प्रतीक्षा रिजाल
“दिदी, त्यो अंकल झोला थापेर किन बाटोमा बस्नुभएको ?” भाइले दिदीलाई सोध्यो। पहिलो पटक दिदीले भाइको प्रश्नको उत्तर दिइनन्। “दिदी, भन्नु न के ?” भाइले दिदीको फ्रकको फेर समाउँदै प्रश्न दोहोर्यायो। “दिदी, मैले सोधेको प्रश्नको उत्तर नभन्ने ? तपाईं रिसाउनु भएको हो ?” उसले मुख अँध्यारो बनाउँदै फेरि भन्यो।
“के सोधेको रे तिमीले ?” उनले उसको कुरा नसुनेझैं गर्दै प्रतिप्रश्न गरिन्। भाइ औंला टोक्दै मूलबाटोमै ठिङ्ग उभियो। “किन चाहियो ? अहिले बुझ्दैनौं यस्ता कुरा। पछि बुझ्छौ। बुझ्ने बेला भएको छैन।” उनले भाइको गाला सुम्सुमाउँदै भनिन्। हुन त उनी पनि भाइभन्दा खासै ठूलो उमेरकी होइनन्। तर आफू धेरै उमेर भएको जस्तै गरी जवाफ फर्काइन्। “अँअँ मैले बल्ल बुझें। तपाईंलाई थाहा छैन, त्यसै भएर नभनेको। जानेको भए त भनिहाल्नु हुन्थ्यो नि ” उसले दिदीतिर औंला ठड्याउँदै भन्यो। “छिटो हिंड के घर, घर जान ढिला भइसक्यो। धेरै गृहकार्य गर्नु छ। गफ गरेर बस्ने फुर्सद छैन मलाई ” मूलबाटोको दृश्यबाट अलि पर सर्दै दिदीले भाइतिर फर्केर भनिन्।
“ह्या, दिदी भन्नु न के !” उसले फेरि कर गर्यो। “पछि भनौंला कुनै दिन। आज खुरुक्क छिटो घर हिंड है। किचकिच नगर ” दिदीले अलि चर्को स्वरमा भनिन् । “जाने भए घर हिंड नत्र यहीं छाडेर जान्छु। चोरले तिमीलाई बोरामा हालेर लैजाला नि !” उनले अझै डर देखाइन्। शुरूमा जान्नँ भन्दै ढिपी गरे पनि दिदीको डरमा ऊ उनको पछि लाग्यो। तर, बाटोभरि उसले ढिपी गर्न छाडेन। उसले जे भने पनि उनले भने मुख खोलिनन्। खाजा खाएपछि उनी गृहकार्यमा लागिन्। ऊ टेलिभिजनको कार्टूनमा रमायो। कार्टूनसँगै उसको अघिको जिज्ञासा एकाएक हरायो।
प्रशान्ति र प्रदीप दिदीभाइ हुन्। दिदी १३ वर्षकी छिन् भने भाइ ८ वर्षको छ। दिदी ८ कक्षामा र भाइ ३ कक्षामा पढिरहेका छन्। उनीहरूको घर बारा जिल्लाको डकाहा गाउँमा छ। नेपाल र्रािष्ट्रय माध्यमिक विद्यालयमा तिनीहरू अध्ययन गर्छन्। आमाबुबा दुवै कर्मचारी हुनुहुन्छ। आमा जीतपुर–सिमरा उपमहानगरपालिका अन्तर्गतको वडा कार्यालयमा र बाबा जिल्ला वन कार्यालय सिमारामा कार्यरत हुनुहुन्छ। बिहान नौ बजे आमाले खानासँगै खाजा तयार पार्नुहुन्छ। ती खाजा बोकी विद्यालय जान्छन्। भाइलाई विद्यालय पुर्याउने र घर ल्याउने जिम्मेवारी दिदीको काँधमा छ।
"पढनु भएको होला अंकलले ? मलाई कस्तो माया लाग्यो। आँखा नदेख्नेले बाटो थाहा पाउन सक्छन् त ?" भाइ दिदीतिर हेर्दै सोध्छ।
केही दिनपछि भाइ दिदीसँग पुनः पहिलेकै प्रश्न दोहोर्याउँछ । “तिमीले साह्रै किचकिच गर्यौ। कस्तो नराम्रो बानी। एउटा कुरामा लागेपछि त्यही कुराको पछि परिरहने” दिदी भाइलाई आँखा तर्दै भन्छिन्। “अनि त्यति जाबो प्रश्नको उत्तर दिए भैगो नि” ऊ भन्छ। “पछि भन्छु भनेको बुझेनौं ?” उनी रिसाउँदै भन्छिन्। “मैले भनेको कहिल्यै मान्नु हुन्न होकि ? मानेको भए के बिग्रन्थ्यो र ?” भाइ घुर्की देखाउँदै भन्छ। “ल, ल भनौंला पछि। पहिले खाजा खाऊँ ” दिदी उसको ढाड थप्थपाउँदै भन्छिन्।
“हैन मेरै दिदी हो त तपाईं ? अस्ति नै उत्तर दिएको भए भइहाल्थ्यो नि। आजसम्म कुर्नु पथ्र्यो र ?” ऊ दिदीतिर आँखा झिम्काउँदै भन्छ। “लल, धेरै नबोल ” दिदी भाइलाई थपथपाउँदै भन्छिन्। “आहा, मेरो दिदी कति ज्ञानी ?” भाइ फुर्किदैे भन्छ। “भयोभयो धेरै फुक्र्याउन पर्दैन। हिंड, छिटो घर जाऊँ” दिदी भाइलाई अघि लगाउँदै भन्छिन् । “हवस्” उसको अनुहार उज्यालो देखिन्छ। विद्यालयको प्रवेशद्धारभन्दा केही पर लगभग ३० वर्षका जस्ता देखिने व्यक्ति प्लास्टिकको झोला थापेर मागिरहेका थिए । पहिलेपहिले उनी त्यहाँ देखिंदैन्थे। २०– २५ दिन जति भयो होला देखिन थालेका। उनको आँखामा कालो चस्मा , आंगमा खैरो रंगको सर्ट र खुट्टामा कालो रंगको टाउजर थियो।
घर पुगेर खाजा खाई नसक्दै प्रदीपले दिउँसोको कुरा स्मरण गराउँदै दिदीलाई कोट्यायो। “ती आँखा देख्दैनन्। मागेर गुजारा चलाउन बाटोमा बसेका हुन् रे” दिदी भाइलाई सुनाउँछिन्। “तिनलाई कसले त्यहाँँ ल्याइदिन्छ ? घर कता होला ? कतिखेर जान्छन् ? के खान्छन् ?” भाइ एकसाथ विविध प्रश्न राख्छ। “त्यो मलाई पनि थाहा छैन। कोही पक्कै होलान्” एकछिन टक्क रोकिएर दिदी भन्छिन्। भाइ अकमक्क परेर दिदीलाई हेरिरहन्छ। “घर त थाहा छैन। मेरो विचारमा यहाँ ल्याउनेले जम्मा भएको पैसाबाट केही दिन्छन् होला ” दिदी भाइलाई भन्छिन्। उनको कुरा नसकिंदै भाइ दिदीलाई सोध्छ, “पढ्नु भएको होला अंकलले ? मलाई कस्तो माया लाग्यो। आँखा नदेख्नेले बाटो थाहा पाउन सक्छन् त ?” भाइ दिदीतिर हेर्दै सोध्छ। “कस्तो कुरा गरेको, आँखा नदेख्नेले बाटो कहाँ बाटो देख्नु ? बरु छामेर पत्ता लगाउँछन् रे ” उनी भन्छिन्। दिदीको कुरा सुनेर भाइ खिस्स हाँस्छ।
“हामी अंकललाई सहयोग गरौं। आमाले टीका लगाएर दिनु भएको पैसा खुत्रुकेमा छ। त्यही दिने है ! ” भाइ प्रस्ताव राख्छ। दिदी भाइको कुरा सुन्छिन् मात्र कुनै प्रतिक्रिया जनाउँदिनन्। “अनि मैले अघि सोधेको प्रश्नको उत्तर खोई त ? साँच्चै थाहा छैन हो ?” भाइ जिज्ञासु भावमा भन्छ । “साँच्चै, त्यत्ति राम्रो थाहा छैन। भरे, बाबाआमा आएपछि सोध्नुपर्छ। अहिले गृहकार्य गर्न जाऊ तिमी पनि। म पनि जान्छु ” दिदीले भन्छिन्। बेलुका दुवै बाबाआमासँग मागिरहेको मानिसबारे प्रश्नहरू राख्छन्। आमा केही बोल्नु हुन्न। तर, बाबा हाँस्नुहुन्छ। ती अकमक्क पर्छन्। बाबाले गाली पो गर्ने हो कि ? तिनीहरूको मनमा लागिरहन्छ। न दिदी न त भाइ नै बाबासँग जिद्धी गर्न सक्छन्। उहाँको अनुहार एकटकले हेरिरहन्छन् मात्र। “भोलि बिहान भन्छु है ” बाबा भन्नुहुन्छ। “हुन्छ” दिदी भन्छिन् तर भाइ टोलिन्छ मात्र।
उज्यालो हुन्छ। तिनीहरूले बाबालाई हिजोको कुरा सम्झाउँछन्। बाबा मुसुक्क हाँस्दै भन्नुहुन्छ “अचेल अरूलाई माग्न लगाएर व्यवसाय गर्ने मानिसहरू पनि भेटिन थालेका छन्। ती पापी र दुष्ट हुन्। त्यो नराम्रो कुरा हो। तर, हामीले दुःखीहरूलाई सधैं सकेको सहयोग गर्नुपर्छ। छिः छिः – दुरदुर गर्नु हुँदैन। वृद्धवृद्धा, असहाय र निमुखालाई सहयोग गर्नु मान्छेको धर्म पनि हो।” “ए” प्रशान्ति टाउको हल्लाउँदै भन्छिन्। “त्यस्तो रहेछ होकि बाबा। मलाई थाहा थिएन” प्रदीप हाँसेर उहाँको हात समाउँदै भन्छ। “हो त” बाबाले थप्नुहुन्छ। यतिखेर उहाँको कुरा सुन्न प्रशान्ति र प्रदीप मात्र होइन आमा पनि आइपुग्नु भएको छ।
प्रकाशित: १ चैत्र २०७६ ०२:११ शनिबार