अन्य

कला समीक्षकको कमी

तीर्थ निरौला

एकजना मित्रले प्रश्न गर्नुभयो, ‘कलाकारका चित्र किन सर्वसाधारणले बुझ्न सक्दैनन्। कलामा भएका गतिविधि हामीलाई केही थाहा हुन्न। जानकारी नै हुन्न ?’

यही प्रश्नले मलाई यसबारे केही खोतल्ने प्रेरणा जागृत गरायो। हो, आधुनिक कला सहज रूपमा सर्वसाधारणसम्म पुग्न सक्दैनन् र सजिलै बुझिँदैनन् पनि। आज कला सीमित जनसमुदाय र समाजमा मात्र सीमित र प्रचारित भइरहेको छ। कला जन–जन र हरेक तह र तप्कामा पुग्न जरुरी छ। यसका लागि के गर्नुपर्ला ?
कलालाई सर्वसाधारण जनतासम्म पुर्‍याउने एक मात्र माध्यम वा साधन अर्थात् संयन्त्र भनेको कला पत्रकारिता, समीक्षा वा कला लेखन नै हो। कला क्षेत्रमा भएका र भइरहने सम्पूर्ण कला गतिविधि र कलाकारका चिनारीलाई लेखका रूपमा, कला समीक्षाका रूपमा, कला पत्रकारिता वा सम्प्रेषणका अन्य माध्यमबाट समाजको आगनसम्म पुर्‍याउन सके मात्र सर्वसाधारणले कलाका सम्पूर्ण अवयवबारे जानकारी पाउन सक्छन् र सबैले कला बुझ्न सक्ने वातावरण सिर्जना हुन सक्छ। तर, कला क्षेत्रमा यस्ता माध्यम वा संयन्त्रको ज्यादै अभाव छ। सूचनाको प्रभाव र प्रचार यथेष्ट हुन नसक्नाले नै यो विधाप्रतिको बुझाइ सर्वसाधारण नेपाली जनजनमा फैलन नसकेको टड्कारो देखिन्छ। त्यसैले ललितकलाको क्षेत्रमा कला पत्रकारिताको भूमिका महत्वपूर्ण छ भन्नेमा दुईमत छैन।

कला क्षेत्रमाथि यतिका धेरै कलापत्रिका प्रकाशन त भए, तर टिक्न भने सकेनन्।

कला विकास तथा विस्तारका लागि कला पत्रकारिता, कला समीक्षा वा कला लेखको यतिको ठूलो महत्वपूर्ण गरिमामय स्थान हुँदाहुँदै पनि नेपालमा कला पत्रकारिताको भने चाहेजस्तो प्रगति वा विकास हुन सकेको छैन। यो हुन नसक्नुका कारण बग्रेल्ती छन्। थुप्रै चुनौती र तगारा यत्रतत्र छन्। तीमध्ये सबैभन्दा महत्वपूर्ण र प्रमुख कारण आर्थिक अभाव र प्रकाशनमा निरन्तरता हुन नसक्नु हो। नेपालमा प्रायः कलापत्रिका एक–दुई अंक निस्केपछि बन्द हुन्छ। यसर्थ कला क्षेत्रको विकास र विस्तार हुन वा जनमानसलाई कलाप्रति जागरुक बनाउन सर्वप्रथम यो क्षेत्रकै विकास र विस्तार गर्न जरुरी छ। कला पत्रकारिता वा कला लेखन निरन्तर हुन सके मात्र कला क्षेत्रको विकास र विस्तार सम्भव छ। कला सहज रूपमा सर्वसाधारणका निम्ति पनि प्यारो नैसर्गिक खुराक बन्न सक्छ।  

नेपाली कला लेखन वा प्रकाशनको इतिहास त्यति पुरानो र लामो देखिँदैन। २००९ सालमा नेवारी भाषामा ‘कलाकार’ पत्रिका सत्यमोहन जोशीले प्रकाशन गरेको इतिहास छ। यस्तै, २०१३ मा ‘कला र संस्कृति’ सम्बन्धी द्वैमासिक पत्रिका गेहेन्द्रमान अमात्यको सम्पादनमा प्रकाशित भएको स्वयं गेहेन्द्रमान बताउँछन्। यसरी नै ०२३ मा मुखपत्रका रूपमा प्रकाशन भएको र  पछि त्यसैलाई ‘आकृति’ नामकरण गरिएको पत्रिका नेपाल एसोसिएसन अफ फाइन आर्ट (नाफा)द्वारा प्रकाशन भएको पाइन्छ। २०३१ मा गेहेन्द्रमान अमात्यकै सम्पादनमा ‘कलाकृति मासिक’ देखा प¥यो। २०३५ मा मुकेश मल्लको सम्पादनमा काठमाडौंदेखि बाहिर पहिलोपल्ट धरानमा ‘कला’ नामक कलापत्रिका निस्केको देखिन्छ। २०३८ मा रघुनाथ खनालबाट ‘कला र कलाकार’ भन्ने पत्रिका निस्केको थियो। युवा कलाकार समूह (याग)ले ‘माध्यम’ नामक मासिक पत्रिका २०४७ मा निकालेको थियो।

यस्तै, २०५७ सालमा कमर्सियल आर्टिस्ट संघको वार्षिक पत्रिका ‘कलाजीवी’ निस्केको पाइन्छ। २०६० यतादेखि राजमान महर्जनद्वारा ‘क्यानभास साप्ताहिक’ पत्रिका नियमित प्रकाशन हुन थाल्यो। कलापत्रिका प्रकाशन गर्ने क्रममा २०६१ मा देवेन्द्र थुम्केलीको सम्पादनमा ‘ललितकला’ नामक द्वैमासिक र २०६३ मा ‘कलाकर्म’ मासिक ज्ञानेन्द्र विवशको सम्पादनमा प्रकाशित भएको पाइन्छ। २०७० मा अरुपण कला दीर्घाद्वारा ‘कला गतिविधि’ र २०७० मा ‘कलादृष्टि’ साप्ताहिक पत्रिका अमात्यको सम्पादनमा प्रकाशित भएको देखिन्छ।
कला क्षेत्रमा माथि उल्लिखित यतिका धेरै कलापत्रिका प्रकाशन त भए, तर टिक्न भने सकेनन्। ती मासिक, द्वैमासिक, पाक्षिक र वार्षिक कलापत्रिकाले आर्थिक अभाव र असहयोगका कारण मुख फेर्नुपर्‍यो, नियमित रूपमा टिक्न सकेनन्। आज यी सबैले केही अंकसम्म प्रकाशित हुँदै बन्द भएको इतिहास रचेका छन्।

यसो भनिरहँदा राजमान महर्जनको क्यानभास, अरुपण कला दीर्घाद्वारा प्रकाशित कला गतिविधि र अमात्यद्वारा प्रकाशित कलादृष्टि भने अझै बजारमा आइरहेका छन्। अन्य भने कला क्षेत्रमा इतिहासका पानामा सीमित रहन पुगेका छन्। वास्तवमा यस किसिमको अनियमितताको पछाडि आर्थिक कारण सँगै कलम चलाउने कला लेखक वा समीक्षकहरूको पनि अभाव छ। हामीसँग कलामा कलम चलाउनेहरू छैनन् भन्दा पनि हुन्छ। औँलामा गन्न सकिने ज्यादै थोरै छन्, कला लेखक एवं कलासमीक्षक। भएकाहरूले पनि यस क्षेत्रमा कलम चलाउन छोडिसकेका छन् र थोरैले मात्र लेखिरहेका छन्। हामीकहाँ कलाबारे लेख्न थालेको इतिहास पनि लामो देखिँदैन। काठमाडौं ठमेलका नारायणबहादुर सिंह (जन्म वि.सं. १९८७) नै ती पहिला प्रतिभा हुन्, जसले नेपाली कला र कलाकारको चिनारी स्वरूप थुप्रै कलालेख लेखेर नेपाली पाठकसम्म पुर्‍याए। यसपछि सुरेन्द्रराज भट्टराईका थुप्रै समालोचकीय कलालेख र निबन्धहरू राष्ट्रिय स्तरका विविध साहित्यिक पत्रपत्रिका र अखबारमा प्रकाशित भएका छन्।

यसैगरी, कलालेखनमा खारिएका कला समीक्षक, कला लेखक एवं कला पत्रकारको नाम लिनुपर्दा वंशी श्रेष्ठ, मदन चित्रकार, मुकेश मल्ल, गेहेन्द्रमान अमात्य, तीर्थ निरौला, रमेश खनाल, ज्ञानेन्द्र विवश, नवीन्द्रमान राजभण्डारी, डा. लय मैनाली, रामकुमार भौकाजी, अरुण रञ्जित, नगेन्द्र पौड्याल, राजमान महर्जन, केशव खनाल, इन्द्र खत्री, देवेन्द्र थुम्केली, दीपक कुँवर, संगी श्रेष्ठलगायत टड्कारो रूपमा देखिएका र सुनिएका नाम हुन्। यस्तै, कलालाई नै विषयवस्तु बनाएर केही पत्रकारले पनि लेख्ने छन्। यद्यपि, कलाको अन्य क्षेत्रमा कलम चलाउनेहरूको तुलनामा यो क्षेत्रमा न्यून नै छन्। यसर्थ यस क्षेत्रलाई विकास गर्न सम्बन्धित निकाय र कलाकार जागरुक हुनैपर्छ। 

प्रकाशित: ३ फाल्गुन २०७६ ०४:२६ शनिबार

कला_समीक्षक ललितकला