अन्य

‘नवदुलही नाकमुख नदेखाएर लोकसेवामा लागेकी रहेछिन्’

जिल्ला हुलाक कार्यालय खोटाङकी प्रमुख शोभाकुमारी पोखरेलले त्यो एक दिन जीवनका दुई खुसीका खबर सुनिन्– आफू गर्भवती भएको र खरिदारको अन्तर्वार्ताका लागि नाम निस्केको। यी दुवै समाचार उनका लागि भिन्न प्रकृतिका खुसी थिए। उनी श्रीमान् दिलीपकुमार अधिकारी (हाल उपसचिव अर्थमन्त्रालय राजस्व समूह)सँग गर्भजाँचका लागिअस्पताल गएकी थिइन्, उनलाई डाक्टरले घरमै आराम गर्न सुझाव दिएका थिए।कारण शारीरिक रूपमा पनि उनी दुब्ली थिइन्। त्यही बेला उनले खरिदार पदका लागि नाम निस्केको खबर सुनिन्।

पहिलो प्रयासमै उनी लोकसेवाको लिखित परीक्षामा नाम निकाल्न सफल भएकी थिइन्। उनीहरूको बसाइ विराटनगरमा थियो। तर, अन्तर्वार्ताका लागि धनकुटा पुग्नुपर्थ्यो । डाक्टरले हिँडडुल नगर्न भने पनि प्राप्त अवसरलाई उनलेगुमाउन चाहिनन्।त्यसपछि श्रीमान्को मोटरसाइकलको पछाडि बसेर विराटनगरबाट १२ घन्टामा धनकुटा पुगिन्। अन्तर्वार्ता सफल भयो। २०५७ असोज १ गते शोभा खरिदारमा नाम निकाल्न सफल भइन्।

पढाइ रोकेर लोकसेवाको तयारी
सिराहाको कर्जन्हा गाउँपालिका बडहरामाल बन्दीपुरमा घर भए पनि उनका बुवा कृष्णप्रसाद पोखरेल विराटनगरमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका कार्यालय प्रमुख थिए, त्यसैलेस्नातकोत्तर अध्ययनका लागि शोभा पनि विराटनगर पुगिन्। तर, अध्ययन पूरा नहुँदै उनको २०५५ माघमा विवाह भयो। त्यतिबेला उनका श्रीमान् राजस्व कार्यालय विराटनगरमा कार्यरत  थिए। बाबुको जागिरका कारण उनले कक्षा १० पढ्दासम्म ७ वटा विद्यालय परिवर्तन गरेकी थिइन्। हेटौंडामा कक्षा ८ देखि बिकमसम्म अध्ययन गरेपछि उनी विराटनगर पुगेकी थिइन्।

विवाहका कारण शोभाले पढाइलाई निरन्तरता दिन सकिनन्।उनलाई श्रीमान्ले पनि उच्च शिक्षामा भन्दा लोकसेवाको तयारीमा लाग्न प्रोत्साहित गरे, घरबाहिर ननिस्केर लोकसेवाको तयारीमा लागिन्। विवाह भएको धेरै समय भएको थिएन। छरछिमेकमा ‘नयाँ दुलही के गरेर बस्छिन्, नाकमुख देखिँदैन’ भनेर कुरा काट्न थालियो। उनले त्यसको पर्वाह गरिनन्। पहिलोपल्टै खरिदारमा नाम निस्केपछि मात्र उनको तयारीका बारेमा अरुले चाल पाए। ‘त्योबेलासम्म हाम्रो परिवारका छोरी–बुहारीले जागिर खाएका थिएनन्। तर,श्रीमान्ले अरुको मान–सम्मान पाएको देख्दा सरकारी जागिर खानुपर्ने रहेछ भन्ने लाग्यो,’ शोभा भन्छिन्, ‘प्रतिबद्धता चाहिन्छ, मेहनत र लगनशीलता चाहिन्छ। इच्छा, दृढप्रतिज्ञा भए र निरन्तर मेहनत गर्न सके सफल भइँदो रहेछ। ज्ञान लिएर मात्र हुन्न, त्यसलाई टाइममा लेख्न र अभिव्यक्त गर्न पनि सक्नुपर्छ।’

सुत्केरी बिदा
उनको पहिलो कार्यक्षेत्र जिल्ला सहकारी कार्यालय भोजपुर तोकिएको थियो। तर, हप्ता दिनमै काज सरुवा लिएर उनी पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय विराटनगर पुगिन्। केही समयपछि निर्देशनालय खारेज भएपछि तत्कालीन जिविस विराटनगरमा हाजिर भइन्। त्यसपछि सरुवा लिएर लोकसेवा आयोगको कार्यालय काठमाडौं पुगिन्। खरिदारका रूपमा लोकसेवाकै कार्यालयमा पुगेपछि उनले अध्ययनका लागि थप वातावरण पाइन्। त्यहाँ पढ्ने माहोल थियो। कार्यालयको काम सकेपछि साथीहरुबीच सामूहिकरूपमा लोकसेवाको प्रश्न सोधासोध हुन्थ्यो। त्यसले लोकसेवाको तयारीमा शोभालाई राम्रो सघाउ पु¥यायो।तर उनलाई केही अप्ठेरा पनि थिए, किनभने त्यतिबेला अहिलेजस्तो बेतलबी बिदा बस्ने कानुन थिएन।

उनको सुत्केरी बिदा सकिनु एक दिनअघि निजामती ऐन संशोधन भई सुत्केरी बिदासँगै ६ महिना बेतलबी बिदा लिन पाइने भयो। उनी भन्छिन्, ‘सायद यो सुविधा लिने मै पहिलो हुँला। नौ महिना बिदाले महिला कर्मचारीलाई केही सहज बनाएको छ।’

०५८, वैशाखमा उनले छोरीलाई जन्म दिइन्। त्यतिबेला दुई महिना सुत्केरी बिदा पाइन्थ्यो। त्यसपछि उनलाईछोरीको हेरचाहसँगै कार्यालयको काममा जानुपर्ने थियो। त्यतिबेला उनका बुवा जनक शिक्षा सामग्री केन्द्र सानोठिमी भक्तपुरमा कार्यरत थिए, त्यहीँको क्वाटरमा उनकी आमा पनि थिइन्। उनले त्यहाँ आमाको जिम्मा छोरी छोडेर अफिस जान्थिन्। उनी छोरीलाई आधा बाटोसम्म पु-याउँथिन्, उताबाट लिन उनका बुवा आइरहेका हुन्थे। बुवाको साथमा बच्चालाई क्वाटर पठाएर उनी अफिस जान्थिन्। अफिस बिदा भएपछि बुवाको क्वाटर पुगेर बच्चा लिई डेरा गठ्ठाघर फर्किन्थिन्।

पछि छोरा हुँदा (०६४ मा) भने केही सहज भयो। त्यतिबेला भने सुत्केरी बिदा तीन महिना भइसकेको थियो, त्यसमाथि उनको सुत्केरी बिदा सकिनु एकदिनअघि निजामती ऐन संशोधन भई सुत्केरी बिदासम्बन्धी नयाँ व्यवस्था आयो। सुत्केरी बिदासँगै ६ महिना बेतलबी बिदा लिन पाइने भयो। यसरी उनी नौ महिना बिदा बसिन्। उनी भन्छिन्,‘सायद यो सुविधा लिने म नै पहिलो हुँला। नौ महिना बिदाले महिला कर्मचारीलाई केही सहज बनाएको छ।’ निजामती जागिरका दौरान शोभा जहिल्यै कामप्रति लगनशील र उत्कृष्ट कार्य सम्पादन गर्न सफल भइन्। उनी जुन मन्त्रालयमा पुगिन्, त्यो मन्त्रालयको कर्मचारीमध्येमा उत्कृष्ट कर्मचारीको पुरस्कार थापिन्। ०७५ मा पनि उनले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट निजामती सेवा पुरस्कार पाएकी छन्। ‘महिलाको काँधमा दोहोरो–तेहोरो भूमिका छ। एकदमै च्यालेन्ज छ,’ शोभाले भनिन्, ‘यो अवस्थामा पुरुषसँग कम्पिटिसन गर्नु भनेको नट अ जोक !’

२०५८ सालदेखि २०६१ सालसम्म आयोगमा बसेपछि नासुमा नाम निकालेर शिक्षा मन्त्रालय पुगिन्।शिक्षा मन्त्रालयबाट भौतिक योजना तथा निर्माण मन्त्रालयमा सरुवा भयो,यहीँबाट उनले २०६६ भदौ १७ गते अधिकृतमा नाम निकाल्न सफल भइन् र शान्ति तथा पुनर्निर्माण मन्त्रालय पुगिन्। त्यसपछि महिला बालबालिका तथा ज्योष्ठ नागरिक मन्त्रालय अन्तर्गत विभागमा एक वर्ष, महिला बालबालिका तथा ज्योष्ठ नागरिक मन्त्रालयमा ६ वर्ष बिताएपछि उनी२०७६ मंसिर २ देखि हुलाक कार्यालय खोटाङमा प्रमुखका रूपमा आइपुगेकी हुन्। उनकोसेवाको अधिकांश समय सहरमै बित्यो। सेवाकै दौरानमा उनले एमपिए (मास्टर अफ् पब्लिक एडमिनिस्ट्रेसन) गरिन्। हाल पहाडी क्षेत्रमा आएर काम गर्दा उनलाई आनन्द मिलेको छ। उनी भन्छिन्, ‘जिल्लामा माया र सम्मान पाउँदा किन पहिल्यै पहाडमा गइएनछ भन्ने लागिरहेको छ।’

प्रकाशित: १७ फाल्गुन २०७६ ०३:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App