अन्य

फस्टाउँदै मुखुन्डो व्यवसाय

बिहीबार बिहानको ११ बजे। भक्तपुरको चोखोविनायक चोक पुग्दा ट्याकट्याक गरेको आवाज परैबाट सुनियो। एउटा सानो टहरामा केही मानिस काठको काम गरिरहेको सडकपेटीबाटै देखियो। बिहानदेखि नै सिमसिम पानी परिरहेको थियो। कामदारलाई चिसोको कुनै पर्वाह छैन, प्रवाह छ त केवल आफ्नै कामको।

टहराको ढोकाछेउमै सिन्धुपाल्चोक अत्तरपुरका ६९ वर्षीय सन्तबहादुर सुनार एकसुरमा काम गर्दै छन्। उनको दायाँ हातमा मुंग्रो र बायाँ हातमा रामो (काठको काम गर्ने औजार) छ। छेउमै रहेको काठमा रामो र मुंग्रोले ठोक्दै आकार दिँदै छन्। उनी मुखुन्डोको सानो भैरव बनाउँदै छन्। बिहान ७ बजेदेखि उनले सुुरु गरेको काम आधाआधी भएको छ। यो सकेर अर्को भैरव बनाउन आवश्यक सामग्री तयारी गरेका छन्।

‘आफूले काम गर्न सक्ने बेलासम्म गर्नुपर्छ,’ उनले भने, ‘सीप हुनेलाई काम गर्न गाह्रो छैन। फुर्सदमा यतिकै बस्नुभन्दा काम ग-यो भने दिन पनि बित्छ, अलिअलि आम्दानी हुन्छ।’ उनी दिनमा दुईटा मुखुन्डो बनाउँछन्। सन्तबहादुरले मुखुन्डो बनाउन ४५ वर्ष अघिदेखि सुरु गरेका हुन्। उनले हेरेरै मुखुन्डो बनाउन जानेका हुन्।

‘नयाँ ठाउँमा आफूले जानेको सीप नै गर्न थालियो,’ उनले भने, ‘त्यतिबेला एउटा सानो कोठाबाट सुरु गरेको थिएँ। व्यवसाय विस्तारै राम्रो  हुँदै गयो, अहिले पाँच छोराले यसैलाई व्यवसाय बनाएका छन्।’ पाँच छोरामध्ये माइलो छोरा पञ्चकुमार सुनारको व्यवसायमा उनले सघाइरहेका छन्।

४० वर्षअघि सन्तबहादुर काठमाडौं  घुम्न  आएका थिए। घुम्ने क्रममा ठमेलमा उनले माटो र प्लास्टिकका मुखुन्डोले आकर्षित ग-यो। उनले त्यो मखुन्डो किनेर घर लगे। त्यसलाई नमुना बनाएर काठमा मुखुन्डो बनाउने प्रयास गरे। ‘त्यो चित्र हेर्दै, खेर गएको काठमा बनाउन थालेँ। त्यति बेला मुखुन्डो बनाउनु रहर मात्र थिएन, निकै चासो पनि लागेको थियो। दुई दिन लगाएर एउटा मुखुन्डो बनाएँ,’ उनी सम्झिन्छन्। गाउँमा मुखुन्डो बनाउने आफू पहिलो व्यक्ति भएको बताउँछन्। उनका अनुसार मुखुन्डो बनाएको हेर्न र सिक्न धेरै आउँथे। सिकेकाहरू अहिले सँगै काम गरिरहेका पनि छन्। कसैले यसैलाई व्यवसाय बनाएका छन्।

गाउँघरमा उपलब्ध स्रोतसाधनबाटै मुखुन्डो बनाउन सकिने सन्तबहादुर बताउँछन्। उनका अनुसार मुखुन्डो बनाउन लहरी पीपलको रूख चाहिन्छ। मुंग्रो, रामो  (१२ औजार) र काठ नै चाहिने हो। त्यसलाई कस्तो आकार दिने भन्ने कुरा आफूमै भर पर्ने कुरा हो। सुरुमा आकार दिन अलि गाह्रो हुन्छ, तर दिमागमा त्यो आकार बसिसकेपछि भने गाह्रो नहुने उनले बताए। एउटा मुखुन्डा  पूर्ण रूपमा तयार हुन एक साता लाग्छ। काँचो काठमा मुखुन्डो बनाइने भएकाले यसलाई दुई दिन घाममा सुकाउनुपर्छ। सुकेपछि त्यसलाई सफा गरेर रङ लगाएपछि मात्र यो बिक्रीका लागि तयार हुन्छ। ‘मुखुन्डोको प्रकारअनुसार मूल्य फरक छ,’ उनले मुखुन्डो देखाउँदै भने, ‘यो सानो भैरवको नौ सयदेखि एक हजार रुपैयाँसम्म पर्छ। ठूलाको मूल्य हजारभन्दा माथि नै छ।’

भक्तपुरको  सुन्तली मुखुन्डो उद्योगमा उत्पादित  मुखुन्डो काठमाडौंको ठमेलस्थित कालिञ्चोक मास्क सपबाट बजार व्यवस्थापन हुन्छ। बजार  व्यवस्थापन सन्तबहादुरका माइला छोरा पञ्चकुमार सुनारले गरिरहेका छन्। 

मुखुन्डोे बनाउने काठ भक्तपुर आसपासकै क्षेत्रबाटै ल्याउने गरेका छन्। लहरी पीपल कमल विनायक आसपासमा सजिलै पाउने भएकाले कच्चा पदार्थका लागि भने कुनै समस्या नभएको सन्तबहादुरले बताए। उद्योगमा सन्त बहादुरसँगै थप तीन जना छन्।

सिन्धुपाल्चोकको अत्तरपुरकै २६ वर्षीय सुकमान सुनार गड्डुल बनाउँदै छन्। उनी  गड्डुलले अन्तिम रूपमा तीन दिन लाग्ने बताउँछन्। ‘बुबाले मुखुन्डो बनाएको छेउमै बसेर हेरिरहन्थेँ,’ उनी सम्झिन्छन्, ‘बुबाले बनाएको हेर्दा आफूलाई पनि बनाउने इच्छा हुन्थ्यो। एक दिन बनाउन तम्सिएँ। जानी नजानी काठमा एउटा सानो मुखुन्डोे बनाएँ। त्यसपछि बनाउने इच्छा झन् बढ्दै गयो।’ त्यसबेला उनी १३ वर्षका थिए, कक्षा सातमा पढ्दै थिए। उनले पढाइ नै छोडेर मुखुन्डो बनाउन थाले।

उनी पाँच वर्षअघि सुन्तली उद्योगमा काम गर्दै छन्। सानैदेखि मुखुन्डोेमा आकर्षण बढेकाले पनि उनी आफ्नो कामप्रति सन्तुष्ट छन्। उनी मासिक ३० देखि  ३५ हजार कमाउँछन्।

घर सजावटदेखि धार्मिक कार्यमा मुखुन्डोे  प्रयोग हुन्छ। यस्तै बौद्ध धर्मावलम्बी,  तामाङ समुदायको मृत्यु संस्कारमा नौ प्रकारका मुखुन्डो लगाएर नाच्ने प्रचलन रहेको पञ्च कुमारले बताए। उनका अनुसार अमेरिकामा मनाइने स्कल फेस्टिभलमा  पनि मुखुन्डो प्रयोग हुन्छ। ‘यहाँ बनेका मुखुन्डो युरोप लगिन्छ,’ मुखुन्डो व्यवसायी पञ्चले भने, ‘लगभग ३० वटा देशहरूमा मुखुन्डोे  खपत हुन्छ। नेपालीले भन्दा पनि विदेशीहरूले मुखुन्डोमा बढी रुचि राख्छन्।’ मुखुन्डोको माग राम्रो भएकाले व्यवसाय फस्टाउँदै गएको पञ्चले बताए।

प्रकाशित: २६ पुस २०७६ ०३:३४ शनिबार

मुखुन्डो व्यवसाय