बिहीबार दिउँसो साँखुको शालीनदीमा श्री माधव नारायण स्वस्थानीको नित्य पूजा तयारी हुँदै थियो। मन्दिर परिसरको हेल्प–डेस्कबाट पूजाको तयारीका लागि आह्वान भइसकेको थियो। व्रतालुहरू पूजाको तयारीमै व्यस्त थिए। साँखुकी ३० वर्षीया रीता श्रेष्ठले दशमहिने छोरीलाई काखमा च्यापेर स्वस्थानी नित्य पूजाको तयारी गर्दै थिइन्।
‘छोरी सुतेपछि मात्रै पूजाको तयारी गर्नु पाउँछु,’ उनले भनिन्, ‘यो व्रतमा एक चित्त भएर पूजा गर्नुपर्छ। छोरी सुती भने त पूजा राम्रोसँग गर्न सकिन्छ नि।’ उनलाई परिवारको धेरै सहयोग छ। त्यसैले यो व्रत सम्भव भएको उनी बताउँछिन्। परिवार मात्र नभएर व्रतालु साथीहरूले पनि उनलाई सघाउँछन्। रीताकी देउरानी अपर्ना श्रेष्ठ व्रतालुहरूको संयोजक हुन्। उनले पूजाका लागि व्रतालुलाई सहजीकरण गर्छिन्। त्यसैले पनि रीतालाई सहज भएको छ।
उनकी दशमहिने छोरी पनि एक किसिमले व्रतालुजस्तै भएकी छन्। एक व्रतालु भन्छिन्, ‘बिहान सबेरैदेखि नै यी नानी हामीसँगै हुन्छिन्। उनलाई आवश्यक सहयोग गरिरहेका छौँ। आमाको दूधबाहेक अरु केही खाएकी छैनन्। त्यसकारण यी नानीलाई पनि व्रतालुभन्दा फरक पर्दैन। रीतालाई माधव नारायण स्वस्थानीको व्रत बस्ने रहर बाल्यकालदेखि नै थियो। यसै वर्ष बस्ने उनको कुनै योजना थिएन। ‘छोरी सानै छ, व्रत कसरी बस्न सकिएला भन्ने लागेको थियो,’ उनले भनिन्, ‘सबैको सहयोग हुने भएपछि व्रत बस्ने सोच बनाएँ। आफूले चिताएको पुग्छ, राम्रो हुन्छ भन्ने विश्वासमै मैले यो व्रत लिएकी हुँ।
माधव नारायणको व्रत निकै कठोर मानिन्छ। धेरै दुःख र कष्टका साथ व्रत समापन गर्नुपर्छ। पुरुषले त १३औँ दिनमा जिउ घिसारेर हिँड्नुपर्छ।
यहाँका स्थानीयले बर्सेनि पालैपालो माधव नारायण स्वस्थानीको पूजा गर्ने गर्छन्। यस वर्ष पूजाको जिम्मेवारी रीताको घरमा परेको थियो। पूजाको जिम्मेवारी आफ्नो घरमा परेकाले पनि उनलाई व्रतका लागि सहज भएको हो। साँखुकै अर्का स्थानीय ४६ वर्षीय नारायणप्रसाद बल्ल पनि माधव नारायण व्रत बसेका छन्। लगातार दुईपटक व्रत बसेकाहरुले तेस्रोपटक व्रत बस्नुपर्ने मान्यता छ। यस वर्ष नारायणप्रसादको तेस्रो वर्ष हो। उनी २०७४ सालदेखि निरन्तर व्रत बस्दै आएका छन्। उनी भन्छन्, ‘यो मेरो तेस्रो वर्ष हो। माधव नारायणको व्रत बसे मनले चिताएको पुग्छ भन्ने विश्वासले व्रत लिएको हुँ। यो व्रत अरुभन्दा धेरै फरक छ। यसमा लोभ, लालच भन्ने केही हुँदैन। एकचित्त भएर व्रत बसेमा पुण्य लाभ मिल्छ भन्ने जनविश्वास छ। व्रत लिँदा मनमा आनन्द मिल्छ। माधव नारायणको व्रत निकै कठोर मानिन्छ। धेरै दुःख र कष्टका साथ व्रत समापन गर्नुपर्छ। नारायणप्रसाद भन्छन्, ‘गाह्रो भन्ने धेरथोर भई नै हाल्छ। पुरुषले १३औँ दिनमा जिउ घिसारेर हिँड्नुपर्छ। महिलालाई भन्दा पनि अझ पुरुषलाई गाह्रो हुन्छ।
काभ्रे, पनौतीकी ६८ वर्षीया अम्बिका कार्की पनि व्रत बसेकी छन्। उनी भगवान्प्रति धेरै आस्था र विश्वास राख्छिन्। आफ्नो परिवारको सबैको स्वस्थ जीवन र दीघार्युको कामनासहित व्रत बसेको उनले बताइन्। ‘स्वस्थानीको व्रत बसेमा मनले चिताएको पुग्छ’ भन्ने उनले सानैमा स्वस्थानीको कथामा सुनेकी थिइन्। व्रत बस्ने रहर उनीमा त्यही बेलादेखि नै थियो। तर विभिन्न बाधा अड्चनका कारण बस्न नपाएको उनले सुनाइन्। ‘यो व्रतका लागि समय नै जुर्नुपर्ने रहेछ, अहिले जुरेको रहेछ,’ उनले भनिन्, ‘अरु व्रत धेरैपटक बसेँ। स्वस्थानी भने पहिलोपटक हो। अरुभन्दा धेरै कठोर छ। तर एकचित्त भएर विश्वासका साथ बस्ने भएर पनि होला, व्रतका लागि ऊर्जा आफैँ मिल्दो रहेछ।
काठमाडौं चन्द्रागिरीकी ५६ वर्षीया निर्मला पौडेल पनि यसपालि स्वस्थानीको व्रत बसेकी छन्। स्वस्थानीको व्रत बसेर मागेको फल प्राप्त भएको धेरैबाट सुनेपछि आफू व्रत बसेको उनको भनाइ छ। ‘अहिलेको जमानामा मानिसहरू भगवान् छैन भन्छन्। तर, भगवान्को अदृश्य शक्ति प्रशस्त छ। भगवान्को शक्तिले नै हामीलाई व्रतमा ऊर्जा मिलेको छ,’ उनले भनिन्। यस वर्ष शालीनदीमा स्वस्थानीका एक सय ९७ व्रतालु छन्। श्री माधव नारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अनुसार, एक सय ८१ महिला र १६ जना पुरुषले यहाँ व्रत लिइरहेका छन्।
प्रकाशित: १८ माघ २०७६ ०२:५९ शनिबार