अन्य

‘भ्रष्ट मुलुकमा ‘भल्गर’ पुस्तक बिक्छन्’

विक्रम सुब्बा

केही वर्षअघि तत्कालीन अमेरिकी राष्ट्रपति जिमी कार्टरको अन्तर्वार्ता पढेको थिएँ, कार्टरले त्यतिबेला प्रो. ज्याक वेदरफोर्डको पुस्तक ‘गेन्घिज (चङ्गेज) खान एन्ड द मेकिङ अफ द मोडर्न वल्र्ड’ पढ्दै रहेछन्। यो पुुस्तकबारे थाहा पाएपछि मैले नेपालका पुस्तक पसलमा खोजेँ, नपाएपछि जेठो छोरासित अमेरिकाबाट मगाएँ। ६ महिनापछि मात्र पुस्तक मेरो हात प-यो। यो पुस्तकलाई एन्थ्रोपोलोजीका प्रोफेसरले १६–१७ वर्ष अध्ययन–अनुसन्धान गरेर लेखेका रहेछन्। यो थाहा पाएपछि गहिरो अध्ययन–अनुसन्धान गरेर मात्र पुस्तक लेख्नुपर्छ भन्ने मेरो धारणा झनै सुदृढ भयो।

चंगेज खानले युद्ध गर्दै जाँदा हातहतियार बनाउने र पुल निर्माण गर्ने प्रविधि समेत विकास गरेको पुस्तकबाट थाहा पाएँ। युद्धले प्राविधिक विकास पनि गरेर आधुनिकीकरणको प्रक्रियामा योगदान गरिरहेको हुनेरहेछ भन्ने देखियो।

त्यस्तै, डा. मोहम्मद महाथिरको ‘मले डिलेमा’ र ली क्वान युको ‘फ्रम थर्ड वल्र्ड टु फस्र्ट’ पनि खोजेको निकै समयपछि हात पारेँ। भोगेरै लेखिएका अटो–बायोग्राफीहरू र कविता मलाई मनपर्छ। अटोबायोग्राफी पढ्दा हरेकको फरक–फरक अनुभवबाट म आफूलाई प्रशिक्षित गर्छु। कविता पढ्दा सबैभन्दा कलात्मक किसिमले जीवनका नयाँ–नयाँ पाटाहरू उद्घाटित गर्ने कविहरूको बिछट्टै नयाँ दृष्टिकोणले जीवनलाई हेर्ने नयाँ आँखा समेत आफूले पनि पाएको महसुस गर्छु।

पछिल्लोपटक दुर्गा सुवेदीको पुस्तक ‘विमान–विद्रोह’ पढेँ। यसमा कांग्रेस पार्टीका निम्ति कोष चाहिएकाले राष्ट्र बैंकको पैसा बोकी विराटनगरबाट काठमान्डु जाँदै गरेको हवाईजहाज अपहरण (सन् १९७३) गरेर पैसा लुटेको तर त्यस्तो ज्यानको बाजी राखेर काम गर्ने सुवेदीलाई कांग्रेस पार्टीले ‘युज एन्ड थ्रो’ गरेको, अपहरण गरेर हासिल गरेको पैसा पनि कोइराला परिवारले दुरुपयोग गरेको (बीपी कोइरालाले समेत स्विकारेको) कुराहरूको विवरण उल्लेख गरिएको छ।

अहिले अली ग्रिपरको (अनु. खगेन्द्र संग्रौला) ‘सन्दुक रुइत’ र जलाल अद–दीन मोहम्मद रुमीका कविता ‘द बुक अफ लभ : पोएम्स अफ रुमी’ पढ्दैछु।

‘जिन्दगीको हिसाब खोजेँ’
उमेर, समय र उपलब्धता अनुसार पुस्तकहरू पढ्दै जाँदा सबैभन्दा पहिले स्कुले जीवनमै गोर्कीको ‘आमा’ले प्रभावित ग-यो, जसले अत्याचारी शासन–सत्ताविरुद्ध जे–जस्तो सकिन्छ (गोप्य रूपमा भए पनि) काम गरिरहनुपर्ने रहेछ भन्ने बीउ मेरो मनमा रोपिदियो। अलिपछि (कलेज जीवनमा) निकोलाई ओस्त्रोवस्कीको ‘हाउ द स्टिल वाज टेम्पर्ड’ पढेपछि म तीन दिन नराम्ररी रन्थनिएँ। मानिसले कति हदसम्म संघर्ष गर्न सक्दा रहेछन् ! हामी नेपाली त केही काम नलाग्ने अल्छी रहेछौँ भन्ने लागिरह्यो। त्यसपछि म आफ्ना दैनिक गतिविधितिर घोत्लिएँ– कति समय सुतेर बिताउँछु, दिसापिसाब, नुहाइधुवाइ लगायत सरसफाइमा कति समय लगाउँछु, कलेज जान–आउन बाटोमा, साथीभाइसँग गफगाफमा, टेबलटेनिस, ब्याडमिन्टन, भलिबल खेल्न, शिक्षकले कक्षामा पढाएको सुन्न, घरमा पढ्न, आफन्तसँग भेटघाट गर्न, सिनेमा हेर्न, बा–आमालाई चिठी लेख्न, बासँग आवा (आकाशवाणी)मा कुरा गर्न कति समय लगाउँछु भनेर हिसाब गरेँ।

पढ्नका लागि काठमान्डु आएको मैले मुस्किलले दिनमा तीन–चार घन्टा पढ्दो रहेछु। धेरै समय आते–जाते, खाते–पिते, खेल्ते–बोल्ते र भेटघाटमा बिताउँदो रहेछु– यो थाहा पाएर मलाई दिक्क लागेको थियो।

पुरस्कार
पुरस्कार पाएको पुस्तकले मलाई कहिल्यै आकर्षित गरेन। प्रायः रिभ्यु पढेर विषयवस्तु मनपरेपछि पढूँपढूँ लाग्छ र खोज्छु। सामुएल पी हन्टिङ्टनको ‘द क्ल्यास अफ् सिभिलाइजेसन्स’, जसमा हन्टिङ्टनले शीत युद्धपछिको संसारमा सात सभ्यताका बीच द्वन्द्व बढ्नेछ भन्ने ‘थेसिस’ पेस गरेका छन्। यसको रिभ्यु पढ्दै गर्दा पढूँपढूँ लाग्यो र मगाएर पढेँ। त्यस्तै, मा आनन्द शीलाको संस्मरण ‘डन्ट किल हिम्’मा रजनीशको जीवनका सारा उतारचढावका बारेमा लेखिएको छ। रजनीशकै सहयोगीले लेखेकाले पढूँपढूँ लाग्यो र पढेँ। त्यस्तै, ‘इफ यु मिट द बुद्ध अन द रोड, किल हिम : द पिल्ग्रिमेज अफ साइकोथेरापी पेसेन्ट्स’ (सेल्डन बी कप्प) शीर्षक देख्तै पढूँपढूँ लाग्यो। ‘बुद्धत्व हरेक मानिसभित्र हुन्छ, त्यसैले, कसैले म बुद्ध हुँ’ भन्दै हिँड्छ भने त्यो ठग हो, त्यसलाई मारिदिए हुन्छ’ भन्ने नौतुन किसिमले तर्क लेखकले पेस गरेको गज्जब लाग्यो।

बाहिर र पार्टी कार्यालयमा आफूलाई लोकतान्त्रिक या कम्युनिस्ट भन्ने तर २४सै घन्टा खाँटी हिन्दू कि बुद्धिस्ट कि इशाई कि इस्लाम जीवनशैलीमा बाँच्नेहरू देख्ता सिद्धान्त भनेको अनुहारमा पोत्ने लाली–पाउडर रहेछ भन्ने लागेको छ।

पुरस्कारले स्कुल तहका कलिला बालबालिकालाई र लेख्न सिक्दै गरेकालाई उत्साहित गर्ला। वयस्क र प्रोफेसनल तहमा पुगेपछि पनि पुरस्कारको लोभ गर्ने र पुरस्कार दिएर सर्जकलाई खरिद गरी आफ्नो बनाएर संसारभर ध्वाँस (पावर ब्रोकरिङ) दिने काम गलत हो जस्तो देखिन्छ। ‘नोबल पुरस्कार’ खोस्ने समेत हल्ला आएपछि मलाई पुरस्कार झनै झुर लाग्यो। कस्ता दुष्ट ? पहिले पुरस्कार दिने र आफ्नो मान्छे बनाउने तर कुनै ‘इस्यु’मा फरक अडान राख्नासाथ पुरस्कारै खोस्ने ? यो त कुटिल, धूर्त र स्तरहीन चाला हो। पुरस्कारले कैयौँलाई बिगारेको पनि देखिन्छ। अनेक लेखकले पुरस्कार पाएपछि उत्तम कृति लेखेको देखिएन। बरु, ‘पुरस्कार पाइहालेँ, म अब ठूलो सम्भ्रान्त सर्कलमा पसिसकेँ। दूतावासहरूका भोजभतेरमा समेत मेरो उपस्थिति गहना ठानिन्छ र नबोलाई नहुनेमा सूचीकृत भइसकेँ’ भनेर मेहनेती तथा अनुसन्धाता लेखक पनि एक दम्भी सम्भ्रान्त मनुवामा परिणत हुने खतरनाक प्रवृत्ति समेत देखियो। यसले होनहार लेखकलाई मारिदिन्छ, देशलाई ठूलो घाटा लाग्छ। बरु, धेरै योगदान गरिसकेपछि कदरस्वरूप स–सम्मान आजीवन महिनावारी भत्ता र सुविधा तथा स्वास्थ्य सेवा निःशुल्क दिए गज्जब हुनेछ। जस्तोः ललितपुर नगरपालिकाले सत्यमोहन जोशी दाइलाई गाडी–ड्राइभर र अंगरक्षक आदि दिएको छ।

पुस्तकको प्रभाव
पुस्तक गम्भीर, प्रसिद्ध (पपुलर) र भल्गर गरी तीन किसिमले लेखिन्छन्। धेरैले पढ्ने प्रसिद्ध (पपुलर) पुस्तक हो। गम्भीर पुस्तक कमले पढ्छन्। यस्ता पुस्तक नपढी नहुने किसिमका हुन्छन्, गहिरो प्रभाव पारिरहन्छन् भने हल्काफुल्का प्रभाव पपुलर साहित्यको हुन्छ, जुन खहरेजस्तै आउँछ र जान्छ। भल्गर साहित्यले समाजलाई नोक्सानै गर्छ भनिन्छ। धेरै विद्वान्–विदुषी भएको समाजमा गम्भीर पुस्तक धेरै छापिन्छन्, संसारलाई प्रभावित गर्छन्। छिपछिपे मानिस धेरै हुने देशमा पपुलर पुस्तक धेरै छापिन्छन्। भ्रष्ट मुलुकमा ‘भल्गर’ पुस्तक बढी बिक्छन्। समाजको चेतनाको तह अनुसार कस्तो पुस्तकले प्रभाव पार्छ भन्ने निर्धारण हुने भयो।
चीन, जापान र कोरिया लगायत मुलुकलाई सिन्तो, दाओवाद, कन्फ्युसियस, बोन र बुद्धका विचारले प्रभाव पारेका छन्। भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, म्यानमार, थाइल्यान्ड, मलेसिया, सिंगापुर, कम्बोडिया, भियतनाम, इन्डोनेसिया आदिका समाजलाई सनातन धर्म, इस्लाम, कन्फ्युसियस र बुद्धका विचारले संयुक्त किसिमले लपेटेका छन्। यिनमा भारतको शासक वर्ग सनातनी भाष्य (ग्रान्ड नारेटिभ्स्)मा आधारित भएर चल्छन् भने अनेक जनजातिहरू प्रकृतिपूजक (शामानिस्टिक) रहेका छन्। मुसलमान, बुद्धिस्ट तथा इसाईलाई आफ्नै धर्म र संस्कारले निर्देशित गरेका छन्। मिडल इस्टका मुलुक धेरै हदसम्म जरोस्ट्रियन जिन्द आवेस्ता, कुरान र सारिया कानुनबाट निर्देशित देखिन्छन्। पाश्चात्य मुलुकमा (गोरा) ककेसोइडहरू धेरै हदसम्म ख्रिस्चियन (प्रोटेस्टेन्ट, क्याथलिक, अर्थोडक्स, आदि पन्थी) धर्म, प्रजातन्त्रका नाममा चलाइएको ‘पुँजीवाद’ र यसको खुला अर्थनीति (आडम स्मिथको ‘द वेल्थ अफ् नेसन्स’मा आधारित)बाट निर्देशित देखिन्छन्। अनेक अफ्रिकी नेग्रोइड तथा रैथाने रेड इन्डियनहरू प्रकृतिपूजक देखिन्छन्।

आडम स्मिथले भनेको ‘सरप्लस’ नै शोषण हो भन्ने कार्लमाक्र्सको कम्युनिस्ट मेनिफेस्टोले दुनियाँमा तरंग ल्यायो। अनेक मानिस कम्युनिस्ट भए, तर फेरि फर्केर ‘पुँजीवाद’तिर लागेका देखिन्छन्। अर्थतन्त्रमा पुँजीवाद चलिरहेछ, शासकहरू आफूलाई लोकतान्त्रिक भनिरहेछन्, तर ९९ प्रतिशत जनता कि ईशाई, कि मुस्लिम, कि हिन्दू, कि बौद्ध, कि प्रकृतिपूजक आदि भएर चलेका छन्। अनेक सिद्धान्त ‘बौद्धिक लप्फाजी’का स्रोत या फुटानी चोकका निम्ति ‘गफका स्रोत सामग्री’ मात्र बन्न पुगेका छन्। कुनै दार्शनिकको सिद्धान्त अनुसार एउटा समाज, समूह या पार्टी पनि चलेको देखिँदैन। बाहिर र पार्टी कार्यालयमा आफूलाई लोकतान्त्रिक या कम्युनिस्ट भन्ने तर २४सै घन्टा खाँटी हिन्दू कि बुद्धिस्ट कि इशाई कि इस्लाम जीवनशैलीमा बाँच्नेहरू देख्ता सिद्धान्त भनेको अनुहारमा पोत्ने लाली–पाउडर जस्तै लाग्छ।

धार्मिक ग्रन्थको प्रभाव
भारतका शासक वर्गले मनुस्मृति, रामायण, महाभारत र पुराणहरूलाई हतियार बनाएर आफ्नो शासनलाई जस्टिफाई गर्ने र अरुलाई ‘डोमिनेट’ गर्ने गरिरहेछन्। अधिकांश (हिन्दू भनिने) सनातनी धर्मावलम्बी पनि तिनै शासकले ‘डिकोड’ गरेको कुरामा भर परेर ‘शासित’ भएरै बस्न पाएकामा दंग छन्। जस्तोः दलितहरू उच्च जातकाले जतिसुकै हेपे पनि ‘हिन्दू’ हुनुमा गर्व गर्छन्। ऋग्वेद एक लोक–वाङ्मय (खस जातिको इतिहास, बालकृष्ण पोखरेल) को रूपमा सिन्धुघाँटीको सभ्यता (अझ हरप्पा)को उपज हो। अरु वेदहरू पछि लोक–वाङ्मयका रूपमा रचिए भनिन्छ। वेदहरू पूर्वाधारका रूपमा विकसित नभएको भए मनुस्मृति, रामायण, महाभारत र पुराणहरू जन्मिने थिएनन् भनेको पनि सुनिन्छ। धर्मग्रन्थ भनिने लोक–वाङ्मयले सामाजिक संविधान, ऐन–कानुन, नियम–विधान र नम्र्सको रूपमा समाज व्यवस्थापनको काम गरिरहेछन्। आधुनिक राज्यहरूले लिखित सरकारी संविधान, (मुलकी) ऐन–कानुन नलेखेसम्म तिनै धर्मग्रन्थको आधारमा जीवन चक्रका विधि–विधान, कर्मकाण्ड चलाउने, दण्ड–सजाय या पुरस्कृत गर्ने र समाजलाई व्यवस्थित गर्ने गर्थे।

अझै पनि पाँच सय मानिस बस्न सक्ने एक ठूलो चर्च बनेको छ भने मात्र कुनै (आफ्नो देशभित्रको) सहरलाई ब्रिटिस सरकारले ‘मुनिसिपलिटी’को दर्जा दिन्छ, अहिले पनि अमेरिकी राष्ट्रपति भरसक गोरो, एङ्लो सेक्सन, प्रोटेस्टेन्ट हुनुपर्छ भन्ने गहिरो धारणा व्याप्त छ। बेलायतमा अहिले पनि ‘अंग्रेजी बोल्ने  ख्रिस्चियन’ मात्र प्रधानमन्त्री हुन योग्य (अलिखित तर बलियो) हुन्छ भन्ने मान्यता कायमै छ। त्यस्तै, भारत र नेपालजस्तो मुलुकमा शासकको ‘साइकी’मा अझै पनि शासन गर्न योग्य ‘क्षेत्री’ या ‘आर्य’ हुन्, अरु त शासित भएरै बस्ने हुन् भन्ने धारणा व्याप्त छ। यी धारणा तिनै धर्मग्रन्थ तथा महाभाष्यले निर्माण गरेका हुन्। जुन अहिले पनि सभ्यता र समाजका बलिया आधारका रूपमा कायमै देखिन्छन्।

धार्मिक पुस्तकले तत्तत् धर्मावलम्बी समाज या व्यक्तिलाई विश्व दृष्टिकोण र जीवन दृष्टिकोण दिने काम गर्छ। जसमा टेकेरै संसार र जीवनलाई हेर्ने–बुझ्ने बनाउँछ। धार्मिक पुस्तकको कामलाई समाज वैज्ञानिकहरूले ‘मेन्टल प्रोग्रामिङ’ भनेका छन्। यही ‘मेन्टल प्रोग्रामिङ’ (सफ्टवेयर) फरक–फरक भएकाले फरक–फरक समुदायको चिन्तन तथा सोच फरक हुन पुग्यो र मानवहरू एकापसमा फरक हुन पुगेका हुन्, नत्र भौतिक शरीर (हार्डवेयर) सबैको उस्तै छन् भन्ने उनीहरूको भनाइ छ।

यसरी धार्मिक पुस्तकले सिर्जना गरेका सोचकै आधारमा संविधान, ऐन–कानुन समेत लेखिएका छन्। नेपाल र भारत जस्तो मुलुकमा संविधानदेखि ऐन–कानुन लेख्दा सनातनी न्यायिक संहितालाई आधार लिएको देखिन्छ भने युरोप र अमेरिकामा इसाई धर्मका मूल्य–मान्यता तथा बाइबललाई न्यायको स्रोत मानिएको छ। इस्लाम मुलुकहरूमा कुरान र  सारिया कानुनहरू न्यायका स्रोत बनेका छन्। तथापि, कुनै सम्प्रदायको धार्मिक पुस्तकको संहिता सरकारी संविधान र ऐनमा पसेपछि सबैले मान्नुपर्ने हुँदा अर्को सम्प्रदायका निम्ति असहज तथा लादिएको अनुभूत पनि हुँदै आएको छ, द्वन्द्वको स्रोत समेत बनेको देखिन्छ।

नयाँ पुस्तकको प्रभाव
फ्रान्सिस फुकुयामाले आफ्नो पुस्तक ‘द इन्ड अफ द हिस्ट्री एन्ड द लास्ट मेन’मा ‘अब अमेरिकाको एक क्षेत्र र अकण्टक शासन संसारमा चल्ने भयो’ भन्ने किसिमले लेखेपछि अमेरिका ढुक्क परेर सुत्यो। तर सन् २००४ मा चीन विश्व व्यापार संगठन (डब्लुटिओ)को सदस्य भएपछि १० वर्षमै अमेरिकालाई आच्छुआच्छु पार्न पुग्यो। अमेरिका अहिले हैरान छ भनेर राष्ट्रिय विश्वविद्यालय सिंगापुरका प्रोफेसर किशोर महबुबानीले उल्लेख गरेका छन्। भारतमा भर्खरै डा. सुब्रामन्यन स्वामीले ‘रिसेट : रेगेनिङ इन्डियाज इकोनोमिक लिगेसी’ नामक पुस्तक लेखे, जसमा भारतको कर प्रणालीमा सुधार गरी करको दर नघटाई हुन्न, नत्र मध्यम र साना व्यवसाय धरासयी हुनेछन् भन्ने उल्लेख छ। यसकै आधारमा हालका अर्थमन्त्री निर्मला सिथारमनले बजेट भाषणको प्रावधान दुईपटक सच्याइसकिन् भनेर भारतीय मिडियामा पढ्न पाइएको छ। यसरी थिंक ट्यांकहरूले लेखेपछि सरकारहरूले केही न केही नीतिगत सुधार गरेको अन्य मुलुकमा देखिन्छन्। नेपालमा त त्यस्तो गहकिलो पुस्तक लेखिएको र दिइएको फिडब्याकका आधारमा नीतिगत सुधार गरेको पाइँदैन, बरु विश्व बैंक र आइएनएफका रिपोर्टले जे जे भन्छन्, तसैतसै गर्छ नेपाल सरकार भनेको मिडियामा पढ्न पाइन्छ।

पुस्तकालय
स्कुल पढ्दा मोरङको रंगेलीमा रहेको ‘युवा पुस्तकालय’मा हिन्दी उपन्यास लगायत किताब पढेँ। त्यतिबेला गुलसन नन्दाका किताब पढ्ने फेसन चलेको थियो, तिनै पढ्दै जाँदा गोर्कीको ‘आमा’ पढ्ने मौका पाएँ। यसपछि नै राम्रा किताब खोजेर पढ्ने भोक जाग्यो। पछि ललितपुरको ‘मदन पुरस्कार पुस्तकालय’ अलि बढी प्रयोग गरेँ।

छिपछिपे मानिस धेरै हुने देशमा पपुलर पुस्तक धेरै छापिन्छन् भने भ्रष्ट मुलुकमा ‘भल्गर’ पुस्तक बढी बिक्छन्। त्यसैले समाजको चेतनाको तह अनुसार कस्तो पुस्तकले प्रभाव पार्छ भन्ने कुरा निर्धारण गर्ने भयो।
 

अब पुस्तकालयले ताजा अनुसन्धानका जर्नल समेत राखेर ‘अनलाइन’मा जानुपर्छ। भनिन्छ, नेपालका प्रोफेसरले अनेक अनुसन्धानका जर्नल नै २–४ वर्ष ढिलो मात्र पढ्न पाउँछन्, जसले गर्दा सधैँ ‘सेकेन्ड ह्यान्ड नलेज’ बेचेर बस्नुपरिरहेछ। जुन देशले ‘अनलाइन’ पुस्तकालय सञ्चालन गर्छ, उसैले हरेक नागरिकलाई छिटो ज्ञानगुन लेनदेन गर्ने–गराउने बनाउँछ।

नेपालमा अनलाइन पुस्तकालय खोले पनि डलर तिर्नुपर्ने र सो पुस्तकालय अमेरिकातिरको ‘सर्भर’मै राख्नुपर्ने बाध्यता देखिन्छ। नेपालमा थेसिस नै बजारको फोटोकपी पसलतिरै किन्न पाइने भइसक्यो भनिन्छ। यस्तो देशका प्रोफेसर संसारका ‘क’ वर्गका विश्वविद्यालयका प्रोफेसरसँग आँखा जुधाएर कुरा गर्न कसरी सक्लान् ? यहाँका प्रोफेसरले ‘नलेज उत्पादन’ गरेको देखिन्न, विदेशीले उत्पादन गरेको ‘नलेज’ आयात गर्दा पनि नेपाल आइपुग्दा बासी भइसकेको हुन्छ। यस्तो अवस्था र प्रवृत्तिका प्रोफेसरले ‘एक्सलेन्ट’ जनशक्ति उत्पादन गर्ने कुरै भएन।

केही मनपरेका पुस्तक
सामाजिक रूपान्तरणका निम्ति कामै गरेर डा. माबेले अरोले र डा. रजनीकान्त अरोलेले लेखेको ‘जामखेड : अ कमप्रिहेनसिभ रुरल हेल्थ प्रोजेक्ट’  पुस्तक असाध्यै मनपरेको हो। यसले अनेक किसिमका विकासका कामको ‘पाइलटिङ’ गर्छ र ‘स्केल अप’ गरेर संसारभरि ‘क्यास्केडिङ’ गर्छ। गज्जब के छ भने, यहाँ पाँच लाख मानिस बसोबास गर्ने क्षेत्रमा धेरैभन्दा धेरै स्वयंसेवीले काम गरिरहेछन् र तालिम सञ्चालन गर्दा पहिले नै पाठ्यक्रम र पाठ्यसामग्री तयार गरिँदैन। गाउँगाउँबाट तालिमका सहभागी आउँछन्, छलफल सुरु हुन्छ, गाउँलेले भोगेका हरेक समस्या संकलन गरेर ‘तालिमको अजेन्डा’ तयार गरिन्छ। विशेषज्ञले छलफल सञ्चालन गर्दै व्यावहारिक उपाय दिनुपर्छ, विशेषज्ञहरूले कण्ठ पारेको कुरा ‘तालिम’मा लादिदिने होइन।

‘डाइरेक्ट डेमोक्रेसी’को उच्चतम् अभ्यास गरिरहेको स्विट्जरलेन्डको संविधान पनि धेरै मनपरेको छ। लोकतन्त्रलाई अन्तिम गन्तव्य मान्नेका निम्ति यो (डाइरेक्ट डेमोक्रेसी) नै विशिष्ट प्रणाली हुने संकेत पाइन्छ। नत्र अहिले जात अनुसारकै अनेक डेमोक्रेसीका खेती सप्रेका छन्।

डा. मोहम्मद महाथीरको पुस्तक ‘मले डिलेमा’ पढेपछि हामी नेपाली किन अल्छी छौँ, गफ गरेर, तास खेलेर, तरुनी–तन्नेरी रमाइलो कुरा गरेर समय बिताउँछौँ भन्ने छर्लंग हुन्छ। कारण रहेछ– मलेसिया र नेपालजस्तो पर्यावरणीय क्षेत्रको जमिनले हरेक महिना केही न केही फलाइदिन्छ। एक टुक्रा जमिन भए खान पुगिहाल्छ। जेठ–असारमा दुई–तीन महिना बेसरी खटेपछि वर्षभरि खाने अन्न भइहाल्छ। गफ हाँक्दै चियापसलमा तास खेल्दै डुलिहिँडे पनि भोकै परिँदैन। यस्तो धारणा उर्वर जमिन बनाइदिने ‘इकोलोजी’ले सिर्जना भएको रहेछ।

बुद्धको डक्ट्रिन जस्तै लाग्ने (संसारको अरु सबैभन्दा भिन्न सूत्र) बुद्धको पञ्चशील र अष्टांगी मार्ग सैयौँ थेसिसभन्दा सशक्त लाग्छ। राजगद्दी त्यागेर ज्ञानको खोजीमा निस्केका बुद्धको जीवन नै भयानक ठूलो भाष्य हो। बुद्धले दरबार नछाडेको भए यो दुनियाँलाई भयानक घाटा लाग्ने थियो। अर्थात्, बुद्धको जीवन नै एक ठूलो पुस्तक हो मेरा लागि।

क्रिस्टोफर कडवेलको ‘इलुजन एन्ड रियालिटी, अ स्टडी अफ द सोर्सेस अफ पोएट्री’ पुरानो तर एक गहन पुस्तक हो। जसले कवितालाई सबैभन्दा सटिक किसिमले ‘जुन बेला मानिसको भाषा र अक्षर थिएन, त्यो बेला पनि मानिसका अनेक भावना (खुसी, दुःख, रिस र आवेश) थिए। ती आवेग र संवेग व्यक्त गर्न उनीहरू कहिले उफ्रेर नाच्ने, कहिले लाठी या ढुंगाले जमिनमा हिर्काउने गर्थे। यसरी अनेक ध्वनिका लयात्मक तरंग सिर्जना हुन्थ्यो, त्यही तरंग र लय नै पहिलो कविता हो, जसलाई पछि अक्षर आविष्कार भएपछि लिपिबद्ध गरिएको हो’ भनेर परिभाषित गरे।

त्यस्तै, ‘लङ वाक टु फ्रिडम : द अटोबायोग्राफी अफ नेल्सन मन्डेला’, बालकृष्ण पोखरेलको ‘खस जातिको इतिहास’, चाल्र्स डार्विनको ‘द ओरिजिन अफ स्पेसिज’, फेडरिक नित्सेको ‘दश स्पोक जरथुस्त्र’, खलिल गिब्रानको ‘द प्रोफेट’, सामुएल पी हन्टिङ्टनको ‘हु आर वी, द च्यालेन्जेज टु अमेरिकाज नेसनल आइडेन्टिटी’, प्रो गेर्ट हफ्स्टेडको ‘कल्चर्स क्वेन्सिक्वेन्सेस : कम्पेरिङ भ्यालुज, बिहेबियर्स, इन्सटिच्युसन्स एन्ड अर्गनाइजेसन्स अक्रस नेसन्स’, एडवर्ड टी हलको ‘बियोन्ड कल्चर’ लगायत पुस्तक मेरा लागि प्रिय सम्पदा हुन्।

प्रकाशित: ३० कार्तिक २०७६ ०५:०४ शनिबार

भ्रष्ट_मुलुक भल्गर पुस्तक