आसबहादुर पुन
अध्यक्ष, सुनछहरी गाउँपालिका, रोल्पा
सुनछहरीका प्रमुख पर्यटकीय आकर्षण केके हुन् ?
आकर्षक छहराको नाउँबाट हाम्रो गाउँपालिकाको नामकरण गरिएको हो। मगर संस्कृति, युद्ध पर्यटन र प्राकृतिक सौन्दर्यका हिसाबले हाम्रो सुनछहरी गाउँपालिका महत्वपूर्ण छ। गाउँमा ताल र दह छन्। झरना र नदी छन्। रेड पाण्डा पाउने जंगल छ। यहाँ फलाम खानी र सुन खानी पनि छन्।
माओवादी जनयुद्धका बेला विसं २०६९ वैशाख २५ गते यहाँको गाममा ठूलो भिडन्त भएको थियो। हाम्रो गाउँपालिकाबाट १८५ जना शहीद भएका छन्। जेलवाङ गाउँका मात्र ७३ जना शहीद बनेका थिए। हामी पर्यटन विकासका लागि डिपीआर बनाउँदैछौं। प्रकृति, संस्कृति, कला, वेशभूषा र कृषिकर्मलाई जोडेर पर्यटन विकास गर्नेछौं। गाउँका ५ वडामा खामभाषी मगरको बाहुल्य छ। त्यसैले हामी पहिचानलाई पर्यटनसँग जोडेर पर्यटनबाटै पैसा कमाउने छौं।
गाउँपालिकामा पर्यटनका पूर्वाधारको अवस्था के छ ?
विकासको मेरुदण्ड भनेकै सडक हो, हाम्रा सबै वडा सडक संजालसँग जोडिएको छ। ठाउँठाउँमा लिंक रोड बनाइरहेका छौं। अधिकांश घरमा शुद्ध खानेपानी पु-याएका छौं। स्वास्थ्य चौकी, सुरक्षा र अन्य आधारभूत व्यवस्था गरेका छौं। जेलवाङ, भित्री गाम, सेरम, घुसवाङ लगायत क्षेत्रमा लघु जलविद्युतको उज्यालो छ। अन्यत्र विद्युत विस्तार गर्दैछौं। गाउँलेको हातहातमा संचार सुविधा छ। हरेक मावि, स्वास्थ्य चौकी र वडा कार्यालयमा इन्टरनेट व्यवस्था गरेका छौं।
प्रकृति र संस्कृतिको सुवासमा रमाउन र जनयुद्धको अध्ययन गर्न सुनछहरी उपयुक्त छ।
तपाईको गाउँपालिकामा पर्यटकको चहलपहल कस्तो छ ?
दश वर्ष जनयुद्धको आधारभूमि भएकाले युद्ध सम्बन्धी अध्ययन गर्ने विद्यार्थी हाम्रोतिर बढी आइरहेका छन्। जेलवाङ, जलजला, थवाङ, भूमे हुँदै ढोरपाटन निस्कने गुरिल्ला पदमार्ग सञ्चालनमा छ। तर, ठूलो संख्यामा पर्यटक आइसकेका छैनन्। स्थानीय युवाले गाइड र सहयोगीको काम पाएका छन् जुन सकारात्मक हो। आन्तरिक पर्यटकका लागि पनि सुनछहरी क्षेत्र आकर्षक छ। अझ रोल्पा जिल्लाकै अग्लो भूगोल जलजलाले ज्यादै लोभ्याउँछ। दिनदिनै पर्यटक बढ्ने क्रममा भएकाले हामी आशावादी छौं।
जलजलालाई कसरी हिल स्टेशनका रूपमा विकास गर्दै हुनुहुन्छ ?
जलजलालाई हिल स्टेशनका रूपमा विकास गर्न हामी प्रतिबद्ध छौं। जलजलाको काखमा थवाङ, मिरुल, उवा, ढाङसी, ढवाङ र जेलवाङ लगायत गाउँ छन्। ती गाउँका स्थानीयको साझा चरन क्षेत्र र धार्मिकस्थल समेत हो जलजला। पोहोर रोल्पा नगरपालिकाले गुराँस सम्मेलनमा स्रष्टालाई निम्त्याउँदा हामीले पनि सहकार्य ग-यौं। चौर्तर्फी विकासका लागि सडक निर्माण, पदमार्ग सुधारका काम गरेका छौं। त्यस्तै गुरिल्ला पदमार्गको सुधार, संकेत चिन्ह राख्ने लगायत काममा पनि अग्रसर छौं।
जेलवाङलाई कसरी अघि बढाउनुहुन्छ ?
शहीदहरूको गाउँ जेलबाङ प्राकृतिक हिसाबले पनि सुन्दर छ। यहाँ ग्रामीण पर्यटन विकास गर्न भर्खरै पर्यटन प्रवद्र्धन तथा गेमी होमस्टे मार्फत नाथम काठमाडौंको सहयोगमा तालिम दिलायौं। हामी गाउँको संस्कृति, जीवनशैली र इतिहास समेटेर पर्यटन प्याकेज बनाउँछौं। र गाउँको प्रचारप्रसारमा जुट्नेछौं।
पर्यटन विकासमा देखिएका चुनौतीहरू केके हुन् ?
हामीलाई प्रकृतिले वरदान दिएकी छिन्। धार्मिक महत्वका सम्पदा पनि थुपै्र छन्। अब हामी मानव निर्मित संरचना माध्यमबाट पर्यटन विकासमा जुट्छौं। आर्थिक र जनचेतनाको कमी यहाँको प्रमुख समस्या हो। भौगोलिक विकटताले गर्दा पनि सोचे जति काम गर्न सकेका छैनौं। साथै बाह्य प्रचारका हिसाबमा पनि पछि परेका छौं। त्यसैले वृतचित्र, बुकलेट, ब्रोसर र वेवसाइट बनाउँदैछौं।
अन्त्यमा, केही भन्नु छ कि ?
हाम्रो गाउँपालिकाको भूगोल, संस्कृति, जनता, रहनसहन सबै सिंगो नेपालकै सम्पत्ति हो। त्यसैले हाम्रो गाउँ घुमेर आपसमा माया, प्रेम, सद्भाव साटौं। शान्तिपूर्ण समाज निर्माणमा हातेमालो गरौं। हामी स्वदेशी तथा विदेशी सबै पर्यटकलाई स्वागत गर्न आतुर छौं।
प्रकाशित: २४ फाल्गुन २०७६ ०४:२० शनिबार