अन्य

शैलुङमा हिउँफूल

तामाङ भाषाको शब्द ‘शैलुङ’को नेपाली अर्थ हुन्छ–सय थुम्का। धानको थुप्रो जस्ता दर्जनौं थुम्का। कुनै अग्ला त कुनै होचा। जुन थुम्कामा चढेर हेरे पनि सेताम्मे हिमाल देखिन्छन्। हिमाल पनि कति हुन् कति ! पश्चिमको अन्नपूर्ण, मनास्लु, लमजुङदेखि गणेश हिमाल, लाङटाङ, गौरीशंकर, सगरमाथा र नुम्बुरसम्म दर्जनौं हिमालहरू। एक टकले हेरिरहूँ जस्तो। क्यामेराले खिचिरहूँ जस्तो ! २२० डिग्रीमा हिमाली श्रृङ्खला।

दोलखा र रामेछापको साँधमा छ शैलुङ (३,१५० मिटर)। १० वर्ग किमिमा फैलेको शैलुङमा एक दर्जन सामुदायिक वन छन्। त्यहाँ १०८ भन्दा बढी किसिमका जडीबुटी पाइन्छ। साथमा किसिम किसिमका जनावर र चराचुरुङ्गी पनि।

किंवदन्ती अनुसार उहिल्यै बौद्ध गुरुले मुठीमुठी चामल राखेका थिए। त्यही मुठी बढेर थुम्का बनेका रे ! डाँडामा चैत्य, गुरु पद्मसंभवका पाइला र शैलुङेश्वरको मन्दिर छ। त्यसैले हिन्दू र बौद्धमार्गीको साझा तीर्थस्थल बनेको छ शैलुङ।  

डाँडामा तीन वटा ठूला ढुङ्गा छन्। बाघ, गाई र गंगटो आकारका। तिनलाई भक्तजन पुज्छन्। त्यति मात्र होइन, बौद्ध मन्त्र लेखिएका झण्डा अर्थात् धज्र्यू र लुङदारले डाँडा रंगीन छन्। पर्यटन अभियन्ता दाबा सङबु शेर्पाका अनुसार त्यहाँका चैत्यमा बत्ती बाल्दा काठमाडौंको स्वयम्भूनाथ र बौद्धनाथमै बाले सरह पुण्य मिल्छ। 

डाँडामा दुई पटक ठूलो मेला लाग्छ। जनै पूर्णिमा अघि बौद्धमार्गीको भीड लाग्छ भने बाला चर्तुदशीमा हिन्दूको। पितृको सम्झनामा बत्ती बालेर बौद्धमार्गी मन्त्र जप्छन्। हिन्दू सत्बीज छरेर पितृ तार्छन। त्यसैगरी कुशे औंशी, जनै पूर्णिमा र ल्होसारमा पनि मेला लाग्छ।

डाँडाको एउटा ओढारमा बसेका छन् शैलुङेश्वर। महादेवको दर्शन गरेमा मनोकांक्षा पूरा हुने जनविश्वास। मन्दिर नजिकै दुइटा गुफा छन्–गोदावरी र धर्म नाउँका। गोदावरी गुफामा हरेक १२ वर्षमा मेला लाग्छ। त्यहाँ दूध कुण्ड छ। मेला लाग्दा मात्र कुण्डबाट दूध झर्ने शेर्पा बताउँछन्।

कालिन्चोक चम्किसक्यो, अब चम्कने पालो शैलुङको। पुस–माघमा हिउँ, चैत–वैशाखमा गुराँस, असार–साउनमा हरियाली र असोज–कात्तिकमा हिमाली सौन्दर्यमा उज्यालिन्छ शैलुङ। शैलुङ बेस क्याम्प खोलाखर्कमा सामान्य होटल छन् जहाँ खाना खाएर सुतेको पाँच सय रुपैयाँ तिर्नुपर्छ। खोलाखर्कसम्म मोटरबाइक, जिप वा बसमा जान सकिन्छ।

शैलुङमा पर्यटनको घाम लाग्न थालेको एक दशक हुन लाग्यो। विसं २०६६ मा आदिवासी जनजाति पदमार्ग खुलेसँगै यसको चर्चा चुलियो। ६ रात ७ दिने पदमार्गमा पदयात्रीहरू खोलाखर्क, सुर्के, दोरम्बा, खाँडादेवी, झिलदेवी र लुभुघाटका होमस्टेमा बास बस्छन्। यात्रामा शेर्पा, नेवार, थामी, तामाङ हयोल्मो र माझी संस्कृतिको मौलिक सुवास पाइन्छ।

समयसँगै मोटर बाटोको विकासले पदमार्ग मासियो। अचेल सबैतिर मोटरमा सरर घुम्न सकिन्छ।  साँच्चै धर्तीकै स्वर्ग हो शैलुङ जहाँ पुग्दा शरीर चंगा बन्छ। मनमा ऊर्जा बढ्छ। आध्यात्मिक भावना बढ्छ। त्यही पावन भूमिमा तेस्रो पटक पाइला टेक्ने अवसर जु¥यो पुस २५ गते। पहिलो पटक पर्यटनविज्ञ रामचन्द्र सेढाइसँगै ०६६ साउनमा जनै पूर्णे मेला भर्न पुगको थिएँ। दोस्रो पटक विसं ०७१ माघमा साथीहरूसँग  र यसपालाचाहिँ ‘जाऔं है दोलखा’ अभियानमा पुगें।

एउटा जिपमा हामी ८ जना (डोल्पाका शिक्षासेवी सेम्दुक लामा, यात्रा लेखक सुरेन्द्र राना, डकुमेन्ट्री मेकरद्वय भवानी शिलाकार र आयुष, अभियानका संयोजक लिलाराम खड्का, विद्यार्थी आश्रय न्यौपाने, जिपका गुरुजी र म ) थियौं। 

हामी पुग्दा शैलुङ क्षेत्रको वातावरण चिसो थियो। केही दिन अघि परेको हिउँ बिलाइसकेको थिएन। खोलाखर्कमा धुलिखेल र पनौतीका युवा होटलका आँगनमा आगो बालेर नाचगान गर्दै थिए। पहिलापहिलाको यात्राभन्दा यसपालि आन्तरिक पर्यटकको चहलपहल देख्दा आशा जाग्यो।

हामी बिहान सूर्य नउदाउँदै उकालो चढ्यौं। खोलाखर्कबाट आधा घन्टामा डाँडाको थाप्लोमा पुगिन्छ। हामी पुग्दा केही युवा सूर्यको प्रतीक्षामा उभिइसकेका थिए। तर, दुःखको कुरा उनीहरू सबैले राम्रो तयारी गरेको देखिएन। बिना तयारी हतारमा यात्रा गर्ने बानीले दुःख पाइन्छ। हिउँ खेल्न डाँडापाखामा जाँदा स्पोर्टस जुत्ता, न्याना कपडा, माकल टोपी, कालो चश्मा र लौरो साथमा हुनुपर्छ भन्ने कुरा कतिपयले ख्याल गरेको देखिएन।

अर्को कुरा, मध्यरातसम्म क्याम्प फायर गर्नु, मदिरा पिउनु र नाचगान गर्नुलाई मात्र यात्राको रमाइलो सम्झने प्रवृत्ति हाबी हुँदैछ। हाई अल्टिच्यूडमा अबेरसम्म चिसोमा बस्दा र मदिरा सेवन गर्दा स्वास्थ्यमा समस्या आउन सक्छ। यसमा हामी सबैजना सचेत बन्नै पर्छ। 

दोरम्बा गाउँपालिकाले शैलुङ विकासका लागि डिपिआर बनाइसकको रहेछ। उसले खोलाखर्क बजारलाई व्यवस्थित गर्ने, बसपार्क र पदमार्ग बनाउने योजना बनाएको छ। ती योजना पूरा भएसँगै पर्यटकलाई सहज हुनेछ।

विवादलाई पन्छाएर एकैछिन कालिन्चोकतिर फर्केर हेरौं त, त्यो पवित्र भूमि चम्केको धेरै वर्ष भएको छैन, ८ वर्ष त भयो। अब चम्कने पालो शैलुङको। पुस–माघमा हिउँ, चैत–वैशाखमा गुराँस, असार–साउनमा हरियाली र असोज–कात्तिकमा हिमालको सौन्दर्यमा उज्यालिन्छ शैलुङ।

शैलुङ बेस क्याम्प खोलाखर्क (३,००० मिटर)मा सामान्य होटल छन् जहाँ एक छाक खाएर सुतेको प्रतिव्यक्ति पाँच सय रुपैयाँ पर्छ। त्यहाँ ७ वटा होटलमा एकै पटक डेढ सय जना बास बस्न सक्छन्। ती होटललाई व्यवस्थित गरेर प्रचार गर्न सके छिट्टै आन्तरिक पर्यटकको घुइँचो लाग्न सक्छ।

शैलुङ घुमेर फर्कंदा मिठो अनुभूतिसँगै परिवार, इष्टमित्र र साथीसंगीका लागि  चौंरीको घ्यू छुर्पी, सकुटी, आलु, किवि, च्याउ लगायत कोसेली ल्याउन सकिन्छ। लोकल उत्पादन किनेर उद्यमशीलता विकासमा सहयोग पु-याउनु घुमन्तेको दायित्व हो।

हामीले पनि छुर्पी किन्यौं। र, मिठा यादहरू बोकेर ओरालो झ¥यौं। शैलुङ घुमेर धित मरेकै छैन, ‘जाऔं है दोलखा अभियान’मै वर्ष दिन भित्र फेरि एकपटक शैलुङ घुम्ने छु म। शैलुङेश्वरकी जय ! गुरु रिम्पोछेकी जय !

कसरी पुग्ने : काठमाडौं–नेपालथोक–खोलाखर्क १२१ किमि। नेपालथोक–खोलाखर्क ३१ किमि। काठमाडौंदेखि दोरम्बासम्म बसमा ५ घन्टा। बिहान ६ र ७ बजे रत्नपार्कबाट गाडी छुट्छन्। दोरम्बाबाट ३ घन्टा पदयात्रामा खोलाखर्क। अथवा काठमाडौं–खोलाखर्क रिजभ्र्ड जिपमा ५ घन्टा। अर्को रुट काठमाडौं मुढे–खोलाखर्क १३२ किमि। मुढे–खोलाखर्क २६ किमि।  

आकर्षक गन्तव्य
दाबा सङबु शेर्पा,अध्यक्ष, पश्चिमी रामेछाप पर्यटन विकास केन्द्र


शैलुङ त्रिबुद्धले तपस्या गरेको पवित्र तपोभूमि। महादेव र सृङग ऋषि लगायतका देवदेवीको बासस्थान पनि हो। प्राकृतिक दृश्यावलोकन र धार्मिक आस्थाका हिसाबले पनि आकर्षक छ। यसलाई नेपालकै आकर्षक गन्तव्य बनाउन सकिन्छ। यसका लागि हामी सडक, पानी, बिजुली, होमस्टेको विकासका काम गर्दै छौं। सबैको एकताबद्ध प्रयासले शैलुङलाई अन्तराष्ट्रिय गन्तव्यका रूपमा विकास हुनेछ।

साझा प्रयास
कमानसिंह मोक्तान,अध्यक्ष, दोरम्बा गाउँपालिका

    
शैलुङ विकासमा दोलखाका दुई गाविस शैलुङ र मेलुङ अनि रामेछापको दोरम्बा गाउँपालिका मिलेर योगदान गर्नुपर्छ। अहिले तेरो र मेरो भनेर झगडा गर्ने बेला छैन। मिलेर पहिला शैलुङलाई सिँगारौं। भोलि बृहत शैलुङ क्षेत्र विकास समिति बनाएर आम्दानीको हिसाब गरौंला भन्ने हाम्रो भनाइ हो। हामीले शैलुङ क्षेत्रको विकासका लागि डिपिआर बनाएर काम थालिसकेका छौं।

 


 

घुमफिर