अन्य

बाउले जुठो बार्दैनन् म मर्दा...

रत्यौली शब्दलाई रतेउली, रतेली पनि भनेको पाइन्छ। विवाहको दिन जन्ती अन्माइसकेपछि नयाँ दुलही घरमा नभित्र्याएसम्म केटाको घरमा नारीहरूले मनाउने उत्सव हो, रत्यौली। नेपाली समाजमा यो उत्सव विवाह गर्ने विधि–विधानको सुरुवात भएसँगै प्रचलनमा आएको अनुमान गर्न सकिन्छ। विवाहका समयमा गाइने भएकाले नेपाली लोक–साहित्यको अध्ययनमा यसलाई संस्कार गीत मानिएको छ।

रातको समयमा गरिने रतिसँग सम्बन्धित उत्सव भएकाले, गाउँदै, नाच्दै र अभिनय गर्दै मनोरञ्जन वा रमाइलो गरिने भएकाले, दुलाहाका घरतिर नारीहरू रातभर जाग्राम बसी खेलिने भएकाले यसलाई रत्यौली नामकरण गरेको हुन सक्ने विज्ञ बताउँछन्। बोलीचालीमा कसैले रतेली खेल्ने भनेको सुनिन्छ। चूडामणि बन्धुका अनुसार पश्चिम नेपालमा छैँटी, व्रतबन्धमा रातभरि जाग्राम बसेर गाइने गीतलाई पनि रतेली भनिएको छ। मध्य र पूर्वी नेपालका खासगरी पर्वते जातिमा भने दुलाहा अन्माएपछि महिलाले गाउने गीत नै रत्यौली हो।

पहिले दुलाहाको टोलछिमेकका केटापक्ष दुलहीकै घरमा रात बस्न जान्थे। अहिले दिउँसोको समयमा मन्दिर, पार्टी–प्यालेसबाट विवाह गर्ने चलन बढेकाले पहिलेजस्तो जन्ती जाने चलन घटेको छ। जसकारण आजभोलि रत्यौलीमा पुरुष सहभागिता पनि घुसेको देखिन्छ। पहिले यो उत्सवमा पुरुष वर्जित हुन्थे, महिला खुलेर स्वच्छन्द तरिकाले रत्यौली खेल्न पाउँथे। रत्यौली नारी पर्व भएर पनि आजभोलि महिलाहरू खुलेर रत्यौली खेल्न सक्दैनन्। पुराना र परम्परित गीत र लय बिर्संदै गइएको छ। सहरमा मात्र होइन, दूरगाउँमा पनि आधुनिकताको राम्रै पाइन चढिसकेको अवस्था छ। नारीका मनभित्र हुने तमाम कुण्ठा, अभाव, पीडा, बुहार्तन र सहभागितामा पृथक्पन आएको छ। यसले हाम्रो मौलिक रत्यौली संस्कृतिमा पनि असर परेको छ।

विवाहको पूर्ण पाठ रत्यौली
हिन्दूको सोह्र संस्कारमध्ये एक हो, विवाह। विवाह सांसारिक भोगविलासका लागि मात्र गरिँदैन। विवाहमा आउने कुलपरीक्षादेखि, विवाहमुहूर्त, पूर्वाङ्ग, साइतपत्र (साइपाटा), माहुरविधि, वरयात्रा, स्वयंवर, वरस्वागत, कन्यादान, अग्निस्थापना, शिलापूजन, वधूू अभिषेक, सूर्यदर्शन, सिन्दुरदान, आसनपरिवर्तन, गोदान, वधूप्रवेश, दुलही अन्माउने र भिœयाउने,चतुर्थीकर्मजस्ता विविध विधिका विषय रत्यौली गीतमा आउँछन्। रत्यौली खेल्दा विशेषगरी बेहुलाबेहुलीबीच हुने यौनजन्य क्रियाकलापको हाउभाउ, अभिनय गीतमार्फत व्यक्त गरिन्छ, यसलाई यौनशिक्षाको प्रचारप्रसार पनि मान्न सकिन्छ।

यसरीले रत्यौलीले विवाह सुरु भएदेखि मधुरात्रिसम्मका यस्तै विविध घटनालाई फरकफरक गीतमार्फत सम्बोधन गरेको हुन्छ। हिन्दू संस्कारमा पानीले भरिएको गाग्री, रातो टीका, दही, अक्षता, दुबो, लावा(भुटेको धानको फुल) कन्या, कलश आदिलाई शुभ मानिन्छ। तसर्थ शुभकार्य सुरु गर्दा कन्यालाई अगाडि लाएर साइत गर्ने प्रचलन छ। दुलही लिन जाने दुलाहा र जन्तीलाई रातो टीका र फूलमालाले बिदाई गरी पञ्चकन्याअगाडि लगाएर पठाउने गरिन्छ। दुलाहाले आफ्नो गच्छेअनुसार लुगा, गहना दान गर्छन्। यसरी दुलाहा अन्माइसकेपछि रत्यौलीको पहिलो चरण सुरु हुन्छ :
एकै सुर्की दही पनि खाऊ बाबु,
कन्या अघि लाएर जाऊ बाबु।
गयो बाबु फूलमाला भिरेर
दूधको भारा सारीले तिरेर।

रत्यौली गीतमा विवाह विधि त परेकै हुन्छन्। यसमा दुलाहा र उसका घरपरिवार तथा दुलहीतिरका घरपरिवारका सदस्यलाई समेत व्यङ्ग्यविनोदमा उतारिएको हुन्छ। आफ्नो घरमा नयाँ सदस्य थपिँदा पर्ने सक्ने असरका बारेमा समेत सचेत गराइएको हुन्छ।
दुलही लिन जाँदै छ राजा,
चलाइसक्नु भाछैन भाइ आज।
दाइ गयो म जान पाइनँ,
फूल भरेको पुतली रेलैमा।

माग्ने होलान् केटीका दाइ,
के नै देलान् के खाला मेरो भाइ ?
जन्तेबाख्रो बोकाको पुच्छर
भोका जन्ती टपरी घिसार।

विवाहपछि दुई कुटुम्बको मिलन हुन्छ भने खासगरी नारी–पुरुषले जीवनसाथीको रूपमा अगाडि बढ्न औपचारिक स्वीकृति पाउँछन्। केटा र केटी नयाँ संस्कार र सम्बन्धमा गाँसिन्छन्। उनीहरूले रसरंगमा भुलेर आफ्नो काम, कर्तव्य पूरा नगर्ने हुन् कि भन्ने चिन्ता गरिन्छ। घर–परिवारको बेवास्ता गर्ने हुन् कि भन्ने आशंका समेत रत्यौली गीतमा पाइन्छ। रत्यौली गीतिसंवाद पनि हो। यसमा केटाकेटी, आमाबाउ र छिमेकीका समेत गेत्यात्मक प्रश्नोत्तर हुन्छन्।

सल्लेरी म काटेपछि
हेरौली आमाले काँ बसी ?
आज त नाचौली गाउली
छोरो टाढा हुँदा पो चाल पाउँली।
छोरी कता ज्वाइँको नासो
बूढीआमै बुहारीको गल्पासो।

सुने बाबु आमाका कुरा
तिमी हाम्रो मुटुको टुकुरा।
बुहारी आउँछे तिलबारी मासी
कता सासू बसौली तेल घसी ?

रत्यौली गीतमा सहभागी महिलाले दोहोरीजस्तै गरी कसैले गीतमा प्रश्न गर्छन्, कसैले त्यसको उत्तर फर्काउँछन्। कहिलेकाहीँ कुनै थेगा प्रयोग गरेर पनि स्थायी दोहोर्‍याउने गरिन्छ। ‘अरे भैया’, ‘मेरा बादुरे’, ‘चाइने जो’ जस्ता थेगो रत्यौलीमा प्रचलित छन्। रत्यौली खेल्दा समयको समेत ध्यान दिइन्छ। दुलाहा बेहुलीको घरमा पुग्नै लागेको सम्झी बेहुलीका घरमा हुने कार्यको वर्णन पनि रत्यौली गरिन्छ।
पानी पर्‍यो पिपलु पातैमा,
भाइको औँठी बुहारीको हातैमा।
मेरो भाइले लगेको चुरा,
बुहारी तिम्लाई नपुग्दो के छ र ?

दाइजो दिए दुलहीका बाबैले,
हात लाउँछिन् यो घरकी आमैले।
गाईको गोठ बाख्राको टाट्नु,
जस्ती होली बुहारी के साट्नु ?

नेपालका अधिकांश जातिमा विवाहपछि केटी केटाको घरमा जाने चलन छ। केटीका बाउले कुशको त्यान्द्रो चुँडेर गोत्र सार्छन्। त्यसपछि छोरीको मृत्युमा पनि बाआमाले जुठो बार्नुनपर्ने चलन हिन्दू संस्कारमा छ। गोत्र सारिसकेपछि केटीले आफू जन्मे–हुर्केको घरलाई माइतीघरका नामले सम्बोधन गर्न बाध्य हुन्छे। ऊ आफ्नो श्रीमान्, सासू–ससुरासँग नसोधी माइतीघर फर्किन समेत पाउँदिनँ। आफू जन्मी–हुर्की खेलेको आँगन र संगी–साथी छुट्छन्। पराईको हात समाती उसकै घर जानुपर्ने क्षण साँच्चिकै हृदयविदारक हुन्छ। यस परिस्थितिले वैवाहिक समारोहमा उपस्थित सबैलाई भावविह्वल तुल्याउँछ। विवाह गरेर जान लागेकी छोरीको बिलौना रत्यौलीमा यसरी आएको हुन्छ।

गाउँदै, नाच्दै र अभिनय गर्दै मनोरञ्जन वा रमाइलो गरिने भएकाले, दुलाहाका घरतिर नारीहरू रातभर जाग्राम बसी खेलिने भएकाले, रातको समयमा गरिने रतिसँग सम्बन्धित उत्सव भएकाले यसलाई रत्यौली भनिएको हो।
 

कस्तो रैछ छोरीको करिम,
जानुपर्ने अर्कैको घरमा।
ए बाबा म छोरी हैन र,
दाइलाई अंश मलाई केही छैन र ?

दाइलाई अंश घरमाथि पाटो छ,
मलाई भने आँधीको बाटो छ।
एक चिम्टी सिन्दूरले गर्दा,
बाउले जुठो बार्दैनन् म मर्दा।

मलाई लगे जन्तीले घेरेर,
बस आमा जगिया हेरेर।
जन्मघर डाँडाले छेक्यो,
भागी आउँथेँ कल्लीले पाउ रोक्यो।

दुलहीसहित जन्ती केटाको घरमा फर्कन्छन्। दुलही भित्र्याउने तयारी हुन्छ। रत्यौली खेलिरहेका महिलाले दुलाहादुलहीको डोली बिसाउन नदिई रोकिदिन्छन्। दुलाहादुलहीसँग चित्तबुझ्दो दक्षिणा माग गर्छन्। दिदीबहिनीले ढोकामा घेरा हालेर चोली चाहियो भन्छन्। रत्यौली खेलिरहेका समूहले बाटो छाड्दैनन्। पहिलेपहिले यसरी बाटो छेक्ने काम डोलेहरूको हुन्थ्यो। आजभोलि यो परम्परा पाइँदैन। हिजोआज आमा समूह, टोलसुधार समितिका नारीले डोली रोक्ने गरेको देखिन्छ। डोली रोक्दा विशेषगरी आमाबाबु, जन्ती र दुलहीलाई इंगित गरेर रत्यौली गाइन्छ। रत्यौली खेल्ने महिलाले दुलहीलाई सान्त्वना समेत दिन्छन्।
मैले छोरो पाएकी थिएँ र,
आयौ बूढा बुहारी लिएर।
यही हो भाउजू दाजीको घर,
चारैतिर ढुंगाको पर्खाल।

लिप्न पर्ने अर्कैको भित्तो,
जन्मदिने आमाको काख रित्तो।
पोखरामा किनेको ऐना,
रुँदै पछि लाए हुन् भाइबैना।

गङ्गाजीको जलले,
बाटो छेक नन्दले।
दायाँबायाँ इष्ट र मित्र
दाहिने गोडा चालेर जाऊभित्र।

त्यसपछि बुहारीलाई गृह प्रवेशको कार्य गराइन्छ। उता, दुलही भिœयाउने काम गरिरहेका हुन्छन्। ढोगभेट चल्छ। यता आँगनीमा रत्यौली भने घन्किरहेको हुन्छ। यता रत्यौलीमा नारीसहित जन्ती पनि थपिन्छन्।  रत्यौलीको रौनक साँझ जस्तै छिप्पिँदै जान्छ।

बुहारीले टेकेको पाइलो,
हेर आमा घर कति रमाइलो।
नरोऊ नरोऊ नझार आँसु,
आमाभन्दा मायालु छन् सासू।

भाग्यमानी रहिछौ पियारी,
घर बस दोपट्टा सियारी।
धोकोले ल्याएकी बुहारी,
हेर आमा दोसल्ला उघारी।

यसरी रत्यौली गीतले विवाहका विविध अवस्थाबारे जानकारी दिएका हुन्छन्। विवाहबाट दुई परिवार एउटा साइनोमा गाँसिन्छन्। दुई विचार, संस्कार आदिको सकारात्मक मेलका लागि पनि रत्यौली गीतले परिवारका सदस्यलाई खबरदारी गरिरहेका हुन्छन्। गीतबाटै सान्त्वना र गीतबाटै सचेत गराइएको हुन्छ।
छोरी पर्‍यौ मिलेर बस,
सासू, लोग्ने दुवैलाई तेल घस।
यो घरको सुम्सुमे काइदा,
फाइदाभन्दा धेरै छन् बेफाइदा।

बरु रुनू कुनामा बसी,
माइती अब हुनेछन् विदेशी।
सुसुरा बा कन्जुसे थैली,
किन दिन्थिन् सासू छन् पेट मैली।
हे बुहारी समात कुचो,
माछोमाछो होला नि भ्यागुतो।

विगत पाँच दशक अघिसम्म एकदिने या एकछिने बिहेको प्रचलन थिएन। केटातर्फबाट जन्ती, भारकलस, भरिया, लोकन्ती, कलस्यौली, मड्यौली, डोले, छाते, भत्करु, खाँडो जगाउने, दोहोरी सिलोके समेतको समूह दुलही लिन जाने संस्कृति थियो। पञ्चैबाजा घन्काउँदै जन्ती दुलहीको घरतर्फ हिँडेपछि घरगाउँले नारीहरू केटाको आँगन–पिँडीमा भरिन्थे। स्थानीय लोकबाजा, मादल, खैँजडी, चाँप, मुजुरा बजाएर एकल, संयुक्त र दोहोरी गीत घन्किन्थ्यो। पुरुष जातिविहीन यो उत्सवमा नारीको मात्र एकछत्र उपस्थिति हुन्छ। रत्यौली विवाहका वेला नारीहरूबाट आयोजना हुने नेपालीकोे मौलिक संस्कृति हो। जातजाति वर्ग विशेषमा गीत र तौरतरिका फरक होलान्, तर कुनै न कुनै रूपमा रत्यौली गाइन्छ नै। यस अवसरमा नारीले आफूभित्रका पीडा, दमन र शृंगारलाई लयदार गीतमा बुनेर वाणी दिन्छन्।

विवाहपछि स्त्री र पुरुषको शारीरिक र भावनात्मक सम्मिलन हुन्छ। यसले आत्मा, मन, प्राण र शरीर सबैको एकाकार चाहेको हुन्छ। विवाहको पहिलो आवश्यकता सृष्टिको विस्तार भएकाले यहाँ रतिको महत्वपूर्ण स्थान हुन्छ। रत्यौली उत्सवले रति शब्दसँग पनि निकट सम्बन्ध राख्छ। रति भन्नाले प्रेम, प्रीति, अनुरक्त हुनु वा कसैको वशमा बस्न रुचाउनु भन्ने बुझिन्छ। दुलाहा र दुलहीबीच हुने रतिकर्मको व्याख्या र तौरतरिकाका नाटक, अभिनयको प्रस्तुति पनि रत्यौली गीतमा पाइन्छ। विवाह उत्सवका वेला गाइने भएकाले यसलाई रत्यौली संस्कृति पनि भनिन्छ। वर्तमानमा यो प्राचीन संस्कृतिमा विकृति थपिएर लोक वा अन्य गीत गाएर नाच्ने प्रवृत्ति बढ्न थालेको छ।

पहिले बेहुलाबेहुलीको रतिकर्मका गीत सुन्दा पुरुषहरू रत्यौलीमा नजिक बस्न पनि सरम मान्थे। अहिले पुरुष सहभागिताका कारण महिलामा सङ्कोच बढ्ने भएकाले पनि यस्ता रत्यौली गीत हराउँदै गएका छन्। तीन–चार दशकअगाडि रत्यौली खेलिरहेको स्थानमा पुरुषले कमिला र धमिराका गोला फालिदिने गर्थे। तातिएको रत्यौली माहोल केही क्षणका लागि भद्रगोल पनि बन्थ्यो। आजभोलि पुरुषहरू पनि महिलासँगै नाच्ने, गाउने गरेको पाइन्छ। ऊवेला गाउँघरमा बिजुली बत्ती पुगेको थिएन। रातको अँध्यारो हटाउने साधन भनेको दियालो, निगालो, दियो र टुकी मात्र हुन्थे। मट्टीतेल र लालटिन पनि पर्याप्त हँुदैनथ्यो। पिँडीमा दियालो बालेर राखिन्थ्यो भने लालटिन पालीका थाममा झुन्ड्याइन्थ्यो। त्यसैको उज्यालोमा आँगनमा रत्यौली खेलिन्थ्यो। अहिले भने दिनको बिहे, छिनको रत्यौली खेलिन्छ।

रत्यौली विनोदको अभिनय
रत्यौली गीत गाउने संस्कृति मात्र नभएर नृत्य र अभिनयको समिश्रण समेत हो। यसमा भिन्न किसिमका एकांकी नाटक पनि मिसिएका हुन्छन्। विशेषगरी नववरवधूमा हुने रतिकर्मबारे पनि खुलेर प्रहसन गरिन्छ। यस्तो प्रहसनले मनोरञ्जन दिन्छ नै, नारीभित्र दमित यौनचाहनाको समेत प्रतिनिधित्व र प्रकटीकरण गरेको हुन्छ। रत्यौली गाउने नभनी रत्यौली खेल्ने भन्ने शब्द लोक समाजमा प्रचलित छ। रत्यौली गीत करुणा, चेतना, हस्यौली, ठट्ट्यौली र शृंगारले भरिएका हुन्छन्। यसमा नयाँ दुलाहादुलहीको सम्भावित रतिक्रीडाका विषयमा विभिन्न छेडछाड र व्यंग्य गरिएको हुन्छ। यसमा अभिनय गर्ने महिला नै हुन्छन्। महिलाले पुरुष भेषको मारुनी बनाउँछन्, जसले पुरुषको अभिनय गर्छन्। यसरी अभिनय गर्ने पात्रलाई नेपालमा विभिन्न ठाउँअनुसार लुठो वा लाहुरे भन्ने चलन छ। लाहुरे बन्ने महिलाले पुरुषको भेष धारण गरेका हुन्छन्। कमिज, पाइन्ट, टोप र जुत्ताले पूरा शरीर ढाक्छन्। मुख छोप्छन्, तर आँखा र निधार भने खुला नै राख्छन्। यसरी लाहुरे बन्दा मकैको खोस्टा, खोया वा केराको गुभोबाट पुरुष जनेन्द्रिय समेत बनाइएको हुन्छ।

पहिले–पहिले रत्यौली खेल्ने नारीहरूले नभेटून् भनेर जन्त जानेहरूले दौरासुरुवाल, कोट, इस्टकोट, टोपी, जुत्ता आदि लुकाउने गर्थे। पुरुषलाई श्रीमती बाठी बनेर लुगा गायब गरी भने भररात रत्यौलीमा घसारेर कुरूप पारिदिन्छे भन्ने डर हुन्थ्यो, तर आजभोलि त्यस्तो छैन। यसरी पुरुषको भेषधारी ‘लाहुरे’ स्त्रीले पुरुषको हाउभाउ र नक्कल गर्छन्। बोलीचाली र व्यवहार पनि उच्शृंखल पुरुषको जस्तो हुन्छ। सहभागीलाई को लाहुरे बन्यो पत्तै हुँदैन। गाउँ समाजमा कसैले पनि कुरा नगरून् भनेर लाहुरे बन्ने स्त्रीको परिचय गोप्य राखिन्छ। कपाल कसेर टोपले छोप्ने, मकैका जुँगाको दाह्री बनाउने, हाँडीको कालोमोसो पानीमा घोलेर तयार गरेको मसीले जुँगासमेत बनाउँछन्। केराको थम्बामा बाँसका कप्टेरा घुसारेर घोडा बनाउँछन्। त्यही घोडा चढेर उफ्रिँदै गीत गाउँछन्।

भाइले भरे ल्याउँदै छ जोडी
मेरो घोडा राँडो छ खै घोडी ?
कालो घोडा सिर्पेच राजाको
तालसुर मिलेन बाजाको।
ह्वा... ह्वा... ह्वा...।

चरम शृंगारिक अभिनय
साहित्यका नवरसमध्ये एक हो, शृंगार। रत्यौलीमा यस रसको विशेष महत्व छ। रत्यौली विवाह संस्कारसँग सम्बन्धित भएकाले यस्ता गीतमा प्रशस्त शृंगारिकता पाइन्छ। अभिनयकर्ताले विशेषगरी दुलाहाका बाबुआमा र दुलहीका बाबुआमालाई विशेष प्रहसन र व्यंग्यमा ल्याउँछन्। तिनका हाउभाउ, कटाक्ष र नक्कलबाट बढी नै शृंगारिक अभिनय प्रस्तुत हुन्छ। शारीरिक हाउभाउमा समेत अश्लीलता र कामुकता झल्किन्छ। तिनीहरूले आफ्ना भोगाइ र दमित चाहनाको समेत प्रकटीकरण गर्छन्। यसलाई पुरुष दमन विरुद्धको नारी स्वतन्त्रताको अभिव्यक्ति पनि मान्न सकिन्छ। लाहुरे वा लुठो बन्ने महिला र अन्य महिलाले धक फुकाएर यौनका विषयमा गीतमै सवालजवाफ गर्छन्। प्रस्तोताले ख्याल, ठट्ट्यौलीबाट सहभागीलाई मनोरञ्जन दिइरहेका हुन्छन्। अन्य सहभागीले हो मा हो गरी ताली र ताल मिलाउँछन्।

दुलाहीकी आमालाई आँगनीमा झार लुठा
आँगनीमा झार।
सिरी सिरी सिरी नानी सिरी
बच्चा पाउने ठाउँमा पान बिरी...
लुठो र दुलाहाकी आमालाई फिरी
आँगनीमा झार लुठा
आँगनीमा झार लुठा।

नाच् के नाच्
बूढी बजू कम्मर भाँच्
नाच् बूढी नाच्
आँगनीमा झार लुठा
आँगनीमा झार लुठा।

घर भाग्न आँटी फलानी,
अरे बूढी माउ गेडा झार्
ए ए नानी फलानी हात पसार्।
दन्यौरा देऊ मुठी पार्
घर लैजा ढोका थुन् मुख घुसार्
पापा लैजा फलानी
दुई गेडा कसार
फलानी हात पसार्।
हैट् बिरे घोडा हैट्...।

हाम्रा केटा लाठे छन् हरि
दुलहीले मुसार्छे के गरी ?

गीत गाउँदै अभिनय गर्ने मान्छेका हाउभाउले कतिपयले रत्यौली गीतलाई अश्लील गीत पनि मानेका छन्। तर, रत्यौली गीतमा छाडा अश्लीलता भने हुँदैन। रत्यौलीले नवविवाहित जोडीको रतिक्रियालाई संकेत गर्ने भएकाले लाहुरे वा लुठो बन्ने पात्रले आफ्नो शारीरिक हाउभाउमा अश्लीलता प्रदर्शन गर्छन्। त्यसरी हाउभाउ गर्दा स्त्री र पुरुषका बीचमा हुने यौनक्रियाको नक्कल उतारिन्छ। त्यहाँ नारीले नै पुरुषको भूमिका निभाउँछिन्। अन्य सहभागी महिलालाई दम्पती बीचमा हुन सक्ने सम्भावित क्रियाकलापमा उक्साउने अभिनय लाहुरे बन्ने पात्रको हुन्छ। रत्यौली गीतमा प्रशस्त मात्रामा शृंगारिकता भए पनि त्यसलाई सोझै नभनी विम्बात्मक रूपमा प्रस्तुत गरिएको हुन्छ।

हाम्रो बाबु गएको ठाउँमा,
बत्ती बाल्न पर्दैन त्यो गाउँमा।
पारि पाखा ओसिलो पहिरो गयो ल्यास्स,
बिर्सिएको मायाले सम्झाइदियो झ्यास्स।

बाँसको जराको पानी
जान देऊ खेतलाई रसानी।
लेकाली मुलाको चाना
बल्ल भए बाबुका दुईजना।

म कति राम्री छु
लाइटै बालेर हेर भिनाजु
बत्ती बाली भिनाजु हेर
सालीनानी भनिद्यौ न, एकफेर।
जाने हो पाखाको बाटो
हेर्ने हो लिङ्गे पिङ खेलेको।

सन्देश
नेपाली समाजमा प्रचलित मौलिक लोकसंस्कृति र तिनले दिने सन्देश अत्यन्त मार्मिक छन्। त्यस्ता संस्कृतिभित्रै पसेर, मनन गरेर मात्र तिनका सही मर्म बुझिन्छ। प्रत्येक सम्प्रदाय, जातजाति विशेषमा रहेका रसात्मक, विम्बात्मक, सन्देशमुखी र मानवोचित संस्कृतिको नेपाल खानी नै हो। यति धेरै सांस्कृतिक र मौलिक विविधता बोकेको समाज विश्वमा अन्यत्र नभेटिएला। यी संस्कृति हाम्रा अमूल्य रत्न हुन्। दुखद् कुरा, हामीले हीराका हार बिर्सिन थाल्यौँ। फलामे कन्कर्ना भिरेर सभ्य भएको भुइँफुट्टे मानिस हुन किन रुचायौँ, थाहा छैन। रत्यौली संस्कृति पनि एउटा यस्तै उत्सव हो। यसले समाजभित्रका विकृति, विकार र अन्धविश्वासमाथि गाण्डीव प्रहार गर्छ। समाजलाई सचेत रहन निर्देशन दिन्छ। घर–परिवारमा मिलेर बस्ने सल्लाह दिन्छ। खुलेर भन्न गाह्रो पर्ने नारी–पुरुषका यौनिक क्रियाकलापका विषयमा शिक्षा दिन्छ। केही हस्यौली, केही ठट्ट्यौली, केही व्यंग्य, केही बेथितितर्फ आमोदी पाराले खबरदारी गर्छ।

तर, दुःख लाग्ने कुरो समाजमा विकृति फैलिन थाल्यो। पार्टी प्यालेस वा कुनै पिकनिक स्थलमा फिल्मी, पप, हिन्दी गीत गीत गाएर, बजाएर रत्यौली मनाउन थालियो। रत्यौली प्रतियोगिताहरू पनि आयोजना भएका छन्। प्रतियोगिताले रत्यौलीको मर्म धान्न सक्दैनन्, यद्यपि रत्यौलीलाई भने जीवित राख्न सहयोग गरेको पाइन्छ। कतिपय लोकगीतका संकलक र गायकलाई त कुन रत्यौली र कुन तीजगीत भन्नेसम्म थाहा छैन। वा, थाहा नपाएझैँ गरीगरी गाइरहेछन्। हामी आफैँ डाँफे थियौँ, तर मुजुरको प्वाँख गाँसेर के हुँदै छौँ कुन्नि ? समाजको ऐनामा आफैँलाई हेर्नुपर्ने अवस्था छ।

प्रकाशित: १ चैत्र २०७६ ०४:२१ शनिबार

रत्यौली तर्कना_शर्मा