नवराज अधिकारी
अध्यक्ष, भिटोफ, गण्डकी शाखा
गण्डकी प्रदेशमा गाउँ पर्यटनको अवस्था कस्तो छ ?
नेपालमा गाउँ पर्यटनको शुभारम्भ नै गण्डकी प्रदेशको सिरुबारीबाट भएको हो। क्याप्टेन रुद्रमान गुरुङको अगुवाइमा सिरुबारीबाट होमस्टे सुविधासहित ग्रामीण पर्यटनको अभ्यास गरिएको सुनौलो इतिहास छ। आज हाम्रो प्रदेशमा गाउँ पर्यटनको अवस्था राम्रो छ। तीन सयभन्दा बढी सामुदायिक होमस्टे दर्ता भएर सञ्चालित छन्। प्रदेश सरकारले पनि ग्रामीण पर्यटनका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य राखेको छ।
हाम्रा गाउँहरूमा आन्तरिक पर्यटकको भीड देखिन्छ। विदेशी पर्यटक बढाउन केके गर्नुपर्ला ?
सुन्दर वातावरण, टिपिकल खाना र आत्मीयताको कारण गाउँहरूमा आन्तरिक पर्यटकको भीड देखिन्छ। हाम्रा गाउँमा विदेशीहरू पनि उत्तिकै रमाउन सक्छन्। यसका लागि सेवा सुविधामा सुधार गरेर राम्रो मार्केटिङ गर्नु जरुरी देखिन्छ।
गाउँ पर्यटनमा देखिएका प्रमुख समस्या केके हुन् ? यसको समाधानका लागि प्रदेश र केन्द्र सरकारले के गर्नुपर्छ ?
ग्रामीण क्षेत्रमा युवा जनशक्ति छैन। युवा जति विदेसिएका छन्। स्वदेशमै सम्भावना पहिचान गरेर, आवश्यक तालिम र प्रचार गर्न सके युवालाई यतै रोक्न सकिन्छ। संघीय सरकार र प्रदेश सरकारले यसमा ध्यान दिएर स्थानीय उत्पादनमा जोड दिनुपर्छ।
एकातिर होमस्टे सुविधा भएका पुराना गाउँमा पूर्वाधार विकास भैसकेको छैन, अर्कातिर नयाँनयाँ गाउँमा होमस्टे सञ्चालन गर्न प्रदेश सरकारले पैसा बाँडिरहेको छ। यसलाई कसरी लिनु भएको छ ?
सरकारले अन्धाधुन्ध पैसा बाँड्नु हुँदैन। मापदण्ड बनाएर होमस्टे कार्यविधि अनुसार सम्भाव्यता अध्ययन गरी मूल्याङकन गरेर बजेट दिनुपर्छ भनेर हामीले सरकारलाई सुझाव दिएका छौं। प्रदेश सरकार यसमा सकारात्मक पाएका छौं।
आपसमा सांस्कृतिक सम्बन्ध बिस्तार गरी ग्रामीण पर्यटनमा टेवा पु-याउन हामीले पहाड र तराईका गाउँबीच मितेरी साइनो गाँस्ने अभियान चलाएका छौं।
होमस्टे सञ्चालक र पर्यटकबीच पुल हाल्ने काम हुन सकेको छैन, यसमा तपाईहरूको भूमिका के हुन्छ ?
भिटोफ गण्डकी शाखा गठन भएसँगै होमस्टेको प्रवर्द्धनमा हामी सक्रिय छौं। हामीले कालाबाङ घडेरी, ताङतिङ, हेमजाकोट, काउलेपानी लगायत धेरै गाउँ चम्काउन मद्दत गरेका छौं। हामी गण्डकी प्रदेशका ‘हरेक गाउँ पर्यटकीय ठाउँ’ भन्ने नारा बोकेर सक्रिय छौं। आगामी दिनमा गाउँ पर्यटनका कामलाई अझै प्रभावकारी बनाउन जिल्लास्तरमा संयन्त्र बनाएर काम गर्ने छौं।
भर्खरै भिटोफको नेतृत्वमा आउनुभएको छ, तपाईँका योजना केके छन् ?
पहिलो काम भनेको गण्डकी प्रदेशका दुईटा सामुदायिक होमस्टे र प्रदेश नं ५ का दुई होमस्टेबीच मितेरी साइनो गाँस्ने कार्यक्रम भएको छ। यसबाहेक होमस्टे विद्यालय शिक्षा, होमस्टेलाई बुकिङलाई सहज बनाउन वेवसाइट निर्माण, तालिम, नमूना सामुदायिक होमस्टे निर्माण, होमस्टे ट्रेल र होमस्टे दूतको अवधारणा अघि बढाउँदै छौं।
पर्यटन गाउँहरूबीच मितेरी सम्बन्ध गाँस्ने अभियान के हो ?
आपसमा सांस्कृतिक सम्बन्ध बिस्तार गरी पर्यटनमा टेवा पु-याउने उद्देश्यले कास्कीको ताङतिङ सामुदायिक होमस्टे र बर्दियाको गोविन्दपुर सामुदायिक होमस्टेबीच, त्यस्तै पर्वतको भुक देउराली नमुना गाउँ सामुदायिक होमस्टे र बर्दियाकै खाता जैविकमार्ग (डल्ला) होमस्टेबीच शुक्रबार मितेरी साइनो गाँसिएको छ। यसबाट सांस्कृतिक रूपमा तराई र पहाड जोडिएको छ। मितेरी अभियानलाई हामी निरन्तरता दिनेछौं।
गाउँहरूको चिनारी झल्काउने प्रचारात्मक सामाग्री उत्पादनमा भिटोफको सक्रियता कत्तिको हुन्छ ?
हामीले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग मिलेर प्रचारात्मक सामग्री प्रकाशन गरेका छौं। त्यस्तै नेपाल पर्यटन बोर्डको सहकार्यमा होमस्टे मार्ट लगायतका कार्यक्रम धेरै काम गरेका छौं। होमस्टे दर्पण, ब्रोसर र वेवसाइट निर्माणलाई थप गति दिँदैछौं। नेपाल भ्रमण वर्षलाई सफल बनाउन होमस्टे मार्ट आयोजना गर्ने छौं भने विदेशका मार्टमा पनि सहभागिता जनाउने छौं।
प्रकाशित: २५ माघ २०७६ ०४:५३ शनिबार