अन्य

धारापुरीका दुलही

पारि बस्ने बास !’
    ‘पारि भनेको धारापुरी हो कि ?’
    मैले कन्जोकको उत्तरलाई प्रश्न नै गरेँ ।
    उनले मुन्टो हल्लाए । त्यतिञ्जेलमा उनी खोल्सीको स्कुले चौरबाट अगाडि लम्किसकेथे । यस्तै डेढ–दुई घण्टाको बाटो भनेकाले म आत्तिइनँ ।
    तर पहाडको डेढ–दुई घण्टाको बाटो मेरा लागि धेरै चोटि तीन–चार घण्टा बनेको छ । यतिखेर बास बस्ने ठाउँ देखिइनै सकेकाले भुटभुटिएको थिइनँ म । बिस्तारै हिँडेको थिएँ । अक्करे भीर, पहाडलाई अझ सुस्तरी निहालिरहेको थिएँ ।
घाम निकै झरिसकेको छ ।
    ‘बाटैभरि खोलो कुदेछ । ख्याल गर्दै आउनु बड्डा !’
    ओरालोमा पर्खिबसेथे कन्जोक ।
    लौ, खोल्सी गाउँकाले कुलाको पानी त्यत्तिकै छोडी दिएछन् । खोलै जस्तो गड्गडाएर झरिरहेछ खेत सिंचिने पानी ।


    अन्तभन्दा खोल्सीमा फराकिला फाँट र टारहरु देखेथेँ । तल कर्णाली तीरमा पनि मनग्गे सोते–सोते गराहरु देखिरहेथेँ मैले ।
    ‘यताकाले केही गाँस बढ्तै खान पाउलान् कि ?’
    मेरो मनभित्रको अड्कल ।
    जुत्ता जोगाउन हम्मे–हम्मे भो मलाई । अझै निकै दिन हिँड्नु छ मैले । सिमकोट नपुगी अर्को जुत्ताको जोहो हुँदैन । यो ठाउँबाट सिमकोट भनेको नौ डाँडापारि ।
    ढुङ्गै ढुङ्गाको ओरालो । त्यसमा छ खोलो जत्तिकै पानीको छङछङाइ ।
    भ्यागुते चालमा खुट्टा उफार्दै ओर्लिँदैछु । पानीले धोइएका चट्टान छन् उबडखाबड । ओहो, जोगिएर हिँड्न मुस्किलै परिरा’छ ।
    ‘यत्तिकै होला त पूरै बाटो ?’
    ‘खोई ?’
    कन्जोक पनि डराएछन् ।
    फटाफट र फटाफट । झटाझट र झटाझट । लुइँलुइँ र लुइँलुइँ लम्किसकेछन् कन्जोक । म ओरालो झर्दैछु थिरी–थिरी गर्दै ।
    एउटा ढुङ्गाबाट टेकेर अर्को ढुङ्गा निहालेर टेक्यो । अनि टेकेको ढुङ्गाबाट फेरि अर्को गनेर टेक्यो । अनि झन् अर्को ।
    यसरी नै चिप्ले कीरा घिस्रेझैँ झर्दैछु । माकुराले जालमा सुलुलु चिप्लेर खसेको तालमा झरिरहेछन् कन्जोक ।
    ३–४ महिला घाँसका भारी बोकेर मास्तिर आउँदै थिए । तिनका केटाकेटी नि पछ्याइरहेथे ।
    ‘बाटोमा पानी किन पठाएको ?’
    मैले सोधेँ ।
    घाँसले छोपिएका तिनले नचिनेरै गाली गरे– ‘ठाडो खुट्टो भएछ !’
    अर्कीले पनि थपिन्– ‘मरी गएछ !’
    उनीहरु पनि भुतभुताउँदै उकालो लागिरहे । म नि तल झरेँ । निकै तल आइन्जेलसम्म घँसेनीले गाली गरिरहेको म सुनिरहेथेँ ।
    ‘हत्तेरिका, तिनको रिसमा आगो झोसेछु क्या हो मैले !’
    मनभरि कुरा खेलिरहे ।
    सुनेको थिएँ– हुम्लीहरु गाली गर्नु परे दिनभरि नि गाली गर्न सक्छन् । पानी पिई–पिई दिनभरि सराप्न सक्छन् रे ।


    कसैको सामान चोरी भो, बाली अर्काको पशुले खाइदियो, कसैले दुःख दिए भने हुम्लीहरु बिहान झिसमिसेदेखि साँझसम्म गाली गरेकोगरेकै गर्छन् रे । कन्जोकले पनि कल्लाई हो यो कुरा सोध्दा भनेथे– ‘पक्का हो, पक्का !’
०००
    बाटो पूर्वतिर लाग्यो ।
    बाक्लो घना वन थियो । ढुङ्गाका रास–रास छन् । गरा बाङ्गाटिङ्गा छन् ।
घरहरु पूरै छोडिए । बाटोको पश्चिममा रसिला गरा छन् । अब खोल्सी गाउँ पनि छेलियो ।
    पारि छ– धारापुरी गाउँ ।
    धारापुरी मास्तिर ठूलै बाटो गएको छ– हिल्सा जाने । त्यो बाटो मास्तिर चौगनफया गाउँ छ । म घरी चौगनफया, घरी धारापुरी निहाल्दै हिँडिरहेको छु ।
    लौ, थाकिएछ ।
    कन्जोक भेटिए कुरिबसेका । बाटोसँग वेग मारिहाल्छन्– उनी । बेला–बेला खुइय मारेर रोकिन्छु म । उनी नि थामिन्छन् ।
    डाँडी दारा पुगिएछ ।
    अलिक बाङ्गोटिङ्गो भएर गएको बाटो छ । अँध्यारो बिस्तारै ओर्लिरहेको छ । अँध्यारो देखेर होला म नि पूmर्तिएको छु ।
    ‘छिर्ने दुला यो !’
    एउटा ठूलो ढुङ्गो थियो । यता छिरेर अर्कोतिर निस्कन सकिन्थ्यो । गुफा आकारको ढुङ्गा थियो गजबको ।
    हामी ओरालो, तेर्पे भएर पूर्वतिर गइरहेका छौँ । हुम्ला कर्णाली गर्जेको निकै माथिसम्म सुनिन्छ ।
    ‘चिच्याएको कि बोली नै यस्तो ?’
    ‘धेरै शक्ति जोडिएकोले चर्को सुनिएको होला !’
    कर्णालीको लहरलाई मैले चिनेँ ।
    सुस्ताउन मन थियो । थपक्कै पारि देखिएको छ धारापुरी । तैपनि फड्केर जान सकिन्न । माझमा ठूलो, आपट्टे गहिरो, भीरैभीरको छ हुम्ला कर्णाली ।
    बाटो चिरिएर अझ पूर्व गयो— डेउडी–डेउडी ।
    ‘कता गएको यो बाटो ?’
    ‘सेँडा गयो !’
    ‘कि जाने त सेँडा ?’
    मलाई प्रश्न गरे कन्जोकले ।
    मैले पसिना पुछेँ । पछाडिको झोला काखमा राखेँ । आँखाका चिप्रा पुछेँ । नाकमा थुप्रेको कट्कटिँदो सिँगाने पाप्रा झिकेँ ।


    अनि बल्ल बोलेँ– ‘सेँडा जाने रहर थन्काएँ यो पालिलाई !’
    त्यसपछि हामी तल झर्‍यौँ एकोहोरो । खच्चड र घोडाले बिगारेका छन् बाटो । ढुङ्गा बाटैभरि तेर्सिएका छन् । अप्ठेरो बाटोमा ढुङ्गासँगै ओरालीले डाकिरहन्छ ।
    खुट्टा थेग्नै महाभारत !
    मेल चौथा नाघिएछ । हामी एकछिन सुस्तायौँ ।
    कर्णालीको पुल देखिँदैं । निकै तल झरिसकेका छौँ हामी । खोलाको गर्जनले बोली सुन्न नि गाह्रै परेको छ ।
०००
    ‘सेँडा जानु है जसरी नि !’
    केवल भण्डारीले भन्नु भएथ्यो मलाई ।
    ‘सेँडा पुगेपछि अनौठो समाजसँग चिनजान हुन्छ !’
    उहाँको जोडबल थियो ।
    अनुहारले तिब्बती तर लोक व्यवहार र बोलीचालीले खस ठकुरीसँग नजिक रहेको समाज छ सेँडामा । ब्याँसी, बेँसी जाति हुन्– तिनै । एउटा अनौठो र खसखस लाग्ने त्यो समाज सेँडामा भएकैले हुम्ला पुग्नु भनेको सेँडा जानु हो– यस्तो अर्थ नि व्याप्ति रै’छ धेरैमा ।
    हुम्लाकै ठूलो ठाउँ पनि हो सेँडा । सेँडा पुगेपछि छेत्री–ठकुरीको सबै हालचाल एकै ठाउँमा देखिन्छ भनिँदोरहेछ ।
    नेपालकै एउटा अनौठो, अमूल्य र अथाह सामाजिक संस्कृति बोकेको व्याँसी जाति बस्ने सेँडा गाउँलाई मैले परैबाट भनेँ– ‘यो पटक थाकेँ । अर्को खेप बलियो भएर आउनेछु ।’
घाँटीभरि पहेँलपुर पोते र आफ्नै खालका लुगामा सजिएका सेँडाका निकै नारीसँग मैले तस्बीर खिचेको थिएँ । त्यै सम्झेर भनेँ– ‘फोटोले यो पटक सेँडा लैजान्छ !’    
    कुरा खेल्दाखेल्दै तल पुलमा पुगिसकेछौँ ।
एकछिन हामी कर्णाली पढ्न उभियौँ झोलुङ्गे पुलमा । सेता लहरले ढाकिएको कर्णालीसँग बलियो न बलियो शक्ति थियो । सङ्लो नदीमा पखालिएका ढुङ्गा चिल्ला, गोला र कलात्मक देखिन्थे ।
    पश्चिमबाट आएको कर्णाली र उत्तरबाट आएको हेप्का खोला दोभानमा मिसिएथे । धजा–पताका फिर्फिराएका देखिन्थे दोभानमा ।
०००
    मैले पुलमै उभिएर खोल्सी गाउँ, सेँडा जाने बाटो, पारिको चौगनफया, च्या छहराको खर्क र च्यादुकतिर बेगिएको बाटो पनि हेरेँ । जताततै थिए कालाम्मे पहाड । जङ्गलका तह–तह बसेर त्यो अनकन्टार भीर, खोंच र छहराहरुलाई राखनधरन गरेको लाग्यो ।
    ‘पुल तरेपछि धारापुरी !’
    कन्जोकले भने ।
    हामी एक छिन सुस्तायौँ । पूर्वतिरको दोभानमा काला ठुटाठुटी देखिन्थे । रुखहरु बाक्लै थिए । हेप्का खोला पारि नि घरहरु फाट्टफुट्ट देखेँ मैले ।
    पश्चिमपट्टि ताँती थियो– लिस्नो ठडिएका घरहरु । दक्षिणतिर फर्केका धारापुरीकाहरुलाई कर्णालीको छालले धोइएको हावाले उत्तिकै माया गर्ने देखेँ मैले ।
    ‘जाडो जति भए नि घाम मनग्गे लाग्ने रै’छ !’
    धारापुरीको पाखो हेर्दै बोलेँ म ।
    ‘यहाँ त हिउँले पूरै पुर्छ !’
    कन्जोक बोले ।
    हामी उत्तरतिर लाग्यौँ ।
    ओहो, कति सुन्दर । हेप्का खोला छेउको किनारमा हरियै थिए मकै, उवाको फाँट । तरकारीको लहलह । आइमाईहरु बुलाकी हल्लाउँदै अझै पनि खेतबारीमा खनीखोस्री गरिरहेथे । कति झुरुप्प–झुरुप्प भएर गफ गरिरहेका देखिन्थे ।
    ‘गफ निकै होला र ?’
    जोसँग सधैँ हातमुख जोड्ने पिरलो छ । जोसँग आङ तातो पार्ने वेदना छ । जोसँग सधैँ रोगै–रोगको खात छ । जोसँग सधैँ अभावले चिथोरेको घाउ छ । जोसँग अपुग, अधुरो र आँसुको दर्फराइ छ ।
    तीसँग गफ गर्ने अरु कुरा पो के होलान् र ?
०००
    हामी लमक–लमक गर्दै बस्तीभित्र पस्यौँ– धारापुरी । उत्तरतिरको रमाइलो बस्तीभित्र पस्दा ४–५ घर टुप्लुकिए ।
    ‘आज यतै हो कि ओछ्यान र खाना ?’
    मैले सोधेँ ।
    ‘हो, अब अघि बढ्न सकिन्न !’
    कन्जोक बोले ।
    हेप्का खोलातिरको फाँटिलो बस्ती– धारापुरी । मैले सरर्र हेरेँ– खोला, गाउँ, पहाड र पश्चिमपट्टि दगुरेको मूल बाटो ।
    नरबहादुर शाहीको घरमा बस्ने व्यवस्था भएछ हाम्रो । शाहीका छोरासँग राम्रै चिनाजानी रहेछ लामाको । त्यै नाताले बस्ने मेसो मिलेको रहेछ ।
    ‘बास मागे दिने । खाना मागे पकाइ दिने ।’
    बेलुकी कुरा भयो– शाहीसँग ।
    धारापुरीमा सिंह, शाही, मल्लको बसोबास रहेछ । ६४ घरधुरी रहेछ धारापुरीमा । गौरा, दशैंतिहार, तीज र दुबाटो पर्व भव्य मान्ने गर्छन् रे धारापुरीका खस ठकुरीले ।
    ‘काम क्यै नाइँ । चाइना गएर बाँचिन्छ ।’
    डबल शाही पनि आइपुगेथे हामी खान लाग्दा ।
    बाटो छेवैको नरबहादुरको घर निकै ठूलो र भव्य थियो । विभिन्न सूचनापाटी नि झुन्डाइएका थिए घरमा । बाहिर थियो– अलिक ठूलो सूचनापाटी । त्यहाँ जौं, फापर, कागुनो, चिनो, जुनेलो, उवा–कालो, आँटा, मैदा, कोदो, मकै, चामलमा पाइने प्रोटिन, फ्याट, मिनरल, इनर्जी, फाइबर, क्याल्सियम, आइरनका मात्रा लेखिएको थियो । त्यहाँ जौं, फापर, कागुनो, चिनो, जुनेलो, उवा–कालोमा बढी मात्रामा यी तत्व पाइन्छन् भनेर लेखिएथ्यो । सबैभन्दा कम पाइन्थ्यो– चामलमा । तर आफ्नै पाखोमा उम्रिएको अन्नपात छोडेर सेतो चामलका पछि किन कुदेका होलान् हुम्लीहरु !
    घर अघिल्तिर थियोे अर्को सानो घर । त्यसकै तल्लो, अँध्यारो, ध्वाँसे र कुचुक्क परेको कोठामा भात, चिया उमाल्ने अगेनो थियो ।
    जाडोले कालोनिलो भएर हामी पसेका थियौँ भित्र । धुवाँमा उकुसमुकुसिएर म बाहिरको काठे फलेकमा पुगी हाल्थेँ । फलेक अघिल्तिर अर्को मुढो तेर्सिएको थियो । त्यहीँ बसेर तातोपानी सुर्काइरहेथेँ– ज्ञानबहादुर शाही, लोकेन्द्र शाही ।
    ‘मंसिरदेखि चैतसम्म हिउँले पूरै ढाक्छ !’
    ज्ञानबहादुरले सुनाए ।
    ‘धारापुरीमा त्यतिञ्जेल बाँच्नेले फेरि मरिहाल्दैन !’
    लोकेन्द्रले अरु थपे ।
    मुसुमुसु हाँसे अरु । यो हाँसोमा जीवनले बिहान र साँझ देख्ने थुप्रै साहस, ऊर्जा र तागत भेटेँ मैले ।
    ‘धेरै त चाइना जान्छन् । भारत जान्छन् बेसिजनमा ।’
    ‘यहाँको कमाइले २ मैना पनि धान्दैन !’
    ज्ञानबहादुर र लोकेन्द्रले पालैपालो भने ।
०००
    धारापुरी बाँडिएको रहेछ दुई भागमा । धेरैजसो गाउँको भाग पश्चिमपट्टिको पाखोमा रहेछ । हेप्का खोलातिर ५ घर रै’छन् । बाँकी घर थिए पश्चिमतिरको पखेरामा ।
    तीन कक्षासम्म पढाइने विद्यालय रहेछ ।
    दुई पहाडको चेपमा बसेको धारापुरीमा कर्णाली र हेप्का खोलाको हावा खुबै मच्चिन्थ्यो । हुरहुरे हावाले चिसो पारिहाल्थ्यो ज्यान ।
    गाउँ छेवैबाट आएको बाटो देखेर सबै छक्क परेथे ।
    ‘हामी कल्याल शाही हौँ । हामी त अचम्मै पर्‍यौँ । यो बाटोमा ट्याक्टर कुदेको देखेर ।’
    ज्ञानबहादुरले भनेथे ।
    कुनै जमानाका नामी रै’छन्– मन्दिर शाही । उनकै खलकले यो बस्ती बसाएको तर्क पोखे नरबहादुरले । आफ्ना पूर्खा बर्ख शाहीकै पसिनाले धारापुरी गाउँ आर्जेको कुरा बताए– नरबहादुरले ।
    धारापुरीलाई अँध्यारोले छोपिसकेथ्यो । तर जुनेली रात हुनाले वरपर गजब देखिन्थ्यो । घोडा, खच्चड, गाई र भेडा पाल्ने गर्दा रहेछन् यहाँ ।
    डबल शाहीले भने– ‘हाम्रो खर्क घारीमा छ । महिनौँ लाग्छ त्याँ पुग्न ।’
    ‘झोपाको पछिपछि जाँदा नि महिनौ दिनमा पुगिन्छ ।’
    डबलले अरु थपे– ‘त्यै खर्कले हाम्लाई पाल्छ ।’
    राति भात खाएर हामी घर पछाडिको माथ्लो तल्लामा उक्ल्यौँ । फलेक हालेर बनाएको भ¥याङ सजिलो थियो । मैले यताका गाउँमा देखेको यही पहिलो सजिलो भ¥याङ थियो– दुईतिर समातेर उक्लिन मिल्ने निकै सहज, सुरक्षित ।
०००
    २ असारको चिसो रात ।
    मनमा अघि सुनेको कथाले लुकामारी खेलिरह्यो ।
    पहिला–पहिला दैलेखीसँग धारापुरीका गाउँलेको बिहेबारी चल्दो रहेछ । डोली बोकी उताकाले यो गाउँमा लैजाने । यो गाउँकाले उताका चेली ल्याउँदा रहेछन् बुहारी बनाएर ।
    विश्वासमा सम्बन्ध बढिरहेको रहेछ । नाता कुटुम्ब चल्दै गएछ लामै समय ।
    केहीपछि दैलेखीले एउटी बुढी हालिदिएछन्– डोलीभित्र । घुम्टो ओढेकी, डोलीभित्र बसेकी दुलही के, कस्ती छन्, कसैलाई थाहा भएनछ । दुलहाको घरमा पुग्दा धोका भएको थाहा भएछ ।
    ‘दैलेखीले यस्तो नकाम गर्ने ?’
    त्यही बेलाको रिस बढेर धारापुरीका नाता कुटुम्ब डुमाइतिर जोडिन थालेछ । दार्चुलापारि गढ्वालका डुमाई कन्या भित्रिन थालेछन्– धारापुरीमा ।
    अलिक पछि बझाङसँग पनि नाता जोड्न थालेछन् यताकाले । हुँदा–हुँदा बाजुरा, महेन्द्रनगरसम्म बिहेबारी हुन थालेछ ।
    ‘अहिले त बझाङकै बढी ल्याउने चलन छ !’
    लोकेन्द्रले भने ।
    ‘अरुले त पुरानो धोका सम्झेर ल्याउँदैनन् । तर मैले त ल्याएँ ।’
    खाना पस्किरहेकी आफ्नी जोईतिर छेडखान गरेथे लोकेन्द्रले । उनको ससुराली रहेछ– दैलेख ।
    स्वास्नीले त्यतिखेर अपमान ठानिन् क्यारे उनले– दाउराको अगुल्टो बेस्सरी ठोसिन् चुलोमा । धुवाँ र खरानीको मुस्लो हामीसम्म आइपुगेथ्यो ।
    मैले भात खाँदा खरानीको धुलो किरिक–किरिक बज्न पुगेथ्यो । कन्जोकले यति धेरै कुराको ख्याल के, कति गरे पत्तो पाइनँ मैले ।
    अहिले उनी पल्टिसकेथे र निदाइसकेथे । तर हेप्का खोलाको झन् गाढा भएर गर्जिरहेको आवाजले सुत्न सकिरहेको थिइनँ म । यता फर्के नि, उता फर्के नि निद्रा आइरहेको थिएन । कसैगरी निदाउन सकेको छैन म । धारापुरीले खोसिरहेथ्यो निद्रा ।    
    हेप्का, मलाई निदाउन दे न ! ००

प्रकाशित: १८ माघ २०७६ ०८:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App