अन्य

‘काठमाडौंमा टेकेदेखि मैले असफलता व्यहोर्नुपरेको छैन’

श्रेयसी चेम्जोङ

तपाईं कतिवटा देश पुग्नुभएको छ ?
सांगीतिक, सांस्कृतिक कार्यक्रमका सिलसिलामा म बेल्जियम, पोर्चुगल, फ्रान्स, जर्मन, कोरिया, हङकङ, बहराइन पुगेकी छु।

देशका कुन–कुन सहर घुम्नुभयो ?
धनकुटा, धरान, हेटौँडा र इटहरी त मेरा लागि पानीपँधेरो जस्तै भएको छ। त्यसबाहेक धनगढी, कैलाली, बुटवल, पोखरा र रोल्पा लगायत धेरै ठाउँ पुगेकी छु।

मन भएर पनि पुग्न नपाएको ठाउँ ?
मलाई मनाङ र मुस्ताङ जान मन छ। यी ठाउँलाई टिभी फिल्ममा हेरेकी छु। यसरी हेर्दा अर्कै संसारमा पुगे जस्तो महसुस हुन्छ। त्यहाँका ढुंगामाटो र भूगोल नै अर्कै खालको छ जस्तो लाग्छ। म यी ठाउँमा चाँडै जानेछु।

काठमाडौं कहिले आउनुभयो ?
म २०६३ सालमा काठमाडांै आएँकी हुँ, रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा भाग लिन। त्यतिखेर आठ वर्षकी थिएँ। प्रतियोगितामा भाग लिन पहिले स्वर परीक्षा पास गर्नुपथ्र्यो, मैले परीक्षा दिएर पास भएँ। प्रतियोगितामा पनि छैटौँ स्थानमा आएँ। त्यतिबेलादेखि म काठमाडौंमै छु।

काठमाडौं कस्तो लाग्छ ?
मेरो कर्मभूमि हो, काठमाडौं। त्यसैले काठमाडौं अति नै प्यारो लाग्छ।
यहाँको मौसम र ऐतिहासिक ठाउँहरू मनपर्छ। यो मन्दिरै मन्दिरको सहरमा धेरै महत्वपूर्ण सम्पदा छन्। तर यसको जति विकास हुनुपर्ने हो, त्यत्ति हुन सकेको छैन। प्रदूषण बढेको छ। ट्राफिक जामको समस्या उस्तै छ। यो सहर कस्तो बनाउने भन्ने प्लानिङ नहुँदा यसले मौलिक रूप गुमाउँदै गएको हो कि भन्ने लाग्छ।

मेरो कर्मभूमि हो, काठमाडौं। अति नै प्यारो लाग्छ । यहाँको मौसम र ऐतिहासिक ठाउँहरू मनपर्छ । तर यसको जति विकास हुनुपर्ने हो, त्यत्ति हुन सकेको छैन। प्रदूषण बढेको छ । ट्राफिक जामको समस्या उस्तै छ। यो सहर कस्तो बनाउने भन्ने प्लानिङ नहुँदा यसले मौलिक रूप गुमाउँदै गएको हो कि भन्ने लाग्छ।

काठमाडौंको मनपर्ने पक्ष ?
यहाँका ऐतिहासिक सम्पदा, नेवारी खाना र हावापानी मनपर्छ।

मननपर्ने पक्ष ?
उही ट्राफिक जाम, फोहोर, धुवाँधुलो, भीडभाड मनपर्दैन।

सहरवासीको बानी कस्तो लाग्छ ?
सहरमा बस्नेहरूमा अनुशासन भएन। सबै आफ्नै धुनमा कुदेका छन्। आफू बसेको ठाउँ सुन्दर बनाउनुपर्छ भन्ने चेतना र सोच नहुँदा देशका काठमाडौं लगायत सहर व्यवस्थित छैनन्।

सहर सुन्दर बनाउन के के गर्नुपर्छ ?
चुनावको बेला नेताले म यो गर्छु, त्यो गर्छु भनेर भोट माग्छन् उनीहरूले आफ्नो वचन पूरा गर्नुपर्छ। सहर सुन्दर बनाउन स्थानीय जनता, नेता र कर्मचारी मिलेर लाग्नुपर्छ। बाटोघाटो राम्रो भयो, सरसफाइ भयो, भौतिक संरचना मिलेका र सुन्दर छन् भने सहर राम्रो देखिन्छ भन्ने लाग्छ। यसका लागि सरकारले चेतनामूलक कार्यक्रम पनि गर्नुपर्छ।

सुरुमा आउँदाको काठमाडौं र अहिलेको काठमाडौंमा के फरक पाउनुहुन्छ ?
म सुरुमा काठमाडौं आउँदा भक्तपुरमा बसेकी थिएँ। त्यहाँ सबै खेतैखेत र जंगलैजंगल थियो। त्यहाँ हामी घुम्थ्यौँ, पिङ खेल्थ्यौँ। अहिले कहीँकतै खालि ठाउँ छैन। जताततै ठुल्ठूला भवन बनेका छन्। तर, व्यक्तिगत रुपमा भन्दा काठमाडौंमा टेकेदेखि मैले असफलता व्यहोर्नुपरेको छैन। मलाई यो ठाउँ लक्की लाग्छ।

विदेशका सहर र हाम्रा सहरमा केकस्तो भिन्नता पाउनुभयो ?
हाम्रो देश र मैले घुमेका विदेशका सहरमा दाँज्न मिल्दैन। हाम्रो आफ्नै विशेषता छ। उनीहरूले भौतिक प्रगति गरेका छन्।

हामीसँग पोखरा, इलाम जस्ता सहर छन्, प्रकृतिले धनी। काठमाडौं जस्तो सहर छ, सम्पदा र संस्कृतिले धनी।
तर, हामीले धेरै विकास गर्न बाँकी छ। हामी सभ्य हुन पनि सकिरहेका छैनौँ। हामीले परम्परागत विचार त्यागेर अगाडि बढ्नुपर्छ भन्ने लाग्छ। विदेशी सहर नीति–नियममा चलेका छन्, तर हाम्रा सहर मनपरी ढंगले चलेझैँ लाग्छ।

सहर बिग्रिनुको कारण के जस्तो लाग्छ ?
हामीकहाँ जसलाई जे लाग्यो, त्यही ढंगले काम भइरहेको छ भन्ने लाग्छ। जिम्मेवार निकायमा पुगेका व्यक्तिले योजना बनाएर, छलफल गरेर काम गर्ने हो भने हुन्छ होला, मलाई त्यस्तो लाग्दैन।
सहर अव्यवस्थित हुनुमा नागरिकको पनि भूमिका हुन्छ। उनीहरूले नीति–नियम मानेर घर–संरचना बनाउनुपर्छ, फोहोर गर्नुहुँदैन, अरुलाई सडक बिगार्नबाट रोक्नुपर्छ। तर, त्यसो नभएजस्तो मलाई लाग्छ। त्यस्तै, ट्राफिक जाम हुने सवारीका कारण हो, चालक अनुशासनमा बस्नुप-यो।

तपाईं काठमाडौं उपत्यकाभित्र गइरहने ठाउँ कुन हो ?
यो अवस्था हेरेर हुन्छ। रेकर्डिङ स्टुडियो काठमाडौंमै छन्, प्रायः म स्टुडियोहरू नवै चहार्छु। कहिलेकाहीँ धेरै टाढा गएँ भने ललितपुर र भक्तपुरका सम्पदा क्षेत्रमा जान्छु। कहिलेकाहीँ मुड फ्रेस बनाउन चन्द्रागिरि, नगरकोट, स्वयम्भु, पशुपति, वसन्तपुर जाने गर्छु।

गाउँ र सहरको सम्बन्ध कस्तो हुनुपर्छ ?
गाउँ र सहरको सम्बन्ध नङ र मासुको जस्तै हुनुपर्छ। गाउँबिना सहर र सहरबिना गाउँ अपूरो हुन्छ। गाउँमा उब्जाऊ भएको अन्नबाली सहरमा पुगेको हुन्छ भने सहरका बनेका उपभोग्य सामग्री गाउँ पुगेको छ। एक हिसाबले भन्दा गाउँले सहरलाई बँचाइरहेको हुन्छ। त्यसैले पनि सहर र गाउँ एक–अर्कामा सम्बन्धित छन्।

घुमेकामध्ये मन परेको सहर ?
हङकङ र स्विटजरल्यान्ड। यी दुवै सहरको हावापानी, सहरको भौतिक निर्माण असाध्यै राम्रो लाग्छ।

तपाईंको सपनाको सहर कस्तो होला ?
व्यवस्थित होस्। सबै कुराको सेवा–सुविधा होस्। बिरामीले समयमै उपचार पाऊन्। सबैले गर्वपूर्वक बाँच्न सक्ने वातावरण होस्। ठाउँठाउँमा पार्क र प्रतीक्षालय होऊन्। मानिसहरू सभ्य होऊन्, शान्ति सुरक्षा होस्। मेरो सोच्ने सहर यस्तै हो। नेताहरू, कर्मचारी, नागरिक सबै मिलेर लागे एउटा सुन्दर सहर बनाउन गाह्रो छैन।
 
प्रस्तुति:श्रीराम राई

प्रकाशित: २८ मंसिर २०७६ ०३:१५ शनिबार

सपनाको_सहर श्रेयसी_चेम्जोङ