अन्य

ग्रेटवाल हेर्ने रहर

चीन भ्रमण गर्ने अवसर जुट्यो, २६ असोजमा। हामी चाइना साउदर्नको विमानबाट साढे चार घन्टामा चीनको गोन्जाउ एयरपोर्ट पुग्यौं। विमानस्थल चिटिक्क थियो। अत्याधुनिक  प्रविधिको सहयोगमा अध्यागमनमा यात्रुको काम एकाध मिनेटमै सकिँदो रहेछ। केही समय गोन्जाउ एयरपोर्टमै बितायौं। यसपछि साढे दुई घन्टाको प्लेन यात्राबाट बेइजिङ पुग्यौं। गरिबी निवारण कोषको नेपालका उपनिर्देशक चौ र चाइना रेडियो इन्टरनेसनलका चिनियाँ पत्रकार राधिका (नेपाली नाम) स्वागतका लागि तम्तयार रहेछन्।

वरपर घुम्ने क्रममा भ्रमण टोलीका केही सदस्य हराए। हामीले करिब दुई घन्टा खोज्यौं, बल्लतल्ल भेट्टायौं। खाना खाने र बेइजिङको ओलम्पिक पार्क भ्रमण गर्ने हाम्रो सपना अधुरो रह्यो।   साथी भेट्टाएसँगै घुम्न नपाएकामा खासै दुःख लागेन।

बेइजिङ विमानस्थलबाट होटेलसम्म जाँदा साथीहरुले तँछाडमछाड गर्दै बेइजिङका भौतिक संरचनाको  दृश्य लिन थाले।  गगनचुम्बी भवन,  चिटिक्क परेका सडक र फ्लाइओभरले जोसुकैको ध्यान तान्थ्यो। सडक वरपर फराकिलो फुटपाथ, साइकल लेन र हरियालीले पनि थप रोमाञ्चक बनाएको थियो। आठ लेनका सडकमध्ये कुनै  एक्सप्रेस लेन, कुनै सर्भिस लेन थिए। एक्सप्रेस लेनमा सवारीबाट निस्कने ध्वनि सोस्ने पूर्वाधारसमेत देखिन्थ्यो। यसकारण हाम्रो यात्रा झनै सजिलो भयो। हामीले सडकमा कतै पनि खाल्टाखुल्टी र धुलो देखेनौं।

बेइजिङमा सार्वजनिक यातायात निकै व्यवस्थित र शिष्ट  देखिन्थे। ट्रली बस निकै रहेछन्। मेट्रो रेल, एक्सप्रेस रेल र फ्लाइओभर सडकका कारण यात्रा गर्न सहज भएको थियो।  सार्वजनिक र खुला स्थानलाई पनि उत्तिकै प्राथमिकता दिइएको देख्यौं। चीनमा व्यक्तिगत  जग्गा नहुँदो रहेछ। आवासीय र व्यापारिक क्षेत्र छुट्टाइएको हुँदो रहेछ। बेइजिङमा मात्रै  ६ वटा रिङ रोड रहेछन्।

सार्वजनिक स्थल सफा, सुग्घर र चिटिक्क थिए। धुलोधुवाँ कतै देखिँदैनथ्यो। चिनियाँ नागरिकले सार्वजनिक स्थलमा बेपरवाहले चुरोट खाएको दृश्य भने बाक्लै देखियो।

बेइजिङमा सिंगै रुख रोपेको दृश्य देख्दा औधी रमाइयो लाग्यो। यस्तो रुखलाई केही समय टेको दिएपछि अन्य रुख जस्तै  हुँदो रहेछ।  यो दृश्यबाट सरकारमा इच्छाशक्ति र चाहना भएमा जस्तोसुकै ठाउँलाई हरियाली र मनमोहक बनाउन सकिने अनुभूति भयो।  देख्दा सामान्य भए पनि स–साना पक्षको व्यवस्थापनले पर्यटकको मन जित्दो रहेछ।  सार्वजनिक स्थलमा व्यवस्थित  र पर्याप्त शौचालय रहेछन्। सार्वजनिक शौचालय निःशुल्क प्रयोग गर्न पाइँदो रहेछ।

बेइजिङमा चालकले  मोबाइलमा अत्याधुनिक ‘चिनियाँ म्याप’ हेरेर सवारी  चलाउँदा रहेछन्। कुन ठाउँमा सवारीको चाप कस्तो छ ? जाम कति बेला खुल्यो ? आफ्नो सवारीको गति कति  छ ? जस्ता जानकारी चिनियाँ म्यापबाटै लाइभ हेर्न सकिँदो रहेछ।

हामी बेइजिङ एयरपोर्टबाट दुई घन्टाको यात्रापछि ‘बेइजिङ यानसान होटल’ मा पुग्यौं। बेलुकीपख ‘सि फुड’ खान अर्काे होटेलमा पुगियो। केही साथीले सि फुडभन्दा फलफूलमै जोड दिए, केही साथीले मज्जासँग सिफुडको स्वाद लिए। आँखाअगाडि नै सि फुडका परिकार बन्दै गरेको देख्दा रोमाञ्चित हुँदै फोटो र भिडियो खिच्न लालायित भइयो।  चीनमा फेसबुक, ट्वीटर, युटुब लगायत सामाजिक सञ्जाललाई प्रतिबन्ध लगाइएको रहेछ। सहज रूपमा सामाजिक सञ्जाल चलाउन नपाउँदा भने केही खल्लो महसुस भयो। तैपनि, भिपिएन साइटबाट बुच्याट लगायत सामाजिक सञ्जाल चलाएर धीत मा-यौं।

भ्रमणको तेस्रो दिन हामी चिनियाँ ग्रामीण परिवेश र रहनशैली निहाल्न  हपै प्रान्त लाइसिस्या जिल्लाको नान्यु गाउँमा पुग्यौं।  बेइजिङ सहरबाट करिब दुई घन्टाको यात्रा गरेर  चिनियाँ गरिबी निवारण कोष र सामसुङ कम्पनीको  सहुलियत कर्जा लिएर सन् २०१५ मा नान्युमा  निर्मित होमस्टेमा पुगियो। गरिबी निवारण कोषले विपन्न वर्गलाई लघुवित्तमार्फत ऋण दिई नान्यु गाउँका पुराना तथा ऐतिहासिक  घरलाई जीर्णाेद्वार गरेर १५ वटा होमस्टे सञ्चालन गरेको रहेछ।  बाहिरीबाट हेर्दा होमस्टे आकर्षक थिएनन्, भत्किनै लागेजस्ता देखिन्थे। बाहिरबाटै काठको दलिनसमेत निहाल्न सकिन्थ्यो। तर होमस्टेभित्र प्रवेश गरेपछि अद्भुत दृश्य देखियो। वातानुकूल सफाचट कोठा, लहरै राखिएका सोफा सेट, एट्याच बाथरुम, टि–टेबल र डाइनिङ रुमको सजावटले भने पाँचतारे होटेलकै अनुभूति दिलायो। चीनको ऐतिहासिक तथा ग्रामीण जीवनशैली निहाल्न नान्यु पुग्नैपर्ने ठाउँ रहेछ। यहाँ ग्रामीण जीवनशैली, रहनसहन र खेतीपातीको प्रत्यक्ष अनुभूति गर्न पाइँदो रहेछ। बेइजिङबाट दुई घन्टाको बस यात्रामा सहजै पुग्ने ठाउँ भएकाले पनि नान्यु गाउँ पर्यटनका लागि प्रख्यात रहेछ।

हामी अक्टोबर १७ मा ग्लोबल पोभर्टी रिडक्सन फोरममा सहभागी भयौं।  अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसमा ३० देशका सरकारी प्रतिनिधिमण्डल र पत्रकार  सहभागी थिए। सरकारी प्रतिनिधिमण्डलले आ–आफ्नो देशले गरिबी निवारणका लागि गरेका प्रयासबारे अनुभव साटासाट गरे। यस क्रममा चिनियाँ गरिबी निवारण कोषले यस क्षेत्रमा गरिएको प्रयास  र उपलब्धिबारे  जानकारी गरायो। चीनले सन् २०२० सम्म  ४० मिलियन गरिबीको रेखामुनि रहेका जनतालाई मध्यस्तरमा लैजाने योजनासहित काम गरिरहेको छ। चीनले सन् १९७८ देखि खुला अर्थतन्त्रको नीति लिएसँगै यो उपलब्धि हात पारेको रहेछ ।

हामी चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालको निमन्त्रणामा  दूतावास पुग्यौं। नेपाली आतिथ्यले मातूभूमिमै पुगेझैं लाग्यो। तर, दूतावासको भवन देख्दा  मन खिन्न भयो। गगनचुम्बी र आकर्षक भवनले घेरिएको  नेपाली दूतावासको भवन भने बुच्चोजस्तै देखिन्थ्यो। दूतावास  भवनले नेपालकै शोभा घटाए जस्तो लाग्थ्यो। नेपाल सरकारले चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेकाले  दूतावास  भवन छिट्टै बन्ने दूतावासका कर्मचारीले जानकारी गराए।

हामीले ग्रेट वाल अफ चाइनाबारे  धेरै सुनेका र पढेका थियौं। तर, हेर्ने अवसर भने सप्ताहव्यापी चीन भ्रमणको अन्तिम दिन जु-यो। अक्टोबर १९ मा सबेरै उठेर ब्रेक फास्ट गरेसँगै ग्रेट वाल अफ चाइना भ्रमणमा निस्कियौं। बेइजिङबाट करिब ७० किलोमिटर बसको यात्रा गरेपछि ग्रेटवाल अफ चाइना पुगियो। सम्राट क्विन ली हुवाङले इसापूर्व तेस्रो शताब्दीमा  ग्रेट वाल अफ चाइनाको निर्माण सुरु गरेका थिए। हुवाङको पालामा गे्रट वाल अफ चाइनाले पूर्णता पाएन। तर, उनको अभियानलाई एकपछि अर्का शासकले निरन्तरता दिँदै आए। १४औंदेखि १७औं शताब्दीमा  मिङ साम्राज्यको समयमा यसलाई अझै व्यापक रूपमा विस्तार गरिएको थियो। युनेस्कोले सन् १९८७ मा ग्रेट वाल अफ चाइनालाई विश्वसम्पदा सूचीमा सूचीकृत गरेको छ। ग्रेट वाल उत्तर र दक्षिणी पहाडी भूभागमा  फैलिएको रहेछ।

दक्षिणतर्फ नाकै ठोक्किने  ठाडो उकालो भएकाले हाम्रो रोजाइ उत्तरतर्फको भूभाग प-यो।  उत्तरतर्फ पर्यटकको निकै घुइँचो थियो। बाह्य पर्यटकसमेत ग्रेटवालको प्रत्येक खुड्किलामा फोटो तथा भिडियो खिच्न व्यस्त देखिन्थे। ग्रेटवालमा विभिन्न देशबाट आएका पर्यटकबीच हार्दिकता र सहिष्णुता पनि उत्तिकै देखिन्थ्यो। ग्रेटवालमा पर्यटकबीच अन्य देशका मानिसको फोटो र भिडियो खिच्ने प्रतिस्पर्धा नै हुँदो रहेछ।  चिनियाँ नागरिकसमेत हाम्रो टोलीसँग फोटो खिच्न उत्तिकै लालायित भए। जुनसुकै मुलुकका पर्यटक ‘ह्यान्ड सेक’ (हात मिलाउँदै) गरेर एकआपसमा कुराकानी गर्दै फोटो खिचाएको दृश्य धेरै देखिन्थ्यो। ग्रेटवालका केही  सिँढी उक्लेपछि विश्रामका लागि फलैंचा राखिएको रहेछ। ग्रेटवाल घुम्दा समय बितेको पत्तै नहुने रहेछ। हामीले करिब साढे तीन घन्टा ग्रेटवालमै बितायौं।

हामीले  तियानमेन स्क्वायर र फरविडन सिटीको  अवलोकन ग¥यौं। समय अभावका कारण फरविडन सिटीमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका माओ सेतुङको पार्थिव शरीर भने अवलोकन गर्न पाएनौं। तियानमेङ स्क्वायरमा पर्यटकको  घुइँचो थियो। तियानमेङ स्क्वायरमा सन् १९८९ मा  चिनियाँ विद्यार्थीले प्रजातन्त्रको बहाली माग गर्दै आन्दोलन गरेका थिए। शासकले उनीहरूमाथि डोजर चलाएको घटना भने आधिकारिक रूपमा कतै पुष्टि भएको  छैन। तियानमेङमा चिनियाँ कम्युनिस्ट पार्टीको कार्यालय र संसदीय भवन लगायत महत्वपूर्ण कार्यालय रहेछन्। नेपालले पनि कहिलेसम्म चीनकै दाँजोमा विकास गर्ला भन्ने कौतूहलतासँगै  अक्टोबर २० मा स्वदेश फर्कियौं।

प्रकाशित: १० फाल्गुन २०७६ ०३:३१ शनिबार

ग्रेटवाल चीन_भ्रमण