अन्य

‘महिलालाई हाकिम भनेर पत्याइँदैन’

जिल्ला निर्वाचन अधिकारी कोपिला राई कार्यालय प्रमुखको कुर्सीमा बसिरहेकी हुन्छिन्। तर, सेवाग्राही ढोकाबाट चियाएर फर्कन्छन् र अन्य फाँटका कर्मचारीलाई सोध्छन्, ‘हाकिम साब कता ?’ अरुले कोपिलातिर संकेत गरेपछि विश्वास नमानी अप्ठेरो मान्दै पुनः उनको कार्यकक्षमा पुग्छन्।

कोपिला भन्छिन्, ‘अझै पनि हामीकहाँ पुरुष मात्र हाकिम हुन्छन् भन्ने सोच छ।’
उनी ०७३ मा खोटाङ मालपोत कार्यालयमा मालपोत–अधिकृतको जिम्मेवारीमा थिइन्। उनको कार्यकक्षमा पुरुष कार्यालय सहयोगी पनि बसेका थिए। एक सेवाग्राही आए र उनै कार्यालय सहयोगीलाई नमस्कार गरे। कोपिला भन्छिन्, ‘दाइले मलाई देखाउनुभयो, त्यसपछि मात्र ती सेवाग्राहीले मलाई नमस्कार गर्नु भो। यसको मतलब नमस्कार गर्नुपर्छ भन्ने होइन, महिलालाई कसरी पत्याइँदैन भन्ने हो। महिला चुलोचौकोमा मात्र सीमित हुन्छन्, पुरुष मात्र हाकिम हुन्छन् भन्ने सोचको प्रतिविम्ब हो त्यो।’

सपना मोडियो
श्रीमान्को कोठामा बहिदारदेखि अधिकृतसम्मका तयारी पुस्तक मिलाएर राखिएका थिए। कोपिलाले ती किताबलाई ओल्टाइपल्टाइ हेर्न थालिन्, यसरी नै उनको रुचि निजामती कर्मचारी बन्नेतर्फ मोडियो। वास्तवमा उनी प्राध्यापक हुन चाहन्थिन्, त्यही मार्गमा पनि थिइन्। ‘मास्टर सक्ने र प्लस–टु पढाउने’ सपना अनुरूप उनले माविको लाइसेन्स निकालिसकेकी थिइन्। तर, शिक्षक सेवा आयोग नखुल्दा परीक्षा दिन पाइरहेकी थिइनन्। स्नातकोत्तर पढ्ने तयारीकै क्रम (०६४) मा उनको अधिवक्ता कुबेरकाजी राईसँग विवाह भयो। जब उनले कुबेरको कोठामा लोकसेवासम्बन्धी किताब देखिन्, त्यसपछि उनको रुचि र सपना मोडिएको हो।

खोटाङ ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरीकी कोपिलालाई विद्यालयमा रामनारायण यादव नामका शिक्षकले विज्ञान पढाउँथे। यादवको पढाउने शैली कोपिलालाई खुब मन पथ्र्यो। तिनै शिक्षकबाट प्रेरित भएर उनले ‘असल शिक्षक÷प्राध्यापक’ बन्ने सपना देखेकी थिइन्। सोही अनुरूप उनले शिक्षाशास्त्र संकायबाट प्रवीणता प्रमाणपत्र र स्नातक उत्तीर्ण गरिन्। संयोग पनि त्यस्तै मिल्यो, प्रवीणता उत्तीर्ण गर्नेबित्तिकै उनले आफैँले अध्ययन गरेको गाउँकै शिशु माविमा पढाउने अवसर पाइन्। ०६१ मा शिशु माविबाट सुरु भएको उनको शिक्षण–यात्रा बालबालिका प्रावि दोर्पाचिउरीडाँडा, दिक्तेल इंग्लिस बोर्डिङ स्कुल हुँदै पुनः शिशु माविमै पुगेर तब टुंगियो, जब उनले ०६७ चैतमा खरिदार पदका लागि नाम निकालिन्। उनी भन्छिन्, ‘भए पास, नभए अभ्यास भन्ने तरिकाले लोकसेवाको परीक्षा दिएकी थिएँ, सफल भएँ। यसमा मलाई उहाँ (श्रीमान्)ले इन्करेज गर्नुभएको थियो।’

खोटाङ मालपोत कार्यालयमा मालपोत अधिकृतको जिम्मेवारीमा थिइन् कोपिला। उनको कार्यकक्षमा पुरुष कार्यालय सहयोगी पनि बसेका थिए। एक सेवाग्राही आए र उनै कार्यालय सहयोगीलाई नमस्कार गरे।

सँगैका साथी मास्टर पढ्न काठमाडौं जाँदा उनको विवाह भएको थियो। तर, उनले समयको सदुपयोग लोकसेवासम्बन्धी पुस्तक पढेर गरिन्। नाम निस्केपछि आफ्नो गाउँ (तत्कालीन महेश्वरी गाविस)मा उनको खुब चर्चा भयो, निजामती कर्मचारीमा नाम निकाल्ने उनी गाविसकै पहिलो थिइन्। ‘मेरो जीवनको टर्निङ प्वाइन्ट नै विवाह भयो। विवाहपछि ट्र्याक चेन्ज भएको हो,’ कोपिला भन्छिन्, ‘नाम निस्केपछि गाउँलेको प्रशंसा र प्रतिक्रिया पाएर झनै हौसला बढ्यो।’

‘हाकिम’ले जगाएको ईख
नाम निस्केपछि उनको कार्यक्षेत्र तोकियो, डिभिजन सहकारी कार्यालय सिराहामा। जहाँ अधिकृतको दरबन्दी भए पनि कार्यालय प्रमुखमा नासु थिए। नासुले कडाइ गर्थे, विभेद पनि। त्यहीँबाट उनलाई अझ माथिल्लो पोस्टमा जानुपर्ने ईख जाग्यो। त्यहाँ ६–७ महिना काम गरेपछि मालपोत कार्यालय खोटाङमा उनको सरुवा भयो। तर, त्यहाँ प्राविधिक कारण हाजिर पाइनन्, त्यसपछि उनी सामान्य प्रशासन मन्त्रालय पुगिन्। मन्त्रालयमा एक वर्ष बस्दा उनले अफिसरको तयारी गरिन् र जिल्ला प्रशासन कार्यालय खोटाङमा सरुवा लिएर आइन्।

खोटाङ आउँदा धेरैले उनलाई भनेका थिए, ‘काठमाडौं नबसेर किन जिल्लामा आएको ? उतैबाट अधिकृतमा नाम निकाल्न सजिलो हुन्थ्यो।’ यसले उनलाई झनै बल मिल्यो। प्रशासनमा काम गरिरहेकै बेला (२०७० मा) उनले अधिकृतमा नाम निकालिन्। त्यसपछि ६ महिने आधारभूत प्रशासनिक प्रशिक्षण (बिएटी) पूरा गरी जिल्ला हुलाक कार्यालय खोटाङको प्रमुखको जिम्मेवारी सम्हाल्न आइपुगिन्। उनले हुलाकमा २९ महिना, जिल्ला मालपोत कार्यालय खोटाङमा २२ महिना र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा एक वर्ष बिताइन्। त्यसपछि २०७६ भदौदेखि उनी खोटाङको जिल्ला निर्वाचन अधिकारीका रूपमा कार्यरत छिन्।

सन्तान र जागिर
निजामती सेवा प्रवेश गर्दा उनले विभिन्न अप्ठेरा सामना गर्नुप-यो। शिक्षणको अनुभव लिएकी उनलाई निजामती क्षेत्र नितान्तै फरक थियो। निजामतीमा काम गर्ने शैली, संस्कृति, वातावरण र संगत फरक प-यो। अर्काेतर्फ पहाडकी उनी झट्ट तराई पुग्दा भाषा, रहनसहन र खानपानमै असहज भयो। अर्कोतिर महिलालाई प्रकृतिले नै सुन्दर जिम्मेवारी दिएको छ– बच्चा जन्माउने र दूध चुसाएर हुर्काउने, यसमा पुरुषको विवेकपूर्ण जिम्मेवारी त छँदै छ।  कोपिला निजामती सेवामा प्रवेश गर्दा भने छोरा अढाइ वर्ष पुगिसकेका थिए। सुरुका बेला सिराहा कार्यक्षेत्र पर्दा उनले छोरा लिएरै गएकी थिइन्। त्यतिबेला उनकी बहिनी फुर्सदमा थिइन्, त्यसैले उनले छोराको स्याहारका लागि बहिनीलाई साथी लगिन्। छोरा हुर्काउन सहज हुन्छ भनेरै उनी सिराहामा ६–७ महिना बसेर खोटाङ आएकी थिइन्, हाजिर नपाएपछि सानो छोरा लिएर काठमाडौं आइन्।

उनी भन्छिन्, ‘महिलाका धेरै भूमिका छन्– श्रीमती, बुहारी र आमा। यी भूमिकासहित कार्यालयको जिम्मेवारी सम्हाल्नु सहज छैन। तर तिनै अप्ठेरालाई ऊर्जा र प्रेरणाका रूपमा लिएर अघि बढ्नुपर्छ। सफल र आत्मनिर्भर हुनका लागि अवसर पाएर मात्रै हुँदैन, हामीमा इच्छाशक्ति र निरन्तरता चाहिन्छ।’ उनी सरकारी सेवा गर्न चाहनेलाई भन्छिन्, ‘लोकसेवामा एकैपल्टमा नाम निकाल्छु पनि भन्नु हुँदैन, नाम निस्किँदैन भनेर हरेस खानु पनि हुँदैन। निरन्तर लाग्नुपर्छ।’

स्कुलमा सधैँ प्रथम
भनिन्छ, जीवनमा केही गर्ने मान्छेले सानैदेखि केही न केही लक्षण देखाउँछ। जौधन राई र मनकुमारीका तीन छोरा र तीन छोरीमध्ये माइली छोरी कोपिला विद्यालय छुट्टीको दिन घरनजिकै भीरपाखामा घाँस–दाउरा गर्थिन्। आकाशमा जहाज देख्दा डाँडा नकटेसम्म हेर्थिन्। जीवनमा कहिले प्लेन चढ्न सकिएला भनेर सोच्थिन्, निजामती सेवामा प्रवेश गरेपछि भने उनले कामविशेषले बढीजसो जहाजमै यात्रा गर्नुप-यो। मावलीगाउँमा रहेको सेती प्रावि ऐसेलुखर्कमा अध्ययन गर्दाताका उनी कक्षामा कहिल्यै दोस्रो भइनन्, कक्षा १ देखि १० सम्मै प्रथम। घरबाट विद्यालयसम्मको ४५ मिनेटको बाटो पार गर्ने क्रममा उनले नोट र स्पेलिङ घोक्थिन्।

एसएलसी गर्न मात्र उनी गाउँकै शिशु माविमा आएकी थिइन्। बाबु जौधनले ‘पढ्नुपर्छ, जान्ने–बुझ्ने हुनुपर्छ, देश–परदेश घुम्नुपर्छ’ भनेर हौसला दिइरहन्थे। जौधन विद्यालय पुगेका बेला शिक्षकले छोरी (कोपिला)को पढाइ राम्रो छ भनेर सुनाउँथे, जौधन खुसी हुँदै घर आउँथे। कोपिलाले एमपिए, पोलिटिकल साइन्समा मास्टर र एलएलबी उत्तीर्ण गरिसकेकी छन्। उनलाई आफ्नो सुरुवाती काम नै प्यारो लाग्छ। भन्छिन्, ‘पढाउँदा विद्यार्थीले जानेको, बुझेको, सिकेको देखेर आनन्द मिल्थ्यो। निजामती सेवामा खुसी त छ, तर मलाई पढाउँदा नै धेरै खुसी मिलेको आभास हुन्छ।’ कोपिला  गजल, मुक्तक र कवितामा पनि रुचि राख्छिन्। ०६८ मा राष्ट्रिय सतर्कता केन्द्रले कर्मचारीबीच आयोजना गरेको कविता प्रतियोगितामा उनी प्रथम भएकी थिइन्।

प्रकाशित: १७ फाल्गुन २०७६ ०३:४० शनिबार

अधिकृत जिल्ला_निर्वाचन कोपिला_राई