अन्य

दुना–टपरी

सम्वृद्धि बराल
 कक्षा – ८,
ताराकुञ्ज सेकेन्डरी स्कुल पोखरा–१३, कास्की।

प्रदेश नं. ४ पोखरा –१३, कास्कीमा अवस्थित ताराकुन्ज सेकेन्डरी स्कुलको मुख्य उद्देश्य नै विद्यार्थीहरूलाई शैक्षिक तथा व्यावहारिक शिक्षा दिनु हो। यस विद्यालयले विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नगराई विभिन्न किसिमको क्रियाकलापमा पनि सहभागी गराउँदै आएको छ। जसले गर्दा विद्यार्थीहरूको बौद्धिक विकासमा सहयोग पु-याएको छ।

विद्यार्थीहरूले हामीलाई व्यावहारिक शिक्षा पनि चाहिन्छ भनेर माग राखेको हुँदा विद्यालयले विभिन्न किसिमका गतिविधिहरू गर्दै आएको छ। जसरी आकाशमा ताराहरू चम्किरहन्छन् त्यसरी नै मेरो विद्यालय पनि आफ्नै विविध गतिविधिका साथ चम्किरहेको छ। विद्यार्थीहरूलाई विभिन्न खाले जीवनोपयोगी गतिविधिमा सहभागी गराएर नै मेरो विद्यालय जिल्लाकै उदाहरणीय विद्यालय बन्न सफल भएको छ।

मेरो विद्यालयमा विद्यार्थीहरूलाई अचम्म पार्ने खालका क्रियाकलापहरू गराइन्छ। कहिले डोको बुन्ने, कहिले गुन्द्री बुन्ने र कहिले विभिन्न परिकारहरू बनाउने तरिका पनि सिकाइन्छ। यसै क्रममा यसपालि हामी ८ कक्षाका विद्यार्थीहरू दुना–टपरी गाँस्ने सीप सिक्न सहभागी भयौं। हामी धेरै विद्यार्थीहरूलाई कटुस र सालको पात कस्तो हुन्छ भन्ने पनि थाहा थिएन। घरमा बुबाआमाले बजारबाटै दुना–टपरी किनेर ल्याउनु हुन्थ्यो। केबाट ÷कसरी दुना–टपरी बनाइन्छ भन्ने कुरा मलाई पनि थाहै थिएन।

दुना–टपरीको प्रयोग हराउँदै गएको बेला विद्यालयले स्थानीय आमाहरू र शिक्षकहरूद्वारा कटुसको पात, सालको पात र बाँसको सिन्का प्रयोग गरी दुना–टपरी गाँस्ने प्रशिक्षण प्रदान गरियो। व्यावहारिक ज्ञान र सीप निकै उपयोगी हुने रहेछ। योे प्रशिक्षण पनि निकै उपयोगी रह्यो। व्यापहारिक ज्ञान सीप म मेरो विद्यालय, शिक्षक शशि शिशिर ढुगाना, प्रशिक्षक आमाहरू र गुरुआमाहरूप्रति आभारी छु। हामीले उहाँहरूबाट उपयोगी सीप सिक्ने अवसर पायौं। यस्तै गरी सबै विद्यालयहरूले विद्यार्थीहरूको व्यावहारिक ज्ञान र सीपमा बढी जोड दिइयोस् भन्ने अपेक्षा गर्दछु। 

प्रकाशित: २१ मंसिर २०७६ ०२:२२ शनिबार

दुना–टपरी मेरो_अनुभव