अन्य

मगर गाउँहरूमा होमस्टे

सातवटै प्रदेशमा नमुना पर्यटन गाउँ बनाउने मगर पर्यटन समाजका अध्यक्ष राजकुमार थापाको घोषणा। पर्यटनमा क्रियाशील मगर समुदायलाई एकीकृत बनाई आफ्नो पेशामा सबल बनाउन सन् २०११ मा नेपाल मगर पर्यटन समाज गठन भएको थियो। कृष्णबहादुर मगरको नेतृत्वमा खुलेको समाजले पर्यटनकर्मीलाई संगठित बनायो। साथै मगर संस्कृति संरक्षणका काम पनि ग-यो। समाजमा हाल सय जना सदस्य छन्।

विभिन्न आरोह तथा अवरोह पार गर्दै अघि बढेको समाजले पुस ५ गते आठौं अधिवेशन गरिसकेको छ। अधिवेशनबाट  युवा उद्यमी राजकुमार थापाले नेतृत्व सम्हालेका छन्। कार्य समितिको प्रथम उपाध्यक्षमा जीवन थापा, द्वितीय उपाध्यक्षमा भुपाल मगर, महासचिवमा कर्णबहादुर राना, सचिवमा चन्दन थापा, कोषाध्यक्षमा जितेन्द्र झाँक्री, सह कोषाध्यक्षमा डेम पुन र सदस्यहरूमा भरत थापा, जग बुढा, चीन थापा, तीर्थ खपांगी, जय बुढा, सन्तोष थापा, कृपा राना र शर्मिला राना निर्वाचित छन्।

अधिवेशनमा संसारका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल ६ महिना ६ दिनमा चढेर कीर्तिमान राख्ने निर्मल पुर्जा र ट्राभल राइटर सुरेन्द्र रानालाई सम्मान गरिएको थियो।

नवनिर्वाचित अध्यक्ष थापा विगत दुई दशकभन्दा लामो समयदेखि पर्यटन क्षेत्रमा सक्रिय छन्। उनी गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपालका पूर्व महासचिव हुन्। उनले आफ्नो कार्यकालमा मुलुकका ७ वटै प्रदेशका एक–एक मगर गाउँलाई नमुना गन्तव्यका रूपमा विकास गर्ने घोषणा गरेका छन्।

‘हामी सातै प्रदेशमा उत्कृष्ट गाउँको पहिचान गरेर आवश्यक तालिम र प्रचारमा गाउँलेसँग हातेमालो गर्नेछौं’, थापाले भने, ‘आफ्ना सदस्यहरूको क्षमता अभिवृद्धिका नियमित कार्यक्रम त छँदै छन्।’

त्यस्तै समाजले ‘ग्रेट मगरात ट्रेल’ को अवधारणा अघि सारेको छ। मगर बाहुल्य भएका डोल्पादेखि रोल्पा, रुकुम, बागलुङ हुँदै म्याग्दीसम्मका गाउँहरूको पहिचान गरी यो नयाँ पदमार्गको अध्ययन गरी प्रोडक्टका रूपमा स्थापित गर्ने उसले जनाएको छ।

‘हामी हाम्रा सदस्यलाइ डिजिटल मार्केटिङ, फोटोग्राफी र वेवसाइट व्यवस्थापन सम्बन्धी तालिम दिनेछौं’, उनी भन्छन्, ‘यसबाट समग्र नेपालको पर्यटनमा सहयोग पुग्नेछ।’
समाजले नेपालका प्रथम शहीद लखन थापाको सम्मानमा ‘ट्रेल रेस’ आयोजना गर्ने भएको छ। उसले गोरखाको मनकामनादेखि लखन थापा गाउँपालिकासम्म बर्सेनि यस्तो दौड आयोजना गरी पर्यटन प्रवद्र्धन गर्ने योजना बनाएको छ।

‘हामी गुरिल्ला पदमार्गको पनि प्रवद्र्धन पनि गर्नेछौं’, थापाले भने, ‘रोल्पा–रुकुमका शहीद गाउँहरू र लोपोन्मुख मगर झाँक्री संस्कृति संरक्षणमा योगदान गर्नेछौं।’

प्रकाशित: १२ पुस २०७६ ०२:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App