवता जुधाउने प्रतिस्पर्धा
पाहाँचरेको राति टेबहालको भद्रकाली, बटुटोलको भद्रकाली देवीका खट टुँडिखेलमा ल्याइन्छन्। त्यस्तै, कन्केश्वरी देवीको खट पनि ल्याइन्छ र देउता जुधाउने भनेर टेबहाल बटुका देवीहरूको खटमा चढेर बसेका मानिसको हातमा रहेको बलिरहेको तिंप्वाः (एक किसिमको मसाल परालको) साटासाट गरेर तीनपटक खट घुमाएर फर्काउने चलन छ। शुद्ध रात्रिमा हुने यो देउता जुधाउने जात्रा एकदम रमाइलो र रोचक हुन्छ। भोलिपल्ट दिनभर टोलका प्रायः सबै स्थानमा गाजाबाजासहित खट घुमाएर जात्रा गरिन्छ, घरघरबाट दिइने पूजा ग्रहण गरिन्छ।
पाहाँचरेको तेस्रो दिन अर्थात् प्रतिप्रदाका दिन असनमा देउता जुधाउने चलन छ। सोही दिनको दिउँसो टेबहाल र बटुका भद्रकाली देवीका खटहरू असन दोबाटोमा ल्याइन्छ। कन्केश्वरी अजिमाको खट जुधाउन असनमा ल्याइन्छ। टेबहाल र बटुका भद्रकाली अजिमाको खटका तर्पmबाट बलिरहेको तिप्वाः कन्केश्वरी देवीको खटसँग साटी तीनपटक खट घुमाएर देउता जुधाउने जात्रा सम्पन्न गरिन्छ। यसरी देवीका दिदी बहिनीबीच भेटघाट गर्ने जात्रा भव्य रूपमा मनाउने चलन जीवित छ। यस अवसरमा असनवासीका घरका झ्याल झ्यालबाट जात्रालु भक्तजनको स्वागतार्थ ल्वंचाःमरी फ्याँकेर हर्ष बढाइँ गरिन्छ। यो जात्रा हेर्ने धेरै मानिसको असनमा भीड नै लागेको हुन्छ।
इन्द्रयणीको जात्रा
एक किंवदन्तीअनुसार अष्टमातृका दिदी बहिनीहरूमध्ये धेरै सन्तान भएकी लुती अजिमा (इन्द्रयणी) पनि पाहाँचरेको भोज खान झुत्रा लुगा लगाएर माइती गइछन्। माइतीले उनलाई राम्रा लुगा–गहना लगाएर आएका अन्य दिदीबहिनीसँग बसेर खान दिएनछन्। भोक लागेको बेला भोज देखेपछि लुती अजिमाका बच्चाहरूले ‘भोक लाग्यो, भोक लाग्यो’ भन्दै कराइरहँदा कसैले वास्ता गरेनछन्। यसपछि उनी बच्चाहरूलाई लिएर घर फर्किंदै थिइन्, बाटोमा एउटा फर्सी भेटिछिन्। उनले त्यसलाई घर लगिन र उसिनेर बच्चाहरूलाई खुवाउन खोज्दा फर्सी सुनमा परिणत भएछ, फर्सी काटेर हेर्दा त भित्र सुनै सुन रहेछ। उनी यही सुनका कारण धनी भइछिन्। लुती अजिमा अर्कोपटक भने चिटिक्क परेर माइती जाँदा अति नै मानसम्मान गरेर उनलाई भोज खुवाइएछ। तर, लुती अजिमाको पालो खान दिएको भोज जथाभावी गहना–लुगामा दल्न थालिछिन्। यो देखेर अजिमाका सबै दिदी बहिनीले भनेछन्, ‘यो के गरेको ?’
उनले जवाफ दिइछन्, ‘जब म गरिब, खान नपाएको अवस्थामा थिएँ। त्यतिबेला मलाई भोकै फर्काइयो, आज म सुखी र ण्सम्पन्न छु, मान सम्मानसहित खाना ल्याइयो। यो खाना मेरा लागि होइन रहेछ, लुगा र गहनाका लागि रहेछ।’
अजिमाले यसरी पाहाँचरे बहिष्कार गरिन्। यसकारण लुती अजिमा इन्द्रयणीको जात्रा मात्र बाला चतुर्दशीका दिने गरिन्छ।
यो किंवदन्ती अनुसार हामीले के बुझ्नु पर्छ भने दुःख पाएका आफन्त वा कोही कसैलाइ पनि हेला गर्नुहुँदैन। धनीलाई गरिने व्यवहार र गरिबलाई गर्ने व्यवहारमा फरक हुनु हुँदैन। सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने ज्ञान पाहाँचरे पर्वमार्फत पाइन्छ।
राजा गुण कामदेवद्वारा स्थापित लुमधिअजिमा, कंग अजिमा, म्हेपी अजिमा, मैती अजिमा, तकती अजिमा, न्यतमरु अजिमा र बछला अजिमा को जात्रा पाहाँचरेका दिन टुँडिखेल र असनमा हुने परम्परा रहे पनि हाल कंग अजिमा, लुमडी भद्रकाली वटु र टेबहाः अजिमाको मात्र जात्रा हुने गरेको छ।
प्रकाशित: ८ चैत्र २०७६ ०१:१३ शनिबार