अन्य

बुद्ध मूर्तिलाई अर्थपूर्ण पाठ

‘बुटिक एयरपोर्ट’ बनाउने उद्देश्यले  त्रिभुवन विमानस्थलमा १९ पुसमा गौतम बुद्धको मूर्ति स्थापना गरिएको छ। मूर्ति अनावरण कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने, ‘यात्रुको आवागन सहज हुने गरी स्थापना गर्ने योजनाअनुसारै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल यात्रुको आगमन कक्षसामुन्ने बुद्धको प्रतिमा स्थापित गरेका छौँ, जहाजबाट ओर्लनेबित्तिकै बुद्धको देश नेपालमा आइयो भन्ने अनुभव पैदा हुन्छ। यसले छुट्टै आनन्दको महसुस गराउनेछ।’

नेपालीहरू बुद्ध जन्मेको देश भनेर नेपाललाई चिनाउन पाउँदा अति नै गौरवान्वित हुन्छन् र यो गौरव सर्वसाधारणदेखि उच्च पदस्थमा पनि पाइन्छ। यसलाई सकारात्मक मान्नुपर्छ। मन्त्रीको मन्तव्यमा पनि यही कुरा झल्किन्छ। बुद्ध मूर्तिको माथि अंग्रेजी भाषामा ‘वेल कम टु द ल्यान्ड अफ लर्ड बुद्ध’ लेखिएको छ। झन्डै २४ लाखको सुनको जलप लगाएको भनिएको यो बुद्धको प्रतिमा ७० लाख रुपैयाँको लागतमा बनाइएको हो।

बुद्धसम्बन्धी जे जति काम हुन्छ, नेपालमा त्यसको उद्देश्य ‘बुद्ध वाज बर्न इन नेपाल’ भनेर विश्वलाई चिनाउने नै रहेको हुन्छ। प्राचीन लुम्बिनीको अवस्थिति सन् १८९६ मा प्राप्त भएको हो र त्यसउप्रान्त पनि लुम्बिनीमा थुप्रै काम भए,  नयाँ नयाँ कुराहरू पाइएको छ। अकाट्य रूपमा प्रमाणित भएको र मानवीय मूल्य उच्च रहेकाले  लुम्बिनी विश्वसम्पदा सूचीमा सूचीकृत भइसक्यो। तर, बुद्ध नेपालमा जन्मिएको पटक–पटक दाबी गरिरहनुको औचित्यमाथि प्रश्न गर्दा आउने अनेकमा एउटा जवाफ हो– प्रचारप्रसार। प्रचारप्रसारको यो तरिका ठीक हो र ? अन्य विषयमा उदासीन हुँदै गरिने यस प्रकृतिको नारा वा प्रचारप्रसारले के कस्तो असर पार्छ, कुनै हेक्का राखिएको पाइँदैन।

नेपालमा गौतम बुद्धको नाम लिइन्छ, बौद्ध दर्शनलाई उपेक्षा गरिन्छ। हरेकपटक उनको नाम लिएर नेपालको प्रचारप्रसार गर्ने तर बौद्ध भावनालाई बेवास्ता गर्नु हदैसम्मको बेइमानी हो।

बुद्धसँग सम्बन्धित भएर गरिने कामकुरा बुद्धको शिक्षासँग मिल्ने खालको हुनुपर्छ। स्पष्टसँग भन्नुपर्दा बौद्ध दर्शनले निर्दिष्ट गरेको दैनिक जीवन अपनाउँदा मात्रै बुद्धको शिक्षासँग आत्मसात् हुन्छ। नेपालमा गौतम बुद्धको नाम लिइन्छ, बौद्ध दर्शनलाई उपेक्षा गरिन्छ। सकारात्मक पक्षहरू  एकातिर राखेर मनोगत नभई वस्तुगत हुनुपर्छ। आत्मालोचनाका लागि नकारात्मक पक्ष खोतल्दा नेपालको एउटा पहिचान अत्यधिक भ्रष्टाचार हुने मुलुकका रूपमा पनि छ। हरेकपटक बुद्धको नाम लिई नेपालको प्रचारप्रसार गर्ने तर बौद्ध भावनालाई बेवास्ता गर्नु हदैसम्मको बेइमानी हो। विश्वभरिका तथ्यांक संकलन गरेर ट्रान्सपेरेन्सी इन्टरनेसनल नामक  अन्तर्राष्ट्रिय संस्थाले प्रत्येक वर्ष निकाल्ने प्रतिवेदनको खण्डन गर्ने नैतिक हैसियत सर्वसाधारणदेखि उच्च निकायसँग पनि हुँदैन र लाचार भएर बस्नुपर्छ। राष्ट्र सेवक भनिएका कर्मचारी सर्वसाधारणका नजरमा कामचोर, ढिलासुस्ती गर्ने र घुसखोरी हुन्। तिनै राष्ट्र सेवकका आँखामा उनका हाकिमहरू त्यस्तै भ्रष्टाचारी हुन्। संख्यात्मक रूपमा नकारात्मक कुरा थोरै होलान्, तर थोरैले पनि कति धेरै बदनाम गर्दो रहेछ भन्ने यो नमुना हो।

पृथ्वीनारायण शाहका अनुसार घुस दिने र घुस लिने दुवै राज्यका शत्रु हुन् अर्थात् आफूलाई पीडित भन्ठान्ने सर्वसाधारण पनि राज्यका शत्रु नै हुन्। बुद्धले घुस दिनेलिनेबारे  केही भनेका थिएनन् तर बौद्ध भावनालाई आत्मसात् गरेर बुझ्दा यो अनैतिक कार्य हो। घुसबाट कमाएर गरिने जीविकालाई बौद्ध जगत्मा नाजायज कर्मकै रूपमा लिइन्छ। बुद्धले अष्टांगिक मार्ग अवलम्बन गर्न भनेका छन्। त्यसमा एउटा सम्यक आजीविका पनि हो, जसमा अरूलाई हानि–नोक्सानी हुने गरी आयआर्जन नगर्नुलगायत पर्छन्। दैनिक जीवनमा पालना गर्नुपर्ने भनी निर्दिष्ट गरिएको पञ्चशीलमा चोरी नगर्नुको आशय अरूको धनसम्पत्तिमा जबर्जस्ती अधिकार नजमाउनु, ठगी नगर्नु, नलुट्नु, घुस नलिनु पनि हो। नेपालको पहिचान बुद्ध जन्मेको देशका रूपमा घोक्रो सुक्ने गरी कराउँदै गौरव गर्ने नै हो भने ‘बुद्धको शिक्षा यस्तो छ, यो शिक्षा हामी पालना गर्छाैं, बुद्ध जन्मिएको देशमा यो शिक्षाको उल्लंघन नगर्नुस्’ भन्ने हैसियत पनि राख्नुपर्छ। 

कुनै पनि प्राणीको हानि–नोक्सानी नगर्नु र काटमार पनि नगर्नु भन्ने अर्को उपदेश छ, बुद्धको। तर, धर्म, संस्कृति, संस्कार र परम्परा भन्दै बुद्धको अहिंसात्मक शिक्षाको अनादर गर्ने मुलुक पनि नेपाल नै हो। राज्यकोषबाट अनुदान नै दिएर पशुपक्षी आयात गर्ने र धेरैभन्दा धेरैले किनमेल गरेर काटमारमा सरिक होऊन् भनेर वातावरण बनाइदिने तथा हत्याहिंसाको औचित्य साबित गर्ने काम पनि प्राथमिकतामा पर्छ। बुद्धको शिक्षा पालना गर्छौं, काटमारमा सरिक हुन्नौं भन्नेहरू राणा कालमा राज्यबाटै कोपभाजन हुनुपरेको दृष्टान्तमा एउटा सानो उदाहरण धर्मादित्य धर्माचार्य हुन्। नेपालमा थेरवादी बौद्ध धर्मको प्रचार गर्नेमा एक प्रमुख हस्तीका रूपमा लिइने उनले उद्योग विभागमा जागिर पाएका थिए र दसैंका बेला सरकारी कर्मचारीले अनिवार्य रूपमा बोका काट्नुपथ्र्याे। काटमारमा संलग्न हुन अस्वीकार गर्दा पनि उनको नाममा अरूले काट्ने गरेका थिए। योग्यता जति भए पनि उनी खरिदार पदबाट कहिल्यै पदन्नोति हुन सकेनन्।

बुद्धको शिक्षा र राज्यको नीतिमा भएका विरोधाभासपूर्ण कुराको फेहरिस्त लामो नै बन्छ। राज्यको शिक्षा नीतिले बुद्ध विषयक जानकारीलाई कसरी लिएको छ भनेर गम्ने हो भने पनि दिक्दारी बढ्छ। नेपालको शिक्षा नीतिले बुद्ध र बुद्धको शिक्षालाई सधैं एउटा दूरीमा राख्दै आएको पाइन्छ। बौद्ध पुस्तक लेखेको र छापेकै आधारमा राज्यबाट दण्डभागी भएका दृष्टान्त जगजाहेर भएको अवस्थामा यसलाई मनोगत आरोप मात्र भन्न सकिन्न। दुनियाँको आँखा छल्न बुद्ध र बौद्ध विषय पाठ्यक्रममा राख्दा पनि तोडमोड गर्नुको तात्पर्य के हो ? बुद्धको नाममा अर्कै शिक्षा दिइन्छ भने त्यसलाई राज्यको धुत्र्याइँ त भन्नैपर्छ। पाठ्यक्रममा रहेका ती पाठ र बौद्ध वाङ्मयहरू भिडाएर हेर्दा दूधको दूध पानीको पानी भनेजस्तै छुट्टिने कुरा हुन् यी। यस्तो शिक्षा नीति भएको नेपालमा बुद्ध र बुद्धका विषयबाट स्वयं नेपालीहरू अनभिज्ञ हुनु स्वाभाविक कुरा हो।

युरोपमा बौद्ध धर्मको पुनर्जागरण भइरहेको समय नेपालमा राज्यले नै बौद्ध धर्ममाथि चरम दमनकारी नीति लिएको थियो। त्यही पुनर्जागरणको परिणाम हो, गौतम बुद्धको जीवनसँग सम्बन्धित ठाउँहरूको पुरातात्विक खोजी र संरक्षण। यसै क्रममा विदेशीहरू नेपालको सीमाभित्र पसेर खोजी कार्य गरे र प्राचीन लुम्बिनी भेट्टाए। तर, वर्षौंसम्म उजाड र उराठलाग्दो बनाइराख्यो। तत्कालीन संयुक्त राष्ट्रसंघका महासचिव ऊ थान्त लुम्बिनी पुगी वस्तुस्थिति हेरेर राजा महेन्द्रलाई केही गर्न प्रोत्साहित नगरेको भए लुम्बिनीको स्थिति के हुन्थ्यो, थाहा छैन। तत्कालीन महासचिवकै रोहवरमा बनेको गुरुयोजना पूर्ण हुनुपर्ने समय दशकौं बितिसक्दा पनि आशातीत रूपमा काम हुन सकेको छैन।

मूलतः लुम्बिनी बौद्ध धार्मिक स्थल हो। यसलाई पर्यटकीय स्थलका रूपमा चिन्ने र चिनाउने पनि गरिन्छ। तर, धार्मिक होस् वा पर्यटकीय, त्यही रूपमा यसलाई अगाडि बढाउने सोचमा उदासीनता देखिन्छ। झट्ट हेर्दा लुम्बिनीलाई धार्मिक तथा पर्यटकीय वा औद्योगिक, दुईमध्ये कुन क्षेत्र बनाउने योजना बन्दै छ भनेर बुझ्नै नसकिने भएको छ। उद्योग तथा कलकारखाना स्थापनाले वातावरणीय प्रदूषण तथा नकारात्मक असर पारिरहेको छ। लुम्बिनीलाई स्थानान्तरण गर्न सकिन्न तर कलकारखानालाई अन्यत्र सार्न  उदासीनता देखाउँछ।

वास्तविक धरातलमा उभिएर हेर्दा नेपालमा बुद्ध र बौद्ध धर्मलाई हेर्ने दृष्टिकोण धेरै मात्रामा एकांगी हुन्छ। एकांगी दृष्टिकोण कहिल्यै पनि होलिस्टिक हुन सक्दैन। बुद्ध र बौद्ध धर्मसम्बन्धी गतिविधि र शिक्षादीक्षा नेपालमा कमै मात्र हुन्छ। र, बुद्ध र बौद्ध धर्मबारे जानकारी हुँदैन वा हुन जरुरी छैन भन्ने मनसाय राखिन्छ। तर, विदेशीलाई बुद्ध र बौद्ध धर्मबारे बताउन काममा निकै हतार गर्छौं। यही दुर्भाग्य हो। वास्तविकता त के हो भने नेपालीले भन्दा बढी बुद्ध र बौद्ध धर्मसम्बन्धी जानकारी राख्ने काम विदेशीले गरेका छन्। नेपालमा बौद्ध जनसंख्या मुस्किलले आठ प्रतिशत मात्रै रहेको राज्यको तथ्यांकले नै बताउँछ। त्यसमा पनि सबैसँग बौद्ध ज्ञान हुन्छ नै भन्ने छैन।

नेपालमा केही निश्चित ठाउँबाहेक बौद्ध वातावरणले युक्त छैन। बुद्ध मूर्तिले बेग्लै अर्थ त राख्छ तर ठाउँ र वातावरण नमिल्दा यो अर्थहीन हुन जान्छ। कतिपय ठाउँमा यो सजावटको वस्तु मात्रै भइरहेको पाइन्छ। ‘बुटिक एयरपोर्ट’ बनाउने अवधारणाअनुरूप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरिएको गौतम बुद्धको मूर्तिलाई कति अर्थयुक्त वा अर्थहीन बनाउने हो,  नेपाल र नेपालीको व्यवहारमा भर पर्छ। बुद्ध र बौद्ध धर्मबारे कुनै जानकारी नराख्ने वा मनमा त्यसप्रति आदरसत्कार नराख्ने अवस्थामा बुद्ध जन्मेको देश मात्रै भनेर केही हुनेवाला छैन, यो त केवल नाटक वा ढोङी चरित्र मात्र हुनेछ। बुद्ध नजन्मेका देशहरूले पनि बुद्ध मूर्तिलाई अर्थपूर्ण बनाएर हार्दिकता सिर्जना गरेको उदाहरण बग्रेल्ती छन्, यस मामिलामा नेपालले सिक्नुपर्ने पाठ यही हो।

प्रकाशित: २६ पुस २०७६ ०८:२९ शनिबार

बुद्ध_मूर्ति त्रिभुवन_विमानस्थल