अन्य

हिउँचुलीसँग मालिकाको पिरती

एउटा यस्तो पवित्र भूमि जहाँ एकै ठाउँमा तीन बहिनी देवीको बास छ। म्याग्दीको मालिकाधुरी (३,३५० मिटर) मा मालिका, कालिका र जालिका बसेका छन्। उनीहरू हरपल गुर्जा, धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमालसँग आँखा जुधाउँछन्। लाग्छ सदियौंदेखि त्रिदेवी र हिउँचुलीबीच पिरती गाँसिएको छ। 

त्रिदेवीको दर्शनले मनोकामना पूरा हुन्छ। त्यसैले वैशाखे पूर्णिमा, जेष्ठी पूर्णिमा र भाइटीकाका बेला डाँडामा मेला लाग्छ। मेलामा हजारौं भक्तजन ओइरिन्छन्। हामी पनि त्यहाँ पुग्यौं, मेलाको अवसरमा होइन, ०७६ माघको घमाइलो बिहानीमा।

मालिकामा उभिएर चारैतिरका वस्ती, हिमाल र नागबेली डाँडा हेरेपछि लाग्यो, धार्मिक आस्था भएका तीर्थालुहरूलाई मात्र होइन, पदयात्रामा रुचि भएकाहरूलाई पनि मालिकाले लोभ्याउन सक्छ।

बेनीबजारका उद्यमी राजेश शाक्य पछिल्लो समय ‘पर्यटन अभियन्ता’का रूपमा पनि सक्रिय छन्। समग्र म्याग्दीलाई पर्यटकीय जिल्ला बनाउने अभियानका अगुवा। उनी बरोबर गाउँलेलाई हौस्याउँछन्। कहिले गाउँमा पर्यटन तालिम दिलाउँछन् त कहिले गैरआवासीय म्याग्देलीलाई मातृभूमिमा लगानी गर्न प्रोत्साहित गर्छन्। पत्रकारलाई पनि डाँडापाखामा डुलाइरहन्छन्।

तिनै मित्रको निम्तोमा म पनि मालिका पुगेको हुँ। बेनीबाट जीपमा गएर हामी साँझ विम गाउँमा बस्यौं। शेरबहादुर गुरुङ दाइको जीपमा पत्रकार धिरन खत्री र म थियौं।

म्याग्दीको मालिकाधुरीमा त्रिदेवी बसेका छन्–मालिका, कालिका र जालिका। तिनको दर्शनले मनोकांक्षा पूरा हुने जनविश्वास छ। त्यति मात्र होइन, धुरीबाट देखिने चुरेन, धौलागिरी, अन्नपूर्णदेखि कुमारी माछापुच्छ्रे हिमालसम्मको लर्कनले तन र मन दुवैमा ऊर्जा बढाउँछ।  

भोलिपल्ट बिहान हामी बसेको होटल ‘लेनिन खाजा घर’की सञ्चालक दलमति गर्बुजाले थर्मसमा चिया र झोलामा झिलिङगा तयार पारिन्। खाजा खाईवरी त्यहाँबाट हामी सडक पुगेको ठाउँसम्म जीपमै गयौं।

मालिका क्षेत्र विकास समितिका अध्यक्ष छकप्रसाद पाइजाको अगुवाइमा हामी ८ जना थियौं। सडकमा कतैकतै बाक्लो हिउँ थियो। शेरबहादुर दाइ कुशल चालक हुन्, उनले सजिलै उकालो चढाए।

जीपबाट ओर्लेर जंगलको बाटो छिचोलेर धुरीमा पुग्न ठयाक्कै तीन घन्टा लाग्यो हामीलाई। ठाउँठाउँमा हिउँ थियो, होस गरेर हिँड्यौं। नागिथलाभन्दा मास्तिर नाँगो डाँडा रहेछ।

विम गाउँभन्दा माथि वस्ती छैन। कुनै होटल तथा खाजा घर छैनन्। डाँडामा हाम्रो स्वागतमा बसेका थिए समितिका सचिव ओमकार रोका। हामीलाई अध्यक्ष छकप्रसाद र उनले मालिकाको महत्व बुभाए। घमाइलो दिन, मस्त हाँसेका हिमाल। आँखाले जति हेरे पनि नअघाइने। सके जति क्यामेराल खिचिरह्यौं फोटा।

वर्षको तीन पटक मालिकाधुरीमा मेला लाग्छ। तीर्थालुहरू कालिकालाई बोका, परेवा, पाठी र नरिवल चढाउँछन्। मालिका र जालिकालाई ध्वजा, अक्षता र धूपबत्ती अर्पण गर्छन्। 

मेलामा मालिका क्षेत्र विकास समितिले पूजारी खटाउँछ। मुख्य पूजारी जगत जुग्जाली हुन्। पहिला मन्दिरमा बाहुन पूजारी थिए। विसं २०५९ मा माओवादीले त्यो परम्परा तोडिदियो। अनि मगर पूजारीले पूजा गर्न थालेको पाइजाले बताए। 

अचेल पश्चिम नेपालका तीर्थालु बढी हुन्छन्। ‘कहिलेकाहीँ भारतीय पनि आइपुग्छन्’, समितिका अध्यक्ष पाइजा भन्छन्, ‘मालिका माताको राम्रो प्रचार हुन सके देशैभरका भक्तजन आउने थिए।’

पूजापाठ सकेर हामी डाँडाबाट हिउँचुलीका तस्बिर खिचिरहेका थियौं। त्यहीबेला दुइटा काग का: काः गर्दै मन्दिरमाथि उडेर आए। ‘कोको भक्तजन दर्शन गर्न आए भनेर कागको भेषमा मालिका माता आउनुभएको’, समितिका सचिव ओमकारले रोचक कुरा गरे।  

मालिकामा विसं १९१० बाट पूजा शुरू भएको रहेछ ! तिनताका विमका बाहुनको गोठ मालिका क्षेत्रमा रहेछ। गोठालाले राति  सपनामा जोगी, महिला र बच्चा देखेछन्। उनीहरू सुत्नै सकेनछन्। त्यो कुरा उनीहरूले गाउँमा आएर बाहुनलाई भनेछन्। तिनले गोठालालाई सुझाएछन्, ‘त्यहाँ दैवी शक्ति होला। लौ अब ढुंगा ठड्याएर बोका लगेर पूजा गर।’


मालिका क्षेत्रको विकासका अगुवा हुन्–छकप्रसाद पाइजा। विसं २०५९ देखि उनको तन र मन मालिकामा केन्द्रित छ। उनकै संयोजकत्वमा विसं २०६८ मा मालिका क्षेत्र विकास समिति गठन गरियो। समितिले पूर्वाधार विकासमा जोड दिँदै आएको छ। 

उनी मालिकाको महिमागान गाएर कहिल्यै थाक्दैनन्। उनी कहिले सिंहदरबार पुगे, कहिले म्याग्दी जिविस पुगे त कहिले पर्यटन कार्यालयमा। व्यक्तिगत स्वार्थका लागि होइन, मन्दिरका लागि बजेट माग गर्न पुगेका।

मालिकाको काख विम गाउँका रैथाने। खेतीपातीमै उनको जिन्दगी बित्यो। पछिल्लो कालखण्डमा मालिकातिर एकोहोरिएका हुन्। त्यसो त गाउँको खानेपानी, विद्यालय, स्वास्थ्यचौकी निर्माण र व्यवस्थापन लगायत सामाजिक काममा पनि खटिँदै आएका छन्।  

आठ सन्तानका पिता उनी ७३ वर्षका भए। फुर्तिला छन्। पहिलापहिला गाउँबाट हिँडेर ४ घन्टामा मन्दिर पुग्थे। अचेल ६ घन्टा लाग्छ। मालिकाको सेवाबाट उनलाई सन्तोक मिलेको छ। शक्तिले मिलेको छ। उनी सकारात्मक सोच एवं युवा जोशका साथ काम गर्छन्। ‘मुलुकमा शान्ति छाइरहोस्’, उनी भन्छन्, ‘अब मालिकाको थप विकास गर्ने जिम्मा युवाहरूको हो।’

पूर्वाधार
श्रीप्रसाद रोका,अध्यक्ष, मालिका गाउँपालिका


मालिका प्राकृतिक एवं आध्यात्मिक भूमि हो। अचेल मेलाका बेला मात्र भक्तजन त्यहाँ पुग्छन्। केवलकार चलाउन सके वर्षैभरि तीर्थालु पुग्ने थिए। त्यसैले तल सहस्रधाराबाट डाँडासम्म केवलकार चलाउने योजना छ। साथै मन्दिरभन्दा तल निजी क्षेत्रलाई होटल बनाउन प्रोत्साहित गर्दैछौं।  

स्वागतम्
ओमकार रोका,सचिव, मालिका क्षेत्र विकास समिति

हिजो मुला र आलुका लागि ख्याति कमाएको टोड्के आज पर्यटकीय गन्तव्य बनेको छ। त्यहाँको शान्त वातावरण, दूधे हिमाल र शीतल वतासले मोहित बनाउँछ। डाँडा(२,४०० मिटर)बाट गुर्जा, चुरेन, मानापाथी, निलगिरी , अन्नपूर्ण, माछापुच्छे« र लमजुङ हिमाल छर्लङ्ग देखिन्छन्। बिहान सूर्यको लाली पर्दा र साँझ घाम डुब्दा रंगीन बन्छन् हिमाल।  

टोड्के अर्थात् बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र मंगला गाउँपालिकाको संगम। प्रकृति र अध्यात्मको दोभान। डाँडामा स्वर्गद्वारी मन्दिर छ। प्यूठानको स्वर्गद्वारीको शाखाका रूपमा यसको विकास गरिँदैछ। मन्दिरभित्र स्वर्गद्वारी महाप्रभुको खराउ, शिवलिंग लगायत सामग्री सुरक्षित छन्। 

टोड्केमा पुस–माघमा हिउँ पर्छ। त्यतिबेला हिउँ खेल्नेहरू उकालिन्छन्। तल बेंसीमा गर्मी चढ्दा शीतल खोज्दै तन्नेरीहरू त्यहाँ उकालिन्छन्। फागुन–चैतमा डाँडामा लालीगुराँसको बैंस चढ्छ। यस्तो बेला मनै उज्यालो हुन्छ।

रोमाञ्चक वातावरण भएको टोड्केलाई हनिमुन डेष्टिनेशनका रूपमा ब्राण्डिङ गर्ने कि ! त्यहाँ दुई रात बसेर आनन्दित हुन कि ! डाँडामा टोड्के हिल रिसोर्ट खुलेको छ। तीन करोड रुपैयाँ खर्चेर ६ रोपनीमा बनाइएको रिसोर्टका ३५ जना शेयर होल्डर छन्। अट्याच बाथरुमसहित १० कोठा र केही टेन्ट सुविधा छ। एकैपटक ६० जना बास बस्न सक्ने रिसोर्टका अध्यक्ष मीनबहादुर पाइजा बताउँछन्। त्यहाँ सेमिनार हलको पनि व्यवस्था छ।

टोड्के डाँडा वरपर विभिन्न गाउँ छन्। दक्षिणमा पूर्णगाउँ, उत्तरमा झीँ, दक्षिण–पूर्वमा उवाखेत गाउँ छन्। पूर्णगाउँ, उवाखेत र झीँमा होमस्टे सुविधा छ। झीँबाट हिँडेर जाँदा डेढ घन्टामा टोड्केको थाप्लोमै पुगिन्छ।

टोड्केबाट ५ घन्टा पदयात्रामा मालिकाधुरी पुगिन्छ। टोड्केको पर्यटन विकाससँगै वरपरका गाउँहरूको पनि कायाकल्प हुन सक्छ। मंगला गाउँपालिका र रघुगंगा गाउँपालिकाले आआफ्नो क्षेत्रबाट टोड्के उकालिने सडक कालोपत्रे गरिहाल्नु जरुरी देखिन्छ। 

आज त्यहाँ एउटा रिसोर्ट खुलेको छ, भोली डाँडामा अरू रिसोर्ट पनि खुल्नेछन्। वरपरका गाउँमा पनि चहलपहल बढ्नेछ। अनि बल्ल टोड्के एउटा सुन्दर पहाडी गन्तव्यका रूपमा चम्किनेछ। म्याग्दी सदरमुकाम बेनी बजारबाट जीपमा टोड्के जान डेढ घन्टा लाग्छ।
     
घुमफिर प्याकेज
भीमबहादुर शेरचन,निर्देशक, टोड्के हिल रिसोर्ट  


प्राकृतिक सौन्दर्य र आध्यात्मिक वातावरण भएको टोड्केमा मनको शान्ति मिल्छ। हामीले २ रात ३ दिनका विभिन्न प्याकेज बनाएका छौं। हनिमुन प्याकेजमा जोडीले ९ हजार एक सय ९९ रुपैयाँ तिर्नुपर्छ। त्यस्तै फेमिली प्योकजको ४ हजार ५ सय ९९ रुपैयाँ, कर्पोरेट प्याकेजको ३ हजार ९ सय ९९ रुपैयाँ र एजुकेशनल प्याकेजको २ हजार ९ सय ९९ रुपैयाँ लिन्छौं। प्याकेज किन्नेलाई बेनी बजारबाट टोड्केसम्म निःशुल्क यातायात सुविधा दिन्छौं।   
सम्पर्क: ९८५१०२३०३२

घुमफिर