अन्य

विचार र भावनाको सेतु

प्रा.डा. उषा ठाकुर
दुई भाषाबीच हुने सम्प्रेषणात्मक कार्य हो, अनुवाद। निडा (अंग्रेजी भाषविद्) का अनुसार, स्रोत पाठको विश्लेषण, अर्थको स्थानान्तरण र अर्को भाषामा त्यसको पुनर्लेखन जस्ता तीन अन्तर्सम्बन्धित प्रक्रियाको समष्टिगत रूप हो, अनुवाद। अर्थात्, स्रोत पाठको अर्थ र शैलीलाई सम्भव भएसम्म सन्निकट समतुल्यता कायम गरी लक्ष्य भाषामा पुनरुत्थान गर्ने कार्यलाई अनुवाद भनिन्छ। त्यस्तै, एन्थोनी बर्गेस्ले भनेका छन्, ‘शब्द अर्थात् भाषाको मात्र कुरा होइन, अनुवाद त सम्पूर्ण संस्कृतलाई बोधगम्य बनाउने एक प्रक्रिया हो।’ अर्थात्, भाषिकभन्दा पनि सांस्कृतिक अभ्यास हो अनुवाद, जसले स्रोत पाठमा अन्तर्निहित मूल्य–मान्यतालाई सिर्जनात्मक ढंगले अर्को भाषामा पुनरुत्थान गर्छ। अनुवाद अन्तर्गत स्रोत पाठ, अनुवादक र लक्ष्य भाषी पाठकबीचको अन्तर्सम्बन्ध पर्छन्। अनुदित पाठ बोधगम्य र प्रवाहमय दुवै हुन आवश्यक छ। अभ्यास, अन्तर्दृष्टि र अनुभवको कसीमा सफल अनुवादकको जन्म हुन्छ। दुई भाषाबीचको सम्प्रेषणीयता प्रदान गर्ने क्रिया नै अनुवाद हो। यसले साहित्यिक, धार्मिक, भाषिक, सांस्कृतिक पक्षबीचको सेतुका रूपमा काम गरेको छ।

यसो देशीय एकता र विश्व एकताको माध्यम हो। यसले साहित्यकारमा प्रतिस्पर्धात्मक भावना सिर्जना गर्न सहयोग गर्छ। अनुवाद गर्नेलाई अनुवादक साहित्यकारको रूपमा आदर गरिन्छ। अनुवाद साहित्यकारले स्रोत र लक्ष्य भाषाका बारेमा बृहत् जानकारी हासिल गरेको हुन्छ। उसले एउटा पर्दापछाडिको साहित्यकारलाई विश्व साहित्यमा अवतरण गराइदिन्छ। यहाँसम्म कि अनुवाद साहित्यकै कारण कतिपय कृतिले विश्वकै सर्वोत्कृष्ट मानिएको नोबेल पुरस्कार पाएका छन्। अनुवाद स्तरीय भएन भने साहित्यकार र देशकै बदनाम हुन्छ। रवीन्द्रनाथ टैगोर, कालिदास, म्याक्सिम गोर्की लगायतलाई हामीले अनुवाद साहित्यकै माध्यमबाट चिनेका हौँ। विश्वका स्तरीय कृतिको अध्ययन गर्ने अवसर अनुवादले नै गरिदिएको हो। अनुवादमार्फत नै अर्को देश वा समुदायकोविचार, दर्शन, समाज, कला, संस्कृत, भूगोल चिन्न पाइन्छ।

नेपाली अनुवादको इतिहास
प्रारम्भिक काल (वि.सं. १३०७ देखि १९२३)
नेपाली अनुवादको प्रारम्भिक कालमा संस्कृतबाट धेरै कृति नेपाली भाषामा अनुवाद भएका छन्। प्रारम्भिक काल पूरै संस्कृतको अनुवादबाट प्रेरित र अनुप्राणित भएको देखिन्छ। प्रारम्भिक कालमा संस्कृतका कृतिको अनुवादले नेपाली भाषा साहित्यको आधार बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेका हुन्। बलराम अधिकारीका अनुसार अनुवाद साहित्यको प्रारम्भिक कालमा ‘महाभारत विराटपर्व’ (अनुवादक : शक्तिवल्लभ अज्र्याल, १८२७), हास्यकदम्ब (अनुवादकः शक्तिवल्लभ अज्र्याल, १८५५), हितोपदेश मित्रलाभ (अनुवादकः भानुदत्त, १८३३), अध्यात्म रामायण (अनुवादक : सुन्दरानन्द बाँडा) जस्ता ग्रन्थ अनुवाद भए।

दुई भाषाबीचको सम्प्रेषणीयता प्रदान गर्ने क्रिया नै अनुवाद हो। यसले साहित्यिक, धार्मिक, भाषिक, सांस्कृतिक पक्षलाई सेतुका रूपमा काम गरेको छ। यसले देशीय एकता र विश्व एकतामा बाँध्छ। यसले साहित्यकारमा प्रतिस्पर्धात्मक भावना सिर्जना गर्न सहयोग गर्छ।
 

त्यस्तै, दशकुमार चरित (अनुवादकः वाणभट्ट, १८७५), महाभारत गदापर्व (अनुवादक : विजयानन्द, १८८६), गीतगोविन्द (अनुवादक : हिनव्याकरणी विद्यापति, १८८८), हितापदेश मित्रलाभ, आत्मबोध (भवानीदत्त पाँडे), रामायण (अनुवादकः भानुभक्त आचार्य, १८९८, १९१०), रामगीता (भानुभक्त आचार्य, १९२५) आदि छन्। यस कालमा अधिकांश संस्कृतबाट र केही अंग्रेजीबाट नेपाली भाषामा अनुवाद भएको पाइएको छ। वि.सं. १८७० को दशकदेखि नेपाली अनुवादमा अंग्रेजी भाषाले पनि स्रोत भाषाका रूपमा प्रवेश पायो। बाइबलका अनुदित रूपहरू धर्म पुस्तक (१८७८) र सेरापुर बाइबिल (१८८४) यस कालमा अंग्रेजीबाट नेपालीमा अनुवाद भई आएका कृति हुन्।

विकासकाल (१९२४ देखि २००७)
नेपाली साहित्य, पत्रकारिता र शिक्षाका क्षेत्रमा अनुवाद कार्यले आफ्नो प्रभुत्व जमाएको समय हो, विकासकाल। यस कालमा नेपाली अनुवाद क्षेत्रले परिमाणात्मक र गुणात्मक दुवै दृष्टिले स्थापित हुने अवसर पायो। वि.सं. १९२४ देखि २००७ सम्मको अवधिलाई अनुवादको विकास कालअन्तर्गत समेटिएको छ। यस चरणको पूर्वाद्धका अनुवाद कार्य पत्रकारितासँग जोडिएको छ। नेपालमा पत्रकारिताको सुरुवात नै अनुवादबाट भएको पाइन्छ। नेपाली भाषा साहित्यलाई उच्च स्थान दिने प्रयासमा विभिन्न पुस्तक लेख्ने, लेखाउने र छपाउने कामका लागि गोर्खा भाषा प्रकाशिनी समिति (१९७०), नेपाली भाषा प्रकाशिनी समिति (१९८७), नेपाली भाषानुवाद परिषद् (१९९४) र चौबीस पुस्तक प्रकाशन योजना (१९९७) आदि संस्थाले अनुवाद कार्यलाई दिशा र अग्रसरता प्रदान गरे। यस चरणमा संस्कृत, बंगाली, हिन्दी र अंग्रेजीलाई प्रमुख स्रोत भाषाका रूपमा प्रयोग गरियो। यस चरणका सक्रिय अनुवादकहरूमा इन्द्र सुन्दास, सदाशिव शर्मा, पारसमणि प्रधान, शम्भुप्रसाद ढुंगेल, पुष्कर शमशेर जबरा, बालचन्द्र शर्मा, लक्ष्मीप्रसाद देवकोटा आदि पर्छन्।

आधुनिककाल (२००७ देखि २०५८)
वि.सं. २००८ देखि २०५८ सम्मको अवधिलाई नेपाली अनुवादको आधुनिक कालअन्तर्गत राखिएको छ। यस कालमा अनुवादको उन्नतिका लागि दुई महत्वपूर्ण कार्य भए। गोविन्दराज भट्टराईको ‘इन अदर वर्डज् : सेन्स भर्सेज वर्डज् एज युनिट अन ट्रान्सलेसन’ शीर्षकको विद्यावारिधि तहको शोध महत्वपूर्ण मानिन्छ। भट्टराईको शोधकार्य नेपाली अनुवाद साहित्यको क्षेत्रमा भएको पहिलो प्राज्ञिक अनुसन्धान हो। यस्तै, २०१६ मा त्रिभुवन विश्वविद्यालय, २०१४ मा राजकीय प्रज्ञा प्रतिष्ठान, २०२१ मा साझा प्रकाशनको स्थापनाले अनुवाद साहित्यको उन्नयन भएको हो। यस अवधिमा नेपाली, अंग्रेजी, संस्कृत, रुसी, बंगाली, हिन्दी, फ्रान्सेली, अवधी, उर्दू, जापानी, पाली, मैथिली र बर्मेली भाषाहरूबाट नेपाली भाषामा अनुवाद भएको पाइएको छ। नेपालभाषा, मैथिली, अवधी जस्ता राष्ट्रभाषाहरूबाट नेपाली भाषामा अनुवाद गरियो।

समसामयिक काल (२०५९– हालसम्म)
बलराम अधिकारीले ‘अनुवाद सिद्धान्त र प्रयोग’ ग्रन्थमार्फत समसामयिक काल विभाजन गरेका हुन्। यस कालअन्तर्गत २०५९ पछि नेपाली साहित्य सम्बन्धित अनुवादका क्षेत्रमा भएको समसामयिक कार्यलाई समेटिएको छ। त्रिभुवन विश्वविद्यालयको भाषा विज्ञान विभाग, नेपाली विभाग र अंग्रेजी विभागका स्नातकोत्तर तह र एमफिलका पाठ्यक्रमहरू अध्ययन अनुवाद साहित्य र अनुसन्धानसँग जोडिन पुगे। साथै प्रज्ञा प्रतिष्ठानअन्तर्गत विश्व साहित्य तथा अनुवाद विभाग (२०६७) को स्थापनाले अनुवाद क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको छ। साठीको दशकमा उपन्यास, कथा, कविता, निबन्ध र नाटक विधाका केही नेपाली कृति अंग्रेजीमा अनुवाद भए। त्यस्तै, अंग्रेजी भाषाबाट नेपालीमा कथा, उपन्यास, जीवनी, इतिहास, राजनीति, दर्शन आदिका पुस्तक धेरै अनुवाद भए। नेपाली भाषाका केही कृति अनुवादद्वारा तामाङ, थारू, मगर, मैथिली, लिम्बू, भोजपुरी, अवधी र नेपाल भाषामा भित्रिएका छन्।

तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानबाट माधवलाल कर्माचार्य र ईश्वरमान रञ्जितकारले सम्पादन गरेको ‘अनुवाद ग्रन्थ सूची’ २०५९ मा प्रकाशित भयो, जुन अनुवाद साहित्यको क्षेत्रमा महŒवपूर्ण कृति बनेको छ। सन् १९६१ मा विश्वभाषा क्याम्पसको स्थापना भएदेखि नै भाषा प्रशिक्षणका अतिरिक्त अंग्रेजी, जर्मन, फ्रान्सेली, रुसी, स्पेनिस, इटालियन, जापानी, कोरियन, अरबी र चिनियाँ भाषामा अनुवाद कार्य हुँदै आएको छ। अनुवादको महत्वलाई बुझेर अनुवाद साहित्यको उत्तरोत्तर विकास भइरहेको देखिन्छ। नेपाल प्रज्ञा प्रतिष्ठानका अनुवाद विभाग प्रमुख प्रा. डा उषा ठाकुरको कार्यकालमा अनुवाद विभागबाट २७ वटा अनुदित कृतिहरू प्रकाशित भइसकेका छन्। जस्तै : इन्दिरा प्रसाईंको रनमाया (उपन्यास) लाई केशव सिग्देलले अंग्रेजी भाषामा अनुवाद गरेका छन्। लक्ष्मीप्रसाद देवकोटाको चम्पा (उपन्यास)लाई धु्रवलाल सहनी, बिपी कोइरालाको ‘बाबु, आमा र छोरा’ उपन्यासलाई पुनम झा, कमल रिजालको सुकर्म (उपन्यास)लाई टीकाराम वाग्ले, प्रतिनिधि नेपाली लघुकथालाई ओमरोदन श्रेष्ठ र गोपाल अश्क, विजय मल्लको अनुराधा (उपन्यास)लाई मुकेश मिश्रले हिन्दी भाषामा अनुवाद गरेका छन्।

भउचप्रसाद यादवले ‘थरुहटका छोरा र बुहारी’ (उपन्यास)लार्ई भोजपुरीबाट नेपालीमा अनुवाद गरेका हुन्।  उमाशंकर द्विवेदीले नेपालीबाट भोजपुरीमा अनुवाद गरेको  कृति हो, कुछ नेपाली कथा भोजपुरीमेँ। त्यस्तै, श्याम प्रधानले ‘देवदास’ (उपन्यास)लाई हिन्दीबाट नेपाली अनुवाद गरेका छन्। त्यस्तै, नेपाली कथालाई विक्रममणि त्रिपाठीले अवधी भाषामा अनुवाद गरेका छन्। अंग्रेजी भाषाका साहित्यलाई पनि नेपाली भाषामा अनुवाद गरिएको छ। यस क्रममा बलराम अधिकारीले अंग्रेजी कथाहरूलाई ‘विश्व प्रसिद्ध केही कथाकार र कथाहरू’ पुस्तकमा अनुवाद गरेका छन्। त्यस्तै, ‘विश्व महिला कथाकार र कथाहरू’लाई ऋचा शर्माले, ‘सार्क मुलुकका महिला कथाकारहरूका कथा’लाई माया ठकुरीले, ‘विश्वविख्यात नारीका कथाहरू’लाई रामबहादुर पहाडीले, सेक्सपियरको ‘द टेम्पेस्ट’लाई सुमन पोखरेल र ‘ह्वाट इज् लिभिङ एन्ड ह्वाट इज् डेड’लाई निनु चापागाईंले अनुवाद गरेका छन्। त्यस्तै, संस्कृत साहित्यका कृतिलाई नेपाली भाषामा अनुवाद गरिएको छ। यस क्रममा पौराणिक आख्यानहरूलाई प्रा.डा. नारायण गौतमले नेपालीमा अनुवाद गरेका छन्।

अनुवाद विभाग
नेपाल प्रज्ञा प्रतिष्ठानमा वैरागी काइँलाको कुलपतित्वमा वि.सं. ०६७ मा अनुवाद विभागको स्थापना भएको हो। उनको कार्यकाल (०६६–७०) मा लगभग पाँचवटा अनुदित पुस्तक प्रकाशित छन्। यो विभाग दोस्रो र तेस्रो कार्यकालमा प्रा.डा. उषा ठाकुरको नेतृत्वमा अगाडि बढिरहेको छ। यसले अहिले नेपाल प्रज्ञा परिषद्को उद्देश्यअनुरूप नेपाली साहित्यलाई विश्वसाहित्य रंगमञ्चमा प्रतिस्थापन गर्ने खालका कार्य गर्दै आएको छ। विश्व साहित्यमा नेपाली साहित्यको समृद्धिबारे जानकारी गराउने हाम्रो मुख्य उद्देश्य हो। यसले अनुवादसम्बन्धी विचार गोष्ठी आयोजना गर्दै आएको छ। यसै क्रममा छिटै नेपालगन्जमा कार्यक्रम हुँदै छ। त्यहाँ प्रस्तुत कार्यपत्रमाथि छलफल हुनेछ। प्रज्ञा प्रतिष्ठानको उद्देश्यअनुरूप अनुवाद विभाग नेपालका सातै प्रदेशमा पुग्ने योजनामा छ। अनुवादमार्फत नेपाली, संस्कृत र नेपालका मातृभाषाका साहित्यलाई विश्व साहित्य जगत्मा प्रतिस्थापन गर्ने विभागको प्रयास हो। मातृभाषाका साहित्यको अनुवाद गर्दा राष्ट्रिय एकतालाई ख्याल गर्नुपर्ने हुन्छ। हामीले राष्ट्रिय एकता सुदृढ पार्ने खालका साहित्यको अनुवादमा जोड दिएका छौँ। मातृभाषाका साहित्य अंग्रेजी, हिन्दी र नेपालीमा अनुवाद हुँदै आएका छन्। कहिलेकाहीँ विशेषांक प्रकाशन गरिन्छ। मातृभाषाका साहित्यको उत्थान गर्नु पनि विभागको उद्देश्य हो। यही उद्देश्यअनुरूप काम हुँदै आएको छ।

अनुवाद परिचय कोश र रूपान्तरण
अनुवाद विभागले अनुवादक परिचय कोश– २०७५ प्रकाशन गरेको छ। यस कोशमा नेपाली, अंग्रेजी, हिन्दी, उर्दू, चिनियाँ, जर्मन, जापानी, रुसी, फ्रेन्च, संस्कृत, नेपाल भाषा, मैथिली, भोजपुरी, अवधी, बंगाली, असमिया लगायत भाषामा अनुवाद भएका कृति र अनुवादकको विवरण समाविष्ट छन्, जसमा लगभग ६ सय अनुवादक साहित्यकार छन्। अनुवाद विभागबाट ‘रूपान्तरण’ पत्रिकाको अंक ७ सम्म प्रकाशित भएको छ। यो पत्रिकाभित्र नेपाली, हिन्दी र अंग्रेजी गरी तीन खण्ड हुन्छन्। नेपाली, संस्कृत, मैथिली, भोजपुरी, अवधी, थारु, नेपाल तथा अन्य नेपालका मातृभाषाका उत्कृष्ट रचनालाई हिन्दीमा अनुवाद गरिन्छ। त्यस्तै, नेपाली अनुवाद अन्तर्गत विश्वका स्थापित साहित्यकारहरूका रचनाको नेपालीमा अनुवाद गरिन्छ। त्यस्तै, नेपालमा बोलिने मातृ भाषाका कवितालाई अंग्रेजीमा अनुवाद गरिन्छ। त्यस्तै, तेस्रो खण्डमा नेपाली साहित्यका उत्कृष्ट कृतिलाई अंग्रेजी भाषामा अनुवाद गरिएको हुन्छ।

अनुवाद स्वीकृत
विभिन्न परियोजनाअन्तर्गत प्रज्ञा प्रतिष्ठानमार्फत अनुवाद हुँदै आएका छन्। अनुवादक साहित्यकारले प्रस्ताव लिएर आउँछन्। प्राज्ञिक दृष्टिले त्यो कतिको महŒवपूर्ण छ भन्ने खोजीनिती हुन्छ। स्रोत कृतिको मूल्य, प्रवृत्ति र प्रभावको मूल्यांकन गरिन्छ। प्रज्ञा प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्यसचिव र समिति सल्लाहकारको उपस्थितिमा ती प्रस्तावमाथि छलफल हुन्छ। र, अनुवादक साहित्यकारसँग सम्झौता गरेर उनीहरूलाई निश्चित समय दिइन्छ। समयमै पाण्डुलिपि तयार हुन्छ। यो पाण्डुलिपि तत्सम्बन्धी विज्ञलाई मूल्यांकनका लागि दिइन्छ। विज्ञको मूल्यांकन प्रतिवेदन प्राप्त भएपछि पुनः सम्पादन गरेर प्रकाशनमा पठाइन्छ।

बजार
वार्षिक रूपमा १० कृतिहरू यस विभागको नेतृत्वमा अनुवाद हुँदै आएको छ। यो संख्या तल–माथि पनि पर्न सक्छ। खासगरी कति बजेट यस विभागलाई छुट्याइन्छ भन्नेमा पनि निर्भर हुन्छ। अनुवादित कृतिको बजार राम्रै छ, किनभने विभागबाट स्तरीय कृतिको मात्रै अनुवाद गरिन्छ। स्तरीय कृति त सदावहार खोजिन्छ। अनुवादित कृतिमध्ये ‘विश्व प्रसिद्ध केही कथाकार र कथाहरू’, ‘विश्व महिला कथाकारका कथाहरू’, ‘सार्क महिला कथाकारका कथाहरू’, ‘देवदास’, ‘मन्नु भण्डारीका कथाहरू’ आदि धेरै बिक्री भएकामध्ये पर्छन्।

अनुवादका कमजोरी
कतिपय अनुवादकमा स्रोत भाषा र लक्ष्य भाषाको पूर्ण ज्ञानको कमीका कारण अनुवाद साहित्य भनेजस्तो हुँदैन। त्यस्तै, उनीहरूमा मूल पाठमा विद्यमान विषयको सम्यक् ज्ञान नभएको अवस्था पनि छ। अनुवादकले मूल रचनाकार र कृतिको विषयवस्तुसँग तारतम्यता स्थापित गर्न सक्नुपर्छ, यसो गर्न नसकेको पनि पाइएको छ। त्यस्तै, अभ्यासको कमी, बोधगम्यताको अभाव, प्रवाहमयता र साधारणीकरणको अभाव, स्तरीयताको अभाव लगायत समस्या नेपाली अनुवाद साहित्यमा देखिएको छ।

अनुवादको महत्व
विश्व ग्रामीकरणको वर्तमान परिवेशमा अनुवाद अपरिहार्य भइसकेको छ। शिक्षा, सञ्चार, प्रविधि, साहित्य, संस्कृत तथा ज्ञानको अजस्र स्रोतको अन्वेषण, उत्थान र सर्वव्यापीकरणका लागि अनुवादको महत्व र आवश्यकता सर्वोपरि रहेको छ। भाषा, साहित्य र सर्जकको सार्वदेशिक पहिचान, उत्थान, विकासमा समेत अनुवाद अति आवश्यक भइसकेको तथ्य सबैलाई स्वीकार्य छ। विश्वको बहुभाषिक अवस्था र भूमण्डलीकरणको तीव्रताले अनुवादको महत्व बढाएको  छ।
विश्वमा साहित्यिक, भाषिक, सांस्कृतिक, आर्थिक र मानवीय एकता तथा विश्वबन्धुको भावना विकासका लागि अनुवादको भूमिका अनिवार्यसँगै निकै महत्वपूर्ण भएको विश्वका विद्वान् विदुषीले स्वीकार गरेका छन्। अनुवादकले तुलनात्मक साहित्यको अध्ययनलाई प्रोत्साहित गर्छ। साथै कुनै पनि भाषा र साहित्यलाई विश्वव्यापी बनाउने शक्ति र क्षमता अनुवादमै निहित हुन्छ। विश्व साहित्यको प्रवृत्ति र शैलीबारे नेपाली साहित्यकारलाई जानकारी गराउन अनुवादको महत्वपूर्ण भूमिका हुन्छ।

लक्ष्मीप्रसाद देवकोटाको मुनामदन अंग्रेजी हुँदै चिनियाँ भाषामा अनुवाद भएको छ। यसबाट चिनियाँ साहित्कारले नेपाली साहित्यको स्तर र स्वाद चाख्न पाएका छन्। यसरी अनुवादले दुई देश, भाषा वा साहित्यका कृतिको स्वाद हस्तान्तरण गर्न सहयोग पुर्‍याउँछ। अनुवादको भविष्य अत्यन्त उज्ज्वल छ। यसको महत्व र आवश्यकता बुझेर अनुवाद विभाग अनुवाद साहित्यको उन्नति र संवद्र्धनका लागि समर्पित भएर कार्य गरिरहेको छ। अनुवादसम्बन्धी राष्ट्रिय नीतिको आवश्यकता देखिन्छ। प्रत्यक्ष रूपमा राज्यले अनुवाद साहित्यको विकासका लागि केही विशेष कार्यक्रम ल्याएको छैन। तर, अनुवाद साहित्यकै उन्नयनका लागि प्रज्ञा प्रतिष्ठानलाई राज्यले बजेट दिन्छ, जुन सराहनीय हो, पर्याप्त भने होइन।

त्यस्तै, प्रतिष्ठानले अनुवादको उन्नति र अनुवाद साहित्यकारलाई प्रोत्साहित गर्न दुई–दुई वर्षमा दुई लाख राशिको ‘प्रज्ञा अनुवाद पुरस्कार’ दिने घोषणा गरेको छ। त्यस्तै, चीन, भारत, बंगलादेश, पाकिस्तान, इजरायल, श्रीलंकाका प्रज्ञा प्रतिष्ठानहरूसँग सहकार्य र सम्झौता भएको छ। नेपाली साहित्यलाई अनुवादका माध्यमबाट विश्वभ्रमण गराउने हाम्रो उद्देश्य हो। अनुदित पुस्तकहरूको प्रकाशन र बिक्रीका लागि राज्यले सहयोग गर्नुपर्छ। अनुवादकलाई स्तरीय प्रशिक्षणसँगै उनीहरूको काम अनुसारको उचित पारिश्रमिक दिइनुपर्छ। अनुवादसम्बन्धी कार्यशाला, गोष्ठीहरूको आयोजना गरिनुपर्छ। पुस्तकालयहरूमा देश–विदेका अनुवादसम्बन्धी उत्कृष्ट पुस्तकको व्यवस्था गरिनुपर्छ। अनुवाद साहित्यको विकासमा स्पष्ट राष्ट्रिय नीति निर्धारणको पनि आवश्यकता देखिन्छ।

स्थापित नेपाली अनुवादक
हामीकहाँ करिब ७ सय बढी अनुवादक रहेको अध्ययनबाट पाइएको छ। प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. अभि सुवेदी, भिक्टर प्रधान, प्रा.डा. उषा ठाकुर, भीम नारायण ‘रेग्मी’ प्रा.डा. कृष्णचन्द्र शर्मा, डा. रामदयाल राकेश, श्याम प्रधान, डा. नवराज न्यौपाने, प्रेमप्रसाद पौडेल, कमलराज देवकोटा, महेश पौडेल, केशव सिग्देल लगायत धेरै अनुवादक यस क्षेत्रमा स्थापित भएका छन्। महिला अनुवादकको सक्रियता भने कमै छ। विभागको सम्पर्कमा माया ठकुरी, पुनम झा, ऋचा शर्मा लगायत केही अनुवादक साहित्यकार आएका छन्। तर, अनुरोध नै गरेर अनुवाद साहित्य लेखनमा सक्रिय गराउनुपर्ने अवस्था छ। विविध कारण महिला अनुवादक साहित्यकारको उपस्थिति आवश्यक देखिन्छ।

(नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ तथा अनुवाद विभाग प्रमखु प्रा.डा. ठाकुर त्रिविवि कीर्तिपुर अन्तर्गत केन्द्रीय हिन्दी विभागकी पूर्व विभागीय प्रमुख समेत हुन्।)

प्रकाशित: २४ फाल्गुन २०७६ ०४:३९ शनिबार

अनुवाद प्रा.डा._उषा_ठाकुर