अन्य

स्वयंभूमा स्वागतम्

नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा पाहुनाको स्वागतका लागि स्वयंभू व्यवस्थापन तथा संरक्षण महासमितिले विषेश तयारी गरेको छ। स्वयम्भू महाचैत्य विश्व सम्पदा सूचिमा सूचिकृत सबैभन्दा पूरानो सम्पदा हो। महासमितिले महाचैत्य अवलोकन गर्न आउने पाहुनाको स्वागत गर्न परम्परागत शैली अपनाएको छ। जस अन्र्तगत् पश्चिम तर्फको बाटो भएर उकालो लाग्दा स्वयम्भूनाथको बेसक्याम्प मानिने विश्व शान्ति पोखरीको रंगरोगन र सरसफाई गरिसकेको छ। त्यति मात्र होइन, पोखरीको बुद्ध प्रतिमाको मर्मत गरी सुनको जलप लगाएको छ। 

त्यही पोखरीको बाटो भएर स्वयम्भू दर्शन गर्न जाने पर्यटकलाई आवागमनमा कठिनाई नहोस् भनेर बाटो फराकिलो पारेर ढुंगा छाप्ने काम अन्तिम चरणमा पुगेको छ। महाचैत्य परिसरभित्रका पुरातात्विक महत्वका अन्य सम्पदाको जिर्णोद्धार, मर्मत तथा सरसफाईमा विगत ६ महिनादेखि अनवरत लागिपरेको जानकारी समितिका महासचिव महेन्द्ररत्न बुद्धाचार्यले दिनुभयो।

‘सरकारकै नीति अनुसार भ्रमण वर्ष सफल बनाउन हामीले सम्पुर्ण तयारी गरिसकेका छाैं’, उहाँले भन्नुभयो, ‘जनवरी १ मा आउने पाहुनालाई विना टिकट खादा लगाएर प्रवेश गराउने छौं।’

उहाँका अनुसार स्वयम्भू प्रवेश द्धारहरुमा स्वागत व्यानर राखिने छ। पाहुनाको मनोरञ्जनका लागि विश्व शान्ति पोखरी परिसरमा दिनको २ बजेदेखि ५ बजेसम्म  सांस्किृतिक कार्यक्रम र साँझ चैत्यमा दिपावली गरिने छ। ‘हामी वर्षैभरि सांस्कृतिक कार्यक्रम देखाउने छौं’, उहाँले भन्नु भयो।

जनवरी ४ मा विश्वका नौ वटा भाषामा तयार पारिएको महाचैत्य र वरपरका अन्य पुरातात्विक महत्वका सम्पदाको जानकारी दिने अडियो एप्स शुभारम्भ गरिनेछ। यसको सहयोगले स्थानीय टुर गाइडलाई सजिलो हुनेछ ।

नेपाल आउने पाहुनालाई हामीले यस्तै धार्मिक एवं सांस्कृतिक सम्पदा र प्राकृतिक सम्पदा देखाएर सन्तुष्ट बनाउने हो। स्वयम्भूले जस्तै विश्व सम्पदा सूचीमा सूचीकृत अन्य सम्पदाले पनि यसैगरि तयारी गरेका होलान् !

हामीसँग स्वागत र सत्कारको मौलिक शैली छ। देखाउने अनगिन्ति सम्पदा छन्। पाहुना बस्न आधुनिक होटल छन्। यतिबेला बाहिर हुने नेपालीले साथीसंगीलाई नेपाल पठाऔं। हामी स्वदेशमा बस्नेहरूले मन खोलेर उनीहरूको स्वागत गरौं।

नेपाल भ्रमण वर्षमा आन्तरिक पिडा लुकाएर मुस्कान सहित पाहुनाको स्वागत गरौं। विदेशीको नक्कल नगरी आफ्नैपन पस्किन सक्यौ भने वर्ष दिन पछि हामीले कल्पना गरेको भन्दा फरक नेपाल देख्न पाउने छौं। जिविकोपार्जनकै लागि बाध्यात्मक परिस्थितिले विदेशीएका नेपाली युवा स्वदेश फर्कने वातावरण बन्न सक्छ। त्यसका लागि पाहुनाको स्वागत गर्न आजैदेखि जुटौं।

प्रकाशित: १२ पुस २०७६ ०२:४४ शनिबार

स्वयंभू