अन्य

कविताः चौपट्टै साघुरा बाटाहरू

चौपट्टै साघुरा बाटाहरू
साँघुरा गल्लीहरूमा
केही थान आत्माहरू
भविष्य खोज्दै,

भिडभाड छिचोल्दै,
आफ्ना पाइला चालिरहन्छन।

थाहा छैन गन्तव्य
तर पनि
उनिहरू हिडिरहन्छन,
बजारका गल्ली(गल्ली,
गाउँका खेत खलियान,
नागवेली सडकहरूमा,

फेरि पनि
प्रफुल्लित नभएर
भित्रै गढेका मुस्कानहरू,
लामा सुस्केरा बिर्सिदै,
पल्टनका लाहुरे जस्तै
पुष्ट देखिने,

यी मनुवाहरू
गन्तव्यविहिन
यात्रामा हिडिरहन्छन।

मेरो मनमा,
असंख्य प्रश्नहरू उब्जिन्छ,
उनिहरू को हुन ?
कता जादैछन् उनिहरू?
कहाँ हिडिरहेछन् उनीहरू

कमल पोखरेल

प्रकाशित: २६ पुस २०७६ ०७:२३ शनिबार

साघुरा_बाटा कविता