अन्य

भिन्तुना र्‍याली

सुयोगमानसिंह बस्न्यात
कक्षा–४,
नव अरुणिमा सकेन्डरी स्कुल आरुबारी, काठमाडौं।

नेपाल संवत् ११४० को अवसरमा मिति २०७६ कात्तिक ९ गते शनिवार बिहान भिन्तुना साइकलयात्रा भयो। उक्त कार्यक्रम बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा खास्ती नेवाःपुचःबौद्ध—६ ले आयोजना गरेको थियो।

आयोजकले ब्रेकफास्टमा दिएको केरा र फ्रुटी खाई सक्दानसक्दै यात्राको लागि लाममा बस्न भनियो। सबै साइकले लामबद्ध भए। ८ बजे बौद्धनाथ परिसरबाट साइकलयात्रा सुरु भयो। उक्त साइकलयात्रामा म पनि सहभागी भएँ। साइकलयात्रा आफैँमा रमाइलो यात्रा हो। यो पल्ट अझ धेरै रमाइलो भयो। कारण थियो ः साइकल यात्रा हाम्रो घर अगाडि(आरुबारी) हुँदै अघि बढेको थियो।

नयाँ ठाउँ घुम्न पाइने, नयाँ मान्छेसँग चिनजान गर्न पाइने भएर मलाई यस्तो साइकलयात्रामा भाग लिन खूब मनपर्छ। अझ मनपर्ने अर्काे कारण साइकलयात्रामा उमेरको कुनै सीमा हुँदैन। म जस्तो सानो बच्चादेखि हजुरबुवा–हजुरमुमा उमेरका व्यक्तिसम्म सँगै साइकल चढ्न पाइन्छ। केटा मान्छे, केटी मान्छे, यो जात, त्यो जात र काङ्ग्रेस–कम्युनिस्ट भन्ने हुँदैन। यो काम गर्ने, त्यो काम गर्ने, धनीगरिब, स्वदेशीविदेशी भन्ने केही पनि हुँदैन।

सबै मात्र साइकले हुन्छन्। सबैमा मित्रता हुन्छ। एकताको भावना हुन्छ। सबै एकै ठाउँमा जम्मा हुन्छन्। सबै सँगसँगै अगाडि बढ्छन्, एउटाले अर्कालाई बोलाउँछन्। सबै एकै ठाउँमा पुग्दछन्। सँगै खाना खान्छन्, नाचगान गर्छन् र अर्काे साइकलयात्रामा भेट्ने कुरा गरेर छुट्टिन्छन्।

यो साइकलयात्रामा पनि त्यस्तै भयो। तिहार जस्तो व्यस्त चाडको समयमा भएको भिन्तुना साइकलयात्रामा विभिन्न जातजाति, धर्म, पेशा, वर्ग, उमेर, समूहको व्यक्तिहरूले भाग लिनुभएको थियो।  त्यसमा एक जना विदेशीले पनि साइकल चढ्नुभयो।

बौद्धबाट सुरु भएको साइकलयात्रा तिनचुले, आरुबारी, यज्ञडोल, बाग्मती करिडोर, गोठाटार उकालो, गुह्येश्वरी, गौरीघाट, पशुपति, सिफल, चाबहिल, चुच्चेपाटी हुँदै बौद्धमा पुगेर यात्रा सकियो। ११ बजे बौद्धस्थित कुशल बेङ्क्वेटमा खाना खाएपछि यात्रा समाप्त भयो। यात्रामा जर्सी र प्रमाणपत्रको व्यवस्था पनि थियो।

उक्त ¥यालीमा प्याङ्क साइकल पसलले मेकानिकल सहयोग गरेको थियो। देबेन्द्र ठूलो बाबा, सुदिप अंकल लगायतका व्यक्तिले यात्राको नेतृत्व गर्नुभएको थियो।

प्रकाशित: २३ कार्तिक २०७६ ०२:४३ शनिबार

र्‍याली