अन्य

अस्तित्वको खोजी

रामलाल जाेशी

बारको चौथो तला उक्लिन थाल्दा उसको श्वास फुलेर घाँटी स्याँस्याँ हुन थाल्यो । एकपल्ट घुँडामा हात टेकी र टक्क अडिई । नाताकतले गलेकी जस्ती ।
    मैले सोचेँ – बिरामी रैछे । सहयोग  गर्दिऊँ । पाखुरा समातेर खुरकुट्टी उकाली दिएँ । ऊ फनक्क फर्केर हाँसी –
    “के चाइयो साहेब ?”

हाँस्दा हवास्स एक सर्को दुर्गन्ध आएर मेरो नाकमा ठोक्कियो ।
    “रोगी जस्तो लाग्यो र पो”, मैले भनेँ – “नत्र छुन्नथेँ ।”
“ए होइन, होइन ।” उसले लेघ्रो तानी – “कम्पनी मालिक फेरि फर्केर आयो कि भनेर पो ।”
    “सरी ।” म आफ्नै बाटो लागेँ । बारभित्र छिर्नेबेला सोचेँ – कस्ती ननसेन्स आइमाई ।
म बसिसक्दा ऊ भित्र छिरी । कालो आफ्नो चश्मा उसले शिरमाथि सिउरी दिई । ठिक बीस हात पर मेरो सम्मुखमा आएर बसी ।

ऊ बेसुरा रही । म आफ्नै सुरमा ह्वीस्कीको मज्जा लिन थालेँ । शायद तेस्रो पेग घुड्क्याउन थाल्दा मेरा आँखा उसतिर गौरगरी स्थिर भैदिए । किनकिन उसप्रति वितृष्णा जागेको थियो । तर यसपटक त्यस्तो लागेन । उसका जिज्ञासु आँखाहरु मसँग केही मागिरहेजस्ता थिए । लाग्यो, टाढैबाट ऊ केही सोध्न चाहन्छे, मसँग । हृदयको आवाज आएर उसका गलामा अड्केजस्तो भैरहेको थियो । अनुहारले बताउँथ्यो, केही कुरा जरुर छ उसँग, भन्नलाई ।
    हेर्दाहेर्दै मलाई लाग्यो – अरे, यो त चिरपरिचित अनुहार हो । कहाँ देखेको हुँ, यस अनुहारलाई मैले । के मेरो जीवनबाट गुज्रेको अनुहार हो यो ? देखेँदेखेँ जस्तो लाग्ने । चिनेचिने जस्तो लाग्ने । बोलेबोले जस्तो लाग्ने । केही सम्झेसम्झे जस्तो लाग्ने । टिभीमा देखेको अनुहार हो कि ? कतै चित्रमा हेरेको अनुहार हो कि ? विस्मृतिमा गएर बसेको कसको अनुहार हो यो ? हँ ? सम्झने लाख कोसिस गरेँ, सकिनँ । स्मृति सकिने बेलामा ठोक्किन आउँछन् यस्तै अनुहारहरु ।
    ऊ उठेर नजिक आई । हावामा उसले आफ्ना मसिना चार औंला हल्लाई – “हाई  .....।”
गिलास टेबलमा राखेर मैले दुई औंला माथि गरेँ – “हाई ........।”
“चिनेनौ ?”
कतै रेडियोमा बोलेजस्तो उसको मसिनो बोली । चिनेँ, कसरी भनुँ ? अपलक उसलाई हेरिरहेँ ।
“म रचना ।” ऊ मेरै सामुन्य बसी । ठुस्स गन्ध आयो । मैले नआएजस्तो गरेँ ।
“रचना ? उही क्याम्पस लाइफकी रचना ?”
“हो । म उही रचना ।”

कठै ! कसरी बिराना हुँदा रैछन्, अतीतमा छुटेका अनुहारहरु । मैले आफ्नो ध्यान कतै गुमाएँ । म तिनै दिनमा गएर घुम्न थालेँ, जहाँ चन्द्रमाको छायामुनि एउटा सुकोमल जिन्दगी मुस्कुराउँथ्यो –
    ती दिनहरु कैलाली क्याम्पसका थिए । एउटा निर्जन सालघारीका बीचमा अवस्थित कैलाली क्याम्पस । ऊ मेरै क्लासकी सहपाठी । लुकिछिपी दिइने प्रेमपत्र बाहेक केटाकेटीहरुको खासै उठबस र सानिध्यको जमाना थिएन । जमानालाई चुनौती दिने बहादुर प्रेमीप्रेमिकाबाहेक बाँकी केटाकेटीहरु पश्चिम नेपालका जेठी र बहुरानी जस्ता थिए । देख्न हुने तर भेट्न नहुने । बोल्न हुने तर छुन नहुने । मेरो लागि ऊ त्यस्तै थिई ।

ती दिनहरु उसका थिए । कम्तीमा पनि दिनमा पाँच जोर लुगा बदल्ने उसको रुमानी जमाना थियो । बिहान क्याम्पस आउँदा ऊ, जुन लुगामा हुन्थी, दिउँसो कौशीमा देखा पर्दा उसको शरीरमा त्यो हुन्थेन, अर्कै लुगा हुन्थ्यो । कौशीकी कली जब चन्दन टाकिजको सेकेन्ड सोमा पाकिजा हेर्न पुग्थी, त्यसबेला उसका अगाडि पर्दाकी नायिका फिका पर्थे । डिम लाइटमा जब ऊ बाल्कोनीबाट चन्द्रमाझैं मुस्कुराउँथी, युवाहरु आफ्नो श्वास रोकेर सिठी मार्थे । उफ ! त्यो जमानाको कुरा अर्कै थियो । सूर्यास्तको शीतल पवनमा जब शैर गर्न पार्कको पछाडि  तालको माछाझैं लड्किन्थी, एउटा गज्जबको पहिरनमा ऊ शरदको आकाशझैं छ्याङ्गै खुलेकी हुन्थी ।

कदाचित जुनेली रातमा सहेलीहरुको साथ खुला सडकमा निस्किँदा पवनछिद्री निलो गामनमा खुब सजिएकी लाग्थी । बदामी आँखा, बाटुलो अनुहार, चौडा निधार, कैला केश र गोरो वर्णमा ऊ धपक्क बलेकी हुन्थी । आजसम्मको इतिहासमा सुन्दरताको एउटा दुर्लभ रुप धारण गरेर ऊ यस धराधाममा अवतरण भएकी थिई ।
    ठ्याक्कै इन्द्रलोकबाट झरेकी परी जस्ती । काम त योनिका । छोऊँछोऊँ लाग्ने । हेरिरहूँ लाग्ने । मनमुटुमा  टाँसिइ जाने । आँखाहरुमा बसिजाने । मायालु युगकी दुर्लभ बराङ्गना ।
    वर्षौँ अघिको सम्झनाको अतल गहिराइबाट भिजेको चराजस्तै भएर म निस्केँ । मेरो हात ह्विस्कीको गिलासमा थियो । म आश्चर्यचकित भएर तिलमिलाएँ
“तिमी रचना ............?”
उसको निधारको छाला सिकुडियो । मैले सोचेँ, आजै सिकुडिने बेला त होइन ।
“हो म त्यै रचना त हो नि ।”
कुरा गर्दा उसले कानका रिङहरु हल्लाउन सिकेकी रैछे । हल्लिरहेथे ।

“तिमी उही रचना हौ भन्ने कुरा मलाई विश्वासै लागिरहेको छैन । कहाँ बल्दो आगाको फिलिङ्गो जस्ती ऊ रचना, कहाँ निभेको कोइलाजस्ती, तिमी । कसरी पत्याऊँ म, हँ ? कसरी भयो यस्तो ? समयभन्दा अगाडि किन यसरी मुर्झायौ तिमी ? तिमी यस्ती त थिइनौ । बारमा आएर ड्रिङस, गर्ने पनि भइछौ ?”
ऊ फिस्स हाँसी । हाँस्दा डिम्पल पर्ने उसको गालामा चाउरीका अस्वाभाविक धर्काहरु देखा परे ।
    “के भनौँ ? यस्तै हो जिन्दगी ।”
    “कस्तो ?”
    “कथा लामो छ ।”
    “केही लेऊ । हामी यस अवस्थासम्म पनि पुगेछौं है ?”
    “उसबेला बोल्न पनि लाज लाग्थ्यो ।” ऊ लजाउन खोजी । तर लजाएको सुहाएन ।
    उसले गिलास मागी । मैले ह्विस्की हालिदिएँ ।
    “तिमीले विवाह गरिनौ ? घरबार छैन तिम्रो ?”
    उसले गहिरो श्वास लिई । एक चुस्की लिएपछि ऊ भन्नथाली –

 “ अरु भाग्यमानी स्वास्नी मानिस जस्तै मेरो पनि घरबार थियो । आफ्नै संसार थियो । एउटा सानो स्वर्गजस्तो घर थियो । देवता जस्ता श्रीमान थिए । न्यानो प्रेम थियो । आमाजस्ती सासू थिइन्, बाबुजस्ता ससुरा । लक्ष्मणजस्ता देवर थिए, लवकुशजस्ता छोरा । कपालका रौंजत्ति नै मेरा उपरमा मान्यजनहरुको आशिष थियो । खानलाई कमी थिएन । लोग्नेको जागिर थियो । घरभरि लुगा र गहनाहरु थिए । तीनतले हबेलीको अट्टालिकामा बसेर म आफ्नो स्वर्ग निहार्थेँ । कुनैबेला सोच्थेँ, मजति सुखी को होला, यस संसारमा ।

किन्तु त्यो सब भ्रम रहेछ । ती सब कुराहरु मेरा लागि क्षणिक सपना रहेछन् । ती मेरो आत्मा र अन्तरजगतको सुखसँग जोडिएका चिजहरु रहेनछन् । केवल बाहिरी आवरणका रमझमी भ्रम रहेछन् । पानीको फोका जस्तै फुस्केर गए । तासको घरजस्तै ढलेर गयो, त्यो स्वप्न महल । अथवा यसो भनौँ – पिँडालुका पातको पानीजस्तै ढलपलढलपल भएर खसेँ म, आफ्नो बाटोबाट । नियतिले मेरो निधारमा अर्कै कथा लेखिदिएको रैछ । जुन भूमिका मैले निर्वाह गर्न लेखिएको थियो, गरेँ ।”
“अनि ?”
एकपटक लामो श्वास लिई ।

अब ऊ आफ्नो कथा विस्तारमा भन्न थाली –
    विवाहपछि मेरो जिन्दगी प्रायः घरभित्रै सीमित भएको थियो । मलाई हमेशा हेरिराख्ने एउटा मेरो श्रीमान थिए, अर्को ऐना । बस्, यसबाहेक सितिमिति म अरुका नजरमा परेकै थिइनँ । एकदिन श्रीमानले भन्नुभयो –
“घरमै बस्दाबस्दा दिमाग बोधो हुन्छ । कहिलेकाहीँ बाहिरतिर पनि निस्किने गर न ।”
यशोदा दिदी समाजसेवामा थिइन् । म उनैसँग कहिलेकाहीँ सामाजिक र सांस्कृतिक कार्यक्रममा सहभागी हुन थालेँ ।
    एकदिन एउटा साहित्यिक कार्यक्रममा म एउटा कविका नजरमा परेँ । उसका आँखाहरु आएर टक्क ममाथि अडिए । म मुस्कुराई दिएँ । उसले परिचय लियो र दोस्रो दिन कफीको निम्ता दियो ।

मनभरि धेरै कौतुहल बोकेर गएँ । खप्तड क्याफेमा ऊ पर्खिबस्याथ्यो । भन्यो, ‘मुस्कान तपाईंको ज्यानमारा छ ।’ पहिलो भेटमै उसले मेरो खुब प्रशंंसा गर्‍यो । भन्यो, ‘यो दुर्लभ सुन्दरता, घरभित्रै लुकाएर राख्नलाई ईश्वरले एकै ठाउँमा खन्याइ दिएका होइनन् । बाहिरी संसार पनि तपाइंको सुन्दरताको प्रतीक्षामा छ । आफू जति सुन्दर हुनुहुन्छ, संसारलाई पनि सिंगारी दिनुस्’ ।
    मेरो अवस्था तातो र चिसोको चेपुवामा परेको सिसाको गिलासको जस्तै भयो । शरम र संकोचले बाहिरबाट जति खुम्चिएँ । खुसी र प्रफुल्लताले भित्रैदेखि फुलेल पनि भएँ । आफ्नो प्रशंसाले खुसी को नहुँदो हो । छुट्टिएर आउँदा हावामा उडिरहेको बेलुनजस्तै भैरहेकी थिएँ, म ।

महिना दिनपछि उसले फोन गरेर फेरि त्यही क्याफेमा भेट्ने अनुरोध गर्‍यो । मैले वचन राखिदिएँ । दोस्रो भेटमा पनि मेरो उस्तै तारिफमा आफ्ना शब्दहरु खर्च गर्न थाल्यो । यसपटक त्यस्तो लज्जा र सङ्कोच मनमा आएन । थोरै म उसँग खुल्न सकेँ । यो क्रम यस्तै चलिरह्यो । खप्तड क्याफेको तेस्रो भेटमा उसले एउटा सरप्राइज दियो । कफीको चुस्कीसँगै हातमा एउटा कागज लियो । त्यस कागजमा केही अक्षरहरु मिलेर मेरो बयान गर्दै थिए । मेरो कपाल, आँखा, ओठ, निधार, नितम्ब, मुस्कान र सौन्दर्यको वर्णनमा केन्द्रित सुन्दर कविता उसले मलाई उपहार दियो । सोचेँ – ओहो ! म कति भाग्यमानी । मेरो युगको एउटा कालिदास आफ्ना शब्दमा मलाई अमर बनाउँदै छ  । उसको कलमले मलाई भित्रैसम्म छोयो ।
    उसको कविता मैले आफ्नो छातीमा दुई हातले च्यापेँ । एउटा गहिरो उच्छ्वास माथिसम्मै उडेर गयो । “थ्यांक्यू सो मच  माइ डियर कवि ।”

गह्रौँ मनले उसँग बिदा मागेँ । बाटोभरि मन कताकता उडिरह्यो । सुत्न सकिनँ । रातभरि एउटा उथलपुथल मच्चिरह्यो मनमा ।
तिमीलाई थाहै छ, म उसबेलादेखि नै मोडल बन्न चाहन्थेँ । अनेकथरि फेसन गरेर आफ्नो रहर पूरा गर्नु मेरो सोख थियो । फोटो स्टुडियोमा गई अनेक भावभङ्गीका फोटो खिचाएर एल्बममा सजाउनु पनि मेरो उत्तिकै सोख थियो । भगवान्ले दिएको आफ्नो रूप र सुन्दरताप्रति म गर्व गर्थेँ । हजारचोटी ऐनामा आफैँलाई हेरेर अघाउँथेन । मोडेल बनेर पत्रिकामा छापिने मेरो रहर विवाहपछि चकनाचुर भएको थियो । तथापि मनको अभिलाषाले भने छटपटी गराइ नै रह्यो ।

मलाई लाग्थ्यो –
    फूलको अस्तित्व आफैँ फुल्नु र झर्नुमा कहाँ छ र ? कदाचित भ्रमरा बसिदिए पो ऊ फुल्नुको सार्थकता हुन्छ । अझ माहुरीले रस चुसिदिए पो ऊ फुल्नको अर्थ रहन्छ । चर्कै सुगन्ध छरेर फुलेको फूललाई कसैले सुँघिदिए पो उसको अस्तित्व साकार हुन्छ । अझ भन्नुहुन्छ भने, ढकमक्क फुलेको फूलको थुङ्गा कुनै शोडषी बालाको शिरमा सिउरिएन भने उसको अस्तित्व निरर्थक हुन्छ । ठिक यस्तै हो, मान्छेको अस्तित्व पनि ।

संसारका प्रत्येक मान्छेसँग छुट्टै र मौलिक प्रतिभा हुन्छ । त्यही प्रतिभा या निजी आकर्षणले यस संसारमा आफ्नो उपस्थिति जनाउँछ अनि निजी प्रभाव र चिनारी छोड्छ । व्यक्तिको प्रतिभा भन्नु नै उसको निजी आकर्षण त हो नि, जो संसारलाई ऊ देखाउन चाहन्छ । ईश्वर प्रदत्त प्रतिभा लुकाउने चिज हुँदै होइन, देखाउने चिज हो । यस अर्थमा मलाई लाग्थ्यो मेरो सुन्दरता नै मेरो विशेष प्रतिभा हो, जो मैले दुनियाँसामु देखाउनु पर्छ । आफ्नो प्रतिभाको प्रस्फुटन मान्छे चाहन्छ भने मेरो सुन्दरताको प्रस्फुटन रङ्गमञ्चमा हुनु आवश्यक छ । त्यसैले ईश्वर प्रदत्त विशेष प्रतिभा या आकर्षणलाई लुकाएर राख्नु निजत्वको दमन पनि हो ।
मेरो छट्पटी यही थियो ।
    चौथोपटक उसँग म आफैँ भेट्न चाहन्थेँ । मैले नै प्रस्ताव गरेँ, खप्तड क्याफेमा । यसपटक उसले मेरै मनको कुरा गर्‍यो ।  

    “म केवल शब्दकवि मात्र हैन महोदया, फोटोपत्रकार पनि हुँ । तपाईं आफ्ना केही पोज फोटोहरु मलाई खिच्न दिनुहोस् । तपाइंको आग्नेय सुन्दरतालाई म संसारसामु प्रकाशमा ल्याइदिन्छु । एउटा राष्ट्रिय पत्रिकाको मध्यपृष्ठमा तपाईंको ब्लोअप निकालिदिन्छु । मञ्जुरी छ ?”
म चकित परेँ । उसले कसरी बुझ्यो मेरो उत्कट चाहना ? म खुसीले पागल हुन आँटेकी थिएँ । तैपनि भनेँ – “एउटा गृहिणीको ब्लोअप ? त्यो पनि राष्ट्रिय पत्रिकाको मध्यपृष्ठमा ?” “म कुनै मोडल होइन नि, न त हिरोइन नै ।”
“तपाइं केही हुनु र नहुनुमा मेरो केही सरोकार होइन । केवल म तपाईंको सुन्दरताको पारखी हुँ, आफ्नो जीवनको अस्तित्व र मूल्य खोज्नुहोस् । व्यत्तिकै खेर जान नदिनुस् । बस् । मञ्जुरी छ ?”

उसका कुराले मलाई भित्रदेखि हलचल गरिदियो । म निःशब्द र नाजवाफ भएँ । मेरो वर्षौंदेखिको रहरको कुरा ऊ बोलिरहेथ्यो ।  म के बोलौं ? त्यसै मन नलागी छुट्टिएर आएँ । घरमा आएर सल्लाह गर्दा श्रीमान्ले ‘नाईँ’ भन्नु भएन । तापनि मलाई भित्रभित्रै एक प्रकारको द्विविधा भैरह्यो, के गरौँ ? दिऊँ या नदिऊँ ? मेरो जीवनमा त्यसले केही फरक पार्ला कि ? एउटा मनले भन्यो– आखिर त्यस्तो विघ्न सुन्दरता नै के छ र मसँग ? किन मान्छे यसरी अनुरक्त भएका होलान् मप्रति ? रातभरि यस्तै भावहरु मनमा खेलिरहे । सोचेँ – सबैले कहाँ पाउँछन् र यस्तो अवसर ? आखिर केही छ, मसँग र त मान्छेको आकर्षण छ । म दोस्रो दिन स्टार स्टुडियोमा पुगेँ । कविलाई बोलाएँ । विभिन्न पोजका सातओटा फोटो दिएर फर्केँ ।

एक महिनापछिको रङ्गिन पत्रिकाको मध्यपृष्ठमा मेरो ब्लोअप छापियो । मेरो खुसीको सीमा रहेन । त्यसैत्यसै मन रोमाञ्चित भयो । देश–विदेशबाट फोन र म्यासेजमा बधाईहरु आउन थाले । मान्छेहरु भेट्न घरमै पुग्न थाले । पत्रकारहरु अन्तर्वार्ता लिन थाले । अहो, लाग्यो– म कहाँबाट कहाँ पुगेँछु । एउटा सेलिब्रेटी जस्तै मान्छेहरुको नजरमा म त्यत्तिकै पर्न थालेँ । भेटमा कविले बधाईका लागि हात अघि बढाए । एक कदम अगाडि बढेर म उनका गला लागेँ । — “थ्यांक्यू सो मच माई डियर कवि ।’
त्यसपछि मेरो दुनियाँ अर्कै भयो । जिन्दगीले कोल्टो मात्रै फेरेन, आसमान छोयो । पत्रिकामा ब्लोअप छापिएको एक महिनापछि काठमाडौंबाट फोन आयो । बहुराष्ट्रिय सेम्पु प्रोडक्सन कम्पनीको म्यानेजरले एउटा महत्वपूर्ण विज्ञापनमा खेल्न प्रस्ताव गरेको थियो । मेरो खुसीको सीमा रहेन । घरमा अनुमति मागेँ ।

“आफ्नो प्रतिभा र व्यक्तित्व विकासका लागि आएको एउटा महत्वपूर्ण अवसरको सदुपयोग गर्नु, तिमीलाई मेरो शुभकामना ।”
    घरबाट निस्कने बेला मेरा श्रीमान्ले माथा चुम्दै यिनै शब्दद्वारा बिदाइ गर्नुभयो । म सिमलको भुवाजस्तै उडेर काठमाडौं पुगेँ । सेम्पु प्रोडक्सन कम्पनीको म्यानेजरले मेरो कपालका केस्राकेस्रा केलायो । एकएक रौं हातमा लिएर सहलायो । र, एउटा प्रस्ताव अगाडि सार्‍यो  ।
    ‘तपाइंका रेश्मी कपालहरु हाम्रो कम्पनीको विज्ञापनका लागि काम लाग्नेछन् । विज्ञापनमा प्रयोग गरेबापत तपाईं आफ्ना कपालको मूल्य पचास लाख लिनुहोस् । सट्टामा आफ्ना कपालको सर्वाधिकार कम्पनीका नाममा गर्दिनुस् । मञ्जुरी छ ?’

अहो ! जाबो कपालको विज्ञापन दिएबापत पचास लाख ? मेरा लागि काठमाडौंको आकाश साँघुरो भयो । म खुसीले पूरै आकाशमा उड्न चाहन्थेँ । माछा जस्तै तैरिन चाहन्थेँ । अहिलेसम्मको जिन्दगीमा मैले पचास लाख देखेकै थिएन । दायाँबायाँ कतै नहेरी फाइलमा साइन गर्दिएँ ।
    मेरो कपालहरु टिभीमा आउन थाले । पत्रिकामा छापिन थाले । अब म सामान्य महिला कहाँ थिएँ र ! एउटा ग्ल्यामर दुनियाँमा मेरो प्रवेश भैसकेको थियो ।
हप्तादिन पछि बहुराष्ट्रिय बिन्दी उत्पादक कम्पनीको म्यानेजरले फोन ग¥यो । म उफ्रिदै भेट्न गएँ । उसले प्रस्ताव गर्‍यो ।

“तपाईंको निधार हाम्रो कम्पनीको विज्ञापनका लागि काम लाग्नेछ । विज्ञापनमा प्रयोग गरेबापत तपाईंको निधारको मूल्य पचास लाख लिनुस् । सट्टामा आफ्नो निधार कम्पनीका नाममा पास गर्दिनुस् ।”
म दोधारमा परेँ । एउटा मनले भन्यो– “अहो ! भाविनीले भाग्य लेख्ने निधारमै हो भन्थे । यै निधार अर्काको नाममा पास गर्दिएँ भने मेरो भाग्य कहाँ लेखिएला ?”
अर्को मनले भन्यो – “ अरे लाटी, भाग्य भनेकै यै हो, चिनिनस् ? पचासपचास लाख तेरो खप्परमा कैले आथ्यो ? अलमलमा नपर् । छिटो  पास गर्दे ।”
मैले म्यानेजरको हातबाट फाइल तानेँ । र, तुरुन्त साइन गर्दिएँ । टिभी र पत्रिकाहरुमा मेरो निधार देखिन थाल्यो । चिटिक्क लालबिन्दी लाएको आफ्नै गोह्रो निधार देखेर मनमनै सोच्थेँ – “आहा ! कति भाग्यमानी निधार मेरो ।”
    सातादिन पछि बहुराष्ट्रिय गाजल उत्पादक कम्पनीको म्यानेजरको फोन आयो । गएँ । उसले प्रस्ताव अघि सा¥यो –
“तपाइंका स्वप्निल आँखाहरु हाम्रो कम्पनीको विज्ञापनका लागि काममा आउनेछन् । आफ्ना आँखाको मूल्य एक करोड लिनुस् । सट्टामा आफ्ना आँखा कम्पनीको नाममा पास गर्दिनुस् ।”
म अन्य मनस्क भएँ । “संसार हेर्ने आँखा कसरी अर्काको नाममा पास गरुँ ? केही सपनाहरु पनि छन् यी आँखामा ।” यस्तै के–के सोचेँ ।

तत्काल अन्तरआत्माले जवाफ दियो– “अरे बुद्धु तेरा यी आँखाले कैल्यै सपनामा पनि एक करोड देखेको छ ? एक–एक करोड देख्ने सौभाग्य कैले पाउँछन् र तेरा यी रिठ्ठे आँखाले ? आफ्नो सपना ऐल्यै पूरा हुन थालेको देख्दिनस् ?”
    मैले दायाँबायाँ कतै हेरिन । तुरन्त फाइल लिएँ र साइन गर्दिएँ । सागरजस्ता मेरा आँखाहरु टिभीको स्क्रिनमा देखिन थालेँ । खुसीले म उसै उड्न थालेँ ।
    त्यही साँझ बहुराष्ट्रिय टुथपेष्ट उत्पादक कम्पनीको म्यानेजरको प्रस्ताव आयो– “तपाईंका दाँतहरु हाम्रो कम्पनीको विज्ञापनका लागि काम लाग्नेछन् । एक करोड रुपैयाँ लिनुस् । सट्टामा आफ्ना दाँत कम्पनीको नाममा पास गर्दिनुस् ।”

मैले आँखा चिम्लेर सही गर्दिएँ ।
केही दिनपछि क्रिम कम्पनीको म्यानेजरले फोन गर्‍यो । अब मसँग आफ्नो कार थियो । आफैँ हाकेर गएँ । भेटमा उसले पनि त्यस्तै प्रस्ताव गर्‍यो –
“तपाइंको गाला हाम्रो कम्पनीको विज्ञापनका लागि काम लाग्नेछन् । त्यसबापत एक करोड रुपैयाँ लिनुस् र कम्पनीका नाममा आफ्ना गाला पास गर्दिनुस् ।”
मैले एक करोड बुझेँ । फाइलमा सही गर्दिएँ ।
    सातादिन भित्र अर्को फोन आयो । लिपिष्टिक उत्पादक कम्पनीको म्यानेजरको फोन थियो । भेटमा उसले प्रस्ताव गर्‍यो– “तपाईंका गुलाबी ओठहरु यस कम्पनीको विज्ञापनका लागि काममा आउने छन् । दुई करोड रुपैयाँ लिनुस् र आफ्ना ओठहरु कम्पनीका नाममा पास गर्दिनुस् ।”

मैले ओठ चुच्चो पारेँ ।
ऊ झस्कियो । “के सोच्नु भयो ? चित्त बुझेन भने एक करोड थप लिनुस् न त ।”
मैले आफ्नो ब्यागबाट कलम झिकेँ । फाइलमा साइन गरिदिएँ । मेरा ओठहरु प्यासी भएर टिभीको स्क्रिनमा देखिन थाले । वाह !  मेरो जिन्दगी ।
यो क्रम निरन्तर जारी रह्यो ।

त्यसपछि नङ पालिस उत्पादक कम्पनीका म्यानेजरले तीन करोडको प्रस्ताव गर्‍यो, मैले आफ्ना नङ दिएँ । मेहेन्दी उत्पादक कम्पनीले चार करोडको प्रस्ताव गर्‍यो, मैले आफ्ना हत्केला दिएँ । साडी उत्पादक कम्पनीले पाँच करोडको प्रस्ताव गर्‍यो, मैले आफ्नो नितम्ब र नाइटो दिएँ । ब्रा उत्पादक कम्पनीले छ करोडको प्रस्ताव गर्‍यो, मैले आफ्ना दुवै स्तन कम्पनीका नाममा पास गर्दिएँ  । पेन्टी उत्पादक कम्पनीले सात करोडको प्रस्ताव गर्‍यो, मैले आफ्ना जाँघ र मूलाधारचक्र कम्पनीका नाममा पास गर्दिएँ ।
अनि ?

अनि एक दिन बहुराष्ट्रिय कण्डम उत्पादक कम्पनीको म्यानेजरले दस करोडको प्रस्ताव अगाडि सार्‍यो, मैले कम्पनीको नाममा आफ्नो योनि पनि पास गर्दिएँ । मेरो शरीरमाथि मबाहेक अरु कसको अधिकार थियो र ! मेरो अस्तित्वको भोक्ता केवल मै थिएँ । यसरी मैले आफ्ना शरीरका टुक्राटुक्रा जीवनको सुखका लागि बेचिदिएँ ।
    अब मसँग के थिएन ? काठमाडौंमा आलिसान महल थियो । गाडी–मोटरहरु थिए । नोकर चाकरहरु थिए । बैंकमा ब्यालेन्स थियो । आफ्नो श्रीमान र छोराहरुलाई काठमाडाैं ल्याइसकेकी थिएँ । अरुले देख्ने सपनाको जिन्दगी मसँग साकार थियो । सातौं जुनीसम्म पनि पूरा नहुने सपना मैले एक जुनीमा पूरा गरेकी थिएँ ।

वाह ! मेरो जिन्दगी ! वाह मेरो सपना !
परन्तु एउटा उदेक लाग्दो तनावले मेरो जिन्दगीमा पाइला राख्यो । म रातदिन विज्ञापनका काममा व्यस्त हुन थालेँ । कुनै बेला त दिन होइन, हप्ता होइन, महिनौं बाहिर हुन थालेँ । म सडकबाट आकाशको जिन्दगीमा पुगेकी थिएँ । बहुराष्ट्रिय कम्पनीका मालिकहरुले कहिले अमेरिका लिएर जान्थे, कहिले क्यानडा । कहिले सिंगापुर लिएर जान्थे, कहिले स्वीजरल्यान्ड । लामो समयपछि घर फर्किँदा बच्चाहरुले आमाको अनुहार बिर्सिसकेका हुन्थे । श्रीमानका लागि म बिरानी भइ गएकी हुन्थेँ । मसँग धनसम्पत्ति थियो । घर र गाडीहरु थिए । सुविधाका साधनहरु थिए । सबै चिज पूरा थियो परन्तु आफ्ना छोरा र श्रीमानका लागि दिने एक घण्टा पनि समय थिएन ।

यहीँनेरबाट जीवनका खुसीहरु खोसिन थाल्दा रहेछन् । घरमा लक्ष्मीको बास हुँदा सरस्वती टाढा हुँदी रैछिन् । लक्ष्मी धनकी प्रतीक, सरस्वती सुखकी । सम्पत्ति र सुख सँगै बस्न नसक्दा रहेछन् । मेरो जीवनमा एकातिर बेहिसाबले धन प्राप्ति हुँदै थियो भने अर्कोतिर अप्रत्यासित रुपमा सुख र शान्ति खोसिँदै जान थालेको थियो ।

द्यौताजस्ता मेरा श्रीमान् मेरो जिन्दगी देखेर कायल भएका थिए । कहिल्यै नबोल्ने श्रीमानको कचकच सुरु भएको थियो । बहुदा हाम्रा दिनहरु झगडा र तनावमा बित्न थाले । ममा पनि सम्पत्तिको अभिमान चढेको थियो । मभन्दा बढी श्रीमानले कुरा बुझ्नुपर्छ भन्ने मान्यता थियो तर श्रीमानमा अर्कै किसिमको उराठता र उदासिनता । अन्ततः एकदिन श्रीमान्ले डिभोर्स फाइल अदालतमा पेश गरे । आकाशबाट खसेजस्ती त म त्यतिबेला भएँ जतिबेला मतिर हेर्दै नहेरी मेरा छोराहरु आफ्ना बाबाको हात समातेर गाउँ फर्के ।

जुन दिन मेरो घर रित्तो भयो, लाग्यो – मेरो जिन्दगी निरर्थक भयो । कुनैबेला सोच्थेँ, नियतिले एक्लो गर्‍यो त के भयो ? एक्लै पनि संघर्ष गरेर बाँच्नु छ । मेरो अस्तित्व संघर्ष गर्नुमै छ । तर अस्तित्व भन्ने कुरा पनि खुसीसँगै जोडिएको हुँदो रैछ । खुसी खोसिदा जिन्दगी निरर्थक लाग्दो रैछ । भन त, यत्रो सम्पत्ति मैले कसका लागि कमाएँ ? कसको भरमा छोडेर गएँ मलाई, मेरो श्रीमान् र छोराहरुले ? अब मेरो को थियो र जीवनमा ? सानो खुसीका लागि मैले जे गरेँ, त्यसले ठूलो खुसी खोसेर लग्यो मबाट ।

यत्रो विशाल सम्पत्तिले के गर्छ अब मलाई ? आफ्नै सानै झुपडीमा टाउको लुकाएर बसेकी भए मेरो के चाहिँ बिग्रिन्थ्यो र ? के म मेरो त्यो जिन्दगीबाट सन्तुष्ट हुने थिएन र ?
    संसारमा एउटा विश्वास छ, सम्पत्ति र समृद्धि नै सुखको प्रतीक हो । तर होइन रहेछ । त्यो केवल भ्रम रहेछ । सम्पत्ति र सुख एकैसाथ सधैँ रहन नसक्ने चिज रहेछन् । सुखको साइनो आत्मासँग हुन्छ, सम्पत्तिको भौतिकतासँग । भौतिक समृद्धिले म पुरिएकी थिएँ परन्तु आत्मिक सुख खोसिएको थियो सदाका लागि मबाट ।
    थाहा भयो, मैले रोजेको बाटो दुःखको बाटो रहेछ । मनमा सुख र सन्तुष्टि हुँदा शरीर बैंशको डालीजस्तै हराभरा थियो । जब त्यो हरण भयो, मेरो शरीर पनि शिशिरको सिमलजस्तै खङरङ्ग हुँदै गयो ।
    अब कसका लागि काम गर्नु मैले ? यसै झोक्राएर बसिरहेँ ।

मेरो जिन्दगीमा जस्तो पहिरो गए पनि दुनियाँलाई मतलब नै के हुन्थ्यो र ! आखिर म अनुबन्धित पनि थिए नै । अब मेरो जिन्दगी मेरो हातमा मात्रै कहाँ थियो र ! मन नलाग्दा काम गर्न सक्दिन भन्ने अधिकार मैले गुमाइसकेकी थिएँ । मैले मेरो शरीरका एकएक अङ्गहरु बेचिसकेकी थिएँ । कपाल जसले किनेका थिए, उनैले सहलाउँथे । निधार र आँखा जसले खरिदेका थिए, उनैले चुम्थे । गाला र ओठको मूल्य जसले तिरेका थिए, उनैले टोक्थे । स्तनहरु जसले रिजर्ब गरेका थिए, उनैले निचोर्थे । नितम्ब र नाइटो जसले कबुलमा लिएका थिए, उनैले सुम्सुम्याउँथे । जाँघ र योनिको अनुबन्ध जसले गरेका थिए, उनैले काम चलाउँथे । आफ्नो जिन्दगीमा मैले के बाँकी राखेकी थिएँ र ! एकएक अङ्गको सौदा गरिसकेकी थिएँ । सर्वाङ्ग म रित्तिसकेकी थिएँ ।

यसरी रस निचोरिएको कागतीको खोस्टोझैं भैसकेपछि  काठमाडौंको सडकमा मिल्काइएँ म । यसबेला मसँग न मेरा श्रीमान् छन्, न छोराहरु । न मसँग मेरो कपाल सहलाउने बहुराष्ट्रिय कम्पनीका मालिक छन्, न मेरो कविता कोर्ने कवि । छौ त केवल वर्षौँपछि नियतिले भेट गराइ दिएको पुरानो जमानाको एउटा साथी । तिमी ।
    भोग्नलाई त सबै भोगेँ । भन त, आखिर के पाएँ, मैले यस जिन्दगीबाट ? के हो मेरो जिन्दगीको उपादेयता ? कहाँ साकार भयो, मेरो अस्तित्व ? मलाई बताऊ त ।
    वषौंपछि तिमीसँग भेट हुँदा मैले सँगालेका यतिका दुर्गन्धित कुराहरु सुनाउने मौका पाएँ । एकैछिनलाई भए पनि मन हलुका भयो । एक वसुभोगा आइमाई भनेर घृणा नगरिदिनू । अब जान्छु पनि ल ।
    ×××                ×××                ×××

ऊ उठेर गई  । उसका मसिना चार ओटा औंलाहरु उसैगरी माथि उठे – “बाई ...........।”
चोर औंलाका साथमा मेरो अर्को औंला पनि उठ्यो –
“बाई ..............।”
खै किन किन मेरा आँखा लोलाएर तल झरे ।
“उफ ।” मुखबाट एउटा सुस्केरा छुट्यो ।
    “हैट, साला जिन्दगी !!”

 

 

 

प्रकाशित: २६ मंसिर २०७६ ०८:२१ बिहीबार

अस्तित्व खोजी नागरिक परिवार