अन्य

हिरण्यलाललाई ‘नइ देरुनिख प्रदीप्ति’

नइ प्रकाशनले परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठलाई २०७६ सालको ‘नइ देरुनिख प्रदीप्ति’ पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ। नइ प्रकाशन अध्यक्ष इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो।

प्रकाशनले साहित्यकार लक्ष्मीदेवी राजभण्डारीलाई ‘नइ रेखा पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ। यी दुवै पुरस्कारको राशि ६० हजार रहेको  प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए।

त्यस्तै,  काठमाडौं उपत्यकाबाहिर नेपाली साहित्यमा क्रियाशील रहेकामा रूपन्देहीका दुर्गा पौडेललाई ‘नइ बुलु शर्मा पुरस्कार’,  नेपाली भाषासाहित्यमा समर्पित महेश थापालाई ‘नइ देरुनिख गौरव पुरस्कार’ र सोफी सुनुवारलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ समर्पण गरिने प्रसाईँले जानकारी दिए। यी तीनै पुरस्कारको राशि जनही पचास हजार रुपैयाँ रहेको छ।

त्यस्तै, मिस मंगोल सिविरा लामालाई ‘नइ देरुनिख पौरख पुरस्कार’ समर्पण गरिने निर्णय भएको छ, यसको राशि २५ हजार रुपैयाँ रहेको छ। शताब्दी पुरुष सत्यमोहन जोशीको १०१औं जन्मोत्सवको अवसरमा आगामी वैशाख ३० गते पुरस्कार समर्पण गरिने प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जनाए।

प्रकाशित: १७ फाल्गुन २०७६ ०३:३८ शनिबार

नइ_प्रकाशन पुरस्कार