अन्य

करेलो, कुरिलो र मार्सी भात

डा. गोकुल भण्डारी 

डा.प्रमोद ढकालको ‘पूर्वीय दर्शनको पुनर्व्याख्या’ दुई पल्ट पढें। टुरिस्टले सात दिनमा नेपाल घुमे जसरी पहिलो पल्ट बुढाले के चाहिँ लेखेछन् भन्ने कौतुहलताका साथ सरसर्ती पढें। दोस्रोपल्ट चाहिँ पासै गर्छु भनेर लोक सेवाको परीक्षार्थीले जसरी धर्को  तानी तानी, पन्ना दोब्राई दोब्राई पढें। यसरी दुई तरिकाले दुई आवृत्ति पुनर्व्याख्याको पाठ गरेपछि यौटा गहिरो आत्म सन्तुष्टिको अनुभव भयो, झन्डै झन्डै मीठो भोज अघाउँजी खाएर फर्के जस्तै।

हुन त जिन्दगीमा धेरै किसिमका भोज खाने मौका जुरेको छ मलाई तर तृप्त र सधैँ यस्तै खान पाइयोस् भन्ने भोज चाहिँ आक्कल झुक्कल मात्रै। धेरै जसो भोज भन्नु एक तिहाइ स्वाद र दुई तिहाइ चिल्लो, गुलियो र नुनिलोको शासन मात्रै हुन्छन्। सबैले खाँदैछन् भनेर लहै लहैमा खाइने, तर खाइसक्ने बित्तिकै शौच आउने? सबै फाले पछि शरीरले पोषणका नाममा के पाउने? अचेल सबै जना यस्तै भोजका पछि मात्रै दौडिरहेछन्, जबसम्म मधुमेह र रक्तचापले च्यापेर अस्पताल दौडिँदैनन्। 

पुनर्व्याख्या पढेपछि मार्सी भातको भोज खाए जस्तो अनुभव कसरी आयो भनेर विचार गर्दा जर्ज ल्याकोफले लेखेको ‘मेटाफोर्स वी लिव बाइ’को सम्झना आयो जसमा उनले प्रस्ट देखाएका छन् कसरी हामी अमूर्त विषय वस्तुलाई मूर्त रूपमा बुझ्न, बुझाउन उपमा र रूपकको भरमार प्रयोग गर्छौँ। यस अर्थमा भोज उपमा बनेर बसेछ मेरो जिब्रोमा पुनर्व्याख्या पढेपछि मिल्ने सन्तुष्टिको। करेलो, कुरिलो र मार्सी भातको  यो सादा भोज स्वादिलो भैकन पनि पोसिलो छ। त्यसैले म भन्छु,‘संसार भरीका भोकाहरू सबै जना आऊँ, अनि भोजको पुनर्व्याख्याबाट पुनर्व्याख्याको भोज खाऊँ।’ 

मार्सी भात 

जुम्लाको  उच्च पहाडमा फल्ने मार्सी धान पोषण र स्वाद दुवै हिसाबले उच्च कोटीको मानिन्छ तर यसलाई फलाउन धेरै समय र मेहनत लाग्छ। त्यसैले यो धेरै पाइँदैन, अनि  खान पनि सजिलै पाइँदैन। जो खान्छन्, उनीहरू आफू मात्र  खान सकूँ भनेर इच्छा गर्छन्। त्यसैले उनीहरु हल्ला फैलाउँछन्– मार्सी भात सबैले चपाउन सक्दैनन्, सबैले पचाउन सक्दैनन्। सीमित समुदायको पहुँचमा रहेको मार्सी भात धेरैका निम्ति दुर्लभ र महँगो छ। फेरि पाँच मिनेटमा पाक्ने चाउ चाउ खान पल्केको अहिलेको सुबिधामुखी समाजमा मार्सी भात त्यसै पनि लोकप्रिय छैन। तर मार्सी भात जस्तै पोसिलो छ खान चाहने र सक्नेलाई पाँच सय पन्नामा पकाइएको पुनर्व्याख्याको विषय वस्तु।

शब्द र ब्रह्म, बुद्धि ज्ञान र प्रज्ञा, संस्कार र कर्मकाण्ड, वैदिक दर्शन र देवी देवता, वैज्ञानिक चिन्तन पद्धति, समन्वयात्मक अवधारणा जस्ता कैयौँ विषय बस्तुलाई व्याख्याको खडकुँडोमा तर्क र उदाहरणको पन्युले चलाउँदै बडो मेहनतका साथ कतै नडढाई, कतै काँचो नछोडी पकाएका छन् डा. ढकालले। उनको यो उपलब्धि प्रशंसा योग्य छ। एकनासले पाकेको यो एक खडकुँडो मार्सी भात एकै छाकमा सबैले खाइ नसक्लान्। अझ तोङ्ग्बासँग  चाउचाउ  चपाउने आजको कुपोषण ग्रस्त युवा वर्गले त यसलाई छुँदा पनि नछोला। तर विधिको विडम्बना नै भन्नु पर्छ कि जसलाई यसको सबभन्दा बढी आवश्यकता छ, त्यही जमात यसको महत्त्वलाई पटक्कै नबुझ्ने बनेको छ। उसको पनि के दोष? जब पोषणविद्हरू स्वयम् नै चाउचाउ फ्याक्ट्री चलाएर बसेका छन्।  

आधुनिकताको नाममा प्रविधिको दास भएका आजका युवावर्ग प्रकृतिबाट क्रमशः विमुख हुँदै  जाँदा पारस्परिकता, आत्मियता र एकत्वको गोरेटोलाई छोडेर व्यर्थता, व्यग्रता र एक्लोपनाको राजमार्गमा भोक लाग्यो भनेर तुफान दौडी रहेछन्। कहिले उत्तर–आधुनिकताको रेस्टुरेन्ट छिर्छन्,  केही खान्छन्, फेरि भोकै हुन्छन् अनि लगत्तै खोज्छन् अर्को नास्ता घर। यो क्रम कहिल्यै टुंगिदैन किनभने यस्ता रेस्टुरेन्टहरूले खुवाउने भनेको पोषणरहित चाउचाउ मात्रै हो। 

होर्डिङ बोर्डमा देखिएका अर्ध नग्न युवतीहरूको  यौनमा घुटु घुटु थुक निल्दै ‘कुटुमा कुटु सुपारी दाना’को उन्मत्त तालमा उत्ताउलिन  रेस्टुरेन्ट छिर्नेहरूलाई पोषणको मतलब पनि छैन। तर जब यी  युवाहरू पछि गएर प्रौढ हुन्छन् र कुपोषित अभिभावक बन्छन्, समाजले त्यो कुपोषणको नराम्रो मूल्य तिर्नुपर्नेछ। अचेल बढ्दै गरेका मूल्यहीनता, निराशा, बलात्कार, हत्या,आत्महत्या–सबै कुपोषणकै सिकार हुन्। सक्षम, सबल र आत्म–सम्मानयुक्त भोलिको नेपालका निम्ति  सबैलाई मार्सी भात खान आग्रह गर्ने र खुवाउने दायित्व आजका पोषणविद्हरूको हो।

कुरिलोको झोल

जतिसुकै मीठो भए पनि भात खानलाई तिहुन खोज्ने चलन हामी नेपालीको मात्रै नभएर सबैको हो भन्दा फरक नपर्ला। सहज, सरल र सरस भाषाको प्रयोग गरेर कुरिलोको रससँगै मार्सी भात पस्किएका छन् डा.ढकालले। ठाउँ ठाउँमा गरिएको झर्रो नेपाली शब्दको प्रयोगले झानेको जिम्मुको जस्तो स्वाद दिएको छ। बानी नहुनेलाई अलिक तिक्खर लाग्ला, स्वाद बसेका चाहिँ रमाउलान्। झोलिलो नहुने हो भने यति बिघ्न मार्सी भात खाई सक्न खानैमा कहलिएकालाई पनि हम्मे पर्ने थियो होला। तिक्खर झोलसँग पेटभरी पोसिलो खाना खुवाउनु डा. ढकालको भान्साको विशेषता हो।  

करेलोको तरकारी 

करेलो तीतो हुन्छ तर स्वास्थ्यलाई राम्रो गर्छ। त्यसैले स्वादभन्दा माथि उठ्नेहरू करेलो रुचाउँछन्। खाँदै गरे पछि त्यही तीतो स्वाद पनि मीठो हुन्छ, त्यसपछि त करेलो बाध्यता नभएर व्यञ्जन बन्छ। हाम्रो समाजमा व्याप्त जातभात, छुवाछुत र अन्धविश्वासलाई सधैँको निम्ति निमिट्यान्न पार्नुपर्ने बारे पुनर्व्याख्यामा डा. ढकाल एकदम सजग छन्। यस्ता कुरीतिको विरोधमा उनी मुखाग्र छन् तर पनि संयमित छन्।

परम्पराको अन्ध भक्तिभन्दा माथि उठ्न नसक्नेहरूलाई यो करेलो जस्तै तीतो लाग्ला र उनीहरू भन्लान्– ढकालको मार्सी भात त खान नहुने गरी तीतो छ। तर वास्तवमा डा. ढकालले करेलोको अर्को मीठो तरकारी खुवाएका छन्। मार्सी भातको गुलियो खाँदा खाँदा गोल भएको जिब्रो फेरि सोझ्याउन करेलोको तरकारीले धेरै मदत गरेको छ। यति पोसिलो खाने कुरा खुवाउन डा. ढकालले कसरी सके भन्ने बुझ्न उनको भान्सागिरीको कथा बुझ्नु पर्दछ। 

डा. ढकालको भान्सागिरी 

बाग्लुङको साधारण किसान परिवारमा जन्मेका ढकालले नेपाल, भारत र क्यानाडाबाट औपचारिक रूपमा सिके पनि अनौपचारिक रूपमा भने विश्वका धेरै नै देशबाट भान्सागिरी सिकेका छन्। सुरुमा उनीलाई लाग्थ्यो, ‘पाउरोटीमा लसक्क घिउ दलेर, बोसोमा आलु भुट्नु नै सबै भन्दा ठुलो भान्सागिरी  हो। यही विश्वासले गर्दा  नोर्टेल आइ।बी।एम् जस्ता ठुला ठुला भान्सा घरहरुमा भान्से भएर धेरै बसे डा. ढकाल। तर जब आफ्नै भान्सा वरिपरि कुपोषणले सुकेका मान्छे देखे, डा. ढकालको  मोह भङ्ग भयो र उनले त्यहाँको भान्सागिरी छोडिदिए।

आफ्ना २–४ रेसिपी , डाडु–पुन्यु र भर्भराउँदो आगो बोकेर उनी फर्किए नेपाल-भोकाएका जति सबैलाई खाना खुवाउन खुल्ला भान्सा घर बनाउने हिसाबले। तर के थाहा उनलाई, हिमालयको काखमा रहेको नेपालमा दशतिरबाट चिसो हावा चलिरहेको छ भनेर? तर पनि हावा हुरीले निभाउन लागेको भुङ्ग्रोलाई निभ्न नदिन ठुलो यत्न गरे।

आफ्ना दुई हातले छेकेर फोक्सो फुटुन्जेल अँगेनो फुके, धुवाँको रापले आएको आँसु र सिँगान बेपर्वाह पुछ्दै फुके। जब आगो बल्यो, उनीलाई भनियो,‘फिरंगीले भान्सा छुन मिल्दैन है।’ उनी छक्क परे अनि भने,‘भान्सा छुने कुरा कहाँबाट आयो जब सबै भान्सा नै म बनाउँदै छ? फेरि भोजन पो मुख्य कुरा हो त, भान्सा कै निम्ति किन यत्रो गल्फत्ति?’ तर जब नयाँ भनेर ल्याइएका बाङ्गो टिङ्गो र दुलो परेका डाडु–पुन्यु देखे, उनले कुरा बुझे र हल्ला खल्ला नगरिकन सरक्क बाहिर निस्किए–‘भवति भवति भिक्षाम् देही’ भन्दै।

सन्यस्त भएर गुप्तबास बसे पनि सबैलाई पोसिलो भोजन खुवाउने प्रबल इच्छाले गर्दा अहिले उनी पुनर्व्याख्याको एक खड़कुलो मार्सी भात लिएर उपस्थित भएका छन्। तर अब उनको मात्र नभै सबैको सम्मुख यौटा पेचिलो प्रश्न पनि खडा भएको छ– बासी नहुँदै सबैलाई यो तात्तातो भात कसरी खुवाउने? विशेष गरी चाउचाउको लत लागेका युवावर्गलाई कसरी मार्सीमा आकर्षित गर्ने? एक पल्टमा खान सक्ने जति मात्रै लन्च बक्समा हालेर विद्यालय, विश्वविद्यालयतिर कसरी वितरण गर्ने? सबैले गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको छ। अन्त्यमा डा. ढकालको भात खेर नजावोस् र उनले हर्मन हेंसका निम्न कवितांश पढेर दिक्दार हुँदै आफ्नो बाँकी जिन्दगी बिताउनु नपरोस् भन्ने इच्छा व्यक्त गर्दै सबैलाई उनको भान्सामा निमन्त्रणा गर्दछु।

जो टाढासम्म यात्रा गर्छ – उसले अक्सर देख्ने गर्छ
आफूले विश्वास गरेको सत्य भन्दा परका कुराहरू।
जब घर फर्केर ऊ अरूलाई भन्छ, उसलाई ढाँटेको अभियोग लगाइन्छ।
किनकि आफैले नदेखीकन र महसुस नगरिकन ढिपी गर्नेहरू विश्वास गर्दैनन्।
अनुभवहीनताले गर्दा– मलाई लाग्छ – मेरो गीतमा थोरै मात्र विश्वसनीयता छ।

प्रकाशित: १९ पुस २०७६ ०८:०५ शनिबार

पूर्वीय_दर्शनको_पुनर्व्याख्या