अन्य

पूर्णिमाको हिमाल प्रेम

हिमालसँग सधैँ रमाउन चाहन्छिन्, पूर्णिमा श्रेष्ठ। गोरखा, आरुघाट घर भएकी उनी पेसाले फोटो पत्रकार हुन्। तर, त्यही पेसामा मात्रै आबद्ध हुन चाहन्नन् उनी। सन् २०१८ मा सगरमाथाको सफल आरोहण गरेकी उनले गत आइबार ६,८१२ मिटर उचाइको आमादब्लम हिमाल चढिन्। यति बेला उनलाई शुभकामनाको ओइरो लागेको छ। उनी भन्छिन्, ‘अहिले मलाई आफन्तको बधाई र शुभकामना स्विकार्दै ठिक्क छ। मेरो फेसबुक वाल हेर्नु त !’ हुन पनि उनको फेसबुक वाल बधाईले भरिएको छ।

उनले मनास्लु हिमालको समेत आरोहण गरिसकेकी छिन्। विभिन्न हिमालको सफल आरोहण गर्दै गएपछि हिमालप्रतिको प्रेम र थप आरोहण गर्ने ऊर्जा बढिरहेको उनी बताउँछिन्। ‘नेपाल हिमालै हिमालले भरिएको छ,’ उनी भन्छिन्, ‘यी हिमालको काखमा रमाउन धेरै मन पर्छ। मेरो नशा नै भइसकेको छ।’

सगरमाथाको आरोहणभन्दा  आमादब्लमको आरोहण चुनौतीपूर्ण र रोमाञ्चक भएको उनको अनुुभव छ। उनी भन्छिन्, ‘सगरमाथा चढ्दा यति धेरै गाह्रो भएको थिएन। आमादब्लम आरोहण गर्दा टेक्निकल्ली पनि असहज भयो। सबै हिमालमा आरोहण गर्नु त्यति सजिलो रहेनछ। तर, मैले हार खाइनँ। आमादब्लम हिमालको आरोहण गरेरै छाडेँ।’

उनले सफलतापूर्वक आमादब्लम हिमालको आरोहण गर्न सकेकामा खुसी व्यक्त गरिन्। अरुबाट पाएको सम्मान र हौसलाले उनी झनै अघि बढ्नमा प्रेरणा मिलेको सुनाउँछिन्। हिमालको शिरमा नेपालको झन्डा फर्फराउन पाउँदा छुट्टै नेपालीपनको आभास हुने गरेको उनी सुनाउँछिन्। उनी भन्छिन्, ‘यसरी हिमालको चुचुरोमा पुग्न सक्छु भनेर कहिल्यै सोचिनँ। किनभने, त्यो मेरा लागि महँगो आकांक्षा थियो। तर, आरोहण गर्दै जाँदा अहिले यसैमा रमाइरहेकी छु।’

हिमालको आरोहणपछि देशको पूर्वदेखि पश्चिमसम्मका प्राकृतिक सौन्दर्य र सम्पदा हेर्ने रहर छ उनलाई। उनी भन्छिन्, ‘प्राकृतिक सौन्दर्यले भरिएको देश हो हाम्रो। यिनीहरुको अवलोकन गर्ने रहर छ मलाई।’

 

प्रकाशित: ३० कार्तिक २०७६ ०२:०९ शनिबार

हिमाल_प्रेम