सन्दर्भ ३० को दशक। जतिवेला नेपालमा सिनेमा कम र नाटक धेरै हुन्थे, तर अधिकांश नाटकमा सिनेमाजस्तै गीत, द्वन्द्व र कथा हुन्थे। सिनेमाका लागि गीत रेकर्ड हुन्थे, ती गीत वर्षौंसम्म रेडियोमा गुन्जिन्थे, मञ्चमा कलाकारले गाउँथे। ३० को दशकको मध्यतिर भारत, दार्जिलिङबाट ल्याइएका दुई नेपाली नाटक काठमाडौंमा मञ्चन भए– ‘रातको प्रथम प्रहर’ र ‘अनि देवराली रुन्छ’। प्रताप सुब्बाको ‘रातको प्रथम प्रहर’मा दिव्य खालिङको संगीत थियो, त्यही संगीतको बलमा नाटक टिकेको पनि थियो। त्यो नाटकले नेपाली रंगमञ्चमा गज्जबको प्रभाव पार्यो, संगीतविना नाटक हुन सक्दैन भन्ने प्रमाणित गर्यो ।
मनबहादुर मुखियाको लेखन निर्देशनको ‘अनि देवराली रुन्छ’ले अझ ठूलो करामत गर्यो, त्यो ‘करामत’लाई राजनीतिक भाषामा क्रान्ति भन्न सकिन्छ। नेपाली रंगमञ्चमा त्यो क्रान्ति ‘अनि देवराली रुन्छ’ले गर्यो। यो गीति नाटक थिएन, तर यो नाटक मञ्चमा प्रस्तुत गर्दा यसका गीतले नाटकलाई भव्य प्रभाव पारेको थियो, विशेषतः ‘सारंगीको तारले मेरो मनको गीत गाउँछ’ र ‘हे फूल चुँडेर लाने हो’ बोलका दुई गीतले, जसलाई मञ्चमा लाइभ गाउने कलाकार थिए, दुर्गा खरेल। मनबहादुर मुखियाको शब्द र कर्म योञ्जनको संगीत रहेको यी दुई गीतले नाटकलाई हुरुक्कै उचाल्थ्यो र मान्छे धुरुधुरु रुन्थे। यस नाटकमा अर्को पनि गीत थियो, ‘देउरालीका ठिटी हो नक्कल पार्नुपर्दैन’ बोलको। नाटकका निम्ति तयार पारिएका यी गीत पछि कुमार सुब्बा, मीरा राणाका स्वरमा रेकर्ड भए, आज पनि यी गीत रेडियो र एफएमको चार्टमा सबैभन्दा बज्ने गीतका रूपमा अंकित छन्।
यी सबै गीतले नाटकको प्राण थामेको थियो भने यिनै गीतले संगीतकार कर्म योञ्जनलाई विशिष्टताको पहिचान दिलाएको थियो। ‘अनि देवराली रुन्छ’ नाटकमार्फत दार्जिलिङका कलाकारले नाटकमा गीत हुनुपर्छ भनेर सिकाए, गीतले मञ्चमा विशेष स्थान पायो। यही परम्परालाई सिको गर्दै तत्कालीन नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सत्यमोहन जोशीले ‘फर्केर हेर्दा’ नाटक लेखे, जसमा अम्बर गुरुङले संगीत गरे। गुरुङको संगीत, सत्यमोहन जोशीको शब्द रहेको गीतलाई फत्तेमान राजभण्डारी, निर्मला श्रेष्ठ र अम्बर गुरुङले रेकर्ड गराए। यस नाटकका निम्ति अम्बर गुरुङको संगीतमा फत्तेमानले गाएको गीत ‘फर्केर हेर्दा जे देख्छौ, तिमी अरुलाई नभन...’ आज पनि लोकप्रिय छ।
प्रज्ञा प्रतिष्ठानले ‘फर्केर हेर्दा’ मञ्चन गरेको समय नेपालमा गीतिप्रधान नाटकको अत्यधिक मञ्चन भएको थियो। यही समय प्रतिष्ठानले ‘पहाड चिच्याइरहेछ’ र ‘जब घाम लाग्छ’ पनि मञ्चन गरेको थियो। विजय मल्लले आफ्ना नाटकमा गीत प्रयोग नगरे पनि केही हदमा संगीतको प्रधानता हुन्थ्यो नै। ‘फर्केर हेर्दा’, ‘जब घाम लाग्छ’, ‘पहाड चिच्याइरहेछ’ जस्ता नाटक मञ्चन भएको समय नेपाली रंगमञ्चको गायनमा नारायणगोपाल, तारादेवी, अरुणा लामा, सक्रिय थिए। त्यही समय नाट्यकर्मी कोकिल गुरुङले अम्बर गुरुङको संगीतमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको काव्य ‘मुनामदन’लाई गीतिनाटकका रुपमा मञ्चन गरे, जसमा अम्बर गुरुङ र अरुणा लामाले पाश्र्व स्वर दिएका थिए।
कोकिल निर्देशित ‘मुनामदन’ असफल भए पनि सांस्कृतिक संस्थानले चन्द्रराज शर्माको संगीतमा मुनामदनका गीत रेकर्ड गर्यो, जसमा नारायणगोपाल र तारादेवीले मूल पात्र मदन र मुनाका गीत गाए भने बाँकी पात्रका गीत इन्द्रनारायण मानन्धर, नवीनकिशोर राई, गणेश रसिकले गाए। यी सबै गीत सांस्कृतिक संस्थानकै पहलमा रेकर्ड भए। यस गीति नाटकको सफल मञ्चनपछि नारायणगोपालले आफ्नो संगीतमा कमला श्रेष्ठ र आफ्नो स्वरमा देवकोटाको रचना ‘ईश्वर तैँले रचेर फेरि कसरी बिगारिस्’ बोलको गीत रेकर्ड गराए, यो गीत अहिले पनि सर्वाधिक लोकप्रिय मानिन्छ। अहिले महाकवि देवकोटाको जन्मजयन्तीमा बज्ने देवकोटाको प्रमुख गीत पनि यही हो। मुनामदन पहिलोपटक भारतको पश्चिम बंगालको कालिम्पोङमा मञ्चन भएको भए पनि यसले ख्याति यहीँ पाएको थियो।
रंगमञ्चकै कारण नेपालकी प्रथम रेकर्डेड गायिका मेलवादेवी मानन्धरले शुक्रराज शास्त्री लिखित नाटक ‘स्वर्गको द्वार’मा ‘नारी नै घरको द्वार हो’ बोलको गीत गाइन्, यही गीतका कारण तत्कालीन राणा सरकारले उनलाई देश निकाला ग-यो र उनले यही गीतबाट रेकर्डेड इतिहास सुरु गरिन्, कोलकाताबाट।
कालिम्पोङमा मञ्चित मुनामदनको ख्याति सुनेर तत्कालीन राजा महेन्द्रको आग्रहमा त्यो टोलीलाई निमन्त्रणा गर्न गएका लेखक चित्तरञ्जन नेपाली र हरिहरराज जोशीको आफ्नै संस्मरण अलग्गै छ, तर भारतको पश्चिम बंगालको दार्जिलिङमा ‘मुनामदन’मा संगीत गर्ने श्रेय कर्म योञ्जन, शान्ति ठटाललाई पनि जान्छ। मुनामदनबाहेक नेपालमा मञ्चन भएका गीति नाटक ‘सिम्मा’मा रायन र ‘मालतीमंगले’मा अम्बर गुरुङले फरक–फरक संगीत गरेका छन्। ‘सिम्मा’का संगीतकार रायनका अनुसार ‘मालतीमंगले’को कथा ‘सिम्मा’बाट चोरिएको भनिए पनि ‘मालतीमंगले’मा अम्बर गुरुङले बेजोड संगीत गरेको मान्नैपर्छ। माधव घिमिरे लिखित गीतिनाटक ‘मालतीमंगले’का सम्पूर्ण गीत प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमै ध्वनि नियन्त्रक यादव खरेलले रेकर्ड गरेका थिए, नारायणगोपालका जीवनकालका अत्यधिक लोकप्रिय गीत ‘मालती मंगले’बाट साभार गरिएका छन्।
‘मालतीमंगले’मा नारायणगोपालबाहेक तारादेवी श्रेष्ठ, सुकमित गुरुङ, किरण प्रधान आदिले गाएका थिए, ९० मिनेट लामो यस गीति नाटकमा नारायणगोपाले गाएको ‘शिरको टोपी भुइँमा राखी मन गर्छुु बिनती, ढोका खोल मालती ढोका खोलन’ र नारायणगोपाल–तारादेवीको युगल स्वरमा ‘मलाई पनि लैजाऊ हजुर जहाँ जान्छु हजुर’ निकै लोकप्रिय भएका थिए। अम्बर गुरुङ र नारायणगोपालको दशवर्षे शीत युद्ध र मौन संवादलाई अन्त्य गर्ने काम यसै गीति नाटकका लेखक माधव घिमिरेले गरेका थिए। ४० को दशकको पूर्वाद्धमा रेकर्ड भएको यस गीति नाटकमा नारायणगोपालको स्वर र शैली विशिष्ट प्रकारको थियो र उनैको गायन शैलीले यो नाटक चर्चामा आएको कुरामा उनले लामो चर्चा पनि गरेका छन्। यही समय नारायणगोपालले ‘आघात’ नामक गीति नाटकका निम्ति पनि गीत रेकर्ड गराए।
‘ओर्जिनल ड्रामा डेभलमेन्ट ग्रुप’ नाट्य संस्थाका निम्ति सुमन खरेलले नाटक ‘आघात’ लेखेका थिए, जुन नाटक प्रचण्ड मल्लको निर्देशन र दिव्य खालिङको संगीतमा मञ्चन भयो। संगीतकार खालिङले ‘रातको प्रथम प्रहर’पछि यसमा फुल फ्लेज संगीत गर्ने मौका पाएका थिए भने उनले यस नाटकका निम्ति दार्जिलिङबाट गायिका अरुणा लामालाई नेपाल बोलाएका थिए। दिव्य खालिङको संगीत र शब्दमा नारायणगोपालले ‘आजसम्म जति हिँडे म भन्छु मेरो प्रयास हो’, गाएका थिए भने अरुणा लामाले शुभकामना गीत गाएकी थिइन्। यी दुवै गीतको रेकर्ड अहिले हराएकामा संगीतकार दिव्य खालिङकी पत्नी ग्रेस खालिङ दुखेसो पोख्छिन्। गायनका हिसाबले नारायणगोपालले यही समय महेश थापाद्वारा लिखित नाटक ‘कुहिरोभित्र अलमलिँदा’मा ‘यो भाग्यले कस्तो खेल खेल्यो, मानिसको जीवनमा हेर’ भन्ने गीत रेकर्ड गराए। सांस्कृतिक संस्थानले निर्माण गरेको यस नाटकमा दिव्य खालिङकै संगीत थियो। यो गीत दिव्य खालिङको अन्तिम सिडी ‘मेरो सानो संसार’मा सुरक्षित छ।
सांस्कृतिक संस्थानको अर्को नाटक ‘क्रसमा टाँगिएको जिन्दगी’का लागि चन्द्रराज शर्माको संगीत, भक्तराज आचार्यको स्वरमा केही गीत रेकर्ड भएका थिए, तर ती सबै गीत नाटकमा प्रयोग भएनन्। ४० को दशकको पूर्वाद्धमै नेपाल प्रज्ञा प्रतिष्ठानको ‘शकुन्तला’ गीति नाटकमा संगीतकार चन्द्रराज शर्माको संगीतमा धेरै गीत रेकर्ड भएका थिए। नेपाली रंगमञ्चमा यतिवेला मञ्चन भएका धेरै राम्रा नाटकमध्ये किरण ठकुरीको ‘कालो गुलाफ’ पनि पर्छ। जसमा वसन्त क्षेत्रीको संगीत, किरण ठकुरीको शब्द र दावा ग्याल्मोको स्वरमा एउटा प्रमुख गीत रेकर्ड भयो, त्यो गीत गायिका दावा ग्याल्मोको जीवनको महत्वपूर्ण गीत बन्न पुग्यो। त्यो गीतको केही शब्द यस्ता थिए–
सहरभित्र केको हल्ला
मेरो मायालु आउने वेलामा
पाउने छैनौ अँध्यारो कोठा
सपनीमा आउने वेलामा...।
यो गीतले दावा ग्याल्मोलाई नेपाली जनस्थानमा उच्चाकर्षण दियो। यही समय दावा ग्याल्मोले पिटर चेङको ‘मृत्युपछि’ नाटकमा अर्को गीत रेकर्ड गराइन्– शुभकामना खालिखालि दिनेलाई दानी...। बद्री खरेल र दुर्गा खरेलको संगीत र नरदेन रुम्बाको शब्दमा रेकर्ड भएको यस गीतले दावा ग्याल्मोलाई एक विशिष्ट पहिचान दियो। यस गीतका बारेमा संगीतकार कर्म योञ्जनले भनेका छन्, ‘नेपाली गीतमा बद्री दुर्गाको संगीतको यो गीत उत्कृष्टमध्ये एक हो।’ बद्री–दुर्गा खरेल जोडी नाटक विधाबाट गायन र संगीतमा आएका हुन्, जसरी २० को दशकमा दीप श्रेष्ठ पनि ‘शिलान्यास’ नाटकबाट नाट्य गायनमा आएका थिए। दीप श्रेष्ठ धरानबाट मञ्चन गर्न काठमाडौंमा ल्याइएको नाटक ‘शिलान्यास’को मध्यान्तर गायकका रूपमा प्रस्तुत भएका थिए।
पछि यिनै दीप श्रेष्ठले प्रज्ञा प्रतिष्ठानको नाटक ‘तासको जामा’मा शिव अधिकारीको शब्दमा एउटा गीत गाए, तर यो गीत रेकर्ड हुन पाएन। शिव अधिकारीबाहेक नेपाली नाटकका निम्ति गीत लेख्ने स्रष्टाहरुमा लक्ष्मण लोहनी, श्यामदास वैष्णव, बालकृष्ण सम आदि पर्छन्। बालकृष्ण समको शब्द शिवशंकरको संगीतमा नारायणगोपालले नाटक ‘नालापानीको लडाइँ’का लागि गाएको ‘आमा तिमीलाई जंगलभरिका औँलाहरूले’ बोलको गीत एक मानक गीत नै मानिन्छ। लक्ष्मण लोहनीले नाटक ‘पृथ्वीनारायण शाह चार झाँकी’का निम्ति लेखेको गीत नातिकाजीको संगीतमा रेकर्ड भएको थियो। नारायणगोपाल आफैँले नाटकका निम्ति गीत नगरे पनि उनी सांस्कृतिक संस्थानका महाप्रबन्धक हुँदा त्यहाँ बनेका प्रायः नाटक र गीति नाटकमा उनले करार सेवामा रेडियो नेपालका कलाकार ल्याएर गीत रेकर्ड गराएका छन्।
नेपाली चलचित्रको प्रथम महिला संगीतकारको उपाधि पाएकी संगीतकार शान्ति ठटालले पनि ईश्वरवल्लभको ‘नीलो सूर्यास्त’ गीति नाटकका निम्ति धेरै गीत रेकर्ड गराएकी छिन्। सन्दर्भतः शान्ति ठटालको संगीतमा अरुणा लामाले गाएका प्रायः गीत नाटकबाटै साभार गरिएका हुन्। ३० को दशकको अन्त्य र ४० को सुरुवातमा विराटनगरका नाट्यकर्मी दीपक आलोक, ललितपुरका रंगकर्मी मनहरि भण्डारीले धेरै नाटकका निम्ति गीत रेकर्ड गराए, तर श्री समूहको पहिलो नाटक ‘अँध्यारो उज्यालो’का निम्ति नाटकका निर्देशक नीर शाहले भारतको मुम्बईबाट छुट्टीमा काठमाडौं आएका गायक उदीतनारायण झालाई नाटकको गीत गाउन आग्रह गरेका थिए र उनले शुभ–शम्भुजित (शुभबहादुर सुनाम र शम्भुजित बास्कोटा)को संगीतमा नीर शाहको संगीतमा एउटा गीत रेकर्ड गरेका थिए, जुन गीत नाटकबाहेक अन्यत्र प्रयोगमा आएन। त्यो गीतको केही शब्द यस्ता थिए–
कस्तो तिमी साथ हुँदा
कस्तो तिमी साथ नहुँदा
कहिले आगो भए जस्तो
कहिले पानी भए जस्तो...।
उदितनारायण झाले मुम्बईको भारतीय विद्या भवनमा संगीत सिक्दै गर्दा रेकर्ड गरेको यो गीत कृष्ण मल्ल र शर्मिला शाही अभिनीत नाटक ‘अँध्यारो उज्यालो’मा प्रयोग भएको थियो। नेपालमा मौलिक नाटक लेखिने त्यो समय मोहनराज शर्मा, अशेष मल्ल र सरुभक्त लिखित नाटकमा गीत हुँदैनथे, यो सत्य हो, तर पी अर्जुन, विकास बम्जन, मनबहादुर मुखिया, प्रकाश सायमी, किरण ठकुरीका नाटकमा प्रायः गीत रेकर्ड भएर प्रस्तुत हुन्थे। प्रकाश सायमीको नाटक ‘बयान जारी छ’मा संगीतकार दीपचन्द्र मोक्तानको संगीतमा रचना जिसी, इन्दु स्याँग्बो, सरला गुरुङले विभिन्न गीत रेकर्ड गराएका थिए। नेपाली सुगम संगीतमा पप शैलीको गीत गाउने सुरुवाती गायक इन्दु स्याङ्ग्बोले दीपचन्द्र मोक्तानको संगीतमा ‘तिमीले यस्तो लगायौ निशानी’ गाएकी थिइन्। विकास बम्जन निर्देशित ‘कला र कलाकार’ नाटकबाट गायिका सुक्मित गुरुङले ओमविक्रम विष्टसित युगल गायन सुरु गरेकी थिइन्।
नेपाली रंगमञ्चमा नाटक मञ्चन सुरु भएको समयमै अभिनेता रत्नदास प्रकाशले भीमनिधि तिवारीको ‘म माहुरी हुँ राधा’ बोलेको गीत गाएर गायन यात्रा सुरु गरेका थिए, यसको इतिहास नै आज ८० वर्ष नाघिसकेको छ, तर यति लामो सांगीतिक इतिहासमा अहिले नेपाली रंगमञ्चमा बनिरहेका नाटकहरुमा गीत–संगीतको प्रयोग शून्य बराबर छ। अहिले मञ्चन हुने प्रायः नाटक विदेशी भाषाबाट अनुवाद हुने र त्यसमा कथा र संवादबाहेक गीत संगीतको बलशाली प्रभाव नदेखिनु एक कारण हो। नेपाली रंगमञ्चमा अहिले नाटकमा गीत हुनुपर्छ वा नृत्य हुनुपर्छ भन्ने सोच नै देखिन छोडेको छ, तर नाटकले गीत–संगीतमा प्रभाव नदेखाए पनि तिनै कलाकार सिनेमामा अभिनय गर्न आउँदा नृत्य वा गायनमा कमजोर देखिनु स्वाभाविक हो।
‘दुई लास एक चिहान’ नाटकबाट सिनेमामा आएका नायक शिव श्रेष्ठ हुन् वा ‘क्रसमा टाँगिएको जिन्दगी’ नाटकमा अभिनय गरेर पर्दामा आएकी मिथिला शर्मा वा रवीन्द्र खड्का हुन्, तिनमा सिनेमायी अभिनयमा पाइने नायक–नायिकाको गुण स्वभावतः देखिन्छ। नेपाली नाटक विधामा गीतका कारण आवश्यक प्रविधिलाई एक मानक मान्ने हो भने चेतन कार्कीले आफ्नो नाटक ‘आत्म बेचेको छैन’मा प्रयोग गरेको झलकमान गन्धर्वको लाइभ गीत ‘आमैले सोध्लिन् नि खै छोरा भन्लिन्’ एउटा ज्वलन्त उदाहरण हो। ‘आमैले सोध्लिन् नि खै छोरा भन्लिन्’ बोलको गीत दुर्गाबहादुर परियारले चेतन कार्की लिखित नाटकको मञ्चनमा लाइभ गाउने तय गरेका थिए, नाटक मञ्चनको समय उनले आफ्नो संकलनको गीत छोरा झलकमानलाई गाउन पठाएपछि यो गीतले विक्रमाब्द २०२३ मा धुम मच्यायो। यो गीत रेकर्ड भएपछि झलकमानले गाइने गीतको इतिहासमा एउटा सिँढी थप्न सफल भए।
यही गीतका कारण झलकमान, चेतन कार्की र आत्म बेचेको छैनको एउटा इतिहास बन्न पुग्यो। नेपाली नाटकका निम्ति नै भनेर तयार पारिएका धेरै गीतपछि चलचित्रमा पनि प्रयोग भएका छन्, त्यसैको एउटा उदाहरण हो, आमैले सोध्लिन् खै छोरा भन्लिन्’, यो गीतपछि नेपाली कथानक चलचित्र ‘माया प्रीतिमा प्रयोग भएको छ। नेपाली नाटकका निम्ति गीत–संगीत गर्ने आदरणीय संगीतकारमा हुतराज शर्माको नाउँ पनि अगाडि आउँछ, उनले रत्नशमशेर थापाको शब्द र योगेश वैद्यको स्वरमा रेकर्ड गरेका गीत प्रमुख मानिन्छन्। हुतराज शर्माबाहेक चन्द्र थापा, चन्द्रराज शर्मा, शुभबहादुर, दिव्य खालिङ, शम्भुजित बाँसकोटा, प्रकाश गुरुङ आदिको योगदान अमूल्य छ। रंगमञ्चकै कारण नेपालकी प्रथम रेकर्डेड गायिका मेलवादेवी मानन्धरले शुक्रराज शास्त्री लिखित नाटक ‘स्वर्गको द्वार’मा ‘नारी नै घरको द्वार हो’ बोलको गीत गाइन्, यही गीतका कारण तत्कालीन राणा सरकारले उनलाई देश निकाला गर्यो र उनले यही गीतबाट रेकर्डेड इतिहास सुरु गरिन्, कोलकाताबाट।
मेलवादेवीपछि रानुदेवी अधिकारी, कोइलीदेवी, शान्ति ठटाल, अरुणा लामा, दावा ग्याल्मो, कमला श्रेष्ठ, मीरा राणाले आफ्नो रंगमञ्च र नाटकको इतिहास सुरु गरे। आज नेपाली नाटकका ती धेरै गीत रेडियो वा एफएममा बज्दा त्यो नाटकको अपुरो इतिहास स्वतः स्मरणमा आउँछ, तर लेखिएका छैनन्, नलेखिएको कुराको इतिहास कसरी हुन्छ त ? इतिहासको कुरा गर्दा एउटा महत्वपूर्ण घटना यो पनि हुन आउँछ, गीतकार किरण खरेल नेपाली भाषामा र नेपाली चलचित्रमा सबैभन्दा बढी गीत लेख्ने गीतकार हुन्, यसमा कुनै विवाद छैन। उनी रत्न शमशेर थापा, यादव खरेल, चेतन कार्कीभन्दा अगाडि नै गीतकारका रूपमा दर्ता भइसकेका थिए। उनले नाटकमा कहिल्यै गीत लेखेनन्, तर उनका सुरुका दुई गीत गायक संगीतकार बटुकृष्ण ज्वालाले २०१४ सालमा सेतो दरबारको मञ्चमा टिकटमा प्रदर्शन गरेका थिए।
गीतकार खरेलका दुई चर्चित गीत ‘हे दूरका सितारा खोइ मेरो चाँदनी कहाँ छ’ र ‘चञ्चले आँखाले हो’ बोलका गीत कलाकार भीमबहादुर गुरुङले मञ्चमा नृत्यसहित प्रस्तुत गरेका थिए। यही गीतबाट किरण खरेलको रेकर्डेड इतिहासको पाना सुरु भयो। त्यसपछि किरण खरेलका गीतलाई रामलाल जोशीले पनि मञ्चन गरे। नेपाली रंगमञ्चमा गीत र नाटकको यति लामो इतिहासमा एउटा गीत रेकर्ड हुनुअघि त्यो गीतमाथि नाटक लेखिएको इतिहास छ। कवि–गीतकार हरिभक्त कटुवालको गीत ‘मलाई नसोध कहाँ दुख्छ घाउ’माथि नाटककार अशेष मल्लले नाटक लेखेर मञ्चन गरे, नाटकको नाम पनि ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ नै राखियो। सपना मल्ल प्रधान, गगन विरही, किशोर पहाडी, ओममणि शर्मा अभिनीत यस नाटकको सम्पूर्ण कथा कटुवालको जीवनीमा आधारित थियो। तर, यो नाटकमा हरिभक्त कटुवालको कुनै गीत प्रयोग गरिएको थिएन। यो नाटकको मञ्चनपछि मात्र गायक नारायणगोपालले आफ्नो संगीत र दिव्य खालिङको संगीत संयोजनमा यो गीत रत्न रेकर्डिङमा रेकर्ड गरे, यो गीतको नाटकसँग जोडिएको इतिहास यति नै हो।
प्रकाशित: १७ फाल्गुन २०७६ ०४:०१ शनिबार