गएको सोमबार दिउँसो पिर्था राई कीतिपुर, मच्छेगाउँस्थित बारीमा मकै छर्न व्यस्त थिइन्। उनको बारीमा अहिले रायो साग, लसुन, धनियाँ लहराइरहेका छन्। फर्सी, बोडी, काँक्राका बीउ भर्खरै छरिएको छ। रायो साग टिप्दै गरेकी उनी भन्छिन्, ‘यी तरकारी बेच्न तल नयाँ बजार जानुपर्छ, कहिले लगेको जति सबै बिक्री हुन्छ, कहिले फिर्ता पनि ल्याउनुपर्छ।’ पिर्थाले यहाँ एक वर्ष अघिदेखि १५ रोपनी जग्गा भाडामा लिएर तरकारी खेतीसँगै कुखुरापालन गर्दै आएकी छन्। उनले यो व्यवसाय आफैँले ज्यालादारी (ज्यामी ) काम गरेर कमाएको पैसाले सुरु गरेकी हुन्। एक वर्ष अघिसम्म उनी घर–भवन निर्माण क्षेत्रमा ज्यालादारीको काम गर्थिन्। उनका श्रीमान् भर्खरै विदेशबाट फर्किएका छन्, तर तरकारी खेती गर्न पिर्थाले श्रीमान्को कमाइ खर्च गरिनन्।
उनी तरकारीमा रासायनिक मल होइन, आफैँले बनाएको प्रांगारिक मल प्रयोग गर्छिन्। प्रांगारिक मल तयार गर्न उनी जंगलबाट सुकेर झरेको पात ल्याएर कुखुराको सुलीसँग मिसाएर खाल्डोमा गाड्छिन्, त्यो कुहिएर मल बन्छ। यसरी तयार भएको मलमा उनले एग्रोभेटबाट पोपोकिट (नरिवलको जट्टाबाट बनेको) मिसाउँछिन्, त्यसपछि मात्र प्रयोग गर्ने मल तयार हुन्छ। ‘यस्तो मलको प्रयोगले बिरुवा सप्रन्छ, आम्दानी राम्रो हुन्छ,’ उनी भन्छिन्। बालीका लागि मल तयार हुने र आम्दानी पनि बढ्ने भएकाले उनले कुखुरा पालेकी हुन्। सुरुमा उनले एक सय ५० गिरिराज चल्ला पालेकी थिइन्। अहिले भने एक सय लोकल चल्ला हालेकी छन्। यसपालि सय वटै चल्ला हुर्केको उनले बताइन्। ‘ब्रोइलर, गिरिराज राख्दा हुर्काउन सकस हुने, बिक्री पनि नहुने। लोकलको मासु मिठो हुने भएकाले बिक्ने आशा गरेकी छु,’ उनी भन्छिन्।
उनले प्रतिरोपनी जग्गा भाडा वार्षिक १० हजार तिर्नुपर्छ। यस हिसाबले उनले एक लाख ५० हजार रुपैयाँ त भाडा मात्रै बुझाउनुपर्छ। भाडालगायत खर्च कटाएर वार्षिक ४–५ लाख कमाइ भएको उनको भनाइ छ। उनी भन्छिन्, ‘कमाइ त त्यस्तै हो, लाउन–खान र दुई छोरीलाई पढाउन पुगेको छ।’ उनकी जेठी छोरी रारा हिल स्कुलबाट एसईई सकेर अहिले कीर्तिपुरस्थित एपिएफमा ११ कक्षामा पढ्दै छिन् भने कान्छी छोरी रारा हिलमै कक्षा ६ मा अध्ययरत छिन्। उनले आफूले पढ्न नपाउँदा धेरै दुःख झेल्नुपरेको र पढेपछि राम्रो काम पाउलान् भनेर छोरीहरूलाई पढाएको बताइन्। अहिले उनका दम्पती नै तरकारी खेती र कुखुरापालनमा लागेका छन्। पिर्थाले आफू तरकारी खेतीमा लाग्नुको श्रेय कृषिविद् मदन राई र युट्युबलाई दिन्छिन्।
उनी भन्छिन्, ‘कृषि विशेषज्ञ मदन राईलाइे युट्युबमा हेरिरहन्छु। त्यस्तै, कुखुरापालनका लागि युट्युबमै सर्च गरेर भिडियोहरू हेर्ने गर्छु र त्यहीँबाट विभिन्न आइडिया लिन्छु।’ मदन राईबाट मानिसको पिसाब पनि राम्रो मल बन्ने थाहा पाएकी उनले पछि आफ्नो परिवारको पिसाब संकलन गर्न थालिन्। उनी भन्छिन्, ‘दुई भाग पानी र एक भाग पिसाब राखेर बिरुवाको जरामा नपर्ने गरेर त्यसको वरिपरि माटोको भागमा राख्दा बिरुवा राम्रो हुन्छ।’ खोटाङको बोपुङमा जन्मिएकी पिर्था स्कुले उमेरमा पनि कृषि कार्यमै बढी संलग्न भइन्। त्यो परिवेश नै त्यस्तै थियो। स्कुल जान पाए पनि आमालाई सघाउन उनी धेरैजसो घरमै बस्थिन्। यसरी उनको पढाइ बिस्तारै छुट्यो भने मेलापातको काममा बढी खटिनुपर्यो। ०५८ सालमा बिहे गरेपछि उनी श्रीमान्सँग काठमाडौं आएकी हुन्, कुनै कामको खोजीमा। ज्याला–मजदुरी गर्ने उनका श्रीमान् ०६८ सालमा दुबई गए। त्यसपछि पिर्था यता ज्याल मजदुरी छाडेर तरकारी खेतीमा लागेकी हुन्। उनी भन्छिन्, ‘खेतीपाती त हाम्रो रगतमै छ। यो गर्न के गाह्रो भयो र ?’
प्रकाशित: १ चैत्र २०७६ ०३:२९ शनिबार