अन्य

छिट्टै प्रदेश प्रहरी : गृहमन्त्री थापा

पर्वत - गृहमन्त्री रामबहादुर थापाले छिट्टै प्रदेश प्रहरी गठन गर्ने तयारी भएको बताएका छन्। जिल्ला प्रशासन कार्यालय पर्वतको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै मन्त्री थापाले प्रदेश सरकारको मातहतमा रहेर शान्ति सुरक्षा दिनेगरी छिट्टै नै प्रदेश प्रहरी गठन गर्न लागिएको बताए। उनले संघीयता कार्यान्वयनका क्रममा केही जटिलता देखिएको र ती समस्या बिस्तारै हल हुँदै जाने धारणा राखे। थापाले शान्ति, स्थायित्व र सुशासनबिना विकास र संवृद्धि सम्भव नभएकोले शान्ति, स्थायित्व र सुशासनलाई सरकारले प्राथमिकता दिएको पनि दाबी गरे।

मन्त्री थापाले मुलुकको अखण्डता सबै नेपालीको एकताले मात्रै सम्भव भएको र नेपालको दक्षिणतर्फका सीमा समस्या पुरानो भएको बताए। सरकारले गुमेका नेपाली भुभाग पनि ल्याउने प्रयत्न गरिरहेको मन्त्री थापाले दाबी गरे।

कर्मचारीहरु जनताको सेवकका रुपमा परिचित भएर काम गर्नुपर्ने उनले बताए। कर्मचारीले शासकको जस्तो ब्यवहार गर्ने गरेको भन्दै थापाले सेवकका रुपमा जनताको काम गर्न थापाले निर्देशन दिए।

गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले संघ, प्रदेश र स्थानीय सरकारबिच केही न केही तादम्यता नमिलेको बताए। उनले प्रदेश सरकारले नतिजा आउने गरी काम गरेको भन्दै संघीयता कार्यान्वयनका क्रममा यस्ता समस्या देखिने दाबी गरे।

गृहसचिव महेश्वर न्यौपानेले प्रशासन र प्रहरीको सेवा निष्पक्ष हुनुपर्ने बताए। उनले प्रशासन हिजोभन्दा धेरै सुविधासम्पन्न र प्रविधियुक्त बनाइएको भन्दै त्यहीअनुसार जनताको मन जित्नेगरी सेवा पुर्‍याउन आग्रह गरे। कार्यक्रममा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण), नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गुप्तबहादुर हमाल, नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, सहायक प्रमुख जिल्ला अधिकारी अमृत सुबेदीलगायतले बोलेका थिए।

यसैबिच गृहमन्त्री रामवहादुर थापाले आईतवारै नेपाल कम्युनिष्ट पार्टी नेकपा पर्वतको कार्यालयमा आयोजना गरिएको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै एमसीसी संसोधन विना कुनैपनी हालतमा पारित नहुने जिकीर गरे।

थापाले राष्ट्रिय सभा सदस्य मनोनयनको कुराले सिंगो पार्टी भित्र र वाहिर तरङ्ग ल्याएको र त्यो समस्या समाधान हुने जानकारी दिए।

 

 

 

 

प्रकाशित: १८ फाल्गुन २०७६ ०७:१६ आइतबार

गृहमन्त्री प्रदेश_प्रहरी सरकार संघीयता पर्वत