अन्य

बोधिसत्वका व्यवहार

ऋषिले बुद्धलाई आफ्नो ढाडमा टेकेर जान अनुरोध गरिरहेको चित्रकला बौद्ध समाजमा निकै चर्चित छ। यस चित्रबारे  जानकारी नभएका जो कोहीका मनमा लाग्न सक्छ, बुद्धसमक्ष एक ऋषिले साष्टांग दण्डवत् गरेका हुन्। ढाडमा टेकेर हिँड्न अनुरोध गरेको भनेर कसैले बुझाउन खोज्यो भने आश्चार्य मान्दै यसरी टिप्पणी हुन सक्छ, बुद्ध पनि कस्तो, ऋषिको शरीरमा पनि टेक्ने भन्ने हुन्छ र ?

बौद्ध धर्मदर्शनको मान्यताअनुसार गौतम बुद्ध (इ.पू. ५६२–४८३) अघि बुद्धत्व लाभ गरेका धेरै बुद्धहरु थिए,  ती अतीत बुद्ध हुन्। उनीहरूको नाम फरक–फरक छन्। तीमध्ये दीपंकर बुद्ध एक हुन्। दीपंकर बुद्धको आगमन हुँदा स्वागतका लागि बाटो सरसफाइ हुँदै थियो, यस  कार्यमा सुमेध  ऋषि पनि संलग्न थिए। बाटो सफाइ नसकिँदै  बुद्धको आगमन भएकाले सुमेध ऋषिले बाटोमा सुत्तानो परेर आफ्नो ढाडमाथि टेकेर अगाडि बढ्न अनुरोध गरेका हुन्। बुद्धले आफूसँगै आएका भिक्षुलाई भुइँबाटै हिँड्न भन्दै आफू सुमेध ऋषिको ढाडमा टेकेर अघि बढ्छन्। बुद्धको पाइला आफ्नो ढाडमा परेपछि सुमेध ऋषिले धेरै नै प्रीतिको अनुभव गरी भविष्यमा आफू पनि बोधिलाभ गरेर बुद्ध बन्न सकूँ  भनेर मनमनै याचना गरे।

बुद्धको  धर्मउपदेश बडो ध्यानपूर्वक सुने र उनै बुद्धको समक्ष भविष्यमा आफू पनि बुद्ध हुन्छु भनेर प्रणिधान गरे। बुद्धले सबैको सामु उनलाई ‘तिमी बुद्ध बन्नेछौ’ भने। बुद्ध बन्न  निश्चित पारमीहरु पूरा गर्नुपर्छ। बुद्ध बन्छु भनेर चित्त उत्पन्न गर्नुलाई बोधि प्रणिधान चित्त भनिन्छ, बुद्ध समक्ष याचना गरेर साधनाका लागि लाग्नुलाई ‘बोधि प्रस्थान चित्त’ भनिन्छ। यस्तो चित्त लिएर हिँडेकालाई बोधिसत्व भनिन्छ। बोधिसत्वको अर्थ हो, भविष्यमा सम्यक् सम्बुद्ध हुनेवाला। ती सुमेध ऋषि अनेकौं पटक–पटक पुनर्जन्म लिँदै अनेक बोधिचर्या गरेर अन्य २३ बुद्धको दर्शन गरी अन्ततः ईपू ५२८ को वैशाख पूर्णिमाका दिन बोधिमण्डपमा बुद्धत्व प्राप्त गर्ने गौतम बुद्ध हुन्। उनको अर्को नाम शाक्यमुनि बुद्ध पनि हो।

बाटो सफाइ नसकिँदै  बुद्धको आगमन भएकाले सुमेध ऋषिले बाटोमा सुत्तानो परेर आफ्नो ढाडमाथि टेकेर अगाडि बढ्न अनुरोध गरेका हुन्।

यो प्रसंग बुद्ध र बोधिसत्वबारे जानकारी दिन ज्यादै उपयुक्त र संक्षित उदाहरण हो। हिनयान वा महायान, जुनसुकै बौद्ध सम्प्रदायभित्र पनि बुद्ध र बोधिसत्वको प्रसंग पटक—पटक आइरहेको हुन्छ। हिनयानीहरुको पालि त्रिपिटकअन्तर्गत जातक कथा र महायानीहरुको संस्कृत अवदान गौतम बुद्धको पूर्वजन्मका कथाहरुको संकलन हो। बुद्धका पूर्वजन्महरु भन्नुको तात्पर्य बोधिचर्या गर्दै गरेका बोधिसत्वका विवरणहरु हुन्। हिनयानमा अर्हत् पद लाभमा बढी जोड दिइन्छ, महायानमा बोधिसत्व भई बोधिचर्या गर्दै अन्नतः स्वयं बुद्ध हुने आकांक्षा लिइएको हुन्छ। यसैकारण, महायानलाई बोधिसत्व यान पनि भनिन्छ। हिनयान र महायानबीचको मुख्य भिन्नता यही हो।

बोधिसत्वले पूरा गर्नुपर्ने पारमिताहरु मुख्यतः दान पारमिता, शील पारमिता, नैष्क्रम्य पारमिता, प्रज्ञा पारमिता, वीर्य पारमिता, क्षान्ति पारमिता, सत्य पारमिता, अधिष्ठान पारमिता, मैत्री पारमिता र उपेक्षा पारमिता हो। यी पारमी पूरा गर्दै गरेका बोधिसत्वहरु स्वतः साधनारत् हुन्छन्। यी साधना सम्पूर्ण प्राणीको हितमा केन्द्रित हुन्छन्। कुन साधना कसरी गर्ने भन्ने तरिका बोधिसत्वको स्वविवेक वा बोधिसत्वकै रूपमा रहेका अन्य  कल्याणमित्रको सुझावअनुसार हुन्छ। बोधिप्रस्थान चित्त उत्पन्न गरेपछि सुमेध ऋषिलाई अन्य बोधिसत्वले मार्गदर्शन गरेको वर्णन पाइन्छ।

बोधिसत्व मान्छेका रूपमा मात्रै हुन्छन् भन्ने छैन। जसरी मान्छेका रूपमा जन्मेका बोधिसत्व मान्छेलगायत सबै प्राणीको हितमा लागिरहेको हुन्छ, त्यसरी नै अन्य जीवजन्तु भई जन्मेका बोधिसत्वले पनि सबै प्राणीको हितमा काम गरेका हुन्छन्। स्वयं गौतम बुद्ध बोधिचर्याका क्रममा अनेकौंपटक राजा भएर जन्मे, अनेकौंपटक मन्त्री भएर जन्मे। यसैगरी, सामान्य मान्छे भएर पनि जन्मे। कहिले व्यापारी त कहिले ब्राह्मण भएर पनि जन्मे। आइमाई भएर पनि जन्मे। कहिले हात्ती, कहिले बाँदर, कहिले मृग आदि रूपमा पनि जन्मेर बोधिचर्या गरेको पाइन्छ। बोधिचर्या गर्नु नै एक खालको साधना हो,  जीवन र जगत् बुझ्न अनेक आध्यात्मिक साधना गरिन्छ। यी साधना एक अर्कासँग सम्बन्धित हुन्छन् र साधनाको फलअनुसार ज्ञानका विभिन्न तह पार गर्दैै अगाडि बढिरहेका हुन्छन्। बौद्ध स्तूपमाथि १३ वटा गोलाकार वा चतुर्भुजाकारका संरचनाहरु एकमाथि अर्को राखेर बनाइएको देखिन्छ।

सामान्यतः यसलाई त्रयोदश भूवन भनिन्छ। त्रयोदश भूवनका नामहरु हुन्, प्रमुदिता, विमला, प्रभाकारी, अर्चिष्मती, सुदुर्जया, अभिमुखी, दुरंगमा, अचला, साधुमति, धर्ममेघ, समन्तप्रभा, निरुपमा र ज्ञानभूमि (बज्रभूमि)। वास्तवमा यो बोधिसत्वले हासिल गर्ने ज्ञानको तह हो,  यी तह पार गरेपछि बुद्धत्व लाभ हुन्छ। महायान बौद्ध धर्ममा पद्मपाणी, अमोघपास, मञ्जुश्री नामका लाखौं बोधिसत्वको प्रसङ्ग आउँछन्, तिनीहरुलाई लोकेश्वर भनेर पनि भनिन्छन्। बुद्धत्व लाभ गर्ने हैसियत राखेर पनि त्यसलाई स्थगन गरी उनीहरु संसारमा एक मात्र पनि सत्व दुःखमा रहुन्जेल बुद्धत्व प्राप्त गर्दिनँ भनेर बोधिचर्यामा नै दत्तचित्त भएर लागिरहेका हुन् भनिन्छन्। गौतम बुद्ध पछि बुद्धत्व लाभ गरी स्वयं बुद्ध हुने बोधिसत्वको नाम मैत्रेय हुन्। उनलाई भविष्यको बुद्धका रुपमा मान्दै मैत्रेय बुद्ध पनि भन्ने गरिन्छ,  उनको परिकल्पना गरी मूर्ति बनाउने तथा उनलाई नै प्रधान मानी बनाइएका गुम्बाहरु नेपालमा पनि छन्।

कोही प्राणी बोधिसत्व हुन् भनेर निधारमा लेखिएको हुँदैन। कसैको हितमा लाग्दै गरेको अवस्थाकै आधार पनि कसैलाई बोधिसत्व भनी निर्धारण गर्न सकिन्न।  बोधिसत्व हुन  योग्यता हासिल गर्दै गरेका सत्व भन्न सकिन्छ। यसरी नै कुनै बोधिसत्वले जीवनभर निरन्तर रूपमा अरुको हितमा काम गरिरहेको हुन्छ, तर अरुको अहितमा बोधिसत्वको चित्त जाँदै जाँदैन। बोधिसत्व सधैं मैत्री, करुणा, मुदिता र उपेक्षाको भावनाले भरिपूर्ण हुन्छन्। शील सदाचारमा उदाहरणीय नै हुन्छन्। जातक कथाको अध्ययन गर्दा सामान्य जीवनमा एक–दुई वटा अत्यन्तै राम्रो काम गरेर मृत्युवरण गरेको पनि पाइन्छ।  

अरुको हितमा बढी दत्तचित्त भएर लागेका कुनै व्यक्तिलाई बोधिसत्व नै हुन् कि भनी अत्यन्त आदरभावले हेर्नु बौद्ध समाजको आदर्श वा स्वभाव हो। भारतमा डा. भीमराव अम्बेदकरलाई उनका अनुयायीहरु ‘बोधिसत्व’ का रूपमा सम्बोधन गर्छन्। यसरी सम्मान गर्नुको तात्पर्य मान्छे भएर पनि अछुत भनी हेपिएको दलित वर्गको हितमा संघर्ष गरेको र उनको अथक प्रयासबाटै नर्कपी अवस्थाबाट माथि उठ्न सकेको भनी डा. अम्बेदकरमा बोधिसत्वको व्यक्तित्व देख्नु हो। सिद्धान्ततः महायानी बौद्ध धर्मका साधकहरु बोधिसत्व नै हुन् वा बोधिसत्व हुने योग्यताका लागि साधना गरिरहेका सत्वहरु हुन्। आफूलाई बोधिसत्व ठान्ने वा बोधिसत्वलाई जस्तै व्यवहार गरून् भनेर अपेक्षा राख्ने तर छलकपट, लोभी, पापी, लालची, घमण्डी, जालसाजी जस्ता खराब आचरणले  आक्रान्त हुने तथा परहितमा रत्तिभर पनि ध्यान नदिई बोधिसत्वको आदर्शलाई  तिलाञ्जली दिनु भनेको ढोंगी र पाखण्डी हुनु हो।

एक बोधिसत्व मान्छे जतिसुकै ढोंगी र पाखण्डी मान्छेमाथि पनि उत्तिकै करुणाभाव राख्छन्, उनीहरूको शुभचिन्तक हुन्छन्।

प्रकाशित: २५ माघ २०७६ ०३:३६ शनिबार

बुद्धत्व ऋषि