अन्य

गोकर्णेश्वर नगरपालिकाले राष्ट्रिय कविता महोत्सव गर्ने

गोकर्णेश्वर नगरपालिकाको आयोजनामा आगामी फागुन १६ गते देशव्यापी राष्ट्रिय कविता प्रतियोगिता महोत्सव हुने भएको छ।  गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले नगरपालिकालाई साहित्यिक  क्षेत्रका रूपमा परिचित गराउन प्रतियोगिता आयोजना गर्न लागिएको बताए।

‘भैरव अर्याल, रमेश विकललगायत महान् स्रष्टाको जन्मभूमि तथा कर्मभूमिका रूपमा परिचित गोकर्णेश्वर नगरपालिकालाई साहित्यको केन्द्र बनाउनु प्रतियोगिताको लक्ष्य हो,’ चालिसेले भने, ‘प्रतियोगितालाई भव्य र सभ्य गर्ने तयारीसहित लागिपरेका छौं।’

महोत्सवलाई सफल बनाउन चालिसेको संरक्षकत्व एवं साहित्यकार गोविन्द घिमिरे वेदमणिको संयोजकत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ। देशको संविधान र कानुनविरुद्ध नहुने शीर्षकमा आधारित भई बढीमा २ सय शब्दसहितको कविता प्रतियोगिताका लागि योग्य मानिने बताइएको छ।

प्रतियोगिता प्रदेशस्तरको पनि हुने भएकाले पहिलो, दोस्रो, तेस्रो एवं सान्त्वना पुरस्कारका लागि केन्द्रस्तरमा सर्वोत्कृष्ट कविताहरू छुट्ट्याएपछि प्रदेश स्तरका उत्कृष्ट तीन कविता छुट्ट्याइने महोत्सव संयोजक गोविन्द घिमिरेले जानकारी दिए।

प्रतियोगिताको निष्पक्षता र विश्वसनीयता कायम गर्न स्थापित मूल्यांकन पद्धतिका आधारमा विज्ञ समूहबाट मूल्यांकन गराइने र उच्चतम श्रेणीमा आएका कवितामध्ये बढीमा ४० जनासम्मलाई वाचनका लागि सिफारिस गरिने भएको छ। पहिलो, दोस्रो, तेस्रो एवं सान्त्वना दुई गरी  गरी पाँच जनालाई क्रमशः ५१ हजार, ३१ हजार, २१ हजार, १० हजार र प्रतिप्रदेश ३ जनाको दरले २१ जनालाई जनही ५ हजारका दरले नगद, प्रमाणपत्र र दोसल्ला रहने जानकारी दिइयो।

नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विजय आचार्यलाई प्रतियोगिताको सदस्य सचिव तोकिएको छ।  प्रतियोगिता गोकर्णेश्वर नगरपालिका–८ आरुबारी चोकमा हुनेछ।

प्रकाशित: ११ माघ २०७६ ०४:१७ शनिबार

कविता_प्रतियोगिता