अन्य

संगीतले जुराएको अवसर

पहिलेदेखि नै नेपालमा संगीत पढाइन्थ्यो,  तर यस विषयको औपचारिक पठनपाठन २०७४ देखि सुरु भएको हो।

नेपालका सातै प्रदेशबाट एक–एक जना विद्यार्थीले छात्रवृत्तिमा संगीत पढ्न पाउने ‘शिक्षा निर्देशिका’मै उल्लेख छ। नेपाल संगीत विद्यालयमा नेपाल सरकारबाट उपलब्ध गराइएको छात्रवृत्तिमा पढ्ने विद्यार्थी हुन्,  चन्द्रकुमार गन्धर्व । प्रदेश ५ बाट छानिएका दाङका चन्द्र केही वर्षअघिसम्म गाउँघरमा  मादल बजाउँथे। औपचारिक रूपमै संगीत पढाइ हुने जानकारी उनमा थिएन।

‘नेपालमा पनि संगीत पढाइ हुने यहीँ आएर नै थाहा पाएँ,’ उनले भने, ‘गाउँकै विद्यालयमा कक्षा ९ पढ्ने तयारी भइरहेको थियो। संगीत पढ्न पाइएला भनेर सोचेको पनि थिइनँ। छनोट भएर यहाँ पढ्न पाउँदा आफूलाई भाग्यमानी नै ठान्छु।’ यस अवसरलाई उनी जीवनकै पहिलो खुसी ठान्छन्।

आधुनिक वाद्यवादनमा अभ्यस्त चन्द्र कक्षा ११ मा अध्ययनरत  छन्। सुरुका दिनमा आधुनिक बाजा निकै अनौठो लागेको उनले अनुभव सुनाए।  दिनानुदिनको अभ्यास र मिहिनेतका कारण वाद्यवादन निकै राम्रोसँग बजाउन सक्ने भएका चन्द्र  ‘वेस्टर्न म्युजिक’मा आकर्षित भएका छन्।  उनले यसमै भविष्य कोर्ने योजना पनि बनाएका छन्।

त्यस्तै, धनगढीका राजेश ओड पनि नेपाल संगीत विद्यालयका विद्यार्थी हुन्। नृत्यमा उनको निकै झुकाव छ। गाउँघरमा राम्रो गीत बजेमा नाच्न अघि सर्ने राजेश फ्लोक, हिप पप, कन्टेमप्रोरी र क्लासिकलमा नृत्य गर्छन्। उनले नृत्यकला नेपाल संगीत विद्यालयबाटै सिकेका हुन्।

प्रादेशिक छात्रवृत्तिअन्र्तगत कक्षा ११ मा संगीत विषय अध्ययनरत राजेश नेपालमा संगीत विषयको पढाइबारे  काठमाडौं आएपछि  जानकारी पाएको सुनाउँछन्। उनी धनगढी, मनहेराको श्री सरस्वती माध्यमिक विद्यालयबाट छात्रवृत्तिका लागि छनोट भएका हुन्। उनले सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गरिरहेका छन्। ‘यो अवसर पाउँछु भनेर सोचेको पनि थिइनँ,’ खुसी हुँदै राजेशले भने, ‘यो अवसरले भविष्य उज्ज्वल बनाउनेमा विश्वस्त छु। यो जिन्दगीकै पहिलो खुसी हो। तर, सुरुमा काठमाडौं मेरा लागि नौलो सहर भएकाले कताकता डर पनि लागेको थियो।’

राजेशले दुई वर्षमा संगीतसम्बन्धी सैद्धान्तिक र व्यावहारिक  ज्ञान हासिल गरे। उनी संगीतसँगै नृत्यको पनि ज्ञान  लिँदै छन्। गाउँमा बादल र पञ्चेबाजा मात्र देखेका उनलाई आधुनिक वाद्यवादनका सबै सामग्री नयाँ लाग्यो। अनुभव सुनाउँदै उनले भने, ‘पहिलो दिन त देख्दै अचम्म लाग्यो। कसरी बजाउने होला ? कहाँ र कसरी थिच्दा बज्छ होला  भन्ने लागेको थियो।’ शिक्षकले बजाएको हेरेर वाद्यवादन बजाउन सिकेका राजेश बाजासँग अभ्यस्त भइसकेका छन्। बेस गीतार बजाउन औधि रुचाउने  राजेशले साथीहरूसँग मिलेर संगीत समूह बनाएका छन्,  यही समूहबाटै संगीतिक  क्षेत्रमा केही नयाँ काम गर्ने सोच बनाएका छन्।  ‘सानैदेखि नृत्यमा केही गर्छु भन्ने सोचेको थिएँ,’ उनले भने, ‘तर, संगीतमा यसरी जोडिने कल्पना गरेको थिइनँ। नयाँ संसार देख्न पाएकामा धेरै खुसी छु।’

संगीत पढ्ने विद्यार्थीको संख्या थोरै भएको नेपाल संगीत विद्यालयले जनाएको छ। कक्षा ११ मा ७ र कक्षा १२ मा जम्मा चार जना विद्यार्थी छन्। ‘संगीतमा चाहना भए पनि यसैमा भविष्य खोज्नेहरू कमै छन्,’ विद्यालयका प्राचार्य इमनविक्रम शाहले भने, ‘अहिले कोही आर्थिक समस्या र कोही अभिभावकको दबाबका कारण संगीत पढ्नबाट वञ्चित भएका छन्।’

नेपाल सरकारको शिक्षा निर्देशिकाअनुसारै सात वटै प्रदेशबाट विद्यार्थी छनोट गरेर ल्याइएको शाहले जानकारी दिए। अभिभावकले अरू पेसामा  जस्तो यसमा  उज्ज्वल भविष्य नदेखेकाले विद्यार्थी  कमी भएको उनले बताए। त्यस्तै,  भर्खरै संगीत विषयको पढाइ सुरु भएकाले विद्यार्थीको संख्या कम भएको शाहको अनुमान छ।

सार्वजनिक शैक्षिक गुठी नेपाल म्युजिक सेन्टरअन्तर्गतको विद्यालयको नेतृत्वमा संस्कृतिविद् सत्यमोहन जोशी र म्युजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्मा छन् सरकारले ६ वर्षअघि ल्याएको विद्यालय क्षेत्र सुधार कार्यक्रममा कक्षा ९ बाट प्राविधिक तथा व्यावसायिक धारअन्तर्गतका विभिन्न विषयमा पढाउने नीति लिइएको थियो, तर यस धारमा सामुदायिक विद्यालयमा कक्षा सञ्चालन भएमा निःशुल्क पढाउन र शिक्षक दरबन्दी दिन सरकारलाई कठिनाइ भएको विद्यालयले बताएको छ।

प्रकाशित: ३ फाल्गुन २०७६ ०४:२० शनिबार

संगीत अवसर