अन्य

अस्ट्रेलियन मरुभूमिको अनुभव

डा. शैलेन्द्र सिग्देल
उलुरुको भ्रमणका लागि हामी मेलवर्नबाट विमानको करिब ३ घण्टाको यात्रा गरेका थियौं । उलुरु सडकबाट पनि जान सकिन्छ तर सडकबाट यात्रा गर्न मेलवर्नबाट गरिब ३ दिनको समय लाग्ने रहेछ तसर्थ यसलाई अस्ट्रेलियाको विकट स्थानको रुपमा हेरिन्छ । यस क्षेत्रको यात्रा गर्नुलाई ठूलो उपलब्धि मानिने रहेछ ।

स्थानीय भाषामा उलुरु भनिने आयरस रक मध्य अस्ट्रेलियामा अवस्थित छ । यो बालुवाबाट बनेको सबभन्दा ठूलो चट्टान हो ।  यसलाई एकपटक परिक्रमा गर्नका लागि ४ घण्टाको समय लाग्ने गर्छ र यसको कुल लम्बाई १० किलोमिटर रहेको छ । मध्य अस्ट्रेलियाको विकट मरुभूमिमा अवस्थित भए पनि यो निकै चर्चित स्थान हो । यो चट्टान स्थानीय जनजाति आदिवासीहरुका लागि ज्यादै पवित्र स्थल हो । यससँग जोडिएका थुप्रै किम्बदन्तीहरु रहेका छन् ।

यस क्षेत्रमा स्थानीय जनजातिहरु १०,०००  वर्षअघिदेखि बसोबास गर्दै आएका भए पनि गोरा जातिहरु पहिलोपटक सन् १८७० मा मात्र आएका थिए । हाल यस क्षेत्रमा आदिवासीहरुको बसोबास ज्यादै न्यून रहेको छ ।

उलुरु विमान स्थलमा उत्रँदा हामीलाई विश्वास हुन सकेन कि अस्ट्रेलियामा पनि यति सानो विमानस्थल हुँदो रहेछ भनेर सिड्नी, ब्रिसबेन र मेलवर्नका ठूला–ठूला विमानस्थलमा अभ्यस्त हामीलाई यो विश्वास गर्न नै गाह्रो पर्‍यो । जे होस् विमानबाट उत्रँदा हामीलाई धनगढी विमानस्थलको याद दुई कुराले आयो पहिलो यो धनगढी विमानस्थल जस्तै सानो थियो भने दोस्रो यहाँको तापक्रम पनि गर्मी बेलाको धनगढीको जस्तै  थियो ।

३ घण्टाको विमान यात्राबाट आउँदा हामीलाई महसुस भयो कि अस्ट्रेलिया भन्ने देश विशाल मात्र होइन कति बिरान पनि रहेछ । समुद्री तटमा रहेका ठूला–ठूला शहरहरुलाई बिर्सिदिने हो भने अस्ट्रेलिया त मरुभूमिको राष्ट्र भन्न सकिने रहेछ । ३ घण्टाको हवाई यात्रामा राता माटा र चकमन्न बस्तीबाहेक हामीले केही पनि देखेनौं ।  

विमानस्थलबाट उत्रेपछि हाम्रो भ्रमणको सही  सुरुवात भयो । पहिले नै बुक गरिएको प्राडोजिपमा यात्राको सुरुवात गर्नतिर लाग्यौं । हाम्रो पहिलो गन्तव्य भनेको हाम्रो बासस्थान आयरस रक रिसोर्ट थियो । विमानस्थलदेखि  रिसोर्टसम्मको २० मिनेटको यात्राले नै हामीलाई रोमाञ्चित गरायो । यात्राको दौरान हामीले न कुनै बस्ती देख्यौ न त कुनै प्राणी । यसबाट हाम्रा आउने यात्राहरु रोमाञ्चक हुने आभास भइसकेको थियो ।

मरुभूमिको बीचमा पनि सुविधासम्पन रिसोर्ट देख्दा हामी आश्चर्य चकित भयौं । यस्तो दुर्गम बस्तीमा यो कसरी निर्माण भयो होला । यहाँ आवश्यक पर्ने सामान कसरी आउँछ होला भन्ने जिज्ञासा आइरह्यो ।  तर हामीले के पनि अनुभूति गर्‍याैं भने मानिसहरुले आँट गरे नहुने कुरा केही पनि रहेनछ । होटेलमा सीमित मेन्युको खाना मात्र उपलब्ध हुने भएकोले हामी खाना लिएर दिउँसो दुई बजे उलुरुको यात्रामा लाग्यौं । होटेलबाट आधा घण्टाको यात्रापछि हामी चट्टानमा पुग्यौं । यो चट्टान साच्चै नै भीमकाय थियो । नेपालमा थुप्रै पहाड र हिमाल देखेका हामीलाई यो चट्टान देख्दा नौलो अनुभूति भयो  । यो चट्टान नभएर कुनै धार्मिक स्थलमा आएको महसुस भयो । हामी सबैले टाढाबाट हेर्दा यसलाई विशाल हात्तीको आकृति भएको पायौँ ।भगवान् बास गर्ने पवित्रस्थल जस्तो पछि स्थानीयसँग कुरा गर्दा त्यहाँका बासिन्दा यसलाई पवित्र भूमिको रुपमा मान्दा रहेछन् ।  

करिब ५० डिग्रीको तापक्रम पुग्ने उक्त स्थानमा पर्यटकको स्वास्थ्यलाई ध्यानमा राखेर बिहान ९ बजे पश्चात् पदयात्रा गर्न अनुमति रहेनछ तसर्थ हाम्रो टोलीले भोलिपल्ट बिहान ५ बजे उलुरुको पदयात्रा गर्यौँ । सूर्याेदय र सूर्यास्त हुँदा उलुरुको चट्टानको रंग परिवर्तनले हामीलाई अचम्मित तुल्यायो । चट्टानको विभिन्न स्थानबाट अवलोकन गर्दा विभिन्न रंगमा देखिने रहेछ । त्यो कसरी सम्भव भयो, हाम्रो टोलीले त्यसको जवाफ पाउन सकेन ।

जे होस् उलुरु र यसका आसपासका क्षेत्रले हामीलाई अचम्मित तुल्यायो । करिब एक रातको बसाइ र ५ घण्टाको यात्रापछि पनि हामीले कुनै बस्ती फेला पर्न सकेका थिएनौँ । संयोगवश यस्तो दुर्गम स्थानको रिसोर्टमा पनि एकजना नेपाली भेट्ने अवसर प्राप्त गर्‍याैं र उनको भनाइमा त्यहाँ करिब ४० जना नेपाली कार्यरत छन् । प्रायजसो ‘पर्मानेन्ट रेसिडेन्स’ का लागि नम्बर प्राप्त गर्न त्यस ठाउँमा आएको कुरा हामीले थाहा पायौँ । उनी नेपालीले दिएका सूचनाको  आधारमा  उलुरुमा रहेको एक मात्र आदिवासी बस्ती जाने निर्णय गर्‍यौँ । त्यो बस्ती जान त्यति सहज थिएन र मूल प्रवेशमा प्रहरीको अनुमति जरुरी थियो । तर हामी त्यहाँ पुग्दा प्रहरी नभेटेको कारण हामी बस्तीभित्र छिर्‍यौँ ।

बस्तीको अवस्था देख्दा हामी अस्ट्रेलियामा छौँ भन्ने कुनै आभास भएन । यो बस्ती तराईको मुसहर र डोम जाति बस्ने बस्तीभन्दा कुनै कम थिएन । फोहोर बस्ती, ठाउँठाउँमा पानी जमेका, यत्र तत्र बोतलहरु फालिएका, बिग्रिएका बाइक  इत्यादि । वास्तवमा भन्ने हो भने हामीले केही कुरा पनि सध्ये पाउन सकेनौँ । बस्तीको अवस्था देखेर हामी अचम्मित भयौँ । यत्रो धनी राष्ट्र अस्ट्रेलियामा पनि यस्तो हुन्छ भन्ने हाम्रो कल्पना बाहिरको कुरा भयो । यो जातिको विकास हुन नसक्नुमा तीन प्रमुख  कारण रहेको कुरा हामीले थाहा पायौँ । पहिलो उनीहरु परिवर्तन हुन नै चाहँदैनन् र आफ्नो संस्कृतिलाई बचाई राख्न चाहन्छन् । दोस्रो मध्यपान समुदायको सामाजिक स्वीकार्य चलन ‘सोसियल नम्र्स’ रहेछ । परिवारमा पुरुष सदस्यहरु बिहानदेखि मध्यपान गर्ने चलन रहेछ । तेस्रो उनीहरुको गोराप्रति ठूलो आपत्ति किनभने उनीहरुको देशलाई आफ्नो आधिपत्यमा राखेकोमा उनीहरुको ठूलो गुनासो छ ।

तसर्थ सरकारले जतिसुकै सहयोग गरे पनि उनीहरु परिवर्तनका लागि तयार नै छैनन् । यो क्षेत्रको भ्रमणलाई अस्ट्रेलियनहरु साहसिक पर्यटनको रुपमा लिने गरेका छन् । उलुरु बसाइको हाम्रो अन्तिम गन्तव्य त्यहाँ अवस्थित सूचना केन्द्र थियो । सूचना केन्द्रमा आदिवासीहरुको इतिहास, उनीहरुको चालचलन र संस्कृतिको बारे थुप्रै जानकारी प्राप्त भयो । १००० वर्षभन्दा अघि त्यहाँका बासिन्दाको मूल खाना भनेको जंगली जनावर मात्र रहेको रहेछ । उनीहरु कंगारु र इमु ९एकप्रजातिको ठूलो चरा)  मारेर आफ्नो जीवन निर्वाह गर्ने गरेका रहेछन् ।

सूचनाकेन्द्रको सबैभन्दा रोचक पक्ष के रह्यो भने हामी बाहिर निस्कने बेलामा आदिवासीको एक परिवारसँग जम्का भेट भयो । उनीहरुलाई देख्दा हामी अचम्मित भयौँ । ४ जनाको परिवारमध्ये सबैको पहिरन असाध्यै फरक मात्र होइन करिब ६ वर्षको बालिका र ८ वर्षको बालकले माथि पट्टि कुनै लुगा लगाएका थिएनन् । अनि ४ जनाको खुट्टामा जुत्ता पनि थिएन । यो दृश्य देख्दा हामी अचम्मित भयाैं  र हामीलाई फोटो खिच्ने तिव्र इच्छा भयो । तर हामीलाई फोटो खिच्ने साहस आएन किनभने उनीहरुलाई बाहिरका मानिसले फोटो खिचेको मन पर्दैन भन्ने कुरा हामीलाई बताइसकेको थियो । जे भए पनि अस्ट्रेलिया जस्तो समृद्ध राष्ट्रमा यस प्रकारका नागरिक रहन्छन् भन्ने हाम्रो कल्पना बाहिरको कुरा थियो ।

दुई दिनको उलुरुको बसाइपछि हामी अर्को गन्तव्य एलिस स्प्रिङ तिर लाग्यौँ । उलुरुबाट करिब ५ घण्टाको यात्रा पनि रोमाञ्चित नै रह्यो । मरुभूमिको बीचबाट गएको करिब ५ सय किलोमिटर बाटोको यात्रामा कुनै पनि बस्ती रहेको थिएन । यात्राको दौरान गाडी रोकेर विश्राम गर्ने ठाउँ पनि थिएन । बाहिरको तापक्रम ४५ डिग्रीभन्दा पनि बढी भएकोले गाडी रोकी आराम गर्ने ठाउँ पनि थिएन । यात्राको दौरान दुईवटा पेट्रोल पम्पको अलावा अन्य कुनै पसल थिएनन् । पाँच घण्टाको यो मरुभूमिको यात्रा निकै नै चाखलाग्दो रह्यो । मरुभूमि भए पनि साना–साना बुट्टाहरु भने प्रशस्त थिए । यस यात्राको अर्काे रोचक पक्ष भनेको बालुवाको आँधि थियो ।

यात्राको दौरान हामीले करिब ५० वटा जति बालुवाका आँधिहरु देख्यौ तर ती आँधिहरु त्यति बलियो नभएकोले हामीलाई खासै असर परेन  । यस यात्राको रोचक पक्ष भनेको ५ घण्टाको यात्रामा हामीले ज्यादै थोरै गाडी भेट्टायौँ । तसर्थ यो यात्रामा गाडी बिग्रनु भनेको ठूलो संकट निम्त्याउनु हो तर यस मानेमा हामी भाग्यमानी रह्यौँ । एलिस स्प्रिङलाई अस्ट्रेलियाको दुर्गम स्थल मध्य भागको विश्राम लिने शहरको रुपमा लिइने गरिन्छ । यहाँबाट उत्तरको डार्बिन शहर र दक्षिणको एडिलेड पुग्न करिब १६०० किलोमिटरको यात्रा गर्नुपर्ने रहेछ ।

उलुरुबाट एलिस स्प्रिङ पुग्दा हामी शहरमा पुगेको आभास भयो । दुर्गम स्थानमा भए पनि एलिस स्प्रिङमा बस्न र खानका लागि सुविधाहरु थिए । प्रचण्डगर्मीको बाबजुद पनि त्यहाँको बस्ती ठूलो नै थियो । गोरा, आदिवासीहरु थुप्रै भेट्ने अवसर मिल्यो । केही नेपालीहरुसँग पनि भेट भयो । ४५ डिग्रीभन्दा पनि बढी गर्मीमा बसेर काम गरेका नेपाली देख्दा हामीलाई अच्चम लाग्यो  । कसैले पनि कुनै गुनासो गरेनन् ।

एलिस स्प्रिङको अर्काे रोचक पक्ष भनेको स्थानीय आदिवासीको बाहुल्यता थियो । शहरको स्टोर र रेस्टुराँहरुमा प्रशस्त मात्रामा आदिवासीहरु रहेको भेटियो । तर उनीहरुको भेषभूषा, बोलाइ, सरसफाइ हेर्दा नेपालका दुर्गम स्थानमा रहेका जनजातिहरुसँग तुलना गर्न सकिन्छ ।

दुई दिनको एलिस स्प्रिङको बसाइको दौरान त्यहाँको महत्वपूर्ण स्थानहरुको अवलोकन गर्ने मौका मिल्यो । प्रचण्ड गर्मी र न्यूनतम सुविधाहरुको अभावमा पनि कसरी त्यहाँ पर्यटकहरु आउँछन् भन्ने कुराले हामीलाई सधैँ झस्काइरह्यो । २ दिनको एलिस स्प्रिङ बसाइपछि हाम्रो तेस्रो गन्तव्य किंग्स क्यानियन थियो । एलिस स्प्रिङबाट फेरि ६ घण्टा लामो मरुभूमि यात्रामा हामी लाग्यौं । यहाँ पनि मौनता र उराठ वातावरणबाहेक केही पनि पाएनौं । यात्राका लागि ल्याएको पानी ३ घण्टामा सकियो किनभने गर्मीले गर्दा पानीको खपत बढी भइरहेको थियो । यात्राको ४ घण्टापछि हामीले पानीको अभाव महसस ग¥र्यौँ । जसोतसो गरी ६ घण्टामा हामी हाम्रो गन्तव्यमा पुग्यौँ ।

विकटताको हिसाबले किंग्स क्यानियन र एलिस स्प्रिङको तुलना नै हुँदैन । यति विकट ठाउँ हुँदाहुँदै पनि त्यहाँ रहेको एक मात्र रिसोर्टले हामीलाई अचम्मित गरायो । सुविधा सम्पन्न होटेलमा सबै कुरा प्राप्त गर्न सकिन्थ्यो । हाम्रो टोलीले क्रिसमसको डिनर त्यही रिसोर्टमा खायौं । खाना अलि महँगो भए पनि खानाको स्तर उच्च नै थियो । अलि ढिलो गरी पुगेको हुनाले हामीले त्यहाँको चट्टान चढ्न पाएनौं । तर टाढाबाट हेर्दा त्यो बढो सुन्दर देखिरहेको थियो । त्यस दिनको तापक्रम ४५ डिग्री रहेकोले चट्टानमा जान निषेधित गरिएको थियो । तर गाडीबाट नियाल्दा त्यो चट्टान

नेपालको चुरे पर्वतजस्तो आभास हुने गर्दथ्यो भोलिपल्ट बिहान ५ बजे हामी एयरपोर्टका लागि हिँडेका थियौं । यात्राको दौरान देखिएको सुर्याेदय अविष्मरणीय थियो । विगतमा अस्ट्रेलियाको भ्रमण गर्दा सुविधा सम्पन्न शहरहरुमा घुमेका हामी, अस्ट्रेलिया पनि यति विकट छ भन्ने कुरा हाम्रो कल्पना बाहिरको थियो  । अस्ट्रेलियाको दुर्गमतासँग परिचित हुन उलुरु र एलिस स्प्रिङ जानै पर्ने ठाउँ हो । यसमा कसैको दुईमत छैन ।
 

प्रकाशित: १३ माघ २०७६ ०७:४० सोमबार

यात्रा_संस्मरण नागरिक परिवार