अन्य

शास्त्रमा परिणय सूत्र

हेमराज भट्टराई ‘शास्त्री’

हिन्दू धार्मिक परम्पराअनुसार जन्मदेखि मृत्युपर्यन्त मानिसका सोह्र संस्कार हुन्छन्। तीमध्ये गुरुकुलबाट समावर्तन (फर्कनु) पछि १५औं नम्बरमा पर्ने परिणय सूत्र (विवाह) संस्कारलाई महत्वपूर्ण मानिन्छ। गृहस्थ आश्रमको प्रवेशद्वार हो, विवाह संस्कार। ‘वह्’ धातुमा ‘वि’ उपसर्ग लागेर बनेको ‘विवाह’ शब्दले कुनै पनि व्यक्तिले ब्रह्मचर्य आश्रम पूरा गरी गृहस्थ आश्रम वहन गर्न सक्छ भन्ने बुझाउँछ।

शास्त्रीय विधिले वर र वधू मिलाउने कार्यलाई विवाह भनिन्छ। ‘वरितुं योग्यः वरः’ अर्थात् जो योग्य, श्रेष्ठ र उत्तम छ, ऊ नै वर हो। यसो पनि भनिएको छ, ‘बध्नाति वरं इति वरः’ अर्थात् आफ्नो पतिलाई असल आचरण देखाएर वशमा पार्नुपर्छ। यसले के प्रस्ट्याउँछ भने कुनै पनि व्यक्ति उमेर पुगेको तथा हरेक दृष्टिकोणले योग्य हुनैपर्छ विवाहका लागि।

याज्ञवल्क्य स्मृतिमा भनिएको छ, ‘विभिन्न प्रकारका सद्गुणयुक्त, कुल, शीलस्वभाव, शरीरको उचाइ, पढाइको स्तर, आर्थिक अवस्था, गोत्र, वर्ण लगायत विविध पक्ष मिलाएर मात्र वर–वधूको विवाह गरिदिनुपर्छ।’ गीताको पहिलो अध्यायको ४२औं श्लोकमा पनि ‘विवाह गर्दा वर्ण तथा गोत्र मिलाएर गर्नुपर्ने,  नत्र वर्णसंकर सन्तान जन्मने र त्यस्ता सन्तानबाट दिइएको पीण्डपानीले आमा र बाबु दुवैतिरका २१÷२१ पुस्तालाई नरक लैजाने’ उल्लेख छ।

विश्वकै प्राचीन मानिने ग्रन्थ ऋग्वेदमा सूर्य र सूर्याको प्रसंगमा विवाह संस्कारका सबै वैदिक मन्त्र उल्लेख छ।  त्यस्तै, चार वेदमध्येको पछिल्लो अथर्व वेदमा पनि विवाह संस्कारबारे उल्लेख छ। यसले पुष्टि गर्छ, यो चलन वैदिक कालदेखि चलिआएको हो।

सभ्य र सुसंगठित समाज तथा मानव जीवनलाई आदर्श रूपमा परिणत गर्न विवाहको चलन सुरु भएको पाइन्छ। सम्पत्ति दान गर्दा वैदिक विधिले संकल्प पढेर दिने चलन भएजस्तै कन्याका पिताले छोरी सुम्पिँदा धार्मिक विधि अपनाउने गरेको विभिन्न धर्मग्रन्थमा उल्लेख रहेको प. बलराम सिग्देल बताउँछन्। मनुस्मृतिमा भनिएको छ, विवाह दुई आत्माबीचको पवित्र मिलन भएकाले वर र वधू दुवै पक्षको समझदारीमा शास्त्रीय विधिले विवाह गरे शाखा–सन्ततिलाई शुभ हुन्छ। सो ग्रन्थमा आफ्नो चाहनाले मात्र नहुने, सूर्य भगवान्ले नै विवाहका लागि तोकिदिएको समेत उल्लेख छ। स्कन्धपुराण, केदारखण्ड अन्तर्गत श्रीस्वस्थानीले पनि सो कुरालाई नै समर्थन गरेको पाइन्छ।

विवाहको महत्व
विवाह र पतिपत्नीको महत्वबारे रामायणमा एउटा रोचक प्रसंग छ। श्रीरामले जीवनमा जनककी छोरी सीताबाहेक अरू कसैसँग विवाह गरेनन्। यतिसम्म कि जनताको भलाइका लागि र लोक निन्दा खप्न नसकेर उनले सीतालाई जंगलमा छाडिदिएका थिए, पछि उनले गरेको अश्वमेध यज्ञ पत्नीको अभावमा पूरा हुन नसक्ने शास्त्रीय मान्यता रहेकाले उनले सीताको प्रतिमा बनाएर भए पनि यज्ञ पूरा गर्नुप-यो। महाभारत कालमै चार वर्णाश्रमको व्यवस्था भइसकेको पाइन्छ। महाभारतको आदिपर्वमा आश्रम धर्म र पतिव्रता तथा पत्नीव्रत धर्मबारे यस्तो उल्लेख छ, ‘ब्रह्मचर्य आश्रम पूरा भएपछि गृहस्थमा प्रवेश गर्न धार्मिक विधिअनुसार विवाह गर्नुपर्छ।’ यसपछि विवाहलाई अनिवार्य संस्कार बनाएको पाइन्छ। यसका साथै गृहस्थ आश्रम चलाउन अविवाहित मानिस अधुरो हुने मानिन थालेको उल्लेख छ। मुहूर्त भास्करको विवाह मयुखमा ‘कर्मै गरे मिल्दछ स्वर्गवास, पत्नीविना कर्म हुँदैन पास’ अर्थात् कुनै पनि सत्कर्म गर्दा पतिपत्नी साथमा हुनुपर्छ, नभए कर्मको फल मिल्दैन भनिएको छ।

विवाहको परम्परा र मुहूर्त
विभिन्न शास्त्रमा विवाहबारे अनेकौं विषय जोडिएका छन्। उपनिषद् युगका मूर्धन्य चिन्तक अरुणि ऋषिका पुत्र उद्दालककी पत्नीलाई शक्तिशाली कुनै एक व्यक्तिले हरण गर्न खोज्यो। उद्दालकले त्यसमा कुनै प्रतिक्रिया नदिए पनि उनका छोरा श्वेतकेतुलाई यो मन परेन र प्रतिकार गरे। उद्दालकले छोरालाई भने, ‘नरोक, यो हाम्रो पहिलेदेखिकै सामाजिक परम्परा हो।’ यो घटनाले श्वेतकेतुलाई साह्रै दुःखी बनायो। उनले यस्तो व्यवस्थाको अन्त्य गर्ने निधो गरे। त्यसपछि उनले ‘एक पत्नी एक पति’को व्यवस्था गरे। ऋषिहरुले विवाह संस्कार वैदिककालमै सुरु गर्न खोजे पनि उपनिषद्कालमा आएर मात्र व्यावहारिक रुपमा यसको सुरुवात भएको पाइन्छ।

विभिन्न शास्त्रमा विवाहबारे अनेकौं विषय जोडिएका छन्। उपनिषद् युगका मूर्धन्य चिन्तक अरुणि ऋषिका पुत्र उद्दालककी पत्नीलाई शक्तिशाली कुनै एक व्यक्तिले हरण गर्न खोज्यो। उद्दालकले त्यसमा कुनै प्रतिक्रिया नदिए पनि उनका छोरा श्वेतकेतुलाई यो मन परेन र प्रतिकार गरे। उद्दालकले छोरालाई भने, ‘नरोक, यो हाम्रो पहिलेदेखिकै सामाजिक परम्परा हो।’

यस्तै अर्को कथा छ– जन्मैदेखि दृष्टिविहीन दीर्घतमा (वैदिक कालका वैज्ञानिक) नाम गरेका एकजना ऋषि थिए। उनले गरेको यौनाचार सहन नसकेर पत्नीले उनलाई त्यागिदिइन्। पत्नी वियोगले दुःखी भएका दीर्घतमाले पतिपत्नीले एकअर्कालाई छोड्न नहुने नियम बनाए। यस्ता घटनाले पौराणिकालमा पतिपत्नीको महत्व देखाए पनि विवाह धार्मिक क्रियाकलापसँग जोडिएको भने पाइँदैन। तसर्थ, परम्परागत विवाहको सुरुवातको श्रेय तिनै उद्दालकका छोरा श्वेतकेतुलाई जान्छ। यसअघि विवाहको चलन थिएन। महिला र पुरुषबीच सम्झौता हुने र केही समय बसेर छुट्न पनि सक्थे। अनि, सम्झौताअनुसार नै कतिवटा सन्तान जन्माउन्जेल सँगै बस्ने भन्ने हुन्थ्यो। त्यसपछि बन्धनमै रहने कि स्वतन्त्र हुने, अन्य महिला वा पुरुषसँग शारीरिक सम्बन्ध राख्ने कि नराख्ने जस्ता विषयमा मौखिक समझदारी हुन्थ्यो। सभ्यताको विकास क्रमसँगै विवाह व्यवहारमा आयो र परम्परा बस्यो । अर्काकी पत्नी अपहरण गरेर लैजाने, एउटै कन्या वा कुमारमा धेरैजनाको आसक्ति हुनेलगायत कुकर्म घट्दै गए। विकृत बनेको दाम्पत्य जीवनको परम्परालाई सभ्य बनाउन निश्चित पुरुष र स्त्रीका लागि निश्चित पुरुष र स्त्री तोक्नुपर्ने आवश्यकताले एउटा संस्कार बस्यो, जसलाई ‘विवाह’ भनियो। त्यसपछि  मनुस्मृति, याज्ञवल्क्य स्मृतिलगायत शास्त्रले सामाजिक अवस्था हेरेर विवाहको विधि र प्रकार निर्धारण गरेको पाइन्छ। विवाहको प्रकृति हेर्दा यसले यौनको आवश्यकतालाई नै स्विकारेको पाइन्छ। यसलाई व्यवस्थित गर्न भने अनेक प्रचनल र परम्परा विकसित भए। ती परम्परा जाति, धर्म, वर्ण, क्षेत्रअनुसार पनि फरक फरक ढंगले विकसित बन्न पुगेका हुन्। धर्मशास्त्रमा खासगरी धर्मप्राप्ति, सन्तानप्राप्ति र रतिसुखलाई विवाहको उद्देश्य बनाएको पाइन्छ। ब्रह्मचर्याश्रम समाप्तिसँगै गृहस्थाश्रममा प्रवेश गर्ने खुट्किलोका रूपमा विवाहलाई लिइएको पाइन्छ। यिनै उद्देश्य पूर्तिका लागि परम्परा फरक–फरक रूपमा विकसित भए। हिन्दु धर्ममा शुभ मुहूर्त वा लग्न निकालेर वैदिक तथा कर्मकाण्डीय पद्धतिअनुसार विवाह गर्ने चलन पौराणिक कालदेखि रहेको पाइन्छ।

मुहूर्त भास्करमा ‘वैशाख, ज्येष्ठ, आषाढ, मार्ग, माघ र फाल्गुण, विवाह गरनू छोडी चतुर्मास पौष चैतमा’ भनेर विवाह गर्ने महिना तोकिएको छ। वैशाख, जेठ, असार, मंसिर, माघ र फागुनमा विवाह शुभ मानिएको छ भने चतुर्मास (साउन, भदौ, असोज र कात्तिक), पुस र चैतमा विवाह निषेध गरिएको छ। यसले प्रस्ट छ, शास्त्रीय विधिले विवाह गर्ने हो भने महिनालगायत धेरै कुराको मुहूर्त वा साइत जुराउनुपर्छ। मुहूर्त भास्करमा विवाह गर्दा कन्याको गुरुशुद्धि, वरको रविशुद्धि, वर र कन्याको कुण्डली विचार, ३ जेठ (१ केटाको जन्म जेठमा, केटीको जन्म जेठमा र जेठ महिनामै विवाह) जन्म विचार, वर्ण, वश्य, नक्षत्र, योनि, वैरयोनि, राशकूट, नाडीलगायत हेरेर वा जुराएर मात्र शास्त्रले भनेअनुसार मिलाउनुपर्ने बताइएको छ। अझै महत्वपूर्ण कुरा त एउटै कुल (हाडनाता वा रगतको साइनोभित्र) र एउटै गोत्रमा विवाह गर्नुहुन्न, यसले कुलको नाश हुनुका साथै पितृहरू पनि नरकमा पर्छन् भनिएको छ।  

विवाहका प्रकार
मुहूर्त भास्करमा ब्राह्म, दैव, आर्ष, प्रजापत्य, आसुरी, गान्धर्व, राक्षसी र पैशाची गरी आठ प्रकारका विवाह उल्लेख छ।

ब्राह्म विवाह : वर र वधूसँगै दुवै पक्षको सहमतिमा समान वर्ग, शिक्षा तथा उमेर मिलाएर हुने विवाह ब्राह्म विवाह हो। यसमा वैदिक विधि अपनाइन्छ। आभूषण तथा वस्त्रले सिँगारिएकी कन्यालाई महासंकल्प पढी कन्यादान दिइन्छ। आठ प्रकारका विवाहमध्ये यो विवाहलाई मनुस्मृतिले उत्तम विवाह मानेको छ। वर्तमानमा प्रचलित मागी विवाह नै ब्राह्म विवाह हो।

मानिसमाथि देवऋण, ऋषिऋण एवं पितृऋण गरी तीन प्रकारका ऋण हुन्छन्। यज्ञयागादि कार्यद्वारा देवऋण, स्वाध्यायबाट ऋषिऋण तथा उचित तरिकाले ब्राह्म विवाह गरी पितृहरूका लागि श्राद्धतर्पण गर्नयोग्य धार्मिक एवं सदाचारी सन्तान जन्माएपछि पितृऋणबाट मुक्त हुन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ। यसरी पितृहरूको सेवा तथा सद्धर्म पालनको परम्परा सुरक्षित बनाइराख्नका लागि सन्तान उत्पन्न गर्नु नै विवाहको परम उद्देश्य हो। यसर्थ, हिन्दु समाजमा ब्रह्म विवाहलाई पवित्र संस्कारको रूपमा लिइन्छ।

दैव विवाह : तपस्वीलाई कन्यादान गरिने विवाह दैव विवाह हो। कुनै सेवाकार्यको मूल्यमा धार्मिक कार्य वा उद्देश्यले कन्याको सहमतिमै विधिवत् यो विवाह गरिन्छ। शास्त्रले यस किसिमको विवाहलाई मध्यम मानेको छ।

प्राजापत्य विवाह : यो विवाहमा कन्यासँग अनुमति लिइँदैन। अभिभावकले आफूले मन पराएको वरसँग कन्यालाई नसोधी विवाह गरिदिन्छन्। विशेषगरी आमाबाबुले कुनै धनीमानी एवं प्रतिष्ठित व्यक्तिसँग कन्याको सहमतिबेगर नै यस्तो विवाह गरिन्छ।

आर्ष विवाह : आर्ष विवाहमा कन्याको मूल्यस्वरूप वर पक्षकाले कन्याका आमाबाबुलाई गाई वा हल गोरु दिने चलन छ।

गान्धर्व विवाह : युवायुवतीले एकअर्कालाई मन पराएर गरिने विवाहलाई शास्त्रले गान्धर्व विवाह भनेको छ। यस विवाहमा कुनै शास्त्रीय विधि अपनाइँदैन। उमेर पुगेका युवायुवतीले एकअर्कालाई मन पराएपछि अभिभावकको सहमति नलिई गरिने विवाह नै गान्धर्व विवाह हो। महाभारतको कथाअनुसार, राजा दुष्यन्तसँग शकुतलाले आफ्ना पिता कण्व ऋषि तीर्थाटन गएका बेला गान्धर्व विवाह गरेकी थिइन्। पछिल्लो समय नेपाली समाजमा यस्तो विवाहले प्रश्रय पाएको छ, जसलाई प्रेमविवाह भनिन्छ।

आसुरी विवाह : यो विवाहमा वरपक्षद्वारा कन्याका आफन्तलाई  धन या प्रलोभन देखाएर कन्या प्राप्त गरिन्छ।

राक्षसी विवाह : यो विवाहमा वर पक्षले कन्यालाई अपहरण गर्छ। नेपालमा पनि पहिला कुनै जातजातिमा विभिन्न जमघट हुने ठाउँबाट मन परेकी कन्यालाई जबर्जस्ती उठाएर लैजाने चलन थियो। यो चलन अहिले घट्दै गएको छ। यसरी लगेकी कन्यालाई फिर्ता नलैजाने भएकाले अपहरण गरेकै पुरुषलाई कन्यापक्षले अन्तमा स्वीकार गर्ने चलन थियो।

पैशाची विवाह : सुतेकी वा नशाले उन्मत्त कन्यालाई एकान्तमा बलात्कार गर्ने र जबर्जस्ती पत्नी बनाउनुलाई पैशाची विवाह भनिन्छ।

माथिका विवाहमध्ये सुरुका चारलाई मनुस्मृतिले मान्यता दिएको छ भने अन्तिम चार विवाहलाई निन्दा गरेको छ। त्यसमा पनि ब्रह्म विवाहलाई शास्त्रले सर्वोत्कृष्ट मानेको छ। मुहूर्त भास्करमा पनि यी विवाह मर्यादाविपरीत हुन् भनिएको छ। यस विषयमा चाणक्यनीतिमा भनिएको छ, ‘कन्याका बाबुआमाको इच्छाअनुसार गरिने विवाह धर्मसम्मत हुन्छन्। तर अन्य चार प्रकारका विवाह मर्यादाअनुकूल छैनन्। यी विवाह गर्नु भनेको बलात्कार गर्नु हो। सबैको सहमतिमा हुने ब्रह्म विवाह नै सर्वोत्तम हो। यसबाट सबैको सुख र शान्ति हुन्छ।’

शास्त्रमा लेखिएका आधारमा भन्न सकिन्छ, आठ प्रकारका विवाहको चलन पौराणिक कालदेखि नै थियो। त्यसबेलाका विभिन्न जातिको वैवाहिक चलन हेरेर नै मनु, पराशर आदि स्मृतिकारले आठ प्रकारका विवाहलाई शास्त्रमा समेटेको पाइन्छ।

विवाह पञ्चमी
मार्गशीर्ष शुक्लपक्षको पञ्चमी तिथिलाई ‘विवाह पञ्चमी’ भनिन्छ। शास्त्रमा उत्तरायण (माघ १ गतेदेखि असार मसान्तसम्म) मा विवाहलाई शुभ मानिएको छ भने दक्षिणायनको मंसिर महिनालाई पनि ज्योतिषीय मान्यता अनुसार ग्रहण गरिएको छ। रामायणका अनुसार, त्रेता युगमा मार्गशीर्ष (मंसिर) शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको आधार मानी यस दिनलाई विवाह पञ्चमी भनेर विभिन्न पञ्चाङ्गहरूमा उल्लेख गरेको पाइन्छ। यही आधारमा राजा जनककी छोरी सीताको विवाह भएको दिनलाई मिथिलावासीले अहिले पनि ‘सीता–राम विवाह महोत्सव’ मनाउने गरेका छन्। रामायणमा उल्लेख भएअनुसार, त्रेतायुगमा मिथिलाका राजा जनकले छोरी सीताको स्वयंवरका लागि राखिएको शिवधनुष अयोध्याका राजा दशरथपुत्र श्रीरामले तीन टुक्रा पारेका थिए। छोरी सीताको विवाहका लागि सर्त राखिएको सो धनुष तोडेपछि मंसिर शुक्ल पञ्चमीकै दिन उनको सीतासँग विवाह सम्पन्न भएको थियो।

रामायणअनुसार जनकपुरधामको रंगभूमिमा आयोजना गरिएको स्वयंवरमा देवी–देवताको समेत उपस्थिति थियो। सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता शारीरिक रूपमा  नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ जन्तीको आगमनदेखि बिहेसम्मको कल्पना गरी सहभागी हुन्छन्। शास्त्रीय मान्यतामा आधारित भई महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार तिलकोत्सव, मटकोर, स्वयंवर र विवाह संस्कार हुने गरेको पाइन्छ।

पौराणिक व्यवस्थाअनुसार राम मन्दिरबाट बाजागाजा र झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोलीमा राखी रंगभूमि पु-याउने चलन  छ। त्यस्तै, जानकी मन्दिरबाट सीताको प्रतिमालाई सुसज्जित डोलीमा राखी रंगभूमिमा पु-याउने र त्यहाँ स्वयंवर विधिका साथै सम्पूर्ण वैवाहिक विधि सम्पन्न भएपछि सीतारामलाई जानकी मन्दिरमा ल्याई मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न गर्ने चलन रहेको छ।

महोत्सवभर श्रद्धालु भक्तजनले पवित्र सरोवरमा स्नान गरी पूजाअर्चना र भाकल गर्ने परम्परा छ। यस अवसरमा भजन, कीर्तन, रामलीला, झाँकी र प्रवचन पनि गरिन्छ।

शिवधनुष
दधिची ऋषिको हड्डीबाट बनाइएको ‘पिनाक’ नामक धनुष भगवान् शिवले परशुरामलाई दिएको र परशुरामले सो धनु मिथिलाका राजा जनकलाई उपहारका रूपमा दिएको रामायणमा उल्लेख छ। राजा जनकले सो धनुको दैनिक पूजाआजा गर्थे। दैनिक पूजाका क्रममा एक दिन राजा जनकले छोरी सीतालाई पूजा गर्न अह्राए। पूजास्थानमा सीताले बायाँ हातले धनु उचालेर धनु राख्ने स्थान चोख्याउँदै गरेको राजा जनकले देखे र उनी छक्क परे। त्यो घटनालगत्तै उनले सो धनुष उचालेर बाण चडाउन सक्ने कुनै पनि व्यक्ति या राजकुमारलाई छोरी सीताको बिहे गरिदिने अठोट लिए।

समयक्रमसँगै सीताको विवाहको उमेर पनि भयो। उनले सबै राजारजौटा तथा राजकुमारलाई निमन्त्रणा गरी शिवधनुष उठाउन सक्ने व्यक्तिलाई सीताको स्वयंवर गरिदिने उद्घोष गरे। स्वयंवरमा सरिक हुन आएका कुनै पनि वीर पुरुषले धनु उचाल्नसमेत नसकेको देखेर राजा जनक चिन्तित भए। अन्त्यमा भारत, अयोध्याका राजकुमार श्रीराम आफ्ना भाइ लक्ष्मण र गुरु विश्वामित्रका साथ जनकपुर आए र गुरुको आज्ञाअनुसार धनुषलाई प्रणाम गरी उचालेर उनले धनुलाई तीन टुक्रा पारे। भाँचिएको धनुषको तीनवटा टुक्रामध्ये एउटा आकाशतर्फ, दोस्रो पातालतर्फ र तेस्रो टुक्रा धनुषाधाममा खसेको मानिन्छ। यसरी धनुष तोडेपछि सीतारामको स्वयंवर तथा विवाहोत्सव सम्पन्न भएको रामायणमा उल्लेख छ। यो परम्परालाई विवाह पञ्चमी उत्सवका रूपमा मिथिलावासीलगायत समस्त हिन्दूधर्मावलम्बीले मनाउने गरेको पाइन्छ।

प्रकाशित: १४ मंसिर २०७६ ०५:०२ शनिबार

विवाह_पञ्चमी शास्त्र परम्परा संस्कार