अन्य

बद्लिँदो चाड, बलियो चाड

नेपाल सामाजिक, भौगोलिक, सांस्कृतिक, धार्मिक विविधताले सम्पन्न मुलुक हो । विविधतामा एकता नै नेपालको मौलिक परिचय हो भन्ने गरिन्छ । विविध जातजातिको थलो भएकाले आ–आफ्नै चाड, पर्व, धर्म, संस्कृति नेपाली माटोमा विकसित भएका छन् र विस्तारको क्रममा छन् । अहिले हामी दसैं, तिहारको संघारमा छौँ । दसैँ विशेष गरेर नेपालमा हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण चाड हो । धार्मिक हिसाबले हिन्दूहरूका लागि दसैँ-तिहार सबैभन्दा महत्वका चाड हुन् ।

धार्मिक आस्थाका हिसाबले दसैँमा प्रशस्त फेरबदल आएको र मौलिक परिचय गुम्दै गएको चिन्ता गर्नेको संख्या ठूलो छ ।

शक्तिको अनुष्ठान गर्ने, देवीको आराधना गर्ने, मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने दसैँका धार्मिक पक्ष हुन् । शरदकालीन यो चाड मनसुनी हिलोमैलो सकिएपछिको मनोरम वातावरणमा सम्पन्न हुन्छ ।तर, यसको सबैभन्दा राम्रो पक्ष दसैँ, तिहारको सामाजिक आधार बलियो बनिरहेको देखिन्छ । त्यसैले फरक जातजाति, धर्म, संस्कृतिमा विश्वास गर्नेहरू पनि कुनै न कुनै रुपमा दसैँतिहारजस्ता चाडमा आकर्षित हुने गरेको हामी पाउँछौँ । पछिल्ला दुई दशक यता पहिचानको राजनीतिसँगै दसैँतिहारजस्ता चाडको औचित्यमाथि प्रश्नहरु नउठेका होइनन् । तर, नेपाली समाजले दसैँतिहार मात्र होइन, लोसार, छठजस्ता विभिन्न जातजाति विशेष चाडलाई आफ्नो बनाउने वृहत्तर भूमिका निर्वाह गरेको हामी पाउँछौँ । नेपालका सबैजसो जातजातिका धर्म, संस्कृति, धार्मिक मान्यताले अडिग छन् । तर अहिले धार्मिक पक्ष कमजोर बनेर सामाजिक पक्ष प्रवल बनेको हाम्रो विशेषता हो । धार्मिक चाडपर्वहरुको सामाजिक आधार फैलँदै गयो भने त्यो विविधतालाई एकतामा बाँध्ने सूत्र बन्न जान्छ भन्ने गरिन्छ । दसैँतिहारजस्ता चाडलाई लामो समयदेखि राज्यले एकताको सूत्र बनाउँदै आएको पनि हो । सरकारी, निजी प्रतिष्ठानहरूमा लामो समय बिदा हुने, स्कुल कलेजहरू बन्द हुने हुनाले दसैँमा सबै पक्ष, वर्ग कुनै न कुनै रुपमा प्रभावित भैहाल्छ । दसैं, तिहारको समयमा अत्यधिक किनबेच हुने हुन्छ । दसैँमा सबैभन्दा धेरै आर्थिक कारोबार हुन्छ । राम्रो लगाउने, मीठो खाने, भेटघाट गर्ने जस्ता पक्षले आकार लिएका छन्, यी चाडमा । यसरी दसैँतिहार राष्ट्रिय चाडको रुपमा फैलदै र सामाजिकीकरण हुँदै गएको छ । 

हामी नेपाली जहाँसुकै होऊँ, असोजको दोस्रो सातादेखि करिब कात्तिक मसान्तसम्मै फेस्टिभ मुडमा हुन्छौँ । दसैँ पछिको तिहारमा सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजाअर्जना हुन्छ । यसबाहेक काग तिहार, कुकुर तिहार, गाई तिहार हुँदै भाइटीका, दीपावली तिहारका विशेषता हुन् । यहाँ मानव जातिका सहयोगी पशुपक्षीहरूको पनि पूजा गर्ने परम्परा छ । भाइटीकाको ६ दिनपछि छठ पर्व आउँछ । शक्ति र सम्पन्नताकी प्रतीक छठी देवीको अनुष्ठानमा सूर्यको आराधना गरिन्छ । मध्य तराई मिथिलाको यो चाड काठमाडौँ उपत्यका लगायतका मुलुकका विभिन्न क्षेत्रमा विस्तार हुने क्रममा छ । छठको पनि धार्मिक पक्ष कमजोर बन्दै सामाजिक पक्ष प्रबल बनिरहेको विश्लेषण भैरहेका छन् । दसैँ, तिहार, छठपछि आदिवासी जनजातिका चाडपर्व लोसारहरू आउँछन् ।यी सबै चाडहरूको सामाजिक आधार फैलँदै गएको हामी पाउँछौँ । सबैजसो चाडहरू राष्ट्रिय स्वरुप धारण गर्नेक्रममा छन् । यातायातको सुविधा, मानिसको आवतजावत, बसाइँसराई, अन्तर्जातीय विवाहजस्ता आधुनिक समाजका विशेषताबीच चाडपर्वहरुले सामाजिक रुप लिएको अवस्था समाज विज्ञानका दृष्टिले निकै सकारात्मक पक्ष हो । परिवारको यो अंक असोज/कात्तिक संयुक्त अंक हो । हामीले दसैं, तिहार, छठसँग सम्बन्धित लेख, समाचारहरू पेश गरेका छौँ । साहित्य तथा यात्रासँग सम्बन्धित रचनालाई प्राथमिकता दिएका छौँ । दसैं, तिहार, छठको धार्मिक मौलिक पक्ष जोगाउँदै यसको सामाजिक पक्ष पनि उत्तिकै फैलाउँदै लैजान सकियोस्, हाम्रो शुभकामना छ ।

 

प्रकाशित: १३ कार्तिक २०७६ ०५:५६ बुधबार

बद्लिँदो बलियो चाड नागरिक परिवार