अन्य

‘सस्तो भयो पर्यटन’

अमरबहादुर शाही नेपाल एसोसिएसन अफ टुर एण्ड अपरेटर्स (नाटो) का महासचिव हुन्। सुदूरपश्चिम प्रदेश, डोटी जिल्लाको मुडेगाउँमा जन्मे/हुर्केका उनले पर्यटनमा ३२ वर्ष बिताइ सके । दिगो एवं मर्यादित पर्यटनको अभ्यास गर्दै आएका शाही ५७ वर्षका भए । उनी नेपाल कोरिया टुर्स एन्ड ट्रेकिङ अपरेटर एसोसिएनका अध्यक्ष हुन् । उनी ‘रैका टुर्स एन्ड ट्रेक्स’बाट बर्सेनी दुई हजारको हाराहारीमा भिआइपी कोरियाली पर्यटक नेपाल भित्र्याउँछन् । साथै उनी ‘वाइल्ड वेष्ट ट्रयांगल’ प्याकेज मार्फत कर्णाली र सुदूरपश्चिमको एकीकृत पर्यटन विकास र प्रवद्र्धनमा क्रियाशील हुँदै आएका छन् । उनी ‘सेभ दि टाइगर’ र ‘ग्रिन फारवेष्ट’ अभियानका अभियन्ता पनि हुन् । उनीसँग परिवारका लागि विश्वमणि पोखरेलअमृत भादगाउँलेले गरेको कुराकानी :

बडो तामझामका साथ नेपाल भ्रमण वर्ष २०२० सुरु भैसकेको छ, यसलाई कसरी हेरिरहनु भएको छ ?
भ्रमण वर्षले पर्यटन उद्योगमा केही न केही तरंग ल्याउँछ कि भन्ने आशा सबैले गरेको देखिन्छ । राष्ट्रिय गौरवको हाम्रो यस अभियानबाट कति उपलब्धि हासिल हुन्छ त्यो अहिल्यै भन्न सकिँदैन । यस्ता अभियान बेला–बेलामा सञ्चालन गर्नुपर्छ । अभियान सुरु गर्नुअघि राम्रो तयारी र अन्तर्राष्ट्रिय बजारमा एग्रेसिभ प्रचार–प्रसार हुनु जरुरी हुन्छ ।

तपाईंहरू कत्तिको उत्साहित हुनु हुन्छ ?
भ्रमण वर्षले स्वदेशमा केही उत्साह, आशा र उमंग थपेको देखिन्छ । तर, विदेशमा भ्रमण वर्षको सन्देश फैलिइसकेको छैन । भ्रमण वर्षमै पर्यटक किन नेपाल आउने ? यसको जवाफ सरकारले पाहुनालाई दिन सक्नु पर्छ । पर्यटक लोभ्याउन विशेष कार्यक्रम सरकारले ल्याएको छैन । फेरि भ्रमण वर्षको सचिवालयमा नियुक्ति गर्दा,  कार्यक्रमको तयारी गर्दाको वातावरण हेर्दा हामी उत्साहित भैहाल्ने अवस्था छैन ।

भ्रमण वर्षमा बीस लाख पर्यटक ल्याउने भनिँदैछ, आउलान् त त्यति संख्यामा पर्यटक ?
बीस लाख पर्यटक भित्र्याउन सकियो भने मुलुककै लागि ठूलो उपलब्धि हुनेछ । तर, त्यति संख्यामा पर्यटक आउने आधार देखिँदैन । बढी भन्दा बढी विदेशी भित्र्याउन विदेशी मिडियामा निरन्तर विज्ञापन र डिजिटल मार्केटिङमा जोड दिनु पर्छ । अन्य च्यानलहरू जस्तो कि गैर आवासीय नेपालीलाई यो अभियानसँग जोड्नु पर्छ । विदेशीस्थित नेपाली कुटनीतिकलाई भ्रमण वर्षको सन्देश वाहकका रुपमा प्रयोग गर्न सकिन्छ । हामीले तीन वर्षअघि भ्रमण वर्ष मनाउने उद्घोष गर्ने बेलादेखि नै अन्तर्राष्ट्रिय मार्केटमा एग्रेसिभ मार्केटिङ गर्दै स्वदेशमा पूर्वाधार र आवश्यक वातावरण बनाउन काम गर्नु पथ्र्यो । त्यसो गर्न सकेनौं ।

नेपालसँग बीस लाख पर्यटक धान्ने पर्यटकीय पूर्वाधार छ त ?
पर्यटकीय क्षेत्रमा बनेका होटल/रेष्टुराँको हिसाब हेर्दा पिक सिजनमा मात्र होइन, मनसुन र जाडोमा पनि पर्यटक आवागमन बढाउन सकियो भने बीस लाख पर्यटक धान्न सक्ने अवस्था देखिन्छ । तर, पर्यटक भित्र्याउन सबैभन्दा ठूलो समस्या हाम्रो देशमा एउटा मात्र अन्तर्राष्ट्रिय विमानस्थल छ । त्यसको क्षमताभन्दा बढी विमान आवतजावत भैरहेको छ । विमान होल्डमा बस्नुपर्ने बाध्यता छ ।

पूर्वाधारकै कुरा गर्दा शहरी भेकमै बाटोघाटो राम्रो छैन । सुधार गर्नुपर्ने कुरा धेरै छन् । अध्यागमन कार्यालयलाई अत्याधुनिक बनाउनु आवश्यक छ । सकारात्मक सोच बोकेर नेपाल घुम्न आएका पाहुनाले कहीँ कतै कुनै झन्झट र झमेला नव्यहोरी फर्कने वातावरण बनाउन सक्नु पर्छ । अहिले त सरकारकै सेवामा प्रश्न चिह्न खडा भएको छ । सबैतिर राजनीतिले गिजोलेको छ । पर्यटन क्षेत्रका नियुक्तिमा पनि विज्ञभन्दा पार्टीका कार्यकर्ता भर्ती गर्ने चलन छ । यसले सेवामा असर त गरिहाल्छ ।

नेपालमा हरेक क्षेत्रमा राजनीतिकरण गरिन्छ । यसबाट पर्यटनले कस्तो असर भोगिरहेको छ ?
हाम्रो पर्यटनमा पचास वर्षभन्दा लामो समयदेखि काम गरेका अनुभवी पनि छन् । तर, जुनसुकै दलको सरकार आए पनि आसेपासेलाई नियुक्ति दिइन्छ । यो रोग हवाई क्षेत्र, पर्यटन बोर्ड, विकास समितिहरू, नेपाल ट्रष्ट जताततै देखिन्छ । यसबाट उत्साहजनक परिणाम आउन सकेन । त्यसैले पर्यटनको नीति निर्माण, विकास र मार्केटिङमा अनुभवी र विज्ञहरूलाई समेटिएमा मात्र राम्रो हुन्छ ।  

हामीलाई संख्यात्मक रुपमा धेरै पर्यटक चाहिएको हो कि गुणात्मक पर्यटक ?
पक्कै पनि गुणात्मक पर्यटकबाट राज्यले बढी राजश्व पाउँछ । यसो भन्दैमा हामीले बजेट ट्राभलरलाई कम आँक्न मिल्दैन । अर्थतन्त्रमा तिनको पनि ठूलो योगदान छ । अब हामी हाइ इन टुरिष्ट मात्र भित्र्याउँछौं भन्न सक्ने अवस्था छैन किनकि विश्व बजारमा नेपाल सबैका लागि खुला भैसक्यो । हो, हामी व्यवसायी र सरकारले गुणात्मक पर्यटक भित्र्याउन पहल गरिराख्नु पर्छ ।

एकैछिन हेरौं त, सानो भूगोल भएको नेपालमा जातीय, सांस्कृतिक, प्राकृतिक, जैविक र धार्मिक विविधताको समिश्रण छ । एक हिसाबले भुस्वर्गै हो नेपाल । विवेक पुर्‍याएर काम गर्न सके हिमाल, पहाड र तराई सबैतिर पर्यटन फस्टाउन सक्छ । राम्रो पूर्वाधार विकास गरेर बजारीकरण गर्न सक्यौं भने वर्षमै लाख होइन, करोडौं पर्यटक भित्र्याउन सक्ने अवस्था आउँछ । त्यसका लागि हामीले आजैदेखि काम गर्नुपर्छ ।

नेपालको पर्यटन विकास कुन गतिमा भैरहेको छ ? के हामी सन्तुष्ट हुने अवस्था छ ?
अहँ सन्तुष्ट हुने अवस्था छैन । मेरो अनुभवमा आजभन्दा एक दशकअघिको भन्दा र आज धेरै परिवर्तन भएको छ । पहिला क्वालिटी टुरिष्ट बढी आउँथे, खर्चिला पर्यटक आउँथ्यो । संख्या कम भए तापनि आशलाग्दो हिसाबमा राजस्व संकलन हुन्थ्यो । तर, आज प्रविधिको जमानामा इन्टरनेटका कारण ओपन मार्केटमा प्राइस वार चलिरहेको छ । हामी व्यवसायी नै ज्यादै सस्तो मूल्यमा पर्यटन प्याकेज बेचिरहेका छौं । कतिपयले दश वर्ष अघिको भन्दा पनि सस्तो पदयात्रा प्याकेज बेचिरहेका छन् । यसले कसरी मुलुक उँभो लाग्छ ? यसमा सरकारको मात्र होइन, हामी व्यवसायीको पनि दोष छ । इलिगल अपरेसन पनि भैरहेको छ जस्तो कि म्यानपावर कम्पनी, आइएनजिओ, एनजिओले ट्राभल तथा टे«किङ प्याकेज चलाउने काम गरेका छन् । यसलाई रोक्ने दायित्व सरकारको ।

पूर्वाधार विकासका हिसाबले हामी कहाँ छौं ?
भैरहवामा गौतम बुद्ध विमानस्थल बन्दैछ र पोखरा क्षेत्रीय विमानस्थलका रुपमा रुपान्तरण भएपछि केही सहज हुनेछ । पोखरामा त भारत र चीनबाट मात्र उडान गर्न सकिनेछ । निजी क्षेत्रको कुरा गर्दा होटलमा लगानी बढेको छ । कोठा पुग्दैन भनेर आत्तिनु पर्ने अवस्था छैन । काठमाडौंकै कुरा गर्दा अक्टुबर/नोभेम्बरमा होटलको अकुपेन्सी ५० प्रतिशत मात्र हुन्छ । होटल खुलेअनुसार चाहिनेभन्दा कम पर्यटक नेपालमा आएका छन् । स्थापित गन्तव्यहरूमा होटलको दुःख छैन । साथै सडक, बिजुली, खानेपानीजस्ता पूर्वाधारमा सरकारले लगानी गर्नुपर्छ ।

भ्रमण वर्षकै कुरा गरौं, सरकारले भिसा शुल्क घटाएर पर्यटक आकर्षण गर्न सकिन्छ कि ?
भिसा शुल्क घटाउँदैमा पर्यटक आउँदैनन् । हावाको भरमा पर्यटक आउँदैनन् । तपाईंले केही दिनु भयो भने न आउँछन् । दिन चाहिँ केही नदिने, आऊ मात्र भनेर हुन्छ ? होटल र ट्राभल/ट्रेकिङले सम्मानस्वरुप डिस्काउन्ट दिइरहेका छन् । सरकार चाहिँ के दिँदै छ त ? भ्रमण वर्षमा नेपाली मौलिकता झल्कने कार्यक्रम खोई ? नेपाल भित्रिने बित्तिकै नेपालीपन, आत्मीयता र मिठासको वातावरण दिन सक्नु पर्‍यो नि । आएका पर्यटक नेपालको पर्यटन दूत बनेर फर्कने वातावरण सरकारले बनाउनु पर्छ ।

गुणस्तरीय पर्यटक कसरी बढाउन सकिन्छ ?
सडक र हवाई यात्रा सहज र शुलभ हुनुपर्छ । उनीहरूका आवश्यकताअनुसारका होटल, रिसोर्ट र प्याकेज बन्नु पर्छ । र, बाहिर हामीले निम्तो बाँड्न सक्नुपर्छ । यसमा निजी क्षेत्रसँग सरकारले हातेमालो गर्नुपर्छ । दुःखको कुरा नेपालमा धेरै सस्तो खालका पर्यटक आउने भएकाले अहिले मिडिल क्लासका पर्यटकलाई पनि  महँगो पर्यटकजस्तो सम्झने वातावरण बन्दैछ । 

अहिले कतिपय भारतीय ट्राभल ऐजेन्टमार्फत नेपालमा सांस्कृतिक भ्रमण गर्ने हाइ क्लासका पर्यटक आइरहेका छन् । नेपाली व्यवसायीले सोझै तिनलाई ल्याउने वातावरण बनाउन सरकारले सेवा, सुविधा दिनुपर्छ । विदेशमा हुने मेलापर्वमा जाँदा त्यहाँको स्टल भाडामा लिन सरकारले सघाउनु पर्छ । हामीले डाइरेक्ट मार्केटिङ गर्नुपर्छ ।  

सबैले पर्यटनलाई नेपालको सम्भावनाको क्षेत्र भन्छन्, तपाईंको अनुभवले के भन्छ ?
के हामी ठूलठूला उद्योग खोल्न सक्छौं ? खोलेर सामान कहाँ निर्यात गर्ने ? त्यसैले पर्यटन जत्तिकै सजिलो, राम्रो र सफल व्यवसाय नेपालमा अर्को हुन सक्दैन । एकदमै सानो लगानीमा पनि पर्यटन उद्योग सञ्चालन गर्न सकिन्छ । एकजना पर्यटक नेपाल आउँदा त्यसबाट प्रत्यक्ष र अप्रत्यक्ष धेरैले फाइदा पाउँछन् । हाम्रो हिमाल, पहाड र तराई सबैतिर पर्यटनको सम्भावना छ । प्रकृतिले हामीलाई अथाह सम्पदा सित्तैमा दिएकी छिन् । तिनको सदुपयोग गर्दै उद्यमशीलता विकास गरेर हामीले रोजगारी सृजना गर्नुपर्छ ।

बुद्ध जन्मभूमि लुम्बिनी हाम्रै देशमा छ तर हामीले त्यहाँ सोचेजति पर्यटक ल्याउन सकेका छैनौं, किन ?
लुम्बिनीमा संसारभरका बौद्धमार्गीलाई ल्याउन सक्छौं । यसको प्रचारमा सरकारले नै पहल गर्नुपर्छ । आज आएका पर्यटक पनि केही घण्टा मात्र लुम्बिनी घुमेर फर्कन्छन् । उनीहरूलाई दुई–चार दिन त्यहाँ बसाउने वातावरण बनाउनु आवश्यक छ । योग, ध्यान र मनको शान्तिका लागि लुम्बिनीको विकास गर्न सकिन्छ ।

नेपालमा भित्रिने पर्यटकमा निजी क्षेत्र र सरकारको योगदान कति छ ?
हामी व्यवसायी निजी क्षेत्रको पहलका कारण यी पर्यटक आएको दाबा गर्छौं । सरकार र पर्यटन बोर्ड आफ्नो कारणले आएको भन्छन् । मलाई लाग्छ, नेपाललाई माया गर्ने विदेशीको माउथ टु माउथ विज्ञापन र उनीहरू दोहोरिएर आउने कारणले आज १२ लाखको हाराहारीमा पर्यटक आउने सम्भव भएको हो । त्यसैले यसमा नेपालप्रेमी विदेशीको बढी योगदान छ । एक चोटी आएर सगरमाथा घुमेको पर्यटक अर्को पटक अन्नपूर्ण घुम्न आउँछन् । फेरि अर्को पटक रसुवा घुम्छन् । तर, अबको गन्तव्य खप्तड, अपिशैपाल, डोल्पा, हुम्लालगायत पश्चिम क्षेत्रका सम्पदा हुन् ।

कर्णाली प्रदेशदेखि पश्चिमका गन्तव्यमा पर्यटक कम गइरहेका छन्, त्यहाँ पर्यटक आकर्षित गर्न व्यवसायी र राज्यले के–के गर्नु पर्ला ?
राज्यले केही गर्ला जस्तो लाग्दैन, हामी व्यवसायीले नै केही गर्नु पर्छ । हुम्ला, रारा र डोल्पामा सडक यातायातको कुरा छोडौं, हवाई यात्रा पनि सहज छैन । एक त विदेशबाट काठमाडौं आउने हवाई टिकट नै महँगो छ । त्यसमाथि पनि काठमाडौंबाट सुदूरपश्चिम र कर्णाली प्रदेश उडान गर्न पनि महँगो छ । त्यसैले हामीले भारतमा रहेका टे«किङ र ट्राभल कम्पनीको सहयोगमा सोझै सुदूरपश्चिम र कर्णालीमा तान्ने पहल गरिरहेका छौं । त्यसका लागि केही प्याकेज पनि बनाइसकेका छौं । सीमावर्ती भारतीय सहर हुँदै वाइल्ड वेस्टमा ल्याउने प्रयास गर्दैछौं ।

‘वाइल्ड वेष्ट ट्रयांगल’ अवधारणा के हो ?
हामीले सुदूरपश्चिम र मध्यपश्चिमलाई पर्यटनले जोड्न वाइल्ड वेस्ट ट्रयांगल अवधारणा ल्याएका हौं । नेपालगञ्जबाट राराताल उडेर रारा घुमेपछि फर्केर बर्दिया राष्ट्रिय निकुञ्ज घुम्ने र बर्दिया पछि शुक्लाफाँटा घुमेर धनगढीबाट काठमाडौं फर्कने प्याकेज हो यो । हामीले एकीकृत पर्यटन विकासको काम सुरु गर्दा रारामा फाट्टफुट्ट पर्यटक पुग्थे । आज राराताल आन्तरिक पर्यटकले गुल्जार भैसक्यो । बिस्तारै बाह्य पर्यटक पनि बढ्दै छन् । विदेशी पर्यटक घुमाउन चाहिँ अझै प्रचार–प्रसार चाहिन्छ ।  

आन्तरिक पर्यटक बढ्नुलाई कुन रुपमा हेरिरहनु भएको छ ?
हामी नेपालीले हाम्रो नेपाल चिन्नु, बुझ्नु र घुम्नु अति आवश्यक कुरा हो । यसबाट आर्थिक चहल–पहल बढेको छ । लगानीकर्तालाई पनि लगानी गर्ने ऊर्जा मिलेको छ । यसबाट विदेशी पर्यटकलाई पनि फाइदा पुग्छ ।
 
आन्तरिक पर्यटकको योगदान लेखाजोखा गर्नु पर्दैन ?
आन्तरिक पर्यटनले अर्थतन्त्रमा ठूलो राहत पुर्‍याएको देखिन्छ । यसको तथ्याङ्क संकलन, मूल्याङ्कन हुनुपर्छ । र, आन्तरिक पर्यटकलाई पनि राज्यले सम्मान दिनुपर्छ ।

तपाइको कम्पनीले वर्षको कति पर्यटक नेपाल ल्याउँछ ?
हामी वर्षको १५ सयभन्दा बढी पर्यटक नेपाल ल्याउँछौं । विशेषतः कोरियाली पर्यटक ल्याइरहेका छौं । सरकारले जुन देशमा ट्राभल कल्चर छ, त्यहीँ फोकस गर्नुपर्छ । हाइक्लास पर्यटकका लागि युरोप, अमेरिकातिर प्रवद्र्धन गर्नुपर्छ । तर, कम्बोडियाजस्तो देशमा प्रचार गरेर हुँदैन किनकि कम्बोडियालीमा घुमफिर संस्कार देखिँदैन ।

अब व्यक्तिगत कुरा गरौं, आफूलाई दिनभर कसरी व्यस्त राख्नु हुन्छ ?
मलाई देखेर मान्छे हाँस्लान् कि भन्ने डर लाग्छ । त्यो कसरी भने, कथंकदाचित बिजनेस डुब्यो भने मान्छे हाँस्छन् । त्यस्तो अवस्था नआओस् भनेर हरेक दिन सक्रिय हुन्छु । स्वदेशी तथा विदेशीहरूसँग सम्पर्क गरिराख्नु पर्छ ।
दैनिक क्रियाकलाप ?
म सुत्न पनि ढिला र उठ्न पनि ढिला हुन्छ । म दिउँसो आफ्नो कार्यालयको सेरोफेरो हिँडेरै पुग्छु । बेलुका साँढे ७ बजे घर पुग्छु । परिवारलाई धेरै समय दिन सक्दिनँ ।
खानपिन ? अलि अलि हुन्छ, ३२ वर्ष भयो पर्यटनमा लागेको । दोहोरिएर आउने पर्यटक र आफन्तसँग बसेर एक पेग लिऔं भन्ने हुन्छ । कामको धपेडीले गर्दा उमेरभन्दा बुढो देखिन्छु ?

धार्मिक गतिविधिमा कत्तिको समय दिनु हुन्छ ?
म कर्ममा विश्वास गर्छु । धार्मिक आस्था छ । म गाउँमा पढेर कक्षा ८ मा ल्याबोरेटरी स्कुलमा पढ्न आएको मान्छे हुँ । हाम्रो गाउँमा सालमुनि भगवान्को मन्दिर छ, मैले सालमुनिसँग बोका भाकल गरेको थिएँ । पास हुँ भनेर भाकल गरेको एसएलसीमा फस्र्ट डिभिजन ल्याएँ । त्यसबेलादेखि झन् आस्था बढ्यो ।

अर्को घटना मिनभवन क्याम्पस पढ्दा टेबलटेनिस खेलमा सेती अञ्चलको प्रतिनिधित्व गर्थेँ । खेलमा लाग्दा पढाइमा ध्यान दिन सेकेको थिइनँ । विकम पढ्दा फेरि एसएलसी सम्झेर सालमुनि भाकेँ, फेल हुँला भनेर डराएको मान्छे क्याम्पस टप पो गरेँ । म व्यवसायमा सफल हुनुमा पनि सालमुनिको आशीर्वाद छ ।

परिवारमा को–को हुनुहुन्छ ?
बुबामुमा गाउँमै हुनुहुन्छ । यता काठमाडौंमा श्रीमती, छोरी, छोरा र म बस्छौं । दुई छोरीमध्ये, जेठी छोरी डाक्टर छिन, सानी छोरी अष्ट्रेलियामा र छोरा काठमाडौंमै पढ्दै छन् । श्रीमती सामाजिक काममा सक्रिय छिन् ।  

प्रकाशित: १७ माघ २०७६ ०७:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App