अन्य

चौँरी डुलाउनेहरूको कथा

ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा पर्ने खम्बाचेनकी पेम्बा शेर्पालाई गोठको जीवन कहिलेदेखि सुरु गरेँ भन्ने यकिन सम्झना छैन। सानै उमेरमा बिहे गरेकी ५६ वर्षीया पेम्बा बिहे गरेदेखि नै गोठमा याक, चौरीसँग रमाउन थालेको बताउँछिन्। गत कात्तिकको एक बिहान पेम्बा र उनका ७० वर्षीय श्रीमान् नुपु शेर्पा खम्बाचेनस्थित गोठमा उराङ (चौँरीको एक प्रजाति) दुहुँदै थिए। ‘छोराहरूले त गोठ बेचौँ भन्छन्। सानैदेखि पाल्दै आएको माया लाग्छ नि,’ पेम्बा भन्छिन्, ‘यही हिमालको काख प्यारो छ हामीलाई त।’

कञ्चनजंघा पदमार्गमा पर्ने यो ठाउँमा सिजनमा पर्यटकको ओइरो लाग्ने गर्छ। उनीहरू याक, चौँरीको फोटो खिच्न मरिहत्ते गर्छन्। पेम्बा भन्छिन्, ‘विदेशी पर्यटकले आफैँ चौँरी दुहुने र दूधको चिया पिउने गर्छन्।’ हिमाली र उच्च पहाडी क्षेत्रमा गोठमा डि, याक, चौँरी, भेडी गोठ लगायत सञ्चालन गरिन्छन्। भेडीगोठ अहिले कमै मात्र छन्। शेर्पा समुदायसँगै अन्य जातिले यस्ता गोठ राख्ने गर्छन्। हिमाली क्षेत्रको गोठमा परिवार सँगै बस्ने गरेको देखिन्छ। उच्च पहाडी क्षेत्रमा भने परिवार गाउँमै छाडेर केही सदस्यले मात्र गोठ चलाउँछन्। चाडपर्व, पारिवारिक काम र गोठमा काम नभएका बेला मात्र उनीहरू घरमा पुग्छन्।

फागुनदेखि असोजसम्म हिमालकै काखसम्म पुग्ने चौँरीहरू चिसो सुरु भएपछि केही तल झर्छन्। चौँरीले बढी आम्दानी दिने भएकाले बर्खामा गोठहरूमा निकै चहलपहल देखिन्छ। काठ र ढुंगाले बनाएको गोठको बीचमा अगेनो हुन्छ। बाहिरपट्टि डि, उराङ (चौँरी) दुहुने ठाउँ हुन्छ। बिहानै चौँरीहरू आइपुग्छन्। लगातार चौँरी दुहुनुपर्छ। दिनभर दूध तताउने, छुर्पी, घिउ बनाउने काममा व्यस्त हुनुपर्छ। गोठको एकापट्टि मानिसहरू सुत्छन् भने अर्कोपट्टि चौँरी बस्छन्। याक, चौँरी वा भेडी गोठसम्म खाद्यान्न लगायत सामग्री मानिस वा घोडा, खच्चडलाई बोकाएर लैजानुपर्छ। टेलिफोन चल्दैन। सुविधा कम भए पनि गोठमा रमाएकाहरू यहाँ थुप्रै भेटिन्छन्।

हिमाली क्षेत्रको पहिचान हो, गोठ। चाइना र मङ्गोलिया क्षेत्रमा चौँरी पालन फस्टाएको छ। यता हिन्दूकुश हिमालय क्षेत्रमा पर्ने नेपाल, भारत, भुटान, अफगानिस्तान, पाकिस्तानमा भने गोठको संख्या घट्ने क्रममा देखिन्छ।

गोठ–गोठका भेला भएर गफिने, गीत गाउने चलन पनि छ। हिमाली, उच्च पहाडी हावापानीमा रमाएकाहरू मोटाघाटा देखिन्छन्। उनीहरूसँग सुखदुःखका थुप्रै अनुभव छन्। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा पर्ने याङ्मा खोलामा मोहन गौतम र पासाङ डोमाको गोठ छ, खोला छेउ अग्लो पहाडको काखमुनि बस्ने यी दम्पतीको प्रेम कहानी रोचक रहेछ। पासाङ भारत सिक्किमकी हुन्। उनीहरूको सिक्किमतिर गोठ थियो, मोहनको नेपालतिर। गोठमा बसेर चौरीसँग रमाउँदै गर्दा उनीहरूबीच प्रेम भयो। उनीहरूको प्रेमिल सम्बन्धलाई न भूगोलले छेक्यो, न त जातले। एक सन्तानको आमाबुवा बनिसकेको यो दम्पतीले गोठलाई नै आफ्नो जीविकाको आधार बनाएको छ।

जनयुद्धमा होमिएका पाँचथरको फालेलुङका चन्द्र नेपालले फालोट भन्ने ठाउँमा चौँरीपालन थाले। अग्रजले पनि गोठमा चौँरी लगायत पाल्थे। शान्ति प्रक्रियापछि उनले गोठ रोजे। नमुना पशुपालनको रूपमा स्थापित नेपाल गोठको अगुवामध्ये उनी पर्छन्। ‘युवापुस्ताको आकर्षण नभइरहेका बेला चौँरीपालनमा लागियो। उच्च पहाडमा दुःख छ, कमाइ पनि छ,’ नेपाल भन्छन्, ‘घरपरिवार तल (गाउँमा) बस्छन्। हामी समय–समयमा झर्छौं।’ गोठमा दूध, छुर्पी, घिउ, मासु लगायत उत्पादन हुन्छ। यसबाट राम्रै कमाइ हुने गोठ सञ्चालकहरू बताउँछन्। चौँरीको छुर्पी प्रतिकेजी एक हजार रुपैयाँ र घिउको प्रतिकेजी सात सय रुपैयाँसम्म आउँछ। त्यस्तै, भेडाको घिउ प्रतिकेजी तीन हजार पाँच सय रुपैयाँसम्म पर्छ।

लामो समयदेखि पाँचथरको नेपालीटार भन्ने ठाउँमा गोठ चलाएर बसेका थर्कप्रसाद गुरुङले झापाको धुलाबारीमा भर्खरै २७ लाख रुपैयाँ खर्चिएर घडेरी किने। उनी भन्छन्, ‘परिवार पाल्ने, नानीहरू पठाउने काम गोठकै आम्दानीबाट भएको छ।’ नेपालीटारदेखि चार घण्टा पैदलै पुगिने सिदिनको सिक्रेका गोठ सञ्चालक राजेन्द्र राई भन्छन्, ‘यहाँको गोठको कमाई विभिन्न बजारमा पुगेको छ। विदेशको भन्दा कमाई गोठमा छ। तर अलि दुःख छ।’ ताप्लेजुङको याङ्गामा खोलादेखि एक घन्टा पैदल दूरीमाथि चौरी घ्याङ भन्ने ठाउँमा खड्कबहादुर भण्डारी र हर्कीमाया दम्पतीको डि गोठ छ। खड्कबहादुर भन्छन्, ‘बानी परिएछ। यहीँको जीवन आनन्दको छ।दुःखलाई त पचाउन सक्नुपर्दो रहेछ।’

भण्डारीका पाँच दाजुभाइ हुन्। यीमध्ये चार दाजुभाइ गोठमा पशुपालन गरेर बसेका छन्। खड्कका भाइ हस्तलाल, भीम, डम्बर पनि गोठमै छन्। यी दाजुभाइ रमाइला छन्। गोठका अनेक किस्सा सुनाएर रमाइलो गर्छन्। भीम भन्छन्, ‘पढाइबीचैमा छोडियो। दुःख भए पनि गोठ रोजियो। काम ग-यो, खायो। जिन्दगी यस्तै त हो।’ आफू गाउँको विकासका काममा पनि सक्रिय रहने भीम बताउँछन्। आफ्नो गाउँभन्दा अन्यत्र पुगेर चौँरीपालन गरिन्छ। ताप्लेजुङको ओलाङचुङगोला पुख्र्यौली थलो भएका ३६ वर्षीया पेम्बा शेर्पा पाँचथर याङ्वरको पानी भित्तामा गोठ चलाएर बसेका छन्। लामो कपाल पालेका उनी कम बोल्छन्। भन्छन्, ‘गोठमै रमाइयो, यतै रमाइलो लाग्छ।’

गोठ घट्दो क्रममा
चीनको चिङ्गाई तिब्बतीय प्लेटोबाट चौँरी पालनको सुरु भएको डा. टासी दोर्जी बताउँछन्। ‘हिमाली क्षेत्रको पहिचान हो, गोठ। चाइना र मङ्गोलिया क्षेत्रमा चौँरी पालन फस्टाएको छ। यता हिन्दूकुश हिमालय क्षेत्रमा पर्ने नेपाल, भारत, भुटान, अफगानिस्तान, पाकिस्तानमा भने गोठ घट्ने क्रममा देखिन्छ,’ टासी भन्छन्, ‘नेपालमा सडक लगायत सुविधा नहुँदा घट्दै गएको छ।’ टासीका अनुसार, तिब्बत हँुदै नेपालमा चौँरी पाल्ने चलन बढेको हो। हिन्दूकुश हिमालय क्षेत्रमा करिब चार लाख संख्या हाराहारीमा चौँरी रहेको अध्ययनले देखाएको उनले बताए। उनी भन्छन्, ‘भोट ब्यांक नभएर होला, गोठ सुधार वा प्रवद्र्धन कार्यक्रम राजनीतिक नेतृत्वको प्राथमिकता परेन।’

नयाँ पुस्ताको आर्कषण नहुने, जंगली जनावरको आक्रमण तथा वैकल्पिक व्यवसायका कारण ताप्लेजुङ, पाँचथरका हिमाली तथा उच्च पहाडी क्षेत्रमा चौँरी पाल्ने परम्परा घट्दै गएको पाइन्छ। कञ्चनजंघा पदमार्ग क्षेत्रमा चौँरी गोठहरू घट्दै गएको देखिन्थ्यो। कतै गोठहरू भत्किएका देखिन्थे त कतै चौँरी पनि अत्यन्त कम मात्र देखिन्थे। चिसो बढ्न थालेपछि विभिन्न ठाउँबाट फले भन्ने ठाउँमा चौँरी ल्याइन्थ्यो। फराकिलो चौर जस्तो यो ठाउँमा हिउँदमा चौँरी राख्न दर्जनौँ गोठ बनाइएका छन्। तर, यहाँ धेरै गोठ भत्किन थालेका छन्। गोठमा चौँरी राख्न छोडेको जस्तो देखिन्थ्यो। चौँरी पनि अत्यन्त कम मात्र देखिन्थे। स्थानीयका अनुसार यतिबेला यो ठाउँमा चौँरी भरिभराउ हुन्थे। पाल्नेहरूले पनि संख्या घटाउँदै लगेका छन्।

ब्वाँसो लगायत जंगली जनावरका कारण समस्या पारेको ताप्लेजुङ फलेका ओङ्दी शेर्पाले बताए। ‘यहाँ चौँरी भरिभराउ हुन्थ्यो, बिस्तारै बर्सेनि घट्दै छ। कमाइ त राम्रै हुन्छ। तर दुःख धेरै छ। नयाँ पुस्ताको रहर देखिँदैन,’ उनले भने, ‘हामीले पुर्खाहरूको परम्परा कायम राखेका छौँ। भोलिका पुस्ताले चौँरी पाल्छन् भन्ने देखिँदैन।’ उच्च पहाडी तथा हिमाली क्षेत्रमा पशुपालन गर्ने चलन निकै पुरानो मानिन्छ। ताप्लेजुङ र पाँचथरका विभिन्न गाउँपालिकामा चौँरी पाल्ने क्रम घट्दै छ। भावी पुस्ताले चौँरी व्यवसायलाई निरन्तरता दिने कुरामा शंका हुने गरेको छ। चौँरी पालेर बस्ने धेरैजसो उमेर ढल्किँदै गएका भेटिन्छन्। अहिले चौँरीपालनमा निकै कम युवा देखिन्छन्।

पाँचथरका चित्रेका राजकुमार राई भन्छन्, ‘गोठ पाल्ने हाम्रो पालोमा मात्र होला। युवाहरू बिदेसिएका छन्। लेकाली दुःखमा बसेर काम गर्ने रुचि नै छैन। हेर्दाहेर्दै गोठहरू पातलिँदै छन्।’ विगत केही वर्षयता गोठ बेच्नेको संख्या बढ्दै गएको गोठ सञ्चालकहरू बताउँछन्।

पर्यटक राख्न गोठस्टे
गोठ राखेर गरिने चौँरीपालन घट्दो क्रममा भए पनि पर्यटकहरू बढिरहेकै छन्। त्यसैले होमस्टे जस्तै गोठस्टेको अवधारणा अघि सारिएको छ। गोठ सञ्चालकहरू गोठलाई पर्यटकमैत्री बनाउने कसरतमा जुटेका छन्। पाँचथरको सन्दकपुर, फालोट, चारराते लगायत क्षेत्र, कञ्चनजंघा बेस क्याम्प, तिम्बु पोखरी आउने पर्यटकलाई लक्षित गरी गोठस्टेको विकास गरिएको हो। पाँचथरको फालेलुङ तथा याङवरक गाउँपालिकामा रहेका गोठमा पर्यटक राख्ने गरी संरचनाको विकास कार्य अघि बढाइएको छ। गोठलाई सफा चिटिक्क बनाउने, पर्यटक बस्न मिल्ने संरचना निर्माण गर्ने, शौचालय लगायतको व्यवस्थापन गरेर गोठस्टेको विकास गर्ने योजना छ।

गोठहरूमा पर्यटकहरू रमाउने गरेको देखिन्छ। यो क्षेत्रमा बङ्गाली पर्यटक बढी आउँछन्। गोठहरूमा पर्यटकहरूले चौँरी दुहुने, गोठमा पकाएर खाने गरेको गोठ सञ्चालकहरू बताउँछन्। आन्तरिक र बाह्य पर्यटकलाई स्वागत गर्न खोजिएको गोठस्टे सञ्चालन समितिका अध्यक्ष तथा गोठ सञ्चालक जंग राईले बताए। ‘अहिले २१ वटा गोठलाई सुधारेर पर्यटकमैत्री बनाउने काम गरिरहेका छौँ। गोठलाई सफा चिटिक्क बनाउने हाम्रो लक्ष्य छ,’ उनी भन्छन्, ‘यहाँ आएका पर्यटकले गोठको मौलिकपनामा रमाउन सकून् भन्ने योजना छ।’

हिमाली दृश्य, सूर्योदय, जैविक विविधता तथा सौन्दर्यतामा रमाउन यो क्षेत्रमा बाक्लो गरी पर्यटक आउने गर्छन्। तर, नेपाल–भारत सिमानामा पर्ने विभिन्न ठाउँहरूमा आउने पर्यटकलाई बस्नका लागि नेपालतर्फ उपयुक्त व्यवस्थापन गरिएको छैन। रेड पाण्डा नेटवर्क र दीप ज्योति युवा क्लब मिलेर गोठ सुधारको काम अघि बढाएका हुन्। पर्यटकलाई गोठमा रमाउने वातावरण बनाउने प्रयास गरिएको दीप ज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनील बान्तवाले बताए।

चौँरी महोत्सव
पाँचथरको फालेलुङ गाउँपालिकाको चाररातेमा चौँरीलाई प्रवद्र्धन गर्ने उद्देश्यले हरेक वर्षको १ वैशाखमा चौँरी महोत्सव गरिन्छ। अहिलेसम्म यहाँ तेस्रो महोत्सव सकिएको छ। महोत्सवमा चौँरीपालक, सरकारी तथा गैरसरकारी क्षेत्रका प्रतिनिधि भेला हुन्छन्। नेपाल, भारत, चीन, भुटानसँगै विभिन्न देशबाट पर्यटक पनि आउने गर्छन्। नेपालमै पहिलोपल्ट सुरु भएको चौँरी महोत्सवमा उल्लेख्य सहभागिता रहन्छ। गुराँस फुल्ने सिजनमा हुने महोत्सवको चर्चा केही अघिदेखि हुने गर्छ। भारतको सिमाना नजिक हुने महोत्सवले पशुपालकलाई प्रोत्साहन गर्ने, चौँरीको महŒव बुझाउने तथा पर्यटन प्रवद्र्धन हुने स्थानीय बताउँछन्। महोत्सवमा विभिन्न ठाउँबाट चौँरी भेला गर्ने, गोठ झल्काउने प्रदर्शनी गर्ने लगायत गरिन्छ।

प्रकाशित: २५ माघ २०७६ ०२:४० शनिबार

चौँरी पर्यटक ताप्लेजुङ