अन्य

कमन सेयरिङका समस्या

काठमाडौं - टुथ ब्रस, टावेल, काँइयो लगायत सामान दैनिक जीवनमा अत्यावश्यक छन्। हामी यी सामान प्रयोग गर्ने उपयुक्त तौरतरिकाबारे चासो दिँदैनौँ। ठीकसँग प्रयोग गर्न नजान्दा यिनले हाम्रो स्वास्थ्यमा असर पु-याइरहेका छन्। भक्तपुर, दुवाकोटकी सबिना सुवाल दिनमा दुईपटक दाँत माझ्छिन्। उनी ब्रसको गुणस्तरीयताबारे जानकार छैनन्। ‘दाँत राम्रोसँग सफा गरे पनि ब्रसबारे थाहा छैन,’ सुवाल भन्छिन्, ‘ब्रसमा एक्सपायर डेट हुँदैन। त्यसकारण, कति समयसम्म प्रयोग गर्ने हो, थाहा छैन।’

‘एक्सपायर डेट’ नलेखिएकाले पनि एउटै ब्रस लामो समयसम्म प्रयोग गर्छौं। दन्त चिकित्सकका अनुसार यो राम्रो बानी होइन। एउटा टुथ ब्रस ६ महिनासम्म मात्र प्रयोग गर्नु उपयुक्त हुन्छ। लामो समयसम्म एउटै ब्रस प्रयोग गर्दा ब्रसमा भएका कीटाणुले मुखमा संक्रमण गर्ने, राम्रोसँग दाँत सफा नगर्ने र दाँतको गुणस्तर घट्दै जाने होम नेपालकी दन्त चिकित्सक डा. धर्मलक्ष्मी बासुकला बताउँछिन्। जोडले दाँत र मुख सफा गर्दा ब्रस लामो समयसम्म टिक्दैन। प्रत्येक ६ महिनामा ब्रस फेरेर प्रयोग गर्दा दाँत, गिजा र मुख स्वस्थ हुने बासुकलाले जानकारी दिइन्।

परिवारमा सबैले एउटै टावेल प्रयोग गर्दै आएका हुन्छन्। यसो गर्दा कीटाणु एकबाट अर्को व्यक्तिमा सर्ने हुँदा एलर्जी, फंगल इन्फेक्सन र ब्याक्टेरिया इन्फेक्सन जस्ता समस्या आउन सक्छन्। टावेल सकेसम्म छिटोछिटो धुने र घाममा सुकाउनुपर्छ।

कस्तो ब्रस प्रयोग गर्ने ?
दाँत माझ्न सफ्ट, मिडियम र हार्ड गरी तीन प्रकारका ब्रस प्रयोग गरिन्छ। सफ्ट र मिडियम खालका ब्रसको प्रयोग राम्रो मानिन्छ। महिलाको तुलनामा पुरुषले बढी बल प्रयोग गरेर दाँत माझ्छन्। त्यसैले ब्रस चाँडो बिग्रिन्छ, यसले पछिपछि राम्रोसँग सफाइ पनि गर्दैन। दाँत र गिजा दुवैमा असर गर्छ। यसकारण सफ्ट खालका ब्रस प्रयोग गर्न दन्त चिकित्सक सुझाउँछन्।

ब्रस कहाँ राख्ने ?
टुथ ब्रस र मन्जन बाथरुममा राख्ने चलन छ। बाथरुमका फोहोर र कीटाणुहरू ब्रसमा सर्ने सम्भावना बढी भएकाले यो बानी उचित नभएको चिकित्सक बताउँछन्। त्यस्तै, परिवारका सदस्यका ब्रस एकै ठाउँमा राख्दा पनि कीटाणु एक–अर्काको ब्रसमा सर्न सक्छ। यसकारण ब्रस छुट्टाछुट्टै राख्न डा. बासुकला बताउँछिन्।

काँइयो
ललितपुर, सानेपाकी ३५ वर्षीया कविता राई संयुक्त परिवारमा बस्छिन्। उनको परिवारमा काँइयो र टावेलको साझा प्रयोग हुन्छ। सबैको आवश्यकता एउटै सामानबाट पूरा हुने भएकाले यसो गरिएको राई बताउँछिन्। परिवारमा काँइयो ‘कमन सेयरिङ’ गर्दा स्वास्थ्यमा पर्ने असरबारे उनी जानकार छैनन्। राईको परिवारमा जस्तै हामीकहाँ कमन सेयरिङ गर्ने चलन छ। त्यस्तै, एउटै काँइयो वर्षौंसम्म प्रयोग गरिएको पनि पाइन्छ। हरेक हप्ता काँइयोलाई सफा पानीले धुने र नुवाइधुवाइ गर्ने बानीले कपाल र टाउकोमा समस्या देखिँदैन। काँइयो एक वर्षभन्दा बढी प्रयोग गर्न नहुने चिकित्सकको सुझाव छ।

काँइयो सेयरिङका कारण बालबालिकामा ‘फंगल इन्फेक्सन’ र ‘ब्याक्टेरिया इन्फेक्सन’ हुने छालाका डा. अनिल दास बताउँछन्। उनका अनुसार एउटा काँइयो एक जनाले मात्र प्रयोग गर्नुपर्छ। एउटै काँइयो धेरै जनाले प्रयोग गर्नुपरेमा काँइयोको सरसफाइमा विशेष ध्यान दिनुपर्छ।

टावेल
परिवारमा सबैले एउटै टावेल प्रयोग गर्दै आएका हुन्छन्। यसो गर्दा कीटाणु एकबाट अर्को व्यक्तिमा सर्ने र रोग लाग्न सक्ने चिकित्सक बताउँछन्। एलर्जी, फंगल इन्फेक्सन र ब्याक्टेरिया इन्फेक्सन जस्ता समस्या देखिने छाला चिकित्सक डा. दासले बताए। उनले भने, ‘टावेल सकेसम्म छिटोछिटो धुने र घाममा सुकाउनुपर्छ।’

हामीले कमन सेयरिङ गर्दा उपयुक्त तरिका अपनाउनुपर्छ। यसलाई सामान्य ठानेर जथाभावी प्रयोग गर्दा अनेक रोग सर्न सक्छ। यसैकारण सकेसम्म कमन सेयरिङ नगर्न चिकित्सकहरू विशेष सल्लाह दिन्छन्।

प्रकाशित: १९ पुस २०७६ ०४:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App