‘ल्यापटपभित्र ग्वार्र दौड्ने को हो हँ ?’ सुलभले ल्यापटपभित्र छिटोछिटो हिँडेको कार्टूनलाई देखेर सोध्यो। ‘मेरो नाम भिडियो गेम हो। म तिम्रो साथी बन्न आएको हुँ। तिमीले मलाई आफूसँग खेलायौ भने म तिमीलाई धेरै माया गर्छु। मलाई सधैं तिम्रो ल्यापटपभित्रै राख है !’ फुत्रुक्कफुत्रुक्क उफ्रिदै कार्टूनले अनुरोध गर्यो।
‘यो ल्यापटप त बाबाको हो। मैले कसरी राख्ने ? मैले त एकछिन सुटुक्क चलाएको मात्रै हो !’ सुलभले समस्या देखायो। ‘मोबाइल फोन, ट्याब्लेट, कम्प्युटर, ल्यापटप जहाँ पनि हुन्छु म। तिमीसँग विद्युतबाट चल्ने उपकरण जे छ, त्यसैमा आइहाल्छु। तिमीलाई रमाईरमाई खेल्न सघाउँछु। इन्टरनेटचाहिँ जोड्नुपर्छ नि !’ भिडियो गेमले सर्त राख्यो।
सुलभ खुसी भयो। ‘ओहो, कति असल मित्र तिमी। अब तिमीले जे भन्छौ त्यही मान्छु म’, सुलभले मुस्कुराउँदै भन्यो अनि गेम खेल्न शुरू ग-यो। त्यस दिनदेखि सुलभको बानीमा निकै परिवर्तन भयो। ‘खाना खान आऊ बाबू’ आमाले सधैझैं बोलाउनुभयो तर उसले नसुनेझैं ग¥यो। स्कूल जाने समय पनि ख्याल गर्न छोड्यो। ऊ रातिको दुई बजेसम्म गेम खेल्दै बस्न थाल्यो।
‘आज मेरो टाउको दुख्यो साथी’ सुलभले भिडियो गेमसँग भन्यो, ‘राति निद्रा पनि लाग्दैन।’
भिडियो गेम खितितिति हाँस्यो। उसले मनमनै भन्यो, ‘बल्ल केटो मेरो मायाजालमा फस्यो !’
‘चिन्ता नगर साथी। अझै मेरो सङ्गत गर्दै जाऊ, झन् आनन्द आउँछ।’ उसले सुलभलाई हौस्यायो।
सुलभले भिडियो गेमको नक्कली मायाजाल बुझ्न सकेन। ‘आहा ! गेम खेल्न क्या मजा’, ऊ गेममा निकै रमायो। आज राति पनि गेम खेल्दाखेल्दै दुई बजे निदायो।
भोलिपल्ट स्कुलमा गुरुले सोध्नुभयो, ‘ए सुलभ ! तिमीले गृहकार्र्य गरेको खोई ?’ ऊ झसङ्ग भयो। केही उत्तर दिन सकेन। ‘हिजो सुलभले मसँग त्यत्तिकै निहूँ खोजेर झगडा ग-यो। पिट्नै आयो। यसलाई आजकल भिडियो गेमले एकोहोरो बनाएको छ सर’ एउटा साथीले गुनासो ग-योे।
‘सुलभले अस्ति मेरो ‘टिफिन बक्स’ नै फुटाइदियो। तँलाई पख्, मैले जान्या छ’ अर्को साथीले रिसाउँदै भन्यो। आफ्नो पोल खुलेकोमा ऊ निरास भयो। ‘समयमा खाना खाँदैन। स्कुल जान मन गर्दैन। भनेको पनि मान्दैन र खालि झगडा गर्न मात्रै तम्सिन्छ। के भएको होला यसलाई ?’ साँझमा आमाले बाबासँग गुनासो गर्नुभयो।
‘हो त, फेरि यसले मोबाइल र ल्यापटप चलाउन पाएन भने छटपटाउने गरेको देख्छु आजकल। मलाई त शंका लाग्छ है !’ बाबाले भन्नुभयो।
बाबाआमाले उसको उपचार गर्न स्वास्थ्यकर्र्मीसँग सल्लाह लिने योजना बनाउनुभयो। ‘हो, आजकल कतिपय बालबालिका इन्टरनेट गेमिङ डिसअर्डरको समस्या लिएर अस्पताल आउँछन्’, नर्सले सुलभका बाबाआमासँग भनिन् ‘यो एक प्रकारको मानसिक रोग नै हो। बेलैमा उपचार गर्नुपर्छ।’
‘भिडियो गेमले त सुलभको दिमाग नै बिगारेछ। ड्रग्सले जस्तै असर पारेछ। अझै गेम खेल्दै जाने हो भने स्वास्थ्य झन् बिग्रन्छ’ डाक्टरले सचेत पारे। ‘बाबै, त्यो पब्जी भन्ने गेमले त बालबालिकालाई हिंसा गर्न पनि सिकाउँछ रे !’ नजिकै बसेकी रजनीले भनिन्।
‘लहै ! हामीले बालबालिकालाई यस्ता खराब गेमबाट बेलैमा बचाउन गेम खेल्ने बानी बसाल्नै दिनुहुन्न’ रोशन काकाले उपाय सुझाए। सुलभलाई स्कुलका गुरु, डाक्टर, नर्स, साथीभाइ, छिमेकी, बाबाआमा सबैको कुरा नराम्रो लाग्यो । सुलभ सबैसँग रिसायो र ढुंगा टिपेर हिर्काउन खोज्यो।
‘पर्ख’ प्रहरी काकाले सुलभलाई रोक्दै भने, ‘यसरी मान्छेलाई ढुंगाले हान्न पाइन्छ र ! यस्तो झगडा गर्ने, ढुंगामुढा गर्नेलाई त हामीले पक्रेर कानुनी कारबाही गर्छौं।’ ‘पख्नुस् इन्स्पेक्टर साहेब, सुलभलाई अहिले काउन्सेलिङ र उपचारको खाँचो छ’ डाक्टरले सुझाए, ‘उसलाई इन्टरनेट गेमिङ एडिक्सन भएको देखिन्छ। यो जाँडरक्सी र ड्रग्सको प्रयोगजस्तै खराब बानी हो। भिडियो गेम लगातार खेल्यो भने मानिसको दिमाग अगाडिको भागमा गहिरो असर पर्छ। यसलाई ‘फ्रोन्टल कर्टेक्स’ भनिन्छ। यस्तो हुँदा दिमागमा असर पर्दछ।
मानिसले के राम्रो, के नराम्रो सोच्नै सक्तैन। सुलभलाई अहिले त्यही भएको छ। अब उसको छिट्टै उपचार गर्नुपर्छ नत्र जे पनि हुन सक्छ।’ डाक्टरले फेरि थपे, ‘बालबालिकालाई भिडियो गेमका राम्रा र नराम्रा पक्षबारे बेलैमा ज्ञान दिनुपर्छ। उनीहरूलाई गेमको लतमा फस्नबाट बचाउनुपर्छ।’
‘होहो, यो बेइमान भिडियो गेमलाई त्यसै छाड्नु हुन्न !’ सबै एकै स्वरमा चिच्याए।
मान्छेको डरले भिडियो गेम त्यहाँबाट लुसुक्क भाग्यो।
सबै जनाको चर्को खलबल सुनेर सुलभ झल्याँस्स बिउँझियो। ‘ओहो, मैले भर्खर सपनामा देखेका कुरा सबै साँचो हुन्। मलाई आजकाल यस्तै हुन्छ। भिडियो गेम त धेरै खराब रहेछ। अब म भिडियो गेम कहिल्यै खेल्दिनँ’ उसले मनमनै वाचा ग-यो।
प्रकाशित: ५ पुस २०७६ ०२:३४ शनिबार